शुनैम—प्रेम र हिंसाको चिनारी
दक्षिणी गालीलमा यिज्रेल बेंसीको पूर्वी कुनामा शुनैम शहर अवस्थित छ। यस सानो शहरमा बाइबल इतिहासको दुइटा सबैभन्दा उल्लेखनीय लडाइँहरू भएको थियो तर यही शहर वफादार प्रेमको उत्कृष्ट नमुना प्रदर्शित गर्ने दुइ स्त्रीको जन्मस्थलको रूपमा पनि प्रख्यात छ।
शुनैमको पछाडि मोरेको डाँडा थियो भने, मैदानको लगभग आठ किलोमिटर उता गिल्बोको डाँडा थियो। यी दुइ डाँडाहरूको बीच पानीको छेलोखेलो भएको उर्वरा भूमि थियो। यो पूरा इस्राएलमा नै सबैभन्दा बढी उब्जाउ हुने भाग थियो।
शुनैम वरिपरिको यस हराभरा ग्रामीण इलाकामा नै सबैभन्दा मनमोहक प्रेम कथा भनिएको थियो। त्यो हो, श्रेष्ठगीत। यस गीतमा एक सुन्दर गाउँले केटीबारे भनिएको छ जसले राजा सुलेमानको स्वास्नी हुने प्रस्ताव स्वीकार्नुको साटो आफ्नो गोठालो साथीको पत्नी हुन रुचाइन्। तिनको हृदय जित्न सुलेमानले आफ्नो भएभरको बुद्धि र सम्पत्ति लगाए। बारम्बार तिनले त्यस केटीको यसरी प्रशंसा गरे: “प्रभातझैं उदय भएकी चन्द्रमाझैं सुन्दरी, सूर्यझैं चहकिलो।” अनि त्यस केटीले कहिल्यै कल्पनासमेत नगरेकी गरगहनाले तिनलाई सजाउने प्रतिज्ञा सुलेमानले गरे।—श्रेष्ठगीत १:११; ६:१०.
तिनलाई राजकीय जीवनशैलीको अनुभूति गराउन सुलेमानले आफूसँगै यरूशलेममा आफ्नो ६० जना उत्कृष्ट सेनाहरूको लावालस्कर लगे। (श्रेष्ठगीत ३:६-११) तिनले त्यस केटीलाई आफ्नो भव्य दरबारमा पनि राखे। त्यो दरबार यति भव्य थियो की त्यो देखेर शबाकी रानी नै “अवाक्” भएकी थिइन्।—१ राजा १०:४, ५.
तर शुनैमकी यस केटी आफ्नो गोठालो प्रेमीप्रति नै वफादार थिइन्। तिनले यसो भनिन्: “जंगलका रूखहरूका बीचमा स्याउको रूखजस्तै पुरुषहरूका बीचमा मेरा प्रिय हुनुहुन्छ।” (श्रेष्ठगीत २:३) सुलेमानका हजारौं दाखबारीहरूको तिनलाई लोभ थिएन। तिनको प्रेमीसित एउटा दाखबारी नै मनग्गे थियो। तिनको प्रेमलाई अलिकति पनि ढलपल गर्न सकिएन।—श्रेष्ठगीत ८:११, १२.
शुनैममा अर्की एक जना असल आइमाई पनि बस्थिन्। तिनको शारीरिक रूपबारे त हामीलाई केही पनि थाह छैन तर तिनी निश्चय असल हृदयकी थिइन्। बाइबलले बताएअनुसार तिनले अगमवक्ता एलीशालाई नियमित तवरमा खानपीन र बासस्थानको प्रबन्ध मिलाउन “सबै दुःख गरेकी” थिइन्।—२ राजा ४:८-१३.
थकाइलाग्दो लामो यात्रापछि एलीशा कृतज्ञतासाथ त्यस स्त्री र तिनको पतिले आफ्नो निम्ति तयार पारेको सानो घरमा फर्केको हामी कल्पना गर्नसक्छौं। हुनसक्छ, ६० वर्षभन्दा लामो सेवकाईको अवधिमा एलीशा तिनीहरूकहाँ बारम्बार बास बसे होलान्। एलीशा हरेक चोटि त्यस इलाका भएर जाँदा किन त्यस शुनैमी स्त्रीले तिनकै घरमा बस्न जिद्दी गरेकी? किनभने तिनले एलीशाको कार्यलाई मूल्यवान् ठान्थिन्। यस नम्र, निःस्वार्थ अगमवक्ताले राजा, पूजाहारी र सर्वसाधारणलाई यहोवाप्रति तिनीहरूको दायित्वबारे घचघच्याउने काम गर्थे।
“अगमवक्तालाई अगमवक्ताकै नाउँमा ग्रहण गर्नेले अगमवक्ताको इनाम पाउनेछ,” भनी येशूले भन्नुहुँदा निस्सन्देह उहाँको मनमा त्यस शुनैमी स्त्री पनि थियो। (मत्ती १०:४१) यहोवाले यस ईश्वरभीरु स्त्रीलाई विशेष इनाम दिनुभयो। तिनी थुप्रै वर्षसम्म बाँझी भए तापनि तिनले छोरा जन्माइन्। वर्षौंपछि त्यस भूमिमा सात वर्षसम्म खडेरी पर्दा पनि तिनले ईश्वरीय मदत पाएकी थिइन्। यस मर्मस्पर्शी विवरणबाट के स्पष्ट हुन्छ भने, परमेश्वरको सेवकप्रति दर्शाइएको दया हाम्रो स्वर्गमा हुनुहुने पिताले पक्कै बिर्सनुहुन्न।—२ राजा ४:१३-३७; ८:१-६; हिब्रू ६:१०.
दुइ निर्णायक लडाइँहरू
यी दुइ वफादार स्त्रीहरूको घरको रूपमा शुनैमको सम्झना गरिए तापनि यहाँ दुइटा लडाइँ पनि भएको थियो जसले इस्राएलको इतिहासलाई नै एउटा नयाँ मोड दियो। नजीकै मोरे र गिल्बो डाँडाबीचको मैदान उपयुक्त रणभूमि थियो। बाइबल समयमा सेनापतिहरूले सधैं पर्याप्त पानी हुने, सुरक्षाको लागि लेकको जमीन र हुन्छ भने, सेना, घोडा तथा रथहरूलाई परिचालन गर्न चौडा ठाउँ भएको सुख्खा बेंसीमा छाउनी बसाउँथे। शुनैम र गिल्बोमा त्यस्ता सुविधाहरू थिए।
न्यायकर्ताहरूको समयमा मिद्यानी, अमालेकी र अन्य गरी जम्मा १,३५,००० सेनाहरूले मोरेको बेंसीमा छाउनी हालेका थिए। तिनीहरूका ऊँटहरू “संख्यामा समुद्रका बालुवाका कणसरह थिए।” (न्यायकर्त्ता ७:१२) त्यसकै पारि गिल्बो डाँडाको फेदमा हरोद इनारको सँगै न्यायकर्ता गिदोनका इस्राएली सेनाहरू थिए। तिनको सेना जम्मा ३२,००० मात्र थिए।
युद्धअगाडिका दिनहरूमा दुवै पक्षले एकअर्काको नूर गिराउने कोसिस गर्थ्यो। खिसी गर्ने सेनाहरूको समूह, युद्धका ऊँट, रथ र घोडाहरूले इस्राएली सेनाहरूलाई तर्साउन सक्थ्यो। जब इस्राएलीहरू संगठित भइरहेका थिए, मिद्यानीहरू व्यवस्थित भइसकेका थिए। निस्सन्देह, त्यतिबेलाको दृश्य भयावह नै थियो। गिदोनले “यहाँ कोही डरले काप्ने छ भने त्यो . . . तुरुन्तै आफ्नो घर गइहालोस्” भन्दा रणभूमि छोडेर झन्डै दुइ तिहाइ सेनाहरू फर्केका थिए।—न्यायकर्त्ता ७:१-३.
शत्रु पक्षका १,३५,००० सेनाहरूको सामना गर्न केवल १०,००० इस्राएलीहरू मात्र थिए र चाँडै यहोवाले इस्राएली सेनाहरूको संख्या अझ घटाएर ३०० मात्र गरिदिनुभयो। इस्राएलीहरूको चलनअनुसार यो सानो समूहलाई पनि तीन भागमा विभाजन गरियो। अन्धकार छाएपछि तिनीहरू फिंजिए र शत्रुहरूको छाउनीलाई तीनतिरबाट घेरे। अनि गिदोनको आदेशमा ती ३०० जनाले गाग्रो फुटाए र एउटा हातमा राँको र अर्को हातमा तुरही लिएर यसरी कराए, “परमप्रभुको निम्ति र गिदोनको निम्ति तरवार!” तिनीहरूले तुरही फुकी नै रहे। अन्धकारमा ती विभिन्न थरिका त्रसित सेनाहरूले ३०० को डफ्फाले तिनीहरूमाथि आक्रमण गर्न लागेको भन्ठाने। यहोवाले हरेकलाई एकअर्काको विरुद्धमा उठाइदिनुभयो र “जम्मै सेना डरले हाम फाल्दै भागे।”—न्यायकर्त्ता ७:१५-२२; ८:१०.
दोस्रो लडाइँ राजा शाऊलको समयमा शुनैम नजीकै भएको थियो। बाइबलले यस्तो विवरण दिन्छ, “पलिश्तीहरूले आफ्नो सेना युद्धको निम्ति भेला गरेर शूनेममा छाउनी हालेका थिए।” वर्षौंअघि गिदोनले गरेझैं, “शाऊलले सारा इस्राएलीहरूलाई जम्मा गरेर गिल्बोमा छाउनी हालेका थिए।” तर गिदोनले जस्तो शाऊलले यहोवामाथि पूर्णतया भरोसा राख्न सकेनन्, बरु एन्दोरमा मंत्र-तंत्र गर्नेलाई सोधपूछ गर्न रुचाए। जब शाऊलले पलिश्तीको फौजलाई देखे “तिनी साह्रै भयभीत भए।” पछि लडाइँमा इस्राएलीहरू नराम्रोसित परास्त हुनुका साथै शाऊल र जोनाथन दुवै मारिए।—१ शमूएल २८:४-७; ३१:१-६.
यसरी शुनैमको इतिहास प्रेम र हिंसा दुवैले चिनायो साथै यस शहरलाई यहोवामाथि भरोसा र प्रेतहरूमाथि भरोसाले पनि चिनाउँछ। यस बेंसीमा एक स्त्रीले प्रेम देखाइन् भने अर्कीले आतिथ्य देखाइन् र दुइ इस्राएली नेताहरूले निर्णायक लडाइँहरू लडे। यी चारवटै उदाहरणले आफ्नो सेवा गर्नेहरूलाई सधैं इनाम दिनुहुने परमेश्वरमाथि भर पर्नु कत्तिको महत्त्वपूर्ण छ भनेर प्रस्ट पार्छन्।
[पृष्ठ ३१-मा भएको चित्र]
पुरातन शुनैम भएको ठाउँमा आधुनिक शुलाम गाउँ र पछाडिपट्टि मोरेको डाँडा
[स्रोत]
Pictorial Archive (Near Eastern History) Est.