अध्याय २१
न्यायको दिन र त्यस पछि
१. न्यायको दिनको विषयमा आम धारणा के छ?
न्यायको दिन भन्नाले तपाईंको मनमा कस्तो चित्र आउँछ? कसै कसैले एउटा ठूलो सिंहासनको सामने मरेकाहरूबाट पुनरुत्थान गरिएका व्यक्तिहरूको एउटा लामो पंक्तिको कल्पना गर्छन्। प्रत्येक व्यक्ति जसै सिंहासनको अगाड़ि जान्छ, न्यायाधीशको पुस्तकमा लेखिएको त्यसका पछिल्लो जीवनका कर्तुतहरूका आधारमा त्यसको न्याय हुन्छ। उसले गरेका कामकुराको आधारमा, त्यो व्यक्ति यात स्वर्गमा या अग्निमय नरकमा पठाइन्छ।
२. (क) न्यायको दिनको व्यवस्था कसले गरेको हो? (ख) उहाँले कसलाई न्यायाधीश नियुक्त गर्नु हुनेछ?
२ तथापि, बाइबलले न्यायको दिन वारे बिलकुलै भिन्न चित्र दिन्छ। यो एउटा भयभीत हुने वा डराउने दिन होइन। परमेश्वरवारे बाइबल के भन्दछ ध्यान दिनुहोस्: “उहाँले एक दिन ठहराउनुभएको छ, जुन दिनमा उहाँ आफूले नियुक्त गर्नुभएको मानिसद्वारा धर्मपूर्वक संसारको इन्साफ गर्नुहुनेछ।” (प्रेरित १७:३१) परमेश्वर द्वारा नियुक्त हुने न्यायाधीश नि:सन्देह येशू ख्रीष्ट हुनुहुन्छ।
३. (क) ख्रीष्ट आफ्नो इन्साफमा निष्पक्ष हुनुहुनेछ भनेर हामीहरू किन विश्वस्त हुनसक्छौं? (ख) के आधारमा मानिसहरूको इन्साफ हुनेछ?
३ ख्रीष्ट आफ्नो न्यायमा निष्पक्ष र यथोचित हुनुहुनेछ भन्ने कुरामा हामीहरू विश्वस्त हुनसक्छौं। यशैया ११:३, ४ मा उहाँवारे गरिएको भविष्यवाणीले हामीहरूलाई यसवारे विश्वास दिलाउँछ। अत: आम धारणाको विपरीत, व्यक्तिहरूले पहिले गरेका पापहरूको आधारमा तिनीहरूको उहाँले न्याय गर्नु हुनेछैन। धेरैले ती कामहरू अनजानमा गरेको हुनसक्छ। मरे पछि आफूले गरेका सबै पापहरूबाट मानिस मुक्त हुन्छ भनेर बाइबल भन्दछ: “जो मर्नुभयो, पापबाट . . . मुक्त [न्यु.व.] हुनुभएकोछ।” (रोमी ६:७) यसको अर्थ यो हो कि, एउटा व्यक्तिको पुनरुत्थान भए पछि, मर्नु भन्दा पहिले उसले गरेका कामहरूको आधारमा नभएर, न्यायको दिनमा गरेका कामहरूको आधारमा उसको न्याय हुनेछ।
४. (क) न्यायको दिन कति लामो हुनेछ? (ख) ख्रीष्टसँगसँगै अरू को पनि न्यायाधीशहरू हुनेछन्?
४ त्यसकारण, न्यायको दिन, अक्षरस: २४ घन्टाको एउटा दिन होइन। न्याय गर्ने काममा येशूसँग सहभागी हुनेहरूका वारेमा बोल्दा, बाइबलले यसलाई स्पष्ट पार्दछ। (१ कोरिन्थी ६:१-३) बाइबलका लेखक भन्दछन्: “मैले सिंहासनहरू र तीमाथि बस्नेहरूलाई देखें, र तिनीहरूलाई इन्साफ गर्ने अख्तियार दिइयो।” यी न्यायाधीशहरू ख्रीष्टका विश्वासी अभिषिक्त अनुयायीहरू हुन् जो, बाइबलले अगाड़ि भने अनुसार, “पुनरुत्थान पाएर ख्रीष्टसँग राजा भएर एक हजार वर्षसम्म राज्य गर्नेछन्।” अत: न्यायको दिन एक हजार वर्ष लामो हुनेछ। यो त्यही १,००० वर्षे समय हो जसमा ख्रीष्ट र उहाँका १४४,००० विश्वासी अभिषिक्त अनुयायीहरूले “नया स्वर्ग” भएर “नया पृथ्वी” माथि राज गर्नेछन्।—प्रकाश २०:४, ६; २ पत्रुस ३:१३.
५, ६. (क) बाइबलका भजनसंग्रहका लेखकले न्यायको दिनलाई कसरी वर्णन गरेकाछन्? (ख) न्यायको दिनमा पृथ्वीमा कुन प्रकारको जीवन हुनेछ?
५ यी पानाहरूलाई हेर्नुहोस्। मानवजातिकालागि न्यायको दिन कस्तो अत्युत्तम समय हुनेछ भन्ने केही आभास यसले दिनेछ। त्यस शानदार समयवारे बाइबलका भजनसंग्रहका लेखकले लेखेकाछन्: “खेत र त्यसमा भएका सबै कुरा उल्लसित होस्। तब जङ्गलमा भएका सबै रूखहरू आनन्दले गाउनेछन्। परमप्रभुको (यहोवाको, न्यु.व.) सामु, किनकि उहाँ आउनुहुन्छ। किनकि पृथ्वीको इन्साफ गर्न उहाँ आउनुहुन्छ। उहाँले संसारको इन्साफ धर्मसित गर्नुहुनेछ, र मानिसहरूको इन्साफचाहिं आफ्नै सत्यताले गर्नुहुनेछ।”—भजनसंग्रह ९६:१२, १३.
६ आर-मागेडोनबाट बाँच्नेहरू, न्यायका दिनमा पार्थिव प्रमोदवन तैयार गर्न व्यस्त रहनेछन्। यस प्रमोदवनमा मरेकाहरूलाई फेरि स्वागत गरिने छ। (लूका २३:४३) मृत्युको कारण धेरै कालसम्म छुट्टिएका परिवारहरू फेरि आपसमा भेंट हुँदा कस्तो आनन्द हुनेछ! हो, शान्ति साथ बस्न पाउनु, राम्रो स्वास्थ्यको आनन्द लिन पाउनु र परमेश्वरको उद्देश्यहरूवारे शिक्षा पाउनु कस्तो सुखदायक हुनेछ! बाइबल भन्दछ: “जब तपाईंको इन्साफ पृथ्वीमा प्रकट हुन्छ, तब संसारका बासिन्दाहरूले धार्मिकता सिक्नेछन्।” (यशैया २६:९) न्यायको दिनमा सबैले यहोवाको वारेमा शिक्षा प्राप्त गर्नेछन्, र उहाँको आज्ञा मान्ने र उहाँको सेवा गर्ने हर मौका तिनीहरूले पाउनेछन्।
७. न्यायको दिनमा परमेश्वरको सेवागर्न चाहनेहरू र सेवालाई अस्वीकार गर्नेहरूलाई के हुनेछ?
७ यस प्रकारको प्रमोदवनमा, येशू र उहाँका १४४,००० सह-राजाहरूले मानवजातिलाई न्याय गर्नेछन्। यहोवालाई सेवा गर्न चाहनेहरू अनन्त जीवन प्राप्त गर्न सक्ने स्थितिमा हुनेछन्। तर, यस्तो राम्रो परिस्थितिमा पनि, केहीले यहोवाको सेवागर्न अस्वीकार गर्नेछन्। पवित्र शास्त्र भन्दछ: “दुष्टमाथि निगाह रहे तापनि तिनीहरूले धार्मिकता सिक्नेछैन। धार्मिकताको राज्यमा त्यसले खराबीसित व्यवहार गर्नेछ।” (यशैया २६:१०) अत: आफ्नो चाल-चलनमा परिवर्त्तन गर्ने र धार्मिकता सिक्ने पूर्ण मौका दिएपछि, यस्ता दुष्टहरूको विनाश गरिनेछ। कसैको ता न्यायको दिनको अन्त हुनुभन्दा पहिलेनै मृत्यु हुनेछ। (यशैया ६५:२०) बाँचेर पार्थिव प्रमोदवनलाई भ्रष्ट वा बरबाद गर्ने अनुमति तिनीहरूलाई दिइनेछैन।
८. सदोम शहरका मानिसहरूको नैतिक अवस्था कस्तो थियो?
८ यहोवाले गर्नु हुने महान पुनरुत्थानको समयमा पृथ्वीमा पुनरुत्थान प्राप्तगर्नु वास्तवमा एउटा उच्च विशेषाधिकार हुनेछ। तथापि, यो यस्तो विशेषाधिकार हो जो सबैकालगि प्राप्त हुनेछैन भनेर बाइबल भन्दछ। उदाहरणकालागि, प्राचीन सदोम शहरका निवासीहरूवारे विचार गर्नुहोस्। सदोम शहरका पुरुषहरू लूतका “पुरुष अतिथिहरूसँग” यौन सम्बन्ध राख्न इच्छुक थिए। तिनीहरूको अनैतिक व्यवहार यस हदसम्म पुग्यो कि तिनीहरूलाई आश्चर्यजनक रीतिले अन्धो पारिए पछि पनि तिनीहरू लूतका अतिथिहरूसँग मैथुनिक सम्बन्ध राख्न उसको घरको “ढोका छामछाम-छुमछुम गर्दागर्दा हैरान भए।”—उत्पत्ति १९:४-११.
९, १०. सदोम शहरका दुष्ट व्यक्तिहरूको पुनरुत्थानको आशा वारे पवित्र शास्त्रले के सूचना दिन्छ?
९ के यस प्रकारका अति दुष्ट मानिसहरूको न्यायको दिनमा पुनरुत्थान हुनेछ? यस प्रकारका व्यक्तिहरूको पुनरुत्थान हुनेछैन भनेर पवित्र शास्त्रले सङ्केत गर्दछ। उदाहरणतया, यहूदा नाउँ भएका येशूका चेलाले पवित्र आत्मा द्वारा प्रेरित भएर सर्वप्रथम, ती स्वर्गदूतहरू बारे लेखे जसले मनुष्यकी पुत्रीहरूसँग मैथुनिक सम्बन्ध राख्नको निम्ति स्वर्गमा आफ्नो स्थान छाड़ेर तल आए। त्यस पछि यहूदाले यो कुरा पनि थपे: “औ आफ्नो मर्यादामा नरहने, तर आफ्ना घर-वार छोड़ने स्वर्गदूतहरूलाई उहाँले आखिरी दिनको इन्साफको लागि अन्धकार मनि अनन्त बन्धनमा राख्नु भएको छ। जसरी सदोम र गमोरा, औ तिनका आसपासका शहरहरू, जो यिनीहरू जस्तै व्यभिचारमा परेर बिरानो शरीरको पछि लागेका थिए, आगोको अनन्त दण्डमा परेर उदाहरण जस्तै भएका छन्।” (यहूदा ६, ७; उत्पत्ति ६:१, २) हो, आफ्नो अत्यन्त अनैतिक आचरणले गर्दा सदोम र उसका आसपासका शहरहरूका निवासीहरूको कहिले पुनरुत्थान नहुने गरी पूर्ण विनाश भयो।—२ पत्रुस २:४-६, ९, १०क.
१० सदोम शहरका निवासीहरूको पुनरुत्थान सम्भव छैन भनेर येशूले पनि सङ्केत गर्नु भयो। उहाँले चमत्कार गर्नु भएका शहरहरू मध्य एउटा शहर कफर्नहूम शहरवारे उल्लेख गर्दा उहाँले भन्नुभयो: “किनकि तँमा भएका शक्तिशाली कामहरू सदोममा भएका भएदेखि ता त्यो आजको दिनसम्म रहिरहने थियो तापनि म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा तेरो भन्दा ता सदोम मुलुकको दशा बढ़ता सहनसक्ने हुनेछ।” (मत्ती ११:२२-२४) यहाँ येशूले बरू प्राचीन सदोमका मानिसहरूका लागि सहनीय हुनेछ भन्नु हुँदै, कर्फनहूमका मानिसहरूको घोर दोषलाई जोर दिनु हुँदै थियो किनभने येशूका ती स्रोताहरू अर्थात प्राचीन इस्राएलीहरूको विचारमा, सदोमका मानिसहरू न्यायको दिनमा पुनरुत्थानका लागि सर्म्पूणतया अयोग्य थिए।
११. न्यायको दिनमा “अधर्मीहरूको” भन्दा “धर्मीहरूको” स्थिति बढ़ता सजिलो किन हुनेछ?
११ त्यसकारण, हामीले आफ्नो जीवनकालमा यस्तो कार्य गर्ने कोशिश गर्नु पर्दछ जसबाट हामीहरू पुनरुत्थान प्राप्त गर्ने योग्य हुनसकौं। तर अझपनि यो प्रश्न सोध्न सकिन्छ: पुनरुत्थान हुनेहरू मध्य धार्मिकता सिक्न र त्यसलाई व्यवहारमा ल्याउँन के कसै कसैलाई अरूहरूलाई भन्दा अधिक कठिन हुनेछ? यस कुरामा ध्यान दिनुहोस्: मर्नु भन्दा पहिले देखिन्, अब्राहाम, अय्यूब, दबोरा, रूथ र दानियलहरू जस्ता “धार्मिक” व्यक्तिहरू सबै मसीह आउँने बाटो हेरिरहेका थिए। न्यायको दिनमा उहाँवारे सिक्न पाउदा र उहाँ स्वर्गमा शासनगर्दै हुनुहुन्छ भन्ने कुरा बुझ्दा तिनीहरूलाई कस्तो आनन्द हुनेछ! अत: त्यसबेला, धार्मिकतालाई व्यवहारमा ल्याउन पुनरुत्थान भएका “अधर्मी” व्यक्तिहरूलाई भन्दा “धर्मी” व्यक्तिहरूलाई बढ़ी सजिलो हुनेछ।—प्रेरित २४:१५.
“जीवनको” र “इन्साफको” पुनरुत्थान
१२. यूहन्ना ५:२८-३० अनुसार, कसले “जीवनको पुनरुत्थान” र कसले “इन्साफको पुनरुत्थान” पाउँनेछ?
१२ न्यायको दिनको परिस्थितिवारे वर्णन गर्दै येशूले भन्नुभयो: “चिहानमा हुनेहरू सबैले उसको सोर सुन्नेछन्। औ भलो गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति, तर कुभलो गर्नेहरूचाहिं इन्साफको पुनरुत्थानको निम्ति निस्किआउनेछन् . . . जस्तो म सुन्छु, म इन्साफ गर्छु औ मेरो इन्साफ ठीक छ, किनकि म आफ्नो इच्छा होइन, तर मलाई पठाउनेको इच्छा खोज्दछु।” (यूहन्ना ५:२८-३०) यो “जीवनको पुनरुत्थान” के हो, र “इन्साफको पुनरुत्थान” के हो? र त्यसलाई कसले प्राप्त गर्नेछन्?
१३. “जीवनको पुनरुत्थान” पाउनु एउटा व्यक्तिकालागि के अर्थ राख्दछ?
१३ मरेकाहरू चिहानबाट फर्केर आएपछि, तिनीहरूले आफ्नो बितेको जीवनकालमा गरेका कामहरूका आधारमा तिनीहरूको न्याय हुँदैन भन्ने कुरा स्पष्टसँग बुझिसक्यौं। बरू, न्यायको दिनमा तिनीहरूले के गर्नेछन्, त्यस आधारमा तिनीहरूको न्याय हुन्छ। अत: येशूले “भलो गर्नेहरू” र “कुभलो गर्नेहरू” भन्नाले, न्यायको दिनको दौडानमा तिनीहरूले गर्ने भलो र कुभलो कामलाई सङ्केत गर्दै हुनुहुन्थियो। तिनीहरूले भलो काम गरेको कारण, १,००० वर्षे न्यायको दिनको अन्तमा, पुनरुत्थान भएकाहरू मध्य धेरैले मानव सिद्धता तर्फ प्रगति गर्नेछन्। यस प्रकार मृतावस्थाबाट तिनीहरूको पुनरुत्थान “जीवनको पुनरुत्थान” साबित हुनेछ, किनभने पाप रहित सिद्ध जीवन तिनीहरूले प्राप्त गर्नेछन्।
१४. “इन्साफको पुनरुत्थान” पाउनु एउटा व्यक्तिकालागि के अर्थ राख्दछ?
१४ अर्को तर्फ, न्यायको दिनमा ‘कुभलो काम गर्नेहरूलाई” के हुनेछ? तिनीहरूको मृतावस्थाबाट बिउँतनु चाहिं, “इन्साफको पुनरुत्थान” साबित हुनेछ। यसको अर्थ के हो? यसको अर्थ तिनीहरूका लागि मृत्यु दण्डाज्ञाको फैसला हुने हो। अत: यी व्यक्तिहरू न्यायको दिनको दौडानमा वा त्यो दिनको अन्ततिर विनाश हुनेछन्। कारण के हो भने तिनीहरू कुभलो कामहरू गर्दछन्; धार्मिकता सिक्न र व्यवहारमा ल्याउन हठपूर्वक इन्कार गर्दछन्।
न्यायको दिन कहिले आरम्भ हुन्छ
१५. न्यायको दिन प्रारम्भ हुनुभन्दा पहिले के हुन्छ?
१५ न्यायको दिन भन्दा तुरुन्त पहिले के हुन्छ भन्ने दर्शन प्रेरित यूहन्नाले देखे। उनले लेखे: “मैले एउटा ठूलो सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखें। उहाँको सामनेबाट पृथ्वी र आकाश भागे . . . मैले ठूला र साना सबै मरेकाहरू सिंहासनको सामने उभिरहेका देखें . . . ती मरेकाहरूको इन्साफ भएको थियो।” (प्रकाश २०:११, १२) अत: न्यायको दिन आरम्भ हुनुभन्दा पहिले, “पृथ्वी र आकाश” बाट बनिएको यो वर्त्तमान रीति-रिवाज बितेर जानेछ। परमेश्वरको सेवा गर्नेहरू मात्र बाँच्ने छन् तर सबै दुष्टहरूचाहिं आर-मागेडोनमा नाश हुनेछन्।—१ यूहन्ना २:१७.
१६. (क) न्यायको दिनमा मृतकहरू वाहेक अरू कसको पनि इन्साफ हुनेछ? (ख) के आधारमा तिनीहरूको इन्साफ हुनेछ?
१६ त्यसकारण, न्यायको दिनमा पुनरुत्थान भएका “मृतक” मात्रैको इन्साफ हुनेहोइन। आर-मागेडोनमा “बाँच्नेहरू”, तथा तिनका बाल-बच्चाहरू छन् भने ती समेत, सबैको इन्साफ हुनेछ। (२ तिमोथी ४:१) तिनीहरूको कसरी इन्साफ हुनेछ, यूहन्नाले आफ्नो दर्शनमा देखे। तिनले लेखे: “औ अर्को एउटा पुस्तक पनि खोलियो, जो जीवनको पुस्तक हो। औ तिनीहरूले जे जे गरेका थिए, ती पुस्तकहरू बमोजिम ती मरेकाहरूको इन्साफ भएको थियो। अनि समुद्रले त्यसमा भएका मुर्दाहरूलाई दिइहाल्यो, औ मृत्यु र पातालले (हेडीस, न्यु.व.) पनि तिनीहरूमा भएका मुर्दाहरूलाई दिइहाले। औ तिनीहरू प्रत्यकको आफ्नो आफ्नो काम अनुसार इन्साफ भयो।”—प्रकाश २०:१२, १३.
१७. “जीवित” र “मृतक” को इन्साफ हुने के “दस्ताबेजहरू” छन्?
१७ ती खोलिएका “पुस्तकहरू” के हुन् जसमा हेरेर “मरेकाहरू” र “जिउँदोहरू” लाई इन्साफ गरिन्छ? प्रत्यक्षत: ती हाम्रो वर्त्तमान पवित्र बाइबल भन्दा अतिरिक्त पुस्तक हुनेछन्। यहोवाका नियमहरू र शिक्षाहरू भएका ती प्रेरित लेखौट वा पुस्तक हुन्। यसलाई अध्ययन गरेर पृथ्वीका सबै मानिसहरूले परमेश्वरको इच्छा जान्न सक्नेछन्। अनि, यस “पुस्तकहरूमा” भएका नियमहरू र शिक्षाहरूका आधारमा पृथ्वीमा हुने सबैको इन्साफ हुनेछ। त्यसमा लेखिएका कुराहरूलाई पालन गर्ने सबैले ख्रीष्टको छुटकाराको बलिदानको लाभ उठाउन सक्नेछन् र विस्तारै मानव सिद्धता तर्फ बढ़नेछन्।
१८. (क) न्यायको दिनको अन्तमा के परिस्थिति हुनेछ? (ख) १,००० वर्षको अन्तमा, कुन प्रकारले “मृतकहरू” ले जीवन पाउँनेछन्?
१८ १,००० वर्षे न्यायको दिनको अन्तमा, पृथ्वीमा आदमको पापको कारण कोही पनि मृतावस्थामा हुने छैनन्। वास्तविक रूपमा, पूर्णतम् अर्थमा प्रत्यक व्यक्तिले जीवन पाइसकेको हुनेछ। यसै कुरालाई बाइबलले सङ्केत गर्दै यसो भन्छ: “बाँकी मरेकाहरूचाहिं (स्वर्ग जाने १४४,००० बाहेक) त्यो एक हजार वर्ष नबितुञ्जेल वाँचेनन्।” (प्रकाश २०:५) यहाँ “बाँकी मरेकाहरू” भन्नाको अर्थ १,००० वर्षे न्यायको दिनको अन्तमा पनि अरूहरूको पुनरुत्थान हुन्छ भनेको होइन। बरू, यसको अर्थ हो कि अन्तत: मानव सिद्धतालाई प्राप्त गरेर, सबै व्यक्ति जीवित हुनेछन्। अदनको बगैंचामा आदम र हव्वा जुन अवस्थामा थिए तिनीहरू पनि त्यस्तै सिद्ध अवस्थामा हुनेछन्। त्यस पछि के हुनेछ?
न्यायको दिन पश्चात्
१९. न्यायको दिनको अन्तमा ख्रीष्टले के गर्नुहुन्छ?
१९ परमेश्वरले जिम्मा दिनु भएको सबै काम समाप्त गरी सके पछि, येशू ख्रीष्टले “परमेश्वर, अर्थात पितालाई राज्य सुम्पिदिनुहुनेछ।” यो १,००० वर्षे न्यायको दिनको अन्तमा हुनेछ। त्यस बेलासम्म सबै शत्रुहरू हटाइनेछन्। सबैभन्दा पछि आदमबाट आएको शत्रु, मृत्युलाई हटाइनेछ। यसलाई नामेट पारिनेछ! अनि राज्य यहोवा परमेश्वरको सम्पत्ति हुनेछ। उहाँले राजाको रूपमा प्रत्यक्ष शासन गर्नु हुनेछ।—१ कोरिन्थी १५:२४-२८.
२०. (क) कसको नाउँ “जीवनको पुस्तकमा” लेख्ने भनेर निर्णय गर्न यहोवाले के गर्नु हुनेछ? (ख) मानवजातिकालागि एउटा अन्तिम परीक्षा किन उपयुक्त छ?
२० “जीवनको दस्ताबेज” अथवा “जीवनको पुस्तकमा” कस कसका नाउँहरू लेखिनु पर्ने हो भनेर यहोवाले कसरी निर्णय गर्नु हुन्छ? (प्रकाश २०:१२, १५) मानवजाति माथि एउटा परीक्षा ल्याउनु भएर। याद गर्नुहोस्, आदम र हव्वा कसरी यस प्रकारको परीक्षामा असफल भए, र अय्यूबको परीक्षा हुँदाचाहिं उसले कसरी समग्रता कायम राखे। तर १,००० वर्षको अन्तसम्म बाँच्नेहरू मध्य धेरैको विश्वासको कहिले पनि परीक्षा गरिएको हुनेछैन। पुनरुत्थान हुनु भन्दा पहिले, यहोवाको उद्देश्यवारे तिनीहरू अनभिज्ञ थिए। शैतानको दुष्ट रीति-रिवाजका तिनीहरू भाग थिए; तिनीहरू “अधर्मी” थिए। अनि, पुनरुत्थान पछि, शैतानको कुनै विरोध बिना, प्रमोदवनमा बस्न पाएका हुनाले तिनीहरूकालागि यहोवाको सेवागर्ने काम सजिलो थियो। तर, यहोवालाई सेवा गर्नबाट तिनीहरूलाई रोक्ने प्रयास गर्न शैतानलाई मौका दिइयो भने, के त्यसबेला सिद्ध भएका यी करोड़ौं मानिसहरूले यहोवाको सेवा गर्नेछन्? सिद्ध आदम र हव्वालाई गरे जस्तै, के शैतानले तिनीहरूलाई पनि त्यही गर्न सक्नेछ?
२१. (क) यहोवाले मानवजातिको परीक्षा कसरी गराउनु हुनेछ? (ख) परीक्षा पूरा भइसके पछि, त्यसमा बिथोलित हुनेहरूको के हुनेछ?
२१ यस्ता प्रश्नहरूको निदानकालागि, यहोवाले शैतान र त्यसका दूतहरूलाई १,००० वर्षे कैदबाट छुट् दिनु हुनेछ। परिणाम के हुन्छ? यहोवाको सेवा गर्नेहरू मध्य केही व्यक्तिहरूलाई बहकाउन शैतान सफल हुनेछ भनेर बाइबल भन्दछ। यिनीहरू “समुद्रका बालुवा” जत्तिकै हुनेछन् अर्थात् तिनको संङ्ख्या अनिश्चित् हुनेछ। यो परीक्षा गरिने कार्य समाप्त भएपछि, शैतान र त्यसका दूतहरू, र परीक्षामा असफल हुनेहरू लाक्षणिक “अग्नि-कुण्डमा” फालिनेछन्, जसको अर्थ दोश्रो (अनन्त) मृत्यु हो। (प्रकाश २०:७-१०, १५) तर, जसको नाउँ “जीवनको पुस्तकमा” लेखिएको हुन्छ, तिनीहरू महिमायुक्त पार्थिव प्रमोदवनमा बस्नेछन्। “जीवनको पुस्तकमा” नाउँ लेखिनुको अर्थ, यहोवाले तिनीहरूलाई हृदय, मन र तनबाटनै पूर्ण धार्मिक ठहराउनु हुनेछ र यसरी पार्थिव प्रमोदवनमा अनन्त जीवन पाउने योग्यका तिनीहरू हुनेछन्।
वर्तमान न्यायको दिन
२२. न्यायको दिन र मानवजातिको अन्तिम परीक्षा हेर्न बाँच्नकालागि, अहिले कुन घटनामा बाँच्न जरूरी छ?
२२ अत: १,००० वर्ष भन्दा पछिसम्मको घटनाहरूको सूचना बाइबलले दिन्छ। अगाड़ि हुने कुरासँग डराउनु पर्ने कुनै कारण छैन भनेर यसले देखाउँछ। तर प्रश्न छ: यहोवाले सुरक्षित राख्नु भएका असल कुराहरूको आनन्द लिन के तपाईं त्यहाँ हुनुहुनेछ? यो भन्दा पहिलेको न्यायको दिन, अर्थात, वर्तमान “भक्तिहीन मानिसको इन्साफ र विनाशको दिनसम्म” तपाईं बाँच्नु हुन्छ कि हुँदैन, त्यसमा यो निर्भर गर्दछ।—२ पत्रुस ३:७.
२३. (क) अहिले कुन दुई वर्गमा मानिसहरूलाई छुट्टाइदैछ? (ख) प्रत्यक वर्गलाई के हुनेछ र किन?
२३ हो, ख्रीष्ट फर्केर आएर आफ्नो स्वर्गीय सिंहासनमा बस्नु भइसकेको हुनाले, सारा मानवजातिको इन्साफ भइ रहेकोछ। यो वर्तमान “न्यायको दिन” त्यो १,००० वर्षे न्यायको दिन शुरूहुनु भन्दा पहिले हुन्छ। वर्तमान इन्साफको समयमा, मानिसहरूलाई ख्रीष्टको देब्रे तर्फ “बाख्रा” खालका र दाहिने तर्फ “भेड़ा” खालका भनेर छुट्टाइदैछ। ख्रीष्टका अभिषिक्त “भाइहरूले” परमेश्वरमा चढ़ाइराखेका सेवामा सहायता नदिएको हुनाले “बाख्रा” खालकाहरू नष्ट गरिनेछन्। समय आए पछि, यी “बाख्रा” खालकाले आफूहरूलाई पश्चाताप नगर्ने, दुष्ट, र अधार्मिकताको कामहरू गर्दा गर्दा कठोर भइसकेको साबित गर्नेछन्। यसको विपरीत, “भेड़ा” खालकाले ख्रीष्टका “भाइहरूलाई” हर प्रकारबाट सहायता गरेका हुनाले, तिनीहरूले राज्य शासनको अधीनमा जीवनको आशिष पाउँनेछन्।—मत्ती २५:३१-४६.
[पृष्ठ १७८-मा भएको चित्र]
न्यायको दिनमा सदोम शहरका निवासीहरूको स्थिति धेरै नै सहनीय हुनेछ भनेर येशूले किन भन्नुभएको थियो?