परमेश्वरले सिकाउनुभएअनुसार हिंड्नुहोस्
“आओ, हामीहरू परमप्रभुको पहाड़[मा] . . . जाऔं, . . . र उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, र हामी उहाँको मार्गमा हिंड़नेछौं।”—मीका ४:२.
“पछिल्ला दिनमा” अर्थात् हाम्रो समयमा धेरै मानिसहरूले जोडतोडका साथ परमेश्वरको उपासना गर्न उहाँको खोजी गर्नेछन् भनी परमेश्वरको अगमवक्ता मीकाले भविष्यवाणी गरे। यिनीहरूले एक अर्कालाई प्रोत्साहन दिंदै यसो भन्नेछन्: “आओ, हामीहरू परमप्रभुको पहाड़[मा] . . . जाऔं, . . . र उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, र हामी उहाँको मार्गमा हिंड़नेछौं।”—मीका ४:१, २.
२ दोस्रो तिमोथी ३:१-५ अध्ययन गर्नाले हामी “आखिरी दिनमा” परमेश्वरबाट सिकाइएका हुनुको परिणामहरू देख्ने मदत पाउन सक्छौं। यस अघिको लेखमा हामीले “स्वार्थी” नहुनू भनी पावलले दिएको चेताउनी हृदयङ्गम गर्नाले हुने परिणामहरू याद गऱ्यौं। हाम्रो समयमा मानिसहरू “धनका लोभी” पनि हुनेछन् भनी पावल अझै थप्छन्।
३ ती शब्दहरू आधुनिक इतिहासमा कति मेल खान्छ भन्ने कुरा बुझ्न कसैले पनि कलेजको डिग्री लिन आवश्यक पर्दैन। प्रत्येक वर्ष करोडौं पैसा कमाएर पनि सन्तुष्ट नहुने लगानीकर्त्ताहरू तथा व्यापारिक संस्थान प्रमुखहरूको कथा के तपाईंले पढ्नु भएको छैन र? तर यी धनका लोभीहरू अवैध तरिकाबाट भए पनि अझै बढी पैसा कमाउन चाहन्छन्। पावलका शब्दहरू तिनीहरूका लागि पनि लागू हुन्छ जो धनी छैनन्, तर त्यतिकै लोभी छन् र कहिल्यै सन्तुष्ट हुँदैनन्। तपाईंको इलाकामा पनि त्यस्ता थुप्रै मानिसहरूबारे तपाईंलाई थाहा होला।
४ पावलले उल्लेख गरेका यी कुराहरू के मानव स्वभावबाट हटाउनै नसकिने पक्षहरू हुन् र? बाइबलका ग्रन्थकारअनुसार त्यसो होइन। तर यसबारे यो सत्यता उहाँले धेरैअघि यसरी भन्नुभएको थियो: “रूपियाँ-पैसाको प्रेमनै सबै किसिमका खराबीको जरा हो, जसको पछि लाग्ने कुनै कुनै विश्वासबाट कुमार्गमा तर्केका हुन्छन्, र धेरै दुःखले तिनीहरूका हृदय छेंड़ेका हुन्छन्।” यहाँ ध्यान दिनुहोस्, ‘रूपियाँ-पैसा सबै किसिमको खराबीको जरा हो’ भनी परमेश्वरले भन्नु भएन। बरु, उहाँले भन्नुभयो “रूपियाँ-पैसाको प्रेम” चाहिं खराबीको जरा हो।—१ तिमोथी ६:१०.
५ चाखलाग्दो कुरा के हो भने, प्रथम शताब्दीका केही असल मसीहीहरू वर्तमान रीतिरिवाजमा धनी नै थिए भनी प्रेरित पावलका शब्दहरूको सन्दर्भले मानी लिन्छ। त्यो धन तिनीहरूको पैतृक-सम्पत्ति वा इमान्दारीसाथ कमाएको हुन सक्छ। (१ तिमोथी ६:१७) तसर्थ, हाम्रो आर्थिक स्थिति जस्तोसुकै भए तापनि रूपियाँ-पैसाको प्रेमी हुनदेखि बाइबलले हामीलाई चेताउनी दिन्छ। यसप्रकारको पीडादायी र आम अवगुणबाट जोगिन के अरू कुनै थप मदत बाइबलले प्रदान गर्छ? जरुर गर्छ। जस्तो कि, येशूको डाँडाको उपदेशमा। त्यसमा पाइने ज्ञान विश्व प्रसिद्ध छ। येशूले मत्ती ६:२६-३३ मा भन्नुभएको कुरालाई सम्झनुहोस्।
६ लूका १२:१५-२१ को वर्णनअनुसार बढी धन जम्मा गर्न खोज्दा खोज्दै अचानक आफ्नो जीवन गुमाउनु परेको एक जना धनी मानिसबारे येशूले भन्नु भयो। येशूले त्यहाँ के भन्न खोज्नु भएको थियो? उहाँले भन्नुभयो: “होशियार रहो, आफूलाई सबै किसिमका लालचबाट जोगाओ, किनकि मानिससँग भएका प्रशस्त चीजहरूले मानिसको जिन्दगी रहँदैन।” यसप्रकारको सल्लाहका साथै बाइबलले आलस्यपनलाई निन्दा गर्छ र इमान्दारीसाथ गरिने मेहनतमाथि जोड दिन्छ। (१ थिस्सलोनिकी ४:११, १२) अहो, यसप्रकारको शिक्षा हाम्रो समयसँग कहाँ मिल्छ र भनी कसै कसैले भन्लान्। तर ती शिक्षाहरू निश्चय नै समसामयिक छन्। ती सफल भएका छन्।
सिकाइएका र लाभान्वित भएका
७ अनेकौं राष्ट्रहरूमा पैसासम्बन्धी ईश्वरीय सिद्धान्तहरूलाई प्रयोग गर्ने विभिन्न सामाजिक तथा आर्थिक स्तरका पुरुष तथा स्त्रीहरूको सजीव उदाहरणहरू तपाईंले पाउनु हुनेछ। गैर साक्षीहरूले समेत देख्ने गरी यिनीहरू र यिनीहरूका परिवार यसबाट लाभान्वित भएका छन्। उदाहरणका लागि, प्रिन्सटन विश्वविद्यालयद्वारा प्रकाशित रिलिजियस मुभ्मेन्ट्स इन कन्टेम्पररी अमेरिका नामक पुस्तकमा एक जना नृवंशशास्त्रीले लेखे: “साक्षीहरूको जीवनस्तर नयाँ नयाँ गाडीहरू, महँगा लुगाहरू वा ठाँटको जीवनशैलीमा निर्भर गर्दैन भनी [साक्षीहरूका] प्रकाशनहरू र मण्डलीमा दिइने भाषणहरूद्वारा तिनीहरूलाई स्मरण गराइन्छ। साथै एक जना साक्षीले आफ्नो मालिकलाई एकदमै इमान्दारीका साथ दिनभरिको काम दिनुपर्छ [र] कर्तव्यनिष्ठ भएर इमान्दार हुनुपर्छ। . . . यसप्रकारका बानीहरूले गर्दा कम सीप भएको मानिसलाई पनि एउटा उपयोगी कामदार बनाइदिन्छ, र उत्तरी फिलाडेल्फियामा [स.रा.अ.] केही साक्षीहरू निकै नै ठूलो ओहदाहरूमा पुगेका छन्।” स्पष्ट छ, परमेश्वरको वचनद्वारा उहाँले दिनुहुने मदतकारी शिक्षाहरू स्वीकार्ने व्यक्तिहरूलाई वर्तमान स्थितिहरू सामना गर्न कठिन प्रवृत्तिहरू चिन्न सतर्क गराउँछ। बाइबलका शिक्षाहरूले एउटा उत्तम र सुखी जीवनतर्फ लैजान सक्छ भन्ने कुरा तिनीहरूका अनुभवहरूबाट प्रमाणित हुन्छ।
८ पावलले भनेका अरू तीन वटा कुराहरूलाई हामी एकसाथ जोड्न सक्छौं। आखिरी दिनमा मानिसहरू “अहंकारी, हठी, निन्दक” हुनेछन्। यी तीन दुरुस्त छैनन् तर सबै घमण्डसित सम्बन्धित छन्। पहिलो हो “अहंकारी।” एउटा शब्दकोषअनुसार यसको मूल युनानी शब्दको यस्तो अर्थ लाग्छ: “‘आफूलाई चाहिनेभन्दा बढी ठान्ने’ अथवा ‘आफूले गर्न सक्नेभन्दा बढी फूर्ति लाउने।’” त्यसैकारण केही बाइबलहरूले “फाइँफुट्टी लाउने” भन्ने शब्द प्रयोग गर्नुको कारण तपाईं सजिलै बुझ्न सक्नुहुन्छ। अर्को हो, “हठी” अर्थात् शाब्दिक अर्थमा “आफूलाई ठूलो देखाउने।” अन्तिम चाहिं “निन्दक” हो। कसै कसैको सोचाइमा निन्दक भनेको तिनीहरू हुन् जो परमेश्वरबारे अनादरपूर्ण कुरा गर्छन्, तर त्यसमा मानवहरू विरुद्ध हानिकारक, बदख्वाईंपूर्ण, वा अपशब्दहरूको प्रयोग पनि समावेश हुन्छ। अतः पावलले परमेश्वर र मानिस दुवैको विरुद्धमा गरिने निन्दालाई सङ्केत गर्छन्।
९ चाहे तिनीहरू तपाईंका सहकर्मीहरू, स्कूलका साथीहरू वा नातेदारहरू नै किन नहोस्, पावलले वर्णन गरेजस्तै मानिसहरूका बीच हुँदा तपाईंलाई कस्तो लाग्छ? के यसले तपाईंको जीवनलाई सजिलो बनाइदिन्छ? अथवा के यसप्रकारका मानिसहरूले तपाईंको जीवनलाई गोलमाल पारिदिन्छ र हाम्रो समयको सामना गर्न झनै गाह्रो बनाइदिन्छ? त्यसको विपरीत, यसप्रकारका प्रवृत्तिहरूबाट टाढा बस्नू भनी परमेश्वरको वचनले हामीलाई सिकाउँछ। अनि १ कोरिन्थी ४:७; कलस्सी ३:१२, १३; र एफिसी ४:२९ जस्ता पदहरूमा पाइने सल्लाहहरू प्रदान गर्छ।
१० मसीहीहरू असिद्ध छन्, तापनि यी असल शिक्षाहरूलाई प्रयोग गर्नाले यो डरलाग्दो समयमा तिनीहरूलाई ठूलो मदत मिल्छ। यहोवाका साक्षीहरूको वृद्धिको एउटा कारण “तिनीहरूको सङ्गठनले आफ्ना सदस्यहरूलाई एउटा निश्चित र बलियो व्यक्तित्व दिएकोले हो” भनी ला चेभेल्टा क्याटोलिका नामक इटालेली पत्रिकाले भन्यो। “बलियो व्यक्तित्व” भन्दा के लेखकले “अहंकारी, हठी, निन्दक” भन्न खोजेको हो? होइन, बरु त्यस सङ्गठनले “आफ्ना सदस्यहरूलाई एउटा निश्चित र बलियो व्यक्तित्व दिन्छ, र त्यहाँ तिनीहरूलाई न्यानोपना तथा भ्रातृत्व र एकताको भावले स्वागत गरिन्छ” भनी त्यो क्याथोलिक पत्रिकाले भन्छ। साक्षीहरूलाई सिकाइएका कुराहरूले तिनीहरूलाई मदत पुऱ्याइरहेछ भन्ने कुरा के प्रष्ट छैन र?
शिक्षाले परिवारका सदस्यहरूलाई लाभ पुऱ्याउँछ
११ अर्को चार वटा कुरालाई हामी एकसाथ जोड्न सक्छौं, जो एकअर्कासित केही हदसम्म सम्बन्धित छन्। आखिरी दिनमा धेरै मानिसहरू “आमा-बाबुको आज्ञा पालन नगर्ने, बैगुणी, अपवित्र, स्वभाविक प्रेम रहितका” हुनेछन् भनी पावलले अग्रिमवाणी गरे। यीमध्ये दुइटा अवगुणहरू—बैगुणी र अपवित्र—हाम्रा वरिपरि जताततै देखिन्छन् भन्ने कुरा तपाईंलाई थाहा छ। तर पावलले तिनीहरूलाई “आमा-बाबुको आज्ञा पालन नगर्ने” र “स्वाभाविक प्रेम रहितका” बीचमा किन हाले भनी हामी सजिलैसित बुझ्न सक्छौं। यी चारै वटा अक्सर एकअर्कासित गाँस्सिएका हुन्छन्।
१२ आमाबाबुको आज्ञा पालन नगर्नेहरू जताततै छन्, र यो झन् झन् बढ्दैछ भनी जवान होस् वा वृद्ध कुनै पनि विचारशील व्यक्तिले मान्नै पर्छ। जवान मानिसहरूलाई जे जति गरे तापनि तिनीहरू कृतघ्न नै हुन्छन् भनेर धेरै आमाबाबुहरू गुनासो गर्छन्। अर्कोतिर, आफ्ना आमाबाबु आफ्नै काम-धन्धा, पेशा तथा मौजमज्जामा व्यस्त रहन्छन् अथवा तिनीहरू आफैमा मस्त रहन्छन् र तिनीहरूप्रति अथवा साधारणतया परिवारप्रति वफादार छैनन् भनी धेरै युवाहरू आफ्नो आवाज उठाउँछन्। हामीहरू यसमा कसको गलती छ भन्नेतर्फ नहेरेर यसको परिणामहरूतर्फ हेरौं। वयस्क तथा युवाहरू बीचको अमेलले गर्दा किशोरावस्थाका केटाकेटीहरूले प्रायजसो नैतिकता वा अनैतिकताको आफ्नै स्तर बनाएका हुन्छन्। त्यसको परिणाम? किशोरावस्थामै गर्भधारण, गर्भपात, र यौनसम्बन्धबाट सर्ने रोगहरू अकासिंदो छन्। घरभित्र आपसमा स्वाभाविक प्रेमको कमीले गर्दा अक्सर मारकाट हुन्छ। स्वाभाविक प्रेम सेलाउँदै गइरहेछ भन्ने प्रमाणस्वरूप तपाईंका क्षेत्रहरूतिर भएका उदाहरणहरू तपाईं पनि भन्न सक्नुहुन्छ होला।
१३ आफ्नै विस्तृत परिवार, एउटै खलक, जाति वा समूहका सदस्यहरू बीच आज यतिविध्न विरोध किन बढेको भनी यसैबाट बुझ्न सकिन्छ। तर याद गर्नुहोस्, यी कुराहरू भनेर हामीले वर्तमान जीवनको नकारात्मक पक्षलाई मात्र समेट्न खोजेका होइनौं। हाम्रा दुई मूल चासोका विषयहरू हुन्: पावलले सूचीबद्ध गरेका त्रुटिहरूबाट हुने पीडाबाट जोगिन के बाइबलले हामीलाई मदत गर्छ? र बाइबलका शिक्षाहरूलाई आफ्नो जीवनमा प्रयोग गऱ्यौं भने के हामीलाई लाभ हुनेछ? यी दुवै प्रश्नहरूको उत्तर हो भनेर पावलले सूचीबद्ध गरेका चारैवटा बुँदाबाट प्रमाणित हुन्छ।
१४ निम्न वाक्यांश भन्नु पूर्णतया मुनासिब छ: आम तवरमा भन्ने हो भने एउटा न्यानो र सफल परिवार बनाउनमा बाइबलले जति अरू कुनै प्रकारको शिक्षाले मदत गर्न सक्दैन। परिवारका सदस्यहरू खतराबाट जोगिन मात्र होइन तर सफल हुनका लागि त्यस सल्लाहको एउटा नमूना यहाँ प्रस्तुत छ। यी कुराहरू कलस्सी ३:१८-२१ मा पाइन्छन्। तर पति, पत्नी तथा केटाकेटीहरूलाई दिइएका राम्रा र व्यावहारिक पद्यांशहरू यतिमै सीमित छैन। यी शिक्षाहरू हाम्रो समयमा पनि लाभकारी साबित भएका छन्। यो सत्य हो, साँचो मसीहीहरूको परिवारमा पनि अनेक जञ्जाल र चुनौतीहरू हुन्छन्। यद्यपि, समष्टिगत रूपमा परिणाम हेर्ने हो भने परिवारका लागि बाइबलले धेरै नै मदतकारी शिक्षाहरू प्रदान गरेको छ।
१५ क्यानाडाको लेथब्रिज विश्वविद्यालयकी एक जना अनुसन्धानकर्त्ताले १८ महिनासम्म जाम्बियामा त्यहाँको सामाजिक जीवनबारे अध्ययन गरिन्। तिनको निष्कर्ष यस्तो थियो: “वैवाहिक सम्बन्धलाई स्थिर राख्न अरू सम्प्रदायका सदस्यहरूभन्दा यहोवाका साक्षीहरू बढ्ता सफल भएका छन्। . . . पति र पत्नीबीच एउटा सन्तुलित आदान-प्रदानको भाव तिनीहरूको सफलताको एउटा कारण हो। यस बाहेक, भर्खरै फेला परेको आफ्नो नयाँ, अहानिकारक र सहयोगात्मक प्रयासहरूद्वारा तिनीहरू एकअर्कासित व्यवहार गर्दा एक जना नयाँ व्यक्तिविशेष अर्थात् परमेश्वरको सामुन्ने जवाफदेही बन्छन्। . . . यहोवाका साक्षीहरूमध्ये जो पति छन् तिनलाई आफ्नी पत्नी र केटाकेटीहरूको हित हुने जिम्मेवारी बहन गर्न सिकाइन्छ। . . . निष्ठावान व्यक्ति हुन पति र पत्नी दुवैलाई प्रोत्साहित गरिन्छ। . . . निष्ठाको यस्तो प्रबल मागले विवाहलाई बलियो बनाउँछ।”
१६ त्यो अध्ययन अनेकौं वास्तविक अनुभवहरूमा आधारित थियो। उदाहरणका लागि, सामान्य व्यवहारको विपरीत “यहोवाका साक्षीहरूमा पुरुषहरूले सुरुमा ड्याङ् बनाएर बगैंचा तयार गर्ने काममा मात्र होइन, तर पछि खन्ने र रोप्ने काममा समेत आफ्नी पत्नीहरूलाई मदत गरेको देखियो” भनी सो अनुसन्धानकर्त्ताले भनिन्। तसर्थ, बाइबलका शिक्षाहरूले मानिसहरूको जीवनलाई असर पार्छ भनी संसारभरि अनगिन्ती अनुभवहरूले प्रमाणित गर्छ।
१७ अघिल्लो लेखले जर्नल फर द साइन्टिफिक स्टडी अफ रिलिजन नामक पत्रिकामा भएका केही बुँदाहरू उल्लेख गऱ्यो। सन् १९९१ मा यसमा “रिलिजियस् हेरिटेज एण्ड प्रिम्यारिटल सेक्स: एभिडेन्स फ्रम ए नेशनल स्याम्पल अफ यङ्ग अडल्ट्स” शीर्षक भएको एउटा लेख छापिएको थियो। तपाईंलाई थाहै छ, विवाहपूर्व यौनसम्बन्ध राख्ने चलन आज कतिको व्यापक छ। कम उमेरमै थुप्रै व्यक्तिहरू कामवासनाको शिकार हुन्छन्, किशोरावस्थामा नै थुप्रैसित यौनसम्बन्ध राखेको हुन्छ। के बाइबलका शिक्षाहरूले यस्ता प्रचलित चलनहरूलाई बदल्न सक्छ?
१८ यस विषयमा अध्ययन गर्ने तीन जना सहायक प्राध्यापकहरूले ‘अधिक रूढीवादी मसीही परम्परामा हुर्केका किशोर-किशोरी र युवा-युवतीहरूमा विवाहपूर्व यौनसम्बन्ध राख्ने दर कम होला’ भन्ने प्रमाणको आशा गरेका थिए। तर तथ्यले के देखायो? विवाहपूर्व यौनसम्बन्ध राख्नेहरूको सङ्ख्या सरदर ७० देखि ८२ प्रतिशत पाइयो। कसै कसैका लागि “रूढीवादी परम्पराले गर्दा विवाहपूर्व यौनसम्बन्धको सम्भावनालाई [घटायो] तर ‘किशोरावस्थामा हुने विवाहपूर्व यौनसम्बन्ध’ चाहिं कम गर्न सकेन।” धर्मी जस्तो देखिने परिवारका केही युवाहरूमा “प्रोटेस्टेन्ट धर्मका मूल-धाराका सदस्यहरूमा भन्दा विवाहपूर्व यौनसम्बन्धको सम्भावना धेरै देखियो भनी ती अनुसन्धनकर्त्ताहरूले टिप्पणी गरे।”—तेर्सो अक्षर हाम्रो।
१९ ती प्राध्यापकहरूले यहोवाका युवा साक्षीहरूमा भने यसको ठीक विपरीत पाए। तिनीहरूको “समूह अरूहरूभन्दा बिलकुलै भिन्न” थियो। किन? “अनुभवहरू, प्रत्याशाहरू र धार्मिक गतिविधिहरूमा तिनीहरूको सहभागिताले गर्दा उत्पन्न सामाजिक एकता र प्रतिबद्धताको स्तरले . . . विश्वासका सिद्धान्तहरू पालन गर्ने प्रवृत्ति साधारणतया माथिल्लो स्तरको भएको हुन सक्छ।” तिनीहरूले यसो पनि भने: “साक्षीहरूले किशोरावस्था र युवावस्थादेखि नै प्रचारकको जिम्मेवारी बहन गरेको आशा गरिन्छ।”
२० अतः अनैतिकताबाट जोगिने मदत दिएर बाइबलका शिक्षाहरूले यहोवाका साक्षीहरूलाई फाइदा गर्छन्। यसको अर्थ हो, यौनसम्बन्धबाट सर्ने रोगहरूबाट बचाव, जसमध्ये कुनै कुनैको उपचारै छैन भने कुनैले त ज्यानै लिन्छ। यसको अर्थ, गर्भपतन गर्नुपर्ने कुनै दबाब हुँदैन, जुन बाइबलको शिक्षाअनुसार अरूको जीवन लिनु सरह छ। यसको अर्थ यो पनि हो, युवा-युवतीहरू शुद्ध विवेकका साथ वैवाहिक बन्धनमा प्रवेश गर्न सक्छन्। यसको अर्थ हो, वैवाहिक जग अझ बलियो हुन्छ। यस्ता शिक्षाहरूले नै हामीलाई समस्याहरूको सामना गर्न, स्वस्थकर तथा सुखी हुन मदत दिन सक्छन्।
सकारात्मक शिक्षा
२१ अब फेरि २ तिमोथी ३:३, ४ मा विचार गरौं र हेरौं। सबैका लागि त होइन तर धेरैका लागि मुकाबिला गर्न कठिन पार्ने अन्य के के कुराहरूबारे पावलले भनेका छन्: “[मानिसहरू] खुशी नहुने, अर्कालाई दोष लाउने, असंयमी, निष्ठूर, असल नरूचाउने, विश्वासघाती, उत्ताउला, दिमागी, [र] परमेश्वरभन्दा बरु सुख-विलास निको मान्ने” हुनेछन्। कस्तो सही कुरा! तापनि बाइबलको शिक्षाले हामीलाई जोगाउन सक्छ र त्यसको सामना गर्न सक्षम पार्न सक्छ र साथै सफल तुल्याउन सक्छ।
२२ प्रेरित पावल आफ्नो सूचीलाई एउटा सकारात्मक आग्रहसहित समाप्त गर्छन्। हामीलाई अपरिमित लाभहरू ल्याउन सक्ने एउटा ईश्वरीय आज्ञा तिनले अन्तमा भन्छन्। “भक्तिको भेष चाहिं लिने तर त्यसको शक्तिलाई इन्कार गर्ने हुनेछन्, यिनीहरूबाट पनि पर बस” भनी पावल उल्लेख गर्छन्। स्मरण रहोस्, साधारण युवा-युवतीहरूमा भन्दा चर्च जाने कुनै कुनै युवाहरूमा विवाहपूर्व यौनसम्बन्ध राख्ने दर वास्तवमा बढी हुन्छ। चर्च जानेहरूमा यसप्रकारको अनैतिकता अरूको जति मात्रै भए पनि के यो तिनीहरूको उपासना गर्ने ढङ्ग व्यर्थको छ भन्ने प्रमाण होइन र? यस बाहेक, व्यापारको कामकुरामा, आफ्नो मातहतमा काम गर्नेहरू अथवा नातेदारहरूसितको व्यवहारको सम्बन्धमा के धार्मिक शिक्षाहरूले मानिसहरूमा वास्तविक परिवर्तन ल्याउन सक्छ?
२३ परमेश्वरको वचनबाट हामीले जे सिक्छौं, त्यसलाई आफ्नो जीवनमा अभ्यास गर्नुपर्छ र हाम्रो उपासनाले मसीही धर्मको साँचो शक्तिलाई प्रदर्शित गर्नुपर्छ भनी पावलका शब्दहरूले देखाउँछ। व्यर्थको उपासना गर्नेहरूका सम्बन्धमा पावल भन्छन्: “यिनीहरूबाट पनि पर बस।” यो एउटा सुस्पष्ट आज्ञा हो जसले हामीलाई ठोस लाभहरू ल्याउनेछ।
२४ तर कुन ढङ्गमा? बाइबलको अन्तिम पुस्तकले महान बेबिलोन कहलिने एउटी वेश्यालाई लाक्षणिक आइमाईको रूपमा वर्णन गर्छ। महान बेबिलोनले झूटो धर्मको विश्वव्यापी साम्राज्यलाई प्रतिनिधित्व गर्छ र त्यसलाई यहोवाले जाँच गर्नु भएर इन्कार समेत गर्नु भएको छ भनी प्रमाणले देखाउँछ। यद्यपि, हामी त्यसमध्येका हुनै पर्छ भन्ने चाहिं छैन। प्रकाश १८:४ मा हामीलाई यसप्रकार आग्रह गरिएको छ: “हे मेरा मानिस हो, त्यसबाट निस्केर आओ। त्यसका पापसँग तिमीहरूको केही संगत हुन नपाओस् त्यसका विपत्तिहरू तिमीहरूले भोग्न नपरोस्।” वास्तवमा “यिनीहरूबाट पनि पर बस” भनी पावलले भनेको सन्देश के यही होइन र? यी शिक्षाहरू पालन गर्नु ईश्वरीय शिक्षाबाट लाभ उठाउने एउटा अर्को तरिका हो।
२५ परमेश्वरले अब चाँडै नै मानव क्रियाकलापहरूमा प्रत्यक्ष हस्तक्षेप गर्नु हुनेछ। सारा झूटा धर्मको साथै वर्तमान दुष्ट रीतिरिवाजलाई पनि उहाँले नष्ट गर्नु हुनेछ। प्रकाश १९:१, २ ले सङ्केत गरेझैं यो हर्ष-बढाइँको कारण हुनेछ। ईश्वरीय शिक्षाहरूलाई स्वीकार गर्ने तथा त्यसलाई अनुसरण गर्नेहरू सुरक्षित राखिनेछन् र यी कठिन समयका बाधाहरू पार गरिसकेपछि पनि ती शिक्षाहरू अनुसरण गरिरहने मौका पाउनेछन्।—प्रकाश २१:३, ४.
२६ निश्चय नै त्यसप्रकारको पुनर्स्थापित पार्थिव प्रमोदवनमा बस्न पाउनु अप्रत्याशित आनन्द हुनेछ। यो हाम्रालागि सम्भव छ भनी परमेश्वर प्रतिज्ञा गर्नुहुन्छ र उहाँमाथि हामी सम्पूर्ण भरोसा राख्न सक्छौं। यसप्रकार उहाँका मदतकारी शिक्षाहरूलाई स्वीकार गर्न र अनुसरण गर्न उहाँले हामीलाई यथेष्ट कारणहरू दिनुहुन्छ। तर कहिले अनुसरण गर्ने? आउनुहोस्, हाम्रा डरलाग्दा समयमा र उहाँले प्रतिज्ञा गनुभएको त्यस प्रमोदवनमा समेत उहाँको शिक्षालाई अनुसरण गरिरहौं!—मीका ४:३, ४. (w94 4/15)
ध्यान दिनुपर्ने बुँदाहरू
▫ धनसम्पत्ति सम्बन्धी परमेश्वरको सल्लाहबाट यहोवाका जनहरूले कसरी लाभ उठाउँछन्?
▫ उहाँको वचन पालन गर्दा परमेश्वरका सेवकहरूले पाएका कस्ता राम्रा परिणामहरूबारे एउटा क्याथोलिक पत्रिकाले पुष्टि दियो?
▫ ईश्वरीय शिक्षाहरू पालन गर्दा परिवारहरूले उठाएका लाभहरूबारे जाम्बियामा गरिएको एउटा अध्ययनले के प्रकट गऱ्यो?
▫ जवान मानिसहरूका लागि ईश्वरीय शिक्षाले कस्तो सुरक्षा प्रदान गर्छ?
[अध्ययनका लागि प्रश्नहरू]
१. मीकाअनुसार आखिरी दिनमा परमेश्वरले आफ्ना जनहरूको निम्ति के गरिदिनुहुनेछ?
२, ३. मानिसहरू धनका लोभी हुनेछन् भन्ने पावलको अगमवाणी अहिले कसरी पूर्ति भइरहेको छ?
४-६. धनका लोभीहरू हुनदेखि जोगिन बाइबलले मसीहीहरूलाई कसरी मदत दिन्छ?
७. धनसम्पत्तिको सम्बन्धमा हामीले बाइबलका सल्लाहहरू सफलतापूर्वक पालन गर्न सक्छौं भनी विश्वस्त हुन सक्ने कस्ता कारणहरू छन्?
८. “अहंकारी,” “हठी,” र “निन्दकहरू” लाई एक आपसमा किन गाँस्न सकिन्छ र यी तीन वटा पदहरूको अर्थ के हो?
९. अहिले सर्वव्याप्त हानिकारक मनोवृत्तिहरूको विपरीत बाइबलले मानिसहरूलाई कस्ता मनोवृत्तिहरू विकास गर्न प्रोत्साहन दिन्छ?
१०. बाइबलका सल्लाहहरू स्वीकार्दा यहोवाका जनहरू लाभान्वित भएका छन् भन्ने कस्तो सङ्केत छ?
११, १२. धेरै परिवारहरूमा हुने परिस्थितिबारे पावलले कसरी सही सङ्केत दिए?
१३, १४. (क) धेरै परिवारहरूको अवस्था नाजुक हुँदै गइरहेको बेला हामीले किन बाइबलमा ध्यान दिनुपर्छ? (ख) पारिवारिक जीवनको सम्बन्धमा परमेश्वरले कस्तो बुद्धिमतापूर्ण सल्लाह दिनुहुन्छ?
१५, १६. जाम्बियामा यहोवाका साक्षीहरूबारे अध्ययन गर्दा एक जना अनुसन्धानकर्त्ताले के भेट्टाइन्?
१७, १८. रूढीवाढी धार्मिक परम्परा र विवाहपूर्व यौनसम्बन्धबारे अध्ययन गर्दा कस्ता अनौठो नतिजाहरू भेट्टिए?
१९, २०. यहोवाका साक्षीहरूमध्ये धेरै जवानहरूलाई परमेश्वरको शिक्षाले कसरी मदत र सुरक्षा प्रदान गरेको छ?
२१. हाम्रो समयबारे कस्ता कुराहरू पावलले सही भविष्यवाणी गरे?
२२, २३. पावलले आफ्नो सूची कस्तो सकारात्मक आग्रहका साथ टुङ्ग्याए र त्यसको अर्थ के हो?
२४. प्रकाश अध्याय १८ मा दिएको आग्रह र पावलको सल्लाह कसरी समान छ?
२५, २६. यहोवा परमेश्वरबाट आउने शिक्षा अहिले स्वीकारेर पालन गर्नेहरूका सामु कस्तो भविष्य छ?
[पृष्ठ २७-मा भएको पेटी]
कस्ता दुःखद परिणामहरू!
“किशोर-किशोरीहरूले एड्सको भयङ्कर ठूलो खतरा सामना गर्छन् किनभने तिनीहरू यौन तथा लागू पदार्थसित खेलवाड गर्न चाहन्छन्, खतरा मोल्छन् र भविष्यको कुनै वास्ता नराखी तात्कालिन विलासिता खोज्छन्। तिनीहरू आफू अमर छन् भनी ठान्छन् र अख्तियारवालाहरूलाई टेर्दैनन्” भनी एड्स र किशोर-किशोरीहरू नामक सभामा प्रस्तुत गरिएको एउटा रिपोर्टले भन्छ।—न्यु योर्क डेली न्युज, आइतबार, मार्च ७, १९९३.
“यूरोप, अफ्रिका र दक्षिणपूर्व एशियामा संयुक्त राष्ट्र सङ्घले गरेको एउटा अनुसन्धानअनुसार एड्सको महामारीको ‘अग्रपङ्क्तिमा’ लैङ्गिक तवरमा सक्रिय किशोरीहरू देखिएका छन्।”—द न्यु योर्क टाइम्स्, शुक्रबार, जुलाई ३०, १९९३.
[पृष्ठ २९-मा भएको चित्र]
बाइबलको शिक्षाले घरमा र मण्डलीमा यहोवाका साक्षीहरूलाई लाभ पुऱ्याउँछ