-
अध्ययन–इनामदायी तथा आनन्ददायीप्रहरीधरहरा—२००० | अक्टोबर १
-
-
अध्ययन–इनामदायी तथा आनन्ददायी
“यदि तैंले त्यसलाई . . . खोजिस् . . . भने, . . . परमेश्वरको ज्ञान प्राप्त गर्नेछस्।” –हितोपदेश २:४, ५.
१. फुर्सतको समयमा गरिने पढाइबाट पनि कसरी लाभ उठाउन सकिन्छ?
धेरै मानिसहरू रमाइलोको लागि मात्र पढ्ने गर्छन्। विषयवस्तु लाभदायक छ भने, पढ्दा आराम हुन्छ। नियमित बाइबल पढाइ तालिकाको अलावा कोही कोही मसीहीहरू क्रमानुसार नभई भजनसंग्रह, हितोपदेश, सुसमाचारका पुस्तक वा बाइबलका अन्य भागहरू पढेर आनन्द उठाउँछन्। भाषा शैली अनि त्यसमा व्यक्त गरिएका भावनाहरूको सुन्दरताबाट पनि गहिरो आनन्द उठाउँछन्। अरू भने फुर्सतको समयमा यरबूक अफ जेहोभाज् विट्नेसेज, ब्यूँझनुहोस्! पत्रिका, यो पत्रिकामा छापिने जीवनकथा वा इतिहास, भूगोल र प्रकृतिसम्बन्धी विवरणहरू पढ्न रुचाउँछन्।
२, ३. (क) कुन अर्थमा गहन आध्यात्मिक जानकारीलाई खँदिलो खानेकुरासित तुलना गर्न सकिन्छ? (ख) अध्ययन गर्नुमा के के कुरा समावेश छन्?
२ पढाइले पनि मन बहलाउन मदत गर्छ तर अध्ययन गर्न मानसिक प्रयास गर्नुपर्छ। अंग्रेजी दार्शनिक फ्रान्सिस बेकनले यसप्रकार लेखे: “कुनै पुस्तक चाख्नुपर्छ, कुनै निल्नुपर्छ अनि कति चपाएर पचाउनुपर्छ।” बाइबल, चपाएर पचाउनुपर्ने पुस्तक हो भन्ने कुरामा कुनै सन्देह छैन। प्रेरित पावलले यसप्रकार लेखे: “[ख्रीष्ट जसलाई राजा तथा पूजाहारी मल्कीसेदेकले पूर्वचित्रण गर्छ] उहाँको विषयमा हामीले धेरै कुरा भन्नुछ, जो तिमीहरूको मन्द कान भएकाले अर्थ लाउनु पनि कठिन छ। . . . खँदिलो खानेकुराचाहिं पूरा बढ़ेका मानिसहरूका निम्ति हो, जो त्यसको प्रयोगबाट खराब र असल छुट्याउनालाई ज्ञानेन्द्रियको अभ्यास भएका हुन्छन्।” (हिब्रू ५:११, १४) खँदिलो खाना निलेर पचाउनुअघि चपाउनुपर्छ। गहन आध्यात्मिक जानकारी ग्रहण गरेर त्यसलाई मनमा राख्नुअघि मनन गर्नु जरुरी छ।
३ एउटा शब्दकोषको परिभाषाअनुसार “अध्ययन” भनेको “पढेर, अनुसन्धान गरेर वा अन्य तरिकाले ज्ञान वा समझ प्राप्त गर्न मनलाई काममा लगाउनु” हो। यसकारण, सरसरती पढेर, एक दुइटा शब्दमा धर्सो कोरेर मात्र पुग्दैन। अध्ययन भनेको काम, मानसिक प्रयास हो तथा ज्ञानेन्द्रिय शक्तिहरूको अभ्यास गर्नुपर्छ। तथापि, अध्ययन गर्न प्रयास गर्नुपर्छ भन्दैमा यो आनन्ददायी हुँदैन भन्ने चाहिं होइन।
अध्ययन आनन्ददायी बनाउने
४. भजनरचयिताका अनुसार परमेश्वरको वचनको अध्ययन कसरी स्फूर्तिदायी र आनन्ददायी हुनसक्छ?
४ परमेश्वरको वचन पढ्ने तथा अध्ययन गर्ने कार्यले स्फूर्ति र जोस प्रदान गर्नसक्छ। भजनरचयिताले यसो भने: “परमप्रभुको व्यवस्था निर्दोष छ, आत्मालाई जागृत गराउने। परमप्रभुको साक्षीवचन पक्का छ, निर्बोधहरूलाई बुद्धिमान तुल्याउने। परमप्रभुका आदेश ठीक छन्, हृदयलाई आनन्द गराउने। परमप्रभुको आशा निर्मल छ, आँखालाई उज्ज्वल तुल्याउने।” (भजन १९:७, ८) यहोवाको व्यवस्था र उहाँले हामीलाई सम्झाउनुहुने बुँदाहरूले स्फूर्ति दिन्छ, हाम्रो आध्यात्मिक अवस्था राम्रो बनाउँछ, आन्तरिक शान्ति दिन्छ अनि यहोवाका अद्भुत उद्देश्यहरूबारे स्पष्ट दृष्टि दिएर हाम्रो आँखा निर्मल बनाउँछ। कस्तो आनन्ददायी कुरा!
५. कुन कुन तरिकामा अध्ययनले हामीलाई ठूलो आनन्द दिन सक्छ?
५ आफ्नो कामको असल परिणाम देख्न पाउँदा हामीलाई रमाइलो लाग्छ। तसर्थ, अध्ययन आनन्ददायी बनाउन हामीले प्राप्त गरेको नयाँ जानकारीलाई तुरुन्तै प्रयोग गर्न सक्नुपर्छ। याकूबले यसप्रकार लेखे: “जसले स्वतंत्रताको सिद्ध व्यवस्थामा ध्यान दिएर हेर्दछ, र सुनेर नबिर्सने भई काम गर्नेसमेत भएर त्यसैमा लागिरहन्छ, त्यही मानिसले उसको काममा श्याबासी पाउनेछ।” (याकूब १:२५) आफूले सिकेका बुँदाहरूलाई तुरुन्तै व्यक्तिगत प्रयोगमा ल्याउँदा पनि ठूलो सन्तुष्टि मिल्छ। प्रचार वा शिक्षण कार्यको दौडान कसैले उठाएको कुनै खास प्रश्नको जवाफ पाउने उद्देश्यले अनुसन्धान गर्दा पनि ठूलो आनन्द प्राप्त हुन्छ।
परमेश्वरको वचनप्रति चाह जगाउने
६. भजन ११९ का लेखकले यहोवाको वचनप्रति चाह कसरी देखाए?
६ भजन ११९ का रचनाकार, हिजकियाहले सायद जवान राजकुमार छँदै यहोवाको वचनप्रति चाह देखाएका थिए। कवितामय शैलीमा तिनले यसो भने: “तपाईंका नियमहरूमा म स्वयं रमाउनेछु। तपाईंका वचन म बिर्सनेछैनँ। तपाईंका साक्षी-वचन पनि मेरो आनन्द . . . हुन्। औ मैले प्रेम गरेको तपाईंका आज्ञाहरूमा म आनन्दित हुनेछु। तपाईंका कोमल कृपा ममाथि रहोस्, र म जीवित रहूँ। किनकि तपाईंको व्यवस्थामा म प्रसन्न छु। हे परमप्रभु, मैले तपाईंबाट उद्धार पाउने इच्छा गरेको छु। र तपाईंको व्यवस्थामा म प्रसन्न छु।”—भजन ११९:१६, २४, ४७, ७७, १७४.
७, ८. (क) एउटा सन्दर्भ सामग्रीअनुसार परमेश्वरको वचनमा “आनन्दित हुनु” भनेको के हो? (ख) हामीले यहोवाको वचनप्रति कसरी प्रेम देखाउन सक्छौं? (ग) एज्राले यहोवाको व्यवस्था पढ्नुअघि कस्तो तयारी गरे?
७ भजन ११९ मा “आनन्दित हुनेछु” भनी अनुवाद गरिएको शब्दबारे हिब्रू धर्मशास्त्रसम्बन्धी शब्दकोष यसो भन्छ: “पद १६ मा प्रयोग गरिएको शब्द, रमाहट . . . र मनन गर्ने . . . अर्थ बुझाउने क्रियाहरूसित मिल्छ। क्रम यस्तो हो: रमाउनु, मनन गर्नु, आनन्दित हुनु . . . यी शब्दहरूको प्रयोगले के देखाइरहेको हुनसक्छ भने, याहवेको वचनबाट आनन्द उठाउन उद्देश्यपूर्ण मनन गर्नु जरुरी छ। . . . यसमा भावनात्मक पक्ष पनि मुछिएको छ।”a
८ हो, यहोवाको वचनप्रति हाम्रो प्रेम, भावनाहरूको केन्द्रबिन्दु अर्थात् हृदयबाट आउनुपर्छ। हामीले पढेका कुनै कुनै पद्यांश लामो समयसम्म सम्झिरहेर आनन्द उठाउन सक्नुपर्छ। गहन आध्यात्मिक सोचाइहरूमा गहिरिएर ध्यान दिनुपर्छ, त्यसमा मग्न भएर मनन गर्नुपर्छ। यसो गर्न मनमनै सोच्ने तथा प्रार्थना गर्ने गर्नुपर्छ। एज्राले जस्तै हामीले पनि परमेश्वरको वचन पढ्न र अध्ययन गर्न आफ्नो हृदय तयार पार्नुपर्छ। तिनीबारे यस्तो लेखिएको पाइन्छ: “एज्राले परमप्रभुको व्यवस्था अध्ययन गर्न र पालन गर्न औ इस्राएलमा धर्म-विधि र धार्मिकविचार सिकाउन मन दिएका थिए।” (एज्रा ७:१०) एज्राले आफ्नो हृदय तयार पार्नुको त्रिपक्षीय उद्देश्यलाई ध्यान दिनुहोस्: अध्ययन गर्नु, व्यक्तिगत प्रयोग गर्नु अनि सिकाउनु। हामीले पनि तिनको उदाहरण पछ्याउनुपर्छ।
अध्ययन —उपासनाको एउटा भाग
९, १०. (क) भजनरचयिताले यहोवाको वचनप्रति कसरी ध्यान दिए? (ख) “ध्यान दिनु” भनी अनुवाद गरिएको हिब्रू क्रियाको अर्थ के हो? (ग) बाइबल अध्ययनलाई “उपासनाको भाग” ठान्नु किन महत्त्वपूर्ण छ?
९ भजनरचयिता आफूले यहोवाको व्यवस्था, आज्ञा तथा साक्षी-वचनप्रति चासो देखाएको कुरा उल्लेख गर्छन्। तिनी यस्तो भजन गाउँछन्: “तपाईंका आदेशहरूमा म ध्यान दिनेछु, र तपाईंका मार्गहरूलाई म आदर गर्नेछु। मैले प्रेम गरेको तपाईंका आज्ञातिर मेरा हातहरू पनि उचाल्नेछु, र तपाईंका नियममा ध्यान दिनेछु। आहा! तपाईंको व्यवस्थालाई म कस्तो प्रेम गर्दछु! दिनभरि मेरो ध्यान त्यसैमा रहन्छ। मेरा सबै गुरुभन्दा मेरो समझ ज्यादा छ। किनकि मेरो ध्यान तपाईंका साक्षी-वचनमा छ।” (भजन ११९:१५, ४८, ९७, ९९) यहोवाको वचनमा ‘ध्यान दिनु’ भनेको के हो?
१० “ध्यान दिने” भनी अनुवाद गरिएको हिब्रू क्रियाले “मनन गर्नु, गहिरिएर सोच्नु,” “कुनै विषयवस्तुबारे मनमा विचार गर्नु” भन्ने अर्थ पनि बुझाउँछ। “यो, परमेश्वरका कार्यहरू . . . र उहाँको वचन मनन गर्ने सन्दर्भमा प्रयोग गरिन्छ।” (थियोलोजिकल वर्डबूक अफ दी ओल्ड टेस्टामेन्ट) “ध्यान” भन्ने नाम पदले “उपासनाको रूपमा” परमेश्वरको व्यवस्थामा “भजनरचयिताको मनन,”-लाई “प्रेमद्वारा उत्प्रेरित अध्ययन” भनी बुझाउँछ। परमेश्वरको वचनको अध्ययनलाई उपासनाको एउटा भाग ठान्दा यसको गम्भीरता अझ बढ्छ। त्यसकारण, लगनशील भएर प्रार्थनापूर्वक अध्ययन गर्नुपर्छ। अध्ययन, हाम्रो उपासनाको भाग हो र यसले हाम्रो उपासनाको गुणस्तर बढाउँछ।
परमेश्वरको वचनमा गहिरिएर खोतल्ने
११. यहोवाले आफ्ना जनहरूलाई गहिरा गहिरा कुरा कसरी प्रकट गर्नुहुन्छ?
११ श्रद्धेय प्रशंसा गर्दै भजनरचयिताले यस्तो उद्गार व्यक्त गरे: “हे परमप्रभु, तपाईंका कार्यहरू कति महान् छन्! तपाईंका विचारहरू अति गम्भीर छन्।” (भजन ९२:५) अनि प्रेरित पावलले “परमेश्वरका गहीरा गहीरा कुराहरू” अर्थात् यहोवाले विश्वासी र बुद्धिमान् दासलाई “आत्माद्वारा” प्रकट गर्नुहुने गहन विचारहरूबारे बताए। (१ कोरिन्थी २:१०; मत्ती २४:४५) “अर्थ लाउनु कठिन” कुरा बुझाउँदै दास वर्गले लगनशील भएर सबैलाई आध्यात्मिक पोषण अर्थात् नयाँहरूको लागि “दूध” तर “पूरा बढेका मानिसहरूका निम्ति” “खँदिलो खानेकुरा” प्रदान गर्छ।—हिब्रू ५:११-१४.
१२. दासवर्गले “परमेश्वरका गहीरा गहीरा कुराहरू” वर्णन गरेको उदाहरण दिनुहोस्।
१२ “परमेश्वरका गहीरा गहीरा कुराहरू” बुझ्न प्रार्थनापूर्वक उहाँको वचन अध्ययन गरेर त्यसमा मनन गर्नु जरुरी छ। उदाहरणका लागि, यहोवा न्यायी र दयालु दुवै हुनुहुन्छ भनेर देखाउन राम्रो विषयवस्तु प्रकाशित भएको छ। उहाँले दया देखाउनुहुँदा न्यायलाई फितलो बनाउनुहुन्न; बरु, ईश्वरीय दया, परमेश्वरको न्याय र उहाँको प्रेमको अभिव्यक्ति हो। पापीको न्याय गर्नुहुँदा यहोवाले सर्वप्रथम, आफ्नो पुत्रको छुडौतीको बलिदानको आधारमा दया देखाउन सम्भव छ कि छैन भनेर हेर्नुहुन्छ। अपश्चात्तापी वा विद्रोही पापी छ भने, परमेश्वरले दया नगरी न्याय गर्नुहुन्छ। अवस्था जस्तोसुकै होस्, उहाँले आफ्नो उच्च स्तर बंग्याउनुहुन्न।b (रोमी ३:२१-२६) “अहा! परमेश्वरका बुद्धि . . . कस्तो गहीरो छ!”—रोमी ११:३३.
१३. अहिलेसम्म प्रकट भएका आध्यात्मिक सत्यको “ठूलो भण्डार[प्रति]” हामी कसरी मूल्यांकन देखाउन सक्छौं?
१३ यहोवाले आफ्ना विचारहरू बताउनुभएकोमा हामी भजनरचयिताजस्तै रमाउँछौं। दाऊदले यसप्रकार लेखे: “हे परमेश्वर, मेरो निम्ति तपाईंका विचारहरू कति अमूल्य छन्। तिनीहरूको संख्याको सार कति ठूलो छ। तिनीहरूलाई गने भने, ती बालुवाका संख्याभन्दा बढ़ी छन्।” (भजन १३९:१७, १८) अहिले हामीसित भएको ज्ञान, यहोवाले अनन्तसम्म प्रकट गर्नुहुने विचारहरूको सानो अंश मात्र हो। तापनि, उहाँले अहिलेसम्म प्रकट गर्नुभएको अनमोल आध्यात्मिक सत्यको “ठूलो भण्डार[को]” हामी मूल्यांकन गर्छौं र परमेश्वरको वचनमा अझ गहिरिएर खोतल्न चाहन्छौं।—भजन ११९:१६०, NW, पादटिप्पणी।
प्रयास र प्रभावकारी साधनहरूको खाँचो
१४. हितोपदेश २:१-६ ले परमेश्वरको वचन अध्ययन गर्न प्रयास गर्नुपर्ने खाँचो कसरी देखाउँछ?
१४ गहन बाइबल अध्ययन गर्न प्रयास गर्नुपर्छ। यो तथ्य, हितोपदेश २:१-६ ध्यान दिएर पढ्दा स्पष्ट हुन्छ। राजा सुलेमानले ईश्वरीय ज्ञान, बुद्धि र विवेक प्राप्त गर्न प्रयास गर्नुपर्छ भनी बुझाउन प्रयोग गरेका क्रियाहरूमा ध्यान दिनुहोस्। तिनले यसप्रकार लेखे: “हे मेरो छोरो, यदि तैंले मेरा वचन हृदयमा लिइस् र मेरा आज्ञा तेरो मनमा राखिस् भने बुद्धिमा तेरो ध्यान र तेरो मन समझ-शक्तिमा लगाइस् भने, तैंले विवेक माग्छस् भने समझशक्तिलाई पुकार्। यदि तैंले त्यसलाई चाँदीझैं खोजिस् र गाड़-धनझैं त्यो खनिस् भने, तैंले परमप्रभुको भय बुझ्नेछस्, र परमेश्वरको ज्ञान प्राप्त गर्नेछस्। किनभने बुद्धि दिने परमप्रभुनै हुनुहुन्छ, र ज्ञान र समझ-शक्ति उहाँबाटनै आउँछन्।” हो, अध्ययनलाई इनामदायी बनाउन गाडधनलाई खोजेझैं अनुसन्धान अनि खानतलास गर्नुपर्छ।
१५. अध्ययन गर्ने राम्रो तरिका हुनुपर्छ भन्ने कुरालाई बाइबलको कुन उदाहरणले प्रस्ट पार्छ?
१५ अध्ययनबाट आध्यात्मिक पोषण पाउन अध्ययन गर्ने राम्रो तरिका पनि हुनुपर्छ। सुलेमानले यसो पनि लेखे: “बञ्चरो बोधे छ र त्यो उध्याएको छैन भने ज्यादै बल प्रयोग गर्नुपर्छ।” (उपदेशक १०:१०) कामदारले बोधो हतियार चलाउँछ वा त्यसलाई निपुणतापूर्वक चलाउँदैन भने उसले आफ्नो शक्ति खेर फालिरहेको हुन्छ र काम पनि राम्रो हुँदैन। त्यसरी नै, अध्ययन गर्न लगाएको समयबाट पाउने लाभ पनि हाम्रो अध्ययन गर्ने तरिकामा निर्भर हुन्छ। हाम्रो अध्ययन गर्ने तरिकामा प्रगति गर्ने उत्तम व्यावहारिक सुझाउहरू थियोक्राटिक मिनिस्ट्री स्कूल गाइडबूक पुस्तकको पाठ ७ मा पाइन्छ।c
१६. गहिरो अध्ययन गर्न कस्ता व्यावहारिक सुझाउहरू दिइएका छन्?
१६ कारिन्दाले काम सुरु गर्नुअघि आफूलाई चाहिने सबै औजार आफ्नोअगाडि राख्छ। त्यसरी नै, अध्ययन थाल्नुअघि हामीलाई चाहिने अध्ययन सामग्रीहरू आफ्नो निजी पुस्तकालयबाट छान्नुपर्छ। अध्ययन भनेको काम हो र मानसिक प्रयास गर्नुपर्छ भन्ने कुरालाई सम्झँदै सही ढंगले बस्नु बेस हो। मानसिक तवरमा टाठो रहन चाहन्छौं भने, ओछ्यानमा लमतन्न पर्नु वा आरामदायी मेचमा बस्नुभन्दा टेबलमा किताब राखेर मेचमा बसेर पढ्नु बेस हो। केही छिन ध्यान दिएर अध्ययन गरिसकेपछि जीउ तन्काउनु वा ताजा हावा खान बाहिर निस्कनु पनि मदतकारी हुनसक्छ।
१७, १८. आफूसित उपलब्ध अध्ययन सहायक सामग्रीहरू कसरी प्रयोग गर्न सकिन्छ, उदाहरणसहित बताउनुहोस्।
१७ हाम्रोलागि थुप्रै अतुलनीय अध्ययन सामग्रीहरू उपलब्ध छन्। यसमध्ये सबैभन्दा प्रमुख, बाइबलको न्यु वर्ल्ड ट्रान्सलेशन हो र यो अहिले पूरै वा आंशिक रूपमा ३७ वटा भाषामा उपलब्ध छ। न्यु वर्ल्ड ट्रान्सलेशन-को स्टाण्डर्ड संस्करणमा थप सन्दर्भ र “बाइबलको विषयसूची” छ। यसबाट लेखकको नाउँ, ठाउँ र समयावधि थाह लाग्छ। यसमा बाइबलका शब्दहरूको अनुक्रमणिका, परिशिष्ट र नक्साहरू पनि छन्। कुनै कुनै भाषामा यो बाइबल ठूलो संस्करणमा छापिएको छ र त्यसलाई रेफरेन्स बाइबल भनिन्छ। यसमा माथि उल्लिखित अनेकन् पक्षहरूलगायत थुप्रै पादटिप्पणी छन् र यो पनि क्रमबद्ध छ। परमेश्वरको वचन अझ गहिरिएर अध्ययन गर्न के तपाईं आफ्नो भाषामा उपलब्ध सामग्रीको पूर्ण सदुपयोग गर्नुहुन्छ?
१८ अर्को अनमोल अध्ययन सामग्री दुई खण्डे बाइबल शब्दकोष, इन्साइट अन द स्क्रिप्चर्स हो। तपाईंले बुझ्नुहुने भाषामा यो उपलब्ध छ भने अध्ययन गर्दा यसको सधैं प्रयोग गर्नुपर्छ। यसबाट तपाईंले प्रायजसो बाइबल विषयहरूमा थप जानकारी पाउन सक्नुहुन्छ। त्यस्तै मदतकारी सामग्री “अल स्क्रिप्चर इज इन्स्पायर्ड अफ गड एण्ड बेनिफिसियल” हो। बाइबलको नयाँ पुस्तक पढ्न थाल्नुअघि “अल स्क्रिप्चर” पुस्तकमा त्योसित सम्बन्धित अध्याय पढेर भौगोलिक तथा ऐतिहासिक पृष्ठभूमि र बाइबल पुस्तकको विषयवस्तु तथा त्यसको महत्त्वबारे छोटो जानकारी लिनु राम्रो हो। मुद्रित प्रकाशनको अलावा कम्प्युटरमा प्रयोग गर्नको लागि वाचटावर लाइब्ररी हालै नौवटा भाषामा उपलब्ध भएको छ।
१९. (क) यहोवाले हामीलाई बाइबल अध्ययन गर्न किन राम्रा सामग्रीहरू प्रदान गर्नुभएको छ? (ख) सही तरिकामा बाइबल पढाइ र अध्ययन गर्न के चाहिन्छ?
१९ आफ्ना सेवकहरूले ‘परमेश्वरको ज्ञान खोजेर भेट्टाउन’ सकोस् भनेर यहोवाले यी सबै सामग्रीहरू “विश्वासी र बुद्धिमान दास [मार्फत]” प्रदान गर्नुभएको छ। (हितोपदेश २:४, ५) अध्ययन गर्ने राम्रो बानीले यहोवालाई अझ राम्ररी चिन्न अनि उहाँसित घनिष्ठ सम्बन्ध राख्न मदत गर्छ। (भजन ६३:१-८) हो, अध्ययन भनेको काम हो तर यो आनन्ददायी तथा इनामदायी हुन्छ। तथापि, यसो गर्न समय लाग्छ। सायद तपाईंले सोचिरहनुभएको होला, ‘बाइबल पढ्न र व्यक्तिगत अध्ययन गर्न म कसरी समय निकाल्न सक्छु?’ यसपछिको लेखमा यो बुँदा छलफल गरिनेछ।
-
-
पढ्न र अध्ययन गर्न समय निकाल्नेप्रहरीधरहरा—२००० | अक्टोबर १
-
-
पढ्न र अध्ययन गर्न समय निकाल्ने
“समयको अवसर विचार गरेर सम्झ [ समय निकाल, Nw], किनभने समय खराब छ।”–एफिसी ५:१६.
१. हाम्रो समय राम्ररी छुट्याउनु किन बुद्धिमानी हो र हामी कसरी समय छुट्याउँछौं, त्यसले हामीबारे के देखाउँछ?
भनिन्छ, “समय निकाल्नु भनेको समयको बचत गर्नु हो।” आफूले गर्नुपर्ने कामको लागि समय छुट्याउने व्यक्तिले आफ्नो समयको पूर्ण सदुपयोग गरिरहेको हुन्छ। बुद्धिमान् राजा सुलेमानले यसप्रकार लेखे: “सबै कुराको लागि समय छ, औ संसारमा सबै कामको बेला छ।” (उपदेशक ३:१) हामी सबैसित बराबर समय छ; तर कसरी प्रयोग गर्छौं, हाम्रै हातमा छ। हामी कुन कुरालाई प्राथमिकता दिन्छौं अनि कुन कुरामा कति समय छुट्याउँछौं, त्यसले हामीलाई सबैभन्दा मनपर्ने कुरा के हो भनेर देखाउँछ।—मत्ती ६:२१.
२. (क) डाँडाको उपदेशमा येशूले हाम्रो आध्यात्मिक आवश्यकताबारे के भन्नुभयो? (ख) हामीले कस्तो आत्म-परीक्षण गर्नुपर्छ?
२ हामी खाने र सुत्ने जस्ता कामहरूका लागि समय खर्च गर्न बाध्य छौं किनकि ती हाम्रा शारीरिक आवश्यकताहरू हुन्। हाम्रा आध्यात्मिक आवश्यकताहरू नि? यी आवश्यकताहरू पनि पूरा गर्नैपर्छ भनेर हामीलाई थाह छ। डाँडाको उपदेशमा येशूले यसो भन्नुभयो: “धन्य आत्मामा दरिद्र हुनेहरू।” (मत्ती ५:३) त्यसैकारण, “विश्वासी र बुद्धिमान दास” हामीलाई बाइबल पढ्न र अध्ययन गर्नको लागि नियमित तवरमा समय छुट्याउन सम्झाइरहन्छ। (मत्ती २४:४५) यसको महत्त्व तपाईंले बुझ्नुभएको होला, तर बाइबल पढाइ र अध्ययनको लागि समय छैन जस्तो लाग्नसक्छ। त्यसो हो भने, परमेश्वरको वचन पढ्न, व्यक्तिगत अध्ययन अनि मनन गर्न अझ बढी समय निकाल्ने तरिका र माध्यमहरू केलाऔं।
बाइबल पढाइ तथा अध्ययनको लागि समय निकाल्ने
३, ४. (क) प्रेरित पावलले हाम्रो समयको प्रयोगबारे कस्तो सल्लाह दिए अनि यसमा के के समावेश छ? (ख) पावलले हामीलाई ‘समय निकाल’ भन्ने सल्लाह दिनुको अर्थ के हो?
३ अहिले हामी बाँचिरहेको समयलाई विचार गर्दा सबैले प्रेरित पावलका यी शब्दहरू पालन गर्नुपर्छ: “कसरी हिंड़छौ ठीकसँग हेर, निर्बुद्धि जस्तो होइन, तर बुद्धिमान मानिसजस्तो, समयको अवसर विचार गरेर सम्झ, किनभने समय खराब छ। यसैकारण मूर्ख नहोऊ, तर प्रभुको इच्छा के रहेछ, सो बुझ।” (एफिसी ५:१५-१७) निस्सन्देह, यो सल्लाहले हाम्रो समर्पित मसीही जीवनको हरेक पक्षलाई समेट्छ। जस्तै, प्रार्थना, अध्ययन, सभाको लागि समय निकाल्ने अनि “राज्यको सुसमाचार” प्रचार गर्ने कार्यमा आफूले सकेजति भाग लिने।—मत्ती २४:१४; २८:१९, २०.
४ अहिले यहोवाका थुप्रै सेवकलाई बाइबल पढ्न र त्यसको गहन अध्ययन गर्न समय निकाल्न गाह्रो भइरहेको देखिन्छ। हुन त हो, हामी दिन लम्ब्याउन सक्दैनौं, त्यसकारण पावलको सल्लाहको अर्थ अर्कै हुनुपर्छ। “समय निकाल” भन्ने अर्थ बुझाउने युनानी पद्यांशले कुनै कुरा त्यागेर त्यो रकम अर्को काममा खर्च गर्नु भन्ने संकेत गर्छ। डब्ल्यु. इ. भाइनको एक्स्पोजिटरी डिक्सनरी-अनुसार यसको अर्थ “हरेक अवसरको सदुपयोग गर्नु, हरेकबाट यथासम्भव फाइदा उठाउनु हो किनभने मौका गुम्यो भने फेरि फर्केर आउँदैन।” हामी बाइबल पढ्ने र अध्ययन गर्ने समय कसरी र कहाँबाट निकाल्न सक्छौं?
हामीले प्राथमिकता छुट्याउनैपर्छ
५. हामीले किन अनि कसरी ‘उत्तम कुराहरू खुट्याउनुपर्छ?’
५ हाम्रा भौतिक दायित्वहरूको अलावा आध्यात्मिक जिम्मेवारीहरू पनि थुप्रै छन्। यहोवाका समर्पित सेवकहरूको हैसियतमा हामीसित “प्रभुको काम . . . प्रशस्त” छ। (१ कोरिन्थी १५:५८) यसैकारण, पावलले फिलिप्पीका मसीहीहरूलाई “जे उत्तम छ सो तिमीहरू खुट्याउन सक” भन्ने निर्देशन दिए। (फिलिप्पी १:१०, नयाँ संशोधित संस्करण) यसको मतलब हो, हामीले प्राथमिकता छुट्याउनुपर्छ। भौतिक कुराहरूभन्दा आध्यात्मिक कुराहरूलाई सधैं प्राथमिकता दिनुपर्छ। (मत्ती ६:३१-३३) यद्यपि, हाम्रो आध्यात्मिक दायित्व पूरा गर्न सन्तुलन पनि चाहिन्छ। हामीले मसीही जीवनका विभिन्न पक्षहरूको लागि कसरी समय छुट्याइरहेका छौं? परिभ्रमण निरीक्षकहरूको रिपोर्टअनुसार मसीहीहरूले व्यक्तिगत अध्ययन र बाइबल पढाइजस्ता “उत्तम” कुराहरूमा ध्यान दिनुपर्छ तर ती भने बेवास्ता भएको पाइयो।
६. जागिर वा घरधन्दाको सन्दर्भमा समय निकाल्नुको अर्थ के हुनसक्छ?
६ हामीले यहाँ थाह पाएअनुसार समय निकाल्न “हरेक मौकाको सदुपयोग गर्नुपर्छ” र “हरेक मौकाबाट पूरा फाइदा उठाउनुपर्छ।” अतः बाइबल पढाइ र अध्ययन गर्ने बानी राम्रो छैन भने हाम्रो समय कसरी खर्च भइरहेको छ भनेर व्यक्तिगत परिस्थिति केलाउनु बेस हुनेछ। जागिरमा बढ्तै समय बिताउनुपर्छ र हामी लखतरान हुन्छौं भने, यसबारे यहोवालाई प्रार्थना गर्नुपर्छ। (भजन ५५:२२) हुनसक्छ, त्यसो गर्दा हामीले काँटछाँट गरेर बाइबल पढाइ र अध्ययनजस्ता यहोवाको उपासनासित सम्बन्धित बढी महत्त्वपूर्ण कुराहरूमा समय खर्च गर्न सक्नेछौं कि। महिलाहरूको काम कहिल्यै सिद्धिंदैन भन्ने भनाइ सोह्रै आना सही हो। त्यसकारण, मसीही बहिनीहरूले पनि प्राथमिकता छुट्याउनुपर्छ अनि बाइबल पढाइ तथा गहन अध्ययनको लागि समय तोक्नुपर्छ।
७, ८. (क) पढ्न र अध्ययन गर्न कुन गतिविधिहरूबाट समय निकाल्न सकिन्छ? (ख) मनोरञ्जनको उद्देश्य के हो र यसलाई मनमा राखेमा त्यसले हामीलाई कसरी प्राथमिकताहरू छुट्याउन मदत गर्नसक्छ?
७ साधारणतया, हामी सबैले अनावश्यक क्रियाकलापहरूमा समय खर्च नगरेर अध्ययन गर्न समय निकाल्न सक्छौं। हामी आफैलाई सोध्न सक्छौं, ‘म पत्रपत्रिका, अखबार पढ्न, टेलिभिजन कार्यक्रमहरू हेर्न, संगीत सुन्न वा भिडियो गेम खेल्न कति समय बिताउँछु? के म बाइबल पढ्नभन्दा कम्प्युटरमा बढी समय बिताउँछु?’ पावल भन्छन्: “मूर्ख नहोऊ, तर प्रभुको इच्छा के रहेछ, सो बुझ।” (एफिसी ५:१७) थुप्रै साक्षीले व्यक्तिगत अध्ययन र बाइबल पढाइको लागि पर्याप्त समय छुट्याउन नसक्नुको एउटा प्रमुख कारण, टेलिभिजनको अनुचित प्रयोग हो।—भजन १०१:३; ११९:३७, ४७, ४८.
८ कसै कसैले भन्लान्, म हरबखत पढिरहन सक्दिनँ, रमाइलो पनि गर्नुपर्छ नि। यो कुरा सही हो तर हामीले बाइबल पढ्न र अध्ययन गर्न बिताउने समयसित हामीले आराम गर्न बिताउने समय तुलना गर्नु बेस होला। यसबाट पत्ता लागेको कुराले तपाईंलाई छक्कै पार्नसक्छ। मनोरञ्जन र आराम हामीलाई चाहिन्छ तर त्यसको आफ्नै उचित ठाउँ छ। त्यसको उद्देश्य नयाँ जोसका साथ आध्यात्मिक क्रियाकलापहरूमा भाग लिन स्फूर्ति प्रदान गर्नु हो। प्रायजसो टेलिभिजन कार्यक्रम र भिडियो गेमले लखतरान बनाउँछ तर परमेश्वरको वचनको पढाइ र अध्ययनले स्फूर्ति अनि जोस प्रदान गर्छ।—भजन १९:७, ८.
कसै कसैले अध्ययन गर्न कसरी समय निकाल्छन्
९. दिनहुँ धर्मशास्त्र जाँच्ने—१९९९ पुस्तिकामा दिइएको सल्लाह पालन गर्दा हुने लाभहरू के हुन्?
९ सन् १९९९ को दिनहुँ धर्मशास्त्र जाँच्ने पुस्तिकाको प्राक्कथनमा यसो भनिएको छ: “यस पुस्तिकाबाट दैनिक पद र टिप्पणी छलफल गर्न बिहानको समय सबैभन्दा लाभकारी हो। महान् निर्देशक यहोवा स्वयम्ले नै निर्देशनहरू दिएर उठाउनुभएको जस्तो महसुस गर्नुहुनेछ। भविष्यसूचक ढंगमा येशू ख्रीष्ट हरेक बिहान यहोवा परमेश्वरबाट प्राप्त निर्देशनबाट लाभान्वित हुनुभएको बताइएको छ: ‘उहाँले [यहोवाले] मलाई बिहानैपिच्छे जगाउनुहुन्छ। सिक्नेहरूलाई झैं सुन्न उहाँले मेरो कान खोलिदिनुहुन्छ।’ त्यस्तो निर्देशनबाट येशूले ‘थाकेकोलाई वचनले कसरी बल दिनु पर्ने हो’ भनी जान्न ‘सिक्नेहरूको बोली दिनुभएको छ।’ (यशै. ३०:२०; ५०:४; मत्ती ११:२८-३०) हरेक बिहान परमेश्वरको वचनको सामयिक सल्लाह छलफल गर्दा तपाईंले आफ्ना समस्याहरू सामना गर्न मदत मात्र पाउनुहुने होइन तर अरूलाई मदत गर्न “सिक्नेहरूका बोली” पनि प्राप्त गर्नुहुनेछ।”a
१०. कसै कसैले बाइबल पढाइ र अध्ययनको लागि कसरी समय निकाल्छन् अनि कस्ता लाभ उठाएका छन्?
१० थुप्रै मसीहीले दैनिक पद र टिप्पणीको साथसाथै बिहान सबेरै बाइबल पढेर वा अध्ययन गरेर यो सल्लाह पालन गर्छन्। फ्रान्सकी वफादार अग्रगामी बहिनी बिहान सबेरै उठेर ३० मिनेट बाइबल पढ्ने गर्छिन्। वर्षौंसम्म यसो गर्न उनलाई कुन कुराले मदत गरेको छ? उनी भन्छिन्: “मैले निकै उत्प्रेरणा पाएकी छु र जे सुकै आइ परे तापनि तालिकाअनुसार पढ्न छुटाउँदिनँ!” दिनको जुनसुकै समयमा पढे तापनि, मुख्य कुरा तालिका नटुटाउनु हो। युरोप र उत्तर अमेरिकामा ४० वर्षभन्दा लामो समयसम्म अग्रगामीको काम गरिसकेकी रेने मीका यसो भन्छिन्: “सन् १९५० देखि मैले हरेक वर्ष पूरै बाइबल पढ्ने लक्ष्य बनाएकी छु र मैले ४९ चोटि पढिसकें। सृष्टिकर्तासित घनिष्ठ सम्बन्ध कायम गर्न मलाई यसरी बाइबल पढ्नु महत्त्वपूर्ण लाग्छ। परमेश्वरको वचनमा मनन गर्दा यहोवाको न्याय र उहाँका अरू गुणहरू राम्ररी बुझ्न सकेकी छु अनि यसले मलाई अत्यन्तै बल प्रदान गरेको छ।”b
“समय समयमा . . . भोजन”
११, १२. (क) “बुद्धिमान भण्डारे” मार्फत कस्तो आध्यात्मिक “भोजन” प्रबन्ध गरिएको छ? (ख) कसरी समय समयमा “भोजन” प्रबन्ध गरिएको छ?
११ भोजन गर्ने नियमित बानीले स्वास्थ्य राम्रो बनाएझैं बाइबल पढाइ र अध्ययन गर्ने नियमित तालिकाले आध्यात्मिक स्वास्थ्यलाई राम्रो बनाउँछ। लुकाले लेखेको सुसमाचारका पुस्तकमा हामी येशूका यी शब्दहरू पाउँछौं: “त्यो विश्वासी र बुद्धिमान भण्डारे को हो? जसलाई त्यसका मालिकले आफ्ना घरानालाई समय समयमा तिनीहरूका भोजन दिनालाई खटाएका छन्।” (लूका १२:४२) प्रहरीधरहरा तथा बाइबल आधारित पुस्तक तथा प्रकाशनहरूद्वारा “समय समयमा” आध्यात्मिक “भोजन” दिंदै आएको अहिले १२० वर्षभन्दा बढी भइसक्यो।
१२ “समय समयमा” भन्ने अभिव्यक्तिलाई ध्यान दिनुहोस्। ठ्याक्क चाहिएको बेलामै हाम्रो “महान् शिक्षक” यहोवाले आफ्नो पुत्र र दासवर्गमार्फत सिद्धान्त र आचरणको मामिलामा आफ्ना जनहरूलाई डोऱ्याउनुभएको छ। मानौं हामीले सामूहिक तवरमा यो आवाज सुनेझैं छ: “तिमीहरू दाहिने–देब्रे लाग्दा तिमीहरूका कानले तिमीहरूका पछिल्तिर यसो भन्ने शब्द सुन्नेछौ, ‘बाटो यही हो, यसैमा तिमीहरू हिंड़।’ ” (यशैया ३०:२०, २१) यसबाहेक, व्यक्तिविशेषले ध्यान दिएर बाइबल र बाइबल आधारित प्रकाशनहरू पढ्दा तिनीहरूलाई त्यहाँ व्यक्त गरिएका भावना तथा सोचाइहरू आफूलाई नै भनेको जस्तो लाग्न थाल्छ। हो, हामी ईश्वरीय सल्लाह र निर्देशन ठीक समयमा पाउँछौं र त्यसले हामीलाई प्रलोभनको विरोध गर्न वा बुद्धिमान् निर्णय गर्न मदत गर्छ।
भोजन गर्ने राम्रो बानी बसाल्नुहोस्
१३. आध्यात्मिक भोजन गर्ने अस्वस्थकर बानीहरू के हुन्?
१३ ठीक समयमा प्रदान गरिएको त्यस्तो “भोजन[बाट]” पूर्ण लाभ उठाउन हाम्रो भोजन गर्ने राम्रो बानी हुनुपर्छ। बाइबल पढाइ र व्यक्तिगत अध्ययन गर्ने नियमित तालिका हुनु र त्यसलाई नटुटाउनु जरुरी छ। के तपाईंको आध्यात्मिक भोजन गर्ने राम्रो बानी छ? के तपाईं नियमित तवरमा गहन अध्ययन गर्नुहुन्छ? अथवा हाम्रो लागि विचार पुऱ्याएर तयार पारिएको विषयवस्तु सरसरती हेर्ने मात्र गर्नुहुन्छ? भनौं भने, हतार हतार खाने वा कहिलेकाहीं भोजनै नगर्ने गर्नुहुन्छ कि? आध्यात्मिक भोजन गर्ने अस्वस्थकर बानीले गर्दा कोही कोही विश्वासमा कमजोर हुनुका साथै तर्किएर समेत गएका छन्।—१ तिमोथी १:१९; ४:१५, १६.
१४. पहिल्यै थाह भइसकेको जस्तो लाग्ने विषयमा पनि ध्यान दिनु किन लाभकारी हुन्छ?
१४ आधारभूत धर्म सिद्धान्तहरू थाह छँदैछ अनि प्रत्येक लेखले पूर्णतया नयाँ जानकारी प्रस्तुत गरेको हुँदैन नि भन्ने कसै कसैलाई लागेको हुनसक्छ। यसकारण, तिनीहरूलाई व्यवस्थित ढंगमा अध्ययन गर्नु तथा सभामा उपस्थित हुनु अनावश्यक लाग्नसक्छ। तथापि, पहिले सिकिसकेका कुराहरू हामीले आफूलाई पटक पटक सम्झाइरहनुपर्छ भनेर बाइबलले देखाउँछ। (भजन ११९:९५, ९९; २ पत्रुस ३:१; यहूदा ५) राम्रो भान्छेले एउटै कुराको विभिन्न प्रकारको स्वादिलो परिकार बनाएझैं दास वर्गले विभिन्न तरिकामा पोषिलो आध्यात्मिक भोजन प्रस्तुत गर्छ। पहिल्यै छलफल गरिसकेका लेखहरूमा समेत हामीले छुटाउन नहुने राम्रा बुँदाहरू हुन्छन्। पढेको कुराबाट के कति सिक्छौं, मुख्यतः हामीले अध्ययन गर्न लगाएको समय र प्रयासमा धेरै निर्भर हुन्छ।
पढाइ र अध्ययनबाट आध्यात्मिक लाभ
१५. बाइबल पढाइ र अध्ययनले परमेश्वरको वचनका उत्तम सेवकहरू हुन कसरी मदत गर्छन्?
१५ हामीले बाइबल पढाइ र अध्ययनबाट पाउने लाभहरू अनगिन्ती छन्। यसले हामीलाई एउटा आधारभूत मसीही जिम्मेवारी पूरा गर्न मदत गर्छ। त्यो हो, “सत्यको वचनलाई ठीकसँग प्रयोग गरेर शर्माउन नपर्ने खेताला” हुने। (२ तिमोथी २:१५) हामी बाइबल जति धेरै पढेर अध्ययन गर्छौं, त्यति नै धेरै हाम्रो दिमाग परमेश्वरको विचारले भरिनेछ। तब, पावलजस्तै हामी यहोवाका उद्देश्यको अद्भुत सत्यबारे ‘कुराको अर्थ खोलीकन धर्मशास्त्रबाट बहस’ गर्न सक्ने हुनेछौं। (प्रेरित १७:२, ३) हाम्रो सिकाउने क्षमता विकास हुनेछ अनि हाम्रो कुराकानी, भाषण र सल्लाह पनि आध्यात्मिक तवरमा अझ उत्थानदायी हुनेछ।—हितोपदेश १:५.
१६. परमेश्वरको वचनको पढाइ र अध्ययनबाट हामी कस्ता व्यक्तिगत लाभहरू उठाउँछौं?
१६ साथै, परमेश्वरको वचन जाँच्न बिताएको समयले हामीलाई आफ्नो जीवन यहोवाको तौरतरिकाअनुसार ढाल्न मदत गर्नेछ। (भजन २५:४; ११९:९, १०; हितोपदेश ६:२०-२३) यसले नम्रता, वफादारी र आनन्दजस्ता आध्यात्मिक गुणहरूलाई अझ चम्काउनेछ। (व्यवस्था १७:१९, २०; प्रकाश १:३) बाइबल पढाइ र अध्ययनबाट पाएको ज्ञान व्यवहारमा उतार्दा हाम्रो जीवनमा परमेश्वरको आत्मा अझ सक्रिय हुन्छ र हाम्रो सम्पूर्ण क्रियाकलापमा आत्माको फल प्रशस्त हुँदै जान्छ।—गलाती ५:२२, २३.
१७. व्यक्तिगत बाइबल पढाइ र अध्ययनको मात्रा अनि गुणस्तरले यहोवासितको हाम्रो सम्बन्धलाई कसरी असर गर्छ?
१७ सबैभन्दा महत्त्वपूर्ण कुरा, अरू क्रियाकलापमा समय कटौती गरेर परमेश्वरको वचन पढ्न र अध्ययन गर्न समय निकाल्दा परमेश्वरसित हाम्रो सम्बन्ध अझ मजबुत हुन्छ। आफ्ना सँगी मसीहीहरू ‘सारा आत्मिक बुद्धि र समझमा [परमेश्वरको] इच्छाको ज्ञानले . . . पूर्ण होऊन्, . . . हर किसिमले खुश पार्नेगरी प्रभुको योग्य चालमा चल्न’ सकून् भनेर पावलले प्रार्थना गरे। (कलस्सी १:९, १०) त्यसरी नै, “योग्य चालमा चल्न” हामी “सारा आत्मिक बुद्धि र समझमा उहाँको इच्छाको ज्ञानले . . . पूर्ण” हुनुपर्छ। स्पष्टतः हामीले यहोवाको आशिष् र अनुमोदन पाउने कुरा निकै हदसम्म हाम्रो व्यक्तिगत बाइबल पढाइ र अध्ययनको मात्रा अनि गुणस्तरमा निर्भर हुन्छ।
१८. हामीले यूहन्ना १७:३ मा लिपिबद्ध येशूका शब्दहरू पालन गऱ्यौं भने कस्ता आशिष्हरू पाउनेछौं?
१८ “अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात् येशू ख्रीष्टलाई चिनून्।” (यूहन्ना १७:३) परमेश्वरको वचन अध्ययन गर्नुपर्ने महत्त्वको मूल्यांकन गर्न यहोवाका साक्षीहरूले यो शास्त्रपद निकै प्रयोग गर्ने गर्छन्। हामी प्रत्येकले पनि व्यक्तिगत तवरमा यो कुरा मूल्यांकन गर्नु उत्तिकै महत्त्वपूर्ण छ। सधैंभरि बाँच्ने हाम्रो आशा, यहोवा र उहाँको पुत्र येशू ख्रीष्टको ज्ञान लिइरहनुमा निर्भर छ। त्यसको मतलब के हो, यसो विचार गर्नुहोस् त। यहोवाबारे सिक्नुपर्ने कुराको कहिल्यै अन्त हुनेछैन अर्थात् अनन्तसम्म उहाँबारे सिकिरहन सक्नेछौं!—उपदेशक ३:११; रोमी ११:३३.
-