पहिलो राजा
१५ नबातका छोरा राजा यरोबामको+ शासनकालको १८ औँ वर्षमा अबियाम यहुदाका राजा भए।+ २ तिनले यरुसलेममा तीन वर्ष शासन गरे। तिनकी आमाको नाम माकाह थियो।+ उनी अबिसालोमकी नातिनी थिइन्। ३ तिनका बुबाले पहिला जे-जे पाप गरेका थिए, तिनले ती सबै गरे। तिनी आफ्ना परमेश्वर यहोवाप्रति हृदयदेखि वफादार भएनन्; तिनी आफ्ना पुर्खा दाउदजस्तो हुन सकेनन्। ४ तैपनि दाउदका+ परमेश्वर यहोवाले दाउदको खातिर अबियामको छोरालाई तिनीपछि राजा बनाउनुभयो र यरुसलेमलाई रहिरहन दिनुभयो।+ यसरी उहाँले यरुसलेममा तिनको दियो बलिरहन दिनुभयो।* ५ किनकि दाउदले यहोवा परमेश्वरको नजरमा जे सही छ, त्यही गरेका थिए। तिनले आफ्नो जीवनभरि उहाँका सबै आज्ञा पालन गरे। तिनी केवल हित्ती उरियाहको+ मामिलामा चुके। ६ रहबाम जीवित रहुन्जेल रहबाम र यरोबामबीच लडाइँ भइरह्यो।+
७ अबियामको जीवनकालका बाँकी घटनाहरू र तिनले गरेका सबै काम यहुदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्।+ अबियाम र यरोबामबीच पनि लडाइँ भयो।+ ८ अबियाम आफ्ना पितृहरूसितै सुते र तिनलाई दाउदनगरमा गाडियो। त्यसपछि तिनका छोरा आसा+ राजा भए।+
९ इस्राएलका राजा यरोबामको शासनकालको २० औँ वर्षमा आसाले यहुदामाथि शासन गर्न थाले। १० तिनले यरुसलेममा ४१ वर्ष शासन गरे। तिनकी हजुरआमाको नाम माकाह थियो।+ उनी अबिसालोमकी नातिनी थिइन्। ११ आसाले आफ्नो पुर्खा दाउदले जस्तै यहोवा परमेश्वरको नजरमा जे सही छ, त्यही गरे।+ १२ तिनले मन्दिरमा पुरुषहरूसित सम्बन्ध राख्ने पुरुषहरूलाई देशबाट निकालिदिए+ अनि आफ्ना पितापुर्खाले बनाएका सबै घिनलाग्दा मूर्ति* पनि हटाइदिए।+ १३ तिनले आफ्नी हजुरआमा माकाहलाई समेत राजमाताको पदबाट हटाइदिए+ किनकि उनले पवित्र खामोको* उपासना गर्न एउटा अश्लील मूर्ति बनाएकी थिइन्। आसाले त्यो अश्लील मूर्ति ढालिदिए+ र त्यसलाई किद्रोन बेँसीमा लगेर जलाइदिए।+ १४ तर अग्ला थानहरू* भने हटाइएनन्।+ तैपनि आसा आफ्नो जीवनभर पूर्ण हृदयले यहोवा परमेश्वरप्रति वफादार भइरहे। १५ तिनले आफू र आफ्नो बुबाले पवित्र पारेका सुन, चाँदी र विभिन्न सरसामान यहोवा परमेश्वरको भवनमा ल्याए।+
१६ आसा र इस्राएलका राजा बासाबीच+ सधैँ लडाइँ चलिरहन्थ्यो। १७ इस्राएलका राजा बासा यहुदाविरुद्ध उठे अनि यहुदाका राजा आसाको इलाकामा कोही पनि जान नसकोस् अनि त्यहाँबाट कोही आउन पनि नपाओस् भनेर बासाले रामा+ सहरलाई मजबुत बनाउन थाले।+ १८ तब आसाले यहोवा परमेश्वरको भवनको भण्डारमा र राजमहलको भण्डारमा बाँकी रहेका सबै सुन र चाँदी आफ्ना सेवकहरूको हातमा सिरियाका राजा बेन-हददकहाँ पठाए।+ बेन-हदद हेज्योनका नाति र तब्रिमोनका छोरा थिए। उनी दमिसकमा बस्थे। आसाले उनलाई यस्तो सन्देश पठाए: १९ “तपाईँको बुबा र मेरो बुबाले जस्तै तपाईँ र मैले पनि सन्धि* गरेका छौँ। म तपाईँलाई भेटीस्वरूप सुन र चाँदी पठाउँदै छु। अब इस्राएलका राजा बासासित गरेको सन्धि तोडिदिनुहोस् र तिनी मेरो इलाका छोडेर जाऊन्।” २० बेन-हददले राजा आसाको कुरा सुने र आफ्ना सेनापतिहरूलाई इस्राएलका सहरहरूमाथि आक्रमण गर्न पठाए। तिनीहरूले इयोन,+ दान,+ हाबिल-बेथ-माकाह र पूरै किन्नरेथ अनि नप्तालिको कुलको सारा इलाकालाई आक्रमण गरे। २१ यो कुरा सुन्नेबित्तिकै बासाले रामा सहरलाई मजबुत बनाउन छोडे र तिर्जाहमा गएर बस्न थाले।+ २२ त्यसपछि राजा आसाले यहुदाका सबै मानिसलाई भेला गराए। अनि तिनीहरूले रामा सहरलाई मजबुत बनाउन बासाले प्रयोग गरेका ढुङ्गाहरू र काठहरू बोकेर ल्याए। राजा आसाले ती ढुङ्गाहरू र काठहरूबाट मिस्पा सहरलाई+ अनि बिन्यामिनको इलाकामा पर्ने गेबा सहरलाई+ मजबुत बनाए।
२३ आसाको जीवनकालका बाँकी घटनाहरू, तिनको वीरता, तिनले गरेका सबै काम र तिनले बसालेका* सहरहरूबारे यहुदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्। तिनी वृद्ध भएपछि तिनको खुट्टामा रोग लाग्यो।+ २४ त्यसपछि आसा आफ्ना पितृहरूसितै सुते र तिनलाई दाउदनगरमा तिनका पितापुर्खाको चिहानमा गाडियो। त्यसपछि तिनको छोरा यहोसापात+ राजा भए।
२५ यहुदाका राजा आसाको शासनकालको दोस्रो वर्षमा यरोबामका छोरा नादाब+ इस्राएलका राजा भए। तिनले इस्राएलमा दुई वर्ष शासन गरे। २६ तिनले यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही गरिरहे। तिनी आफ्नो बुबाकै चालमा हिँडे।+ तिनका बुबाले जुन पाप गरेका थिए र इस्राएललाई पनि गर्न लगाएका थिए, तिनले त्यही गरे।+ २७ इस्साकारको घरानाका अहियाहका छोरा बासाले नादाबविरुद्ध षड्यन्त्र रचे। उनले नादाबलाई पलिस्तियालीहरूको सहर गिब्बथोनमा मारे।+ त्यसबेला नादाब आफ्ना सबै इस्राएली सैनिक लिएर गिब्बथोनलाई घेरा हालेर बसिरहेका थिए। २८ यसरी यहुदाका राजा आसाको शासनकालको तेस्रो वर्षमा बासाले नादाबलाई मारे र उनी नादाबको ठाउँमा राजा भए। २९ राजा हुनेबित्तिकै बासाले यरोबामको घरानाका सबैलाई मारे; उनले एक जनालाई पनि बाँकी राखेनन्। यहोवा परमेश्वरले आफ्ना सेवक, सिलोका अहियाहमार्फत भन्नुभएको वचनअनुसारै बासाले यरोबामको घरानालाई सखाप पारे।+ ३० किनकि यरोबामले पाप गरेका थिए र इस्राएललाई पनि पाप गर्न लगाएका थिए। अनि तिनले इस्राएलका परमेश्वर यहोवालाई साह्रै रिस उठाएका थिए। ३१ नादाबको जीवनकालका बाँकी घटनाहरू र तिनले गरेका सबै काम इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्। ३२ आसा र इस्राएलका राजा बासाबीच सधैँ लडाइँ चलिरहन्थ्यो।+
३३ यहुदाका राजा आसाको शासनकालको तेस्रो वर्षमा अहियाहका छोरा बासा इस्राएलका राजा भए। तिनले तिर्जाह सहरबाट इस्राएलमा २४ वर्ष शासन गरे।+ ३४ तिनले यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही गरिरहे।+ तिनी यरोबामकै चालमा हिँडे। यरोबामले जुन पाप गरेका थिए र इस्राएललाई पनि गर्न लगाएका थिए, तिनले त्यही गरे।+