हितोपदेश
२७ भोलि यसो गर्छु, उसो गर्छु भनेर फुर्ती नलगाऊ
किनकि भोलि के हुन्छ, तिमी जान्दैनौ।+
२ आफ्नो प्रशंसा आफैले नगर, अरूको* मुखबाट तिम्रो प्रशंसा होस्;
अरूले* तिम्रो प्रशंसा गरून्, तिम्रो आफ्नै मुखले होइन।+
३ ढुङ्गा गह्रौँ हुन्छ र बालुवा भारी
तर मूर्खको कचकच ती दुवैभन्दा बोझिलो हुन्छ।+
४ क्रोध निर्दयी हुन्छ र रिस बाढीझैँ उर्लन्छ
तर डाहको सामने को खडा हुन सक्छ र?+
५ मनमा लुकाएर राखेको मायाभन्दा सबैले देख्नेगरि पाएको सुधार बेस।+
६ साथीबाट पाएका चोटहरू विश्वासयोग्य हुन्छन्+
तर शत्रुका चुम्बनहरू धेरै* हुन्छन्।
७ अघाएको मानिसले शुद्ध महसमेत रुचाउँदैन*
तर भोकाएको मानिसलाई तीतो पनि मीठो लाग्छ।
८ घर छोडेर हिँड्ने मानिस
आफ्नो गुँड छोड्ने चराजस्तै हो।
९ तेल र धूपले हृदयलाई प्रसन्न बनाउँछ
अनि साथीले साँचो मनले दिएको सल्लाह मीठो हुन्छ।+
१० आफ्नो साथीलाई वा आफ्नो बुबाको साथीलाई नत्याग
अनि तिमीलाई विपद् आइपर्दा आफ्नो दाजुभाइको घरमा नजाऊ;
टाढा बस्ने दाजुभाइभन्दा नजिकै बस्ने तिम्रो छिमेकी बेस।+
११ हे मेरो छोरा, बुद्धिमान् होऊ र मेरो हृदयलाई खुसी बनाऊ+
अनि मेरो गिल्ला गर्नेलाई म मुखभरिको जवाफ दिन सक्छु।+
१२ चतुर मानिस खतरा आएको देखेर लुक्छ+
तर अनुभवहीन मानिस भने सरासर अघि बढ्छ र दुःख* पाउँछ।
१३ अपरिचित मानिसको लागि जमानी बसिदिने व्यक्तिको लुगा बन्धकी राख
तर उसले चरित्रहीन* आइमाईको निम्ति बन्धकी राखेको हो भने त्यो फिर्ता नगर।+
१४ एकाबिहानै ठूलो स्वरले छिमेकीलाई दिएको आशिष्
सरापसरह हुन्छ।
१५ झगडालु* पत्नी झरी परेको दिन तपतप चुहिने छानोजस्तै हो।+
१६ उसलाई वशमा राख्न सक्ने मानिसले बतासलाई रोक्न सक्छ
अनि तेल पनि आफ्नो दाहिने मुठीमा कस्न सक्छ।
१७ फलामले फलामलाई उध्याएझैँ
एक जना साथीले अर्को साथीको बुद्धिलाई तिखार्छ।*+
१८ अन्जिरको रूखको हेरचाह गर्ने मानिसले त्यसको फल खान्छ+
अनि आफ्नो मालिकको रेखदेख गर्ने मानिसले सम्मान पाउँछ।+
१९ मानिसले पानीमा आफ्नो अनुहार देखेझैँ
उसले अर्को मानिसको हृदयमा आफ्नो हृदय देख्छ।
२० चिहान र विनाशको खाडल* कहिल्यै सन्तुष्ट हुँदैनन्+
अनि मानिसका आँखा पनि कहिल्यै सन्तुष्ट हुँदैनन्।
२१ जसरी चाँदी पगाल्नको लागि भाँडो र सुन खार्नको लागि आगोको भट्टी हुन्छ,+
त्यसरी नै मानिसको जाँच उसले पाउने प्रशंसाले गर्छ।
२२ मूर्खलाई ओखलमा* हालेर
मुस्लीले* अन्न कुटेझैँ कुटे पनि
उसको मूर्खताले उसलाई छोड्नेछैन।
२३ आफ्नो बगालको अवस्था राम्रोसँग बुझ।
अनि आफ्नो भेडाको राम्ररी* हेरचाह गर।+
२४ किनकि धनसम्पत्ति सधैँभरि रहँदैन+
अनि मुकुट* पनि पुस्तौँसम्म टिक्दैन।
२५ हरियो घाँस ओइलाउँछ अनि नयाँ घाँस पलाउँछ;
बटुल्नलाई डाँडामा हरिया घाँसपात हुन्छ।
२६ तिमीले लुगा बनाउन भेडाबाट ऊन पाउँछौ
अनि बाख्राबाट खेत किन्न दाम पाउँछौ।
२७ तिम्रो लागि बाख्रीको दूध प्रशस्तै हुनेछ;
तिम्रो घरपरिवार र दासीहरूलाई पनि खुवाउन पुग्नेछ।