यहोसु
६ इस्राएलीहरूले आक्रमण गर्लान् भन्ने डरले यरिहो सहरका मूलढोकाहरू पूरै बन्द गरिएको थियो। त्यसैले कोही पनि भित्रबाहिर गर्न सक्दैनथ्यो।+
२ यहोवा परमेश्वरले यहोसुलाई भन्नुभयो: “हेर, यरिहो सहर, यसको राजा र यसका वीर योद्धाहरूलाई मैले तिम्रो हातमा सुम्पेको छु।+ ३ तिमीले हरेक दिन यस सहरलाई आफ्ना लडाकुहरूसँगै एक फन्को लगाउनू। छ दिनसम्म तिमीहरूले त्यसै गर्नू। ४ सात जना पुजारीलाई थुमाको एक-एक वटा सिङ बोकेर करारको सन्दुकको* अघिअघि हिँड्न लगाउनू। तर सातौँ दिनचाहिँ तिमीहरूले यस सहरलाई सात चोटि फन्को लगाउनू र पुजारीहरूले थुमाको सिङ फुकून्।+ ५ थुमाको सिङ फुकेको आवाज* सुन्नेबित्तिकै लडाइँ गर्न आएका मानिसहरूको जस्तो ठूलो स्वरले सबै जना कराऊन्। त्यसपछि सहरको पर्खाल गर्ल्यामगुर्लुम ढल्नेछ+ अनि योद्धाहरू सबै सीधै सहरभित्र पसून्।”
६ त्यसपछि नुनका छोरा यहोसुले पुजारीहरूलाई बोलाएर भने: “यहोवा परमेश्वरको करारको सन्दुक बोक अनि सन्दुकको अघिअघि सात जना पुजारी थुमाको एक-एक वटा सिङ बोकेर हिँडून्।”+ ७ अनि तिनले योद्धाहरूलाई भने: “अघि बढेर सहरलाई फन्को मार अनि हतियारधारीहरूचाहिँ+ यहोवाको सन्दुकको अघिअघि हिँड।” ८ यहोसुले भनेझैँ सात जना पुजारी थुमाको एक-एक वटा सिङ बोकेर यहोवा परमेश्वरको अघिअघि हिँडे र तिनीहरूले सिङ फुके। यहोवा परमेश्वरको करारको सन्दुकचाहिँ तिनीहरूको पछिपछि थियो। ९ अनि हतियार भिरेका योद्धाहरूको दलचाहिँ सिङ फुक्दै हिँडेका पुजारीहरूभन्दा अघिअघि गयो। योद्धाहरूको अर्को दलचाहिँ सुरक्षाको निम्ति सन्दुकको पछिपछि हिँड्यो। पुजारीहरूले भने सिङ फुकिरहे।
१० यहोसुले योद्धाहरूलाई यस्तो आदेश दिएका थिए: “तिमीहरू नकराउनू; तिमीहरूले मुखबाट पटक्कै आवाज ननिकाल्नू। जबसम्म म ‘कराओ!’ भन्दिनँ, तबसम्म तिमीहरूले एक शब्द नबोल्नू। तर जुन दिन म ‘कराओ!’ भन्छु, त्यो दिनचाहिँ कराउनू।” ११ त्यसपछि यहोसुले तिनीहरूलाई यहोवा परमेश्वरको करारको सन्दुकसहित एक चोटि सहरको फन्को मार्न लगाए। सहरलाई फन्को लगाएपछि तिनीहरू छाउनीमा फर्के र राती त्यहीँ बास बसे।
१२ भोलिपल्ट यहोसु सबेरै उठे र पुजारीहरूले यहोवा परमेश्वरको सन्दुक बोके।+ १३ अनि थुमाको सिङ बोकेका सात जना पुजारी यहोवा परमेश्वरको करारको सन्दुकको अघिअघि सिङ फुक्दै हिँडे। हतियार भिरेका योद्धाहरूको दलचाहिँ पुजारीहरूभन्दा अघिअघि थियो अनि योद्धाहरूको अर्को दल सुरक्षाको निम्ति यहोवा परमेश्वरको सन्दुकको पछिपछि हिँड्यो। पुजारीहरूले भने सिङ फुकिरहे। १४ दोस्रो दिन पनि तिनीहरूले सहरलाई एक फन्को लगाए अनि छाउनीमा फर्के। तिनीहरूले यसरी नै छ दिनसम्म सहरलाई फन्को लगाए।+
१५ सातौँ दिन तिनीहरू बिहान उज्यालो हुनेबित्तिकै उठे र हरेक दिनजस्तै सहरलाई फन्को लगाए। तर यो सातौँ दिनमा चाहिँ तिनीहरूले सहरलाई सात चोटि फन्को लगाए।+ १६ सातौँ पटक सहरलाई फन्को लगाउँदा पुजारीहरूले सिङ फुकेपछि यहोसुले योद्धाहरूलाई भने: “कराओ!+ यहोवा परमेश्वरले तिमीहरूलाई यो सहर सुम्पनुभएको छ। १७ सहर र यसमा भएका सबै थोक नाश गर्नू;+ ती सबै यहोवा परमेश्वरका हुन्। वेश्या राहाब+ र तिनको घरमा भएका मानिसहरूलाई मात्र जीवित छोड्नू किनभने हाम्रा जासुसहरूलाई तिनले आफ्नो घरमा लुकाएकी थिइन्।+ १८ नाश गर्नुपर्ने थोकहरूदेखि तिमीहरू टाढै बस+ नत्र त तिमीहरूमा लोभ जाग्ला र ती लेऔला।+ ती थोकहरू छाउनीमा ल्यायौ भने पूरै छाउनी विनाशको लायक ठहरिनेछ र हामी सबैमाथि विपत्ति* आइपर्नेछ।+ १९ तर सबै सुनचाँदी अनि तामा र फलामका सरसामान यहोवा परमेश्वरको नजरमा पवित्र छन्।+ ती सबै यहोवा परमेश्वरको भण्डारमा लैजानू।”+
२० सिङ फुकेको आवाज सुनेपछि योद्धाहरू कराए।+ तिनीहरू लडाइँ गर्न आएका मानिसहरूजस्तो ठूलो स्वरले कराउनेबित्तिकै सहरको पर्खाल गर्ल्यामगुर्लुम ढल्यो।+ त्यसपछि योद्धाहरूले सीधै सहरभित्र पसेर सहर कब्जा गरे। २१ तिनीहरूले पुरुष, स्त्री, वृद्ध र जवान सबैलाई अनि गोरु, भेडा र गधा सबैलाई तरबारले मारे।+
२२ अनि त्यस सहरको जासुसी गर्न गएका दुई जनालाई बोलाएर यहोसुले भने: “ती वेश्याको घरमा जाऊ र तिनको घरमा भएका सबैलाई बाहिर निकालेर आफ्नो वाचा पूरा गर।”+ २३ त्यसैले ती युवा जासुसहरू गए अनि राहाब, तिनका बुबाआमा, दाजुभाइ र तिनीसँग भएका सबैलाई, हो तिनको पूरै परिवारलाई घरबाट बाहिर ल्याए+ र इस्राएलीहरूको छाउनीबाहिर सुरक्षित ठाउँमा लगे।
२४ त्यसपछि तिनीहरूले त्यो सहर र त्यसमा भएका सबै थोकमा आगो लगाइदिए। तर सबै सुनचाँदी अनि तामा र फलामका सरसामान भने यहोवा परमेश्वरको भण्डारको लागि दिए।+ २५ यहोसुले वेश्या राहाब, तिनको बुबाको घराना र तिनीसँग भएकाहरूलाई मात्र जीवित राखे।+ किनभने यरिहोको जासुसी गर्न यहोसुले पठाएका मानिसहरूलाई तिनले लुकाएर राखेकी थिइन्।+ त्यसपछि राहाब इस्राएलीहरूसँगै बसोबास गर्न थालिन्; तिनी आजसम्म पनि इस्राएलमै बस्छिन्।+
२६ त्यसबेला यहोसुले यस्तो शपथ खाए:* “यरिहो सहरलाई जसले फेरि बसाल्न खोज्छ, उसलाई यहोवा परमेश्वरको श्राप लाग्नेछ। उसले यस सहरको जग हाल्दा उसको जेठो छोरा मर्नेछ र उसले यस सहरका मूलढोकाहरू खडा गर्दा उसको कान्छो छोरा मर्नेछ।”+
२७ यसरी यहोवा परमेश्वरले यहोसुलाई साथ दिनुभयो+ र तिनको ख्याति* पृथ्वीभरि फैलियो।+