लेवी
२३ यहोवा परमेश्वरले मोसालाई अझै भन्नुभयो: २ “इस्राएलीहरूलाई यसो भन्नू, ‘यहोवा परमेश्वरले मनाउनू भनी आज्ञा गर्नुभएका चाडहरू+ पवित्र सभाहरू हुन् भनी घोषणा गर।+ तिमीहरूले तोकिएकै समयमा यी चाडहरू मनाउनू:
३ “‘तिमीहरूले छ दिनसम्म काम गर्न सक्छौ तर सातौँ दिनचाहिँ विश्रामदिन* हो, पूरै आराम गर्ने+ र पवित्र सभाको दिन। यो दिन तिमीहरूले कुनै काम नगर्नू। तिमीहरू जहाँ बसे पनि यो दिन यहोवा परमेश्वरको लागि अलग्गै छुट्ट्याइएको विश्रामदिन होस्।+
४ “‘तिमीहरूले घोषणा गर्नुपर्ने पवित्र सभा अर्थात् तोकिएको समयमा यहोवा परमेश्वरको निम्ति मान्नुपर्ने चाडहरू यी हुन्: ५ पहिलो महिनाको १४ औँ दिनको+ साँझ* तिमीहरूले यहोवा परमेश्वरको निम्ति निस्तार चाड* मनाउनू।+
६ “‘तिमीहरूले यही महिनाको १५ औँ दिन यहोवा परमेश्वरको निम्ति अखमिरा रोटीको चाड* मनाउनू।+ तिमीहरूले सात दिनसम्म खमिर* नहालेको रोटी खानू।+ ७ पहिलो दिन तिमीहरूले पवित्र सभा राख्नू।+ यो दिन कुनै गाह्रो काम नगर्नू। ८ तिमीहरूले सात दिनसम्म यहोवा परमेश्वरको निम्ति आगोमा जलाउने भेटी चढाउनू। अनि सातौँ दिन पवित्र सभा राख्नू। यो दिन कुनै गाह्रो काम नगर्नू।’”
९ यहोवा परमेश्वरले मोसालाई अझै भन्नुभयो: १० “तिमीले इस्राएलीहरूलाई यसो भन्नू, ‘जब तिमीहरू मैले दिन लागेको देशमा पुग्छौ र त्यहाँको फसल बटुल्छौ, तब तिमीहरूले पहिलो फलको+ एक बिटा पुजारीकहाँ ल्याउनू।+ ११ अनि तिमीहरू यहोवा परमेश्वरको नजरमा ग्रहणयोग्य ठहरिन सक भनेर तिनले त्यो बिटा उहाँसामु डोलाऊन्।* तिनले त्यसलाई विश्रामदिनको भोलिपल्ट डोलाऊन्। १२ फसलको बिटा डोलाएकै दिन यहोवा परमेश्वरको निम्ति अग्निभेटीको रूपमा एक वर्षे निष्खोट थुमा चढाउनू। १३ साथै अन्नभेटीको निम्ति एपाको दस भागको दुई भाग* मसिनो पीठोलाई तेलमा मुछेर आगोमा जलाउने भेटीको रूपमा यहोवा परमेश्वरसामु चढाउनू। यसबाट निस्केको बास्ना उहाँलाई मन पर्ने* मीठो बास्ना हुनेछ। अनि मद्यभेटीको* निम्ति एक चौथाइ हिन* मद्य चढाउनू। १४ तिमीहरूले जबसम्म परमेश्वरको निम्ति भेटी चढाउँदैनौ, तबसम्म रोटी, भुटेको अन्न वा नयाँ अन्न नखानू। जहाँ बसे पनि तिमीहरूले यो नियम पुस्तौँपुस्तासम्म पालन गर्नू।
१५ “‘तिमीहरूले विश्रामदिनको भोलिपल्टदेखि अर्थात् डोलाउने भेटीको रूपमा चढाउन फसलको बिटा ल्याएको दिनदेखि सात वटा विश्रामदिन गन्नू।+ त्यो पूरा सात हप्ता होस्। १६ सातौँ विश्रामदिनको भोलिपल्ट ५० औँ दिन पुगेपछि+ त्यो दिन तिमीहरूले यहोवा परमेश्वरको निम्ति नयाँ अन्नभेटी चढाउनू।+ १७ तिमीहरूले आ-आफ्नो घरबाट डोलाउने भेटीको रूपमा दुई वटा रोटी ल्याउनू। यी रोटीहरू एपाको दस भागको दुई भाग मसिनो पीठो प्रयोग गरेर बनाउनू। यी रोटीहरू खमिर हालेर बनाउनू+ र उब्जनीको पहिलो फलको रूपमा यहोवा परमेश्वरकहाँ ल्याउनू।+ १८ यी रोटीहरूसँगै भेडाको सात वटा एक वर्षे निष्खोट पाठा, एउटा बहर र दुई वटा थुमा पनि चढाउनू।+ यो यहोवा परमेश्वरको निम्ति चढाइने अग्निभेटी हो। योसँगै अन्नभेटी र मद्यभेटी पनि चढाउनू। आगोमा जलाइने यी भेटीहरूबाट निस्कने बास्ना यहोवा परमेश्वरलाई मन पर्ने मीठो बास्ना हुनेछ। १९ अनि तिमीहरूले पापभेटीको निम्ति बाख्राको एउटा पाठो+ र मेलबलिको निम्ति भेडाको दुई वटा एक वर्षे पाठा चढाउनू।+ २० भेडाका यी दुई वटा पाठा र उब्जनीको पहिलो फलको रूपमा ल्याइएका रोटीहरू डोलाउने भेटी हुन्। अनि पुजारीले यो भेटीलाई यहोवा परमेश्वरसामु डोलाऊन्। यहोवा परमेश्वरको निम्ति चढाइने यो पवित्र भाग पछि पुजारीको भाग हुनेछ।+ २१ यो दिन पवित्र सभाको दिन हो भनेर घोषणा गर्नू।+ यो दिन कुनै गाह्रो काम नगर्नू। जहाँ बसे पनि तिमीहरूले यो नियम पुस्तौँपुस्तासम्म पालन गर्नू।
२२ “‘जब तिमीहरू कटनी गर्छौ, तब खेतको कुनाकुनासम्म नकाट्नू र सिलाबाला* नबटुल्नू।+ ती तिमीहरूले गरिब+ र तिमीहरूमाझ बसोबास गरिरहेका विदेशीहरूको निम्ति+ छोडिदिनू। म तिमीहरूका परमेश्वर यहोवा हुँ।’”
२३ यहोवा परमेश्वरले मोसालाई अझै भन्नुभयो: २४ “इस्राएलीहरूलाई यसो भन्नू, ‘सातौँ महिनाको पहिलो दिन तिमीहरूको निम्ति पूरै आराम गर्ने दिन, पवित्र सभाको दिन हो। यो दिन तिमीहरूले सम्झिरहन सक भनेर बिगुल फुकेर+ पवित्र सभा बोलाइनेछ। २५ यो दिन तिमीहरूले कुनै गाह्रो काम नगर्नू अनि यहोवा परमेश्वरको निम्ति आगोमा जलाइने भेटी चढाउनू।’”
२६ यहोवा परमेश्वरले मोसालाई अझै भन्नुभयो: २७ “तर सातौँ महिनाको दसौँ दिन भने प्रायश्चितको दिन* हो।+ यो दिन तिमीहरूले पवित्र सभा राख्नू र आफूले गरेको पापको लागि दुःख मनाउनू*+ अनि यहोवा परमेश्वरको निम्ति आगोमा जलाइने भेटी चढाउनू। २८ यो दिन तिमीहरूले कुनै काम नगर्नू किनकि यो यहोवा परमेश्वरसामु तिमीहरूको पापको क्षमा माग्ने प्रायश्चितको दिन हो।+ २९ यो दिन जसले आफ्नो पापको लागि दुःख मनाउँदैन,* उसलाई मानिसहरूको समुदायबाट हटाइयोस्।*+ ३० अनि यो दिन जसले कुनै काम गर्छ, उसलाई म नाश गर्नेछु। ३१ यो दिन तिमीहरूले कुनै काम नगर्नू। जहाँ बसे पनि तिमीहरूले यो नियम पुस्तौँपुस्तासम्म पालन गर्नू। ३२ यो तिमीहरूको लागि विश्रामदिन हो, पूरै आराम गर्ने दिन। आफूले गरेको पापको लागि यस महिनाको नवौँ दिनको साँझ तिमीहरूले दुःख मनाउनू।+ तिमीहरूले त्यस दिनको साँझदेखि भोलिपल्ट साँझसम्म विश्रामदिन मनाउनू।”
३३ यहोवा परमेश्वरले मोसालाई अझै भन्नुभयो: ३४ “इस्राएलीहरूलाई यसो भन्नू, ‘सातौँ महिनाको १५ औँ दिन यहोवा परमेश्वरको निम्ति झुप्रोबासको चाड* मनाउनू। यो चाड सात दिनसम्म मनाउनू।+ ३५ पहिलो दिन पवित्र सभा राख्नू र यो दिन तिमीहरूले कुनै गाह्रो काम नगर्नू। ३६ सात दिनसम्म तिमीहरूले यहोवा परमेश्वरको निम्ति आगोमा जलाउने भेटी चढाउनू। आठौँ दिन तिमीहरूले पवित्र सभा राख्नू+ र यहोवा परमेश्वरको निम्ति आगोमा जलाउने भेटी चढाउनू। यो उपासना गर्नको लागि भेला हुने विशेष दिन हो। यो दिन तिमीहरूले कुनै गाह्रो काम नगर्नू।
३७ “‘यी चाडहरूमा+ तिमीहरूले यहोवा परमेश्वरको निम्ति पवित्र सभाहरू राख्नू+ अनि यहोवा परमेश्वरको निम्ति आगोमा जलाउने यस्ता भेटीहरू चढाउनू: अग्निभेटी,+ अन्नभेटी+ र मद्यभेटी।+ हरेक दिन जुन-जुन भेटी चढाउनुपर्ने हो, त्यसैअनुसार चढाउनू। ३८ यी भेटीहरू यहोवा परमेश्वरको निम्ति विश्रामदिनमा चढाइने भेटीहरू,+ तिमीहरूले परमेश्वरलाई चढाउने उपहारहरू,+ भाकलभेटी+ र स्वैच्छिकभेटीबाहेक+ चढाउनुपर्ने भेटीहरू हुन्। तिमीहरूले यी भेटीहरू यहोवा परमेश्वरको निम्ति चढाउनुपर्छ। ३९ तर सातौँ महिनाको १५ औँ दिन जब तिमीहरूले बाली भित्र्याइसकेका हुन्छौ, तब तिमीहरूले सात दिनसम्म यहोवा परमेश्वरको निम्ति चाड मनाउनू।+ पहिलो र आठौँ दिन पूरै आराम गर्ने विश्रामदिन हो।+ ४० पहिलो दिन तिमीहरूले असल-असल फलहरू, खजुरका हाँगाहरू,+ झ्याम्म परेको रूखका हाँगाहरू र बेँसीमा* पाइने चिनारका* हाँगाहरू ल्याउनू अनि सात दिनसम्म+ तिमीहरूका परमेश्वर यहोवासामु खुसीयाली मनाउनू।+ ४१ तिमीहरूले हरेक वर्ष सात दिनसम्म यहोवा परमेश्वरको निम्ति यो चाड मनाउनू।+ तिमीहरूले यो चाड सातौँ महिनामा मनाउनू। यो नियम तिमीहरूले पुस्तौँपुस्तासम्म पालन गर्नू। ४२ तिमीहरू सात दिनसम्म झुप्रोमा बस्नू।+ सबै इस्राएली झुप्रोमा बसून्। ४३ इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याउँदा+ मैले तिमीहरूलाई झुप्रोमा बस्न लगाएको थिएँ भन्ने कुरा यसैबाट तिमीहरूका सन्तान-दरसन्तानले बुझ्नेछन्।+ म तिमीहरूका परमेश्वर यहोवा हुँ।’”
४४ यहोवा परमेश्वरले मनाउनू भनी आज्ञा गर्नुभएका यी चाडहरूबारे मोसाले इस्राएलीहरूलाई बताए।