पहिलो राजा
६ सुलेमान इस्राएलका राजा भएको चौथो वर्षको जीभ*+ महिनामा (अर्थात् दोस्रो महिनामा) तिनले यहोवा परमेश्वरको भवन* बनाउन सुरु गरे।+ यो इस्राएलीहरू मिश्रबाट निस्केर आएको ४८० औँ वर्ष थियो।+ २ राजा सुलेमानले यहोवा परमेश्वरको निम्ति बनाएको त्यस भवनको लम्बाइ ६० हात,* चौडाइ २० हात र उचाइ ३० हात थियो।+ ३ मन्दिरको* अगाडि भएको दलानको+ लम्बाइ* २० हात थियो, जुन भवनको चौडाइबराबर थियो। त्यो दलान भवनको अगाडिको भित्ताबाट नाप्दा १० हात थियो।
४ सुलेमानले भवनमा बाहिरपट्टि साँघुरो र भित्रपट्टि फराकिलो हुँदै गएका झ्यालहरू पनि बनाए।+ ५ साथै तिनले भवनको भित्तासित जोडिनेगरि भवनको चारैतिर अरू कोठाहरू पनि थपे।+ ती कोठाहरू मन्दिर* अनि भित्री कोठाको+ बाहिरी भित्तासित जोडिएका थिए। ६ ती कोठाहरूको भुईँ तलाको चौडाइ पाँच हात, पहिलो तलाको छ हात र दोस्रो तलाको सात हात थियो। तिनले भवनको भित्तामा दलिन अडाउने ठाउँहरू बनाएको हुनाले दलिनलाई ठोक्न भित्तामा प्वाल पार्नु परेन।+
७ त्यो भवन बनाउन पहिल्यै काटेर तयार पारिएको ढुङ्गा प्रयोग गरिएको थियो।+ त्यसैले भवन बनाउने बेला हतौडा, बन्चरो वा फलामको कुनै औजारको आवाज सुनिएन। ८ भवनको भित्तामा जोडेर बनाइएका कोठाहरूको भुईँ तलाको ढोका भवनको दक्षिणपट्टि* थियो।+ भुईँ तलाबाट पहिलो तलामा र पहिलो तलाबाट दोस्रो तलामा जान घुमौरो भऱ्याङ थियो। ९ सुलेमानले भवन बनाउँदै गए र भवन निर्माण गर्ने काम पूरा गरे।+ अनि तिनले देवदारका दलिनहरू र फल्याकहरूले भवनको छत बनाए।+ १० तिनले भवनको भित्तासितै जोडेर बनाएका कोठाहरूको उचाइ पाँच हात थियो।+ ती कोठाहरू देवदारका काठले भवनसित गाँसिएका थिए।
११ त्यही समयतिर यहोवा परमेश्वरले सुलेमानलाई यसो भन्नुभयो: १२ “मेरा विधिविधान र आज्ञाहरूअनुसार चल्यौ र मेरो नीतिनियम पालन गऱ्यौ भने+ मैले तिम्रो विषयमा तिम्रो बुबा दाउदसित गरेको प्रतिज्ञा पूरा गर्नेछु, विशेषगरि त्यो प्रतिज्ञा जुन मैले यस भवनबारे गरेको थिएँ।+ १३ अनि म इस्राएलीहरूसितै बास गर्नेछु;+ म मेरा मानिसहरूलाई त्याग्नेछैनँ।”+
१४ सुलेमानले भवन बनाउने काम जारी राखे। १५ तिनले भवनको भित्री भित्ता देवदारको फल्याकले छोपे।* तिनले भित्री भित्तालाई भुईँदेखि छतसम्मै फल्याकले छोपे। अनि भुईँमा चाहिँ धुपीको फल्याक बिछ्याए।+ १६ तिनले भवनको पछिल्लो भागको भित्री भित्ताबाट २० हातअगाडि भुईँदेखि छतसम्मै देवदारको काठले बारे र त्यहाँ एउटा कोठा बनाए। यसरी तिनले भवनमा भित्री कोठा+ अर्थात् महापवित्र कोठा बनाए।+ १७ भवनको अगाडिको भागमा भएको मन्दिरको*+ लम्बाइ ४० हात थियो। १८ भवनको भित्तामा भएको देवदारको फल्याकमा खरबुजाजस्तै देखिने साना फलका+ र फक्रेका फूलका+ आकृतिहरू खोपिएका थिए। भवनको भित्र चारैतिर देवदारको काठ थियो, कतै पनि ढुङ्गा देखिँदैनथ्यो।
१९ यहोवा परमेश्वरको करारको सन्दुक* राख्न+ सुलेमानले भवनभित्र भित्री कोठा तयार पारे।+ २० भित्री कोठाको लम्बाइ २० हात, चौडाइ २० हात र उचाइ २० हात थियो।+ तिनले त्यस कोठालाई निखुर सुनले मोहोरे अनि वेदीलाई* देवदारको काठले मोहोरे।+ २१ सुलेमानले भवनको भित्री भाग निखुर सुनले मोहोरे+ अनि सुनले मोहोरिएको भित्री कोठाको अगाडि सुनको साङ्ला टाँगे।+ २२ तिनले पूरै भवनको भित्री भागलाई सुनले मोहोरे। अनि भित्री कोठाको नजिकै राखिएको वेदीलाई पनि सुनले मोहोरे।+
२३ भित्री कोठामा सुलेमानले सल्लाको काठका दुई वटा करूब बनाए।+ दुवै करूब १०-१० हात अग्ला थिए।+ २४ करूबको एउटा पखेटा पाँच हात र अर्को पखेटा पनि पाँच हात लामो थियो। एउटा पखेटाको टुप्पोदेखि अर्को पखेटाको टुप्पोसम्म १० हात थियो। २५ अर्को करूबका पखेटाहरू पनि १० हातको थियो। दुवै करूबको नाप र आकार उस्तै थियो। २६ दुवै करूब १०-१० हात अग्ला थिए। २७ त्यसपछि सुलेमानले दुवै करूब+ महापवित्र कोठामा राखे। ती दुवै करूबका पखेटाहरू फैलिएका थिए। त्यसैले पहिलो करूबको एउटा पखेटाले एकातिरको भित्ता र दोस्रो करूबको अर्को पखेटाले अर्कोतिरको भित्ता छुन्थ्यो। अनि भवनको बीचमा पहिलो करूबको एउटा पखेटाले दोस्रो करूबको अर्को पखेटालाई छुन्थ्यो। २८ अनि तिनले ती करूबहरूलाई सुनले मोहोरे।
२९ सुलेमानले भित्री र बाहिरी कोठाको भित्तामा करूब,+ खजुरको बोट+ र फक्रेका फूलका आकृतिहरू खोपे।+ ३० तिनले भवनको भित्री र बाहिरी कोठाका भुईँ सुनले मोहोरे। ३१ तिनले भित्री कोठाको लागि सल्लाको काठका ढोकाहरू, ढोकाको छेउका खम्बाहरू र चौकोसहरू बनाए, जुन पाँचौँ भाग* थियो। ३२ दुवै ढोका सल्लाको काठबाट बनाइएको थियो। सुलेमानले ती ढोकाहरूमा करूबका, खजुरको बोटका र फक्रेका फूलका आकृतिहरू खोपे अनि ती ढोकाहरूलाई सुनले मोहोरे। तिनले सुन पिटेर करूबका र खजुरको बोटका आकृतिहरूलाई पनि मोहोरे। ३३ मन्दिरको* ढोकाको लागि पनि तिनले त्यसरी नै सल्लाको काठका चौकोस बनाए, जुन चौथो भागको* थियो। ३४ अनि तिनले धुपीको काठका दुई वटा ढोका बनाए। प्रत्येक ढोकामा दुई-दुई वटा खापा थिए र ढोका खोल्दा ती खापाहरू खप्टिन्थे।+ ३५ तिनले ती ढोकाहरूमा करूब, खजुरको बोट र फक्रेका फूलका आकृतिहरू खोपे र ती आकृतिहरूलाई सुनले मोहोरे।
३६ त्यसपछि सुलेमानले पर्खालले घेरेर भित्री चोक बनाए।+ त्यस पर्खालमा काटेर तयार पारिएको ढुङ्गाको तीन सल* लगाइएको थियो र चौथो सलचाहिँ देवदारको काठको थियो।+
३७ सुलेमानको शासनकालको चौथो वर्षको जीभ महिनामा यहोवा परमेश्वरको भवनको जग राखिएको थियो।+ ३८ अनि एघारौँ वर्षको बूल* महिनामा (अर्थात् आठौँ महिनामा) त्यस भवनको एक-एक भाग नमुनाअनुसार बनाएर सिद्धियो।+ परमेश्वरको भवन बनाउन सात वर्ष लाग्यो।