लेवी
२६ “‘तिमीहरू बस्ने देशमा व्यर्थका देवताहरू नबनाउनू+ र आफ्नो लागि मूर्ति वा पवित्र थाम* नठड्याउनू।+ अनि तिमीहरूले त्यहाँ ढुङ्गामा कुनै आकृति खोपेर+ त्यसलाई दण्डवत् नगर्नू+ किनकि म तिमीहरूका परमेश्वर यहोवा हुँ। २ तिमीहरूले मैले तोकेको विश्रामदिन* मान्नू र मेरो पवित्र स्थानप्रति* गहिरो श्रद्धा देखाउनू।* म यहोवा हुँ।
३ “‘यदि तिमीहरू मैले दिएको नियमअनुसार चलिरह्यौ र मेरा आज्ञाहरू पालन गरिरह्यौ भने+ ४ म ठीक-ठीक समयमा वर्षा गराउनेछु+ र जमिनले उब्जनी दिनेछ+ अनि बोटबिरुवाले प्रशस्त फल दिनेछ। ५ त्यसैले अङ्गुर बटुल्ने समयसम्मै तिमीहरूले दाइँ गर्नेछौ र बिउ छर्ने समयसम्मै अङ्गुर बटुल्नेछौ। तिमीहरूलाई खानेकुराको कुनै अभाव हुनेछैन र तिमीहरू आफ्नो देशमा निश्चिन्त भई बस्नेछौ।+ ६ मेरो आशिष्ले गर्दा तिमीहरूको देशमा शान्ति छाउनेछ;+ कसैले तिमीहरूलाई डर देखाउनेछैन+ र तिमीहरू मस्त निदाउन सक्नेछौ। म तिमीहरूको देशबाट हिंस्रक जङ्गली जनावरहरू धपाइदिनेछु अनि तिमीहरूविरुद्ध कसैले तरबार उठाउनेछैन। ७ तिमीहरूले आफ्ना शत्रुहरूलाई खेद्नेछौ र तरबारले सखाप पार्नेछौ। ८ तिमीहरूमध्ये ५ जनाले १०० जनालाई र १०० जनाले १०,००० जनालाई खेद्नेछौ अनि तिमीहरूका शत्रुहरू तरबारले सोत्तर हुनेछन्।+
९ “‘म तिमीहरूमाथि निगाह देखाउनेछु, जसले गर्दा तिमीहरूको धेरै सन्तान हुनेछ र तिमीहरूको सङ्ख्या बढ्नेछ।+ तिमीहरूसित गरेको करार म पूरा गर्नेछु।+ १० तिमीहरूले पहिलो वर्षकै उब्जनी खाएर नसिद्धिँदै नयाँ अन्न राख्न पुरानो अन्न फ्याँक्नुपर्नेछ। ११ म तिमीहरूमाझ मेरो वासस्थान* खडा गर्नेछु+ र म तिमीहरूलाई त्याग्नेछैनँ। १२ म तिमीहरूको माझमा हिँडडुल गर्नेछु र तिमीहरूका परमेश्वर हुनेछु+ अनि तिमीहरू मेरा मानिसहरू हुनेछौ।+ १३ तिमीहरूलाई मिश्रको दासत्वबाट छुटाएर ल्याउने म तिमीहरूका परमेश्वर यहोवा हुँ। मैले तिमीहरूको दासत्वको जुवा भाँचिदिएकोले तिमीहरू शिर ठाडो पारेर हिँड्न सक्छौ।
१४ “‘तर यदि तिमीहरूले मेरो कुरा सुनेनौ वा मेरा आज्ञाहरू पालन गरेनौ+ १५ अनि मेरा विधिविधान मान्न इन्कार गऱ्यौ+ र मेरा फैसलाअनुसार नचलेर मेरा आज्ञाहरू मानेनौ र मेरो करार भङ्ग गऱ्यौ भने+ १६ म तिमीहरूलाई सजाय दिनेछु। म तिमीहरूमाथि विपत्ति ल्याउनेछु; क्षयरोग र निस्लोट ज्वरोले तिमीहरूलाई सताउनेछ, जसले गर्दा तिमीहरूको आँखा धमिलो र शरीर शिथिल हुनेछ। तिमीहरूले बिउ छरे तापनि त्यसको उब्जनी खान पाउनेछैनौ किनकि शत्रुहरूले ती खाइदिनेछन्।+ १७ म तिमीहरूलाई त्याग्नेछु र शत्रुहरूले तिमीहरूलाई पराजित गर्नेछन्।+ तिमीहरूलाई घृणा गर्नेहरूले तिमीहरूलाई कुल्चीमिल्ची गर्नेछन्+ र कसैले नखेदे पनि तिमीहरू भाग्नेछौ।+
१८ “‘तर तिमीहरूले अझै पनि मेरो कुरा सुनेनौ भने म तिमीहरूको पापको लागि सात गुणा बढी दण्ड दिनेछु। १९ म तिमीहरूको अहङ्कारलाई चकनाचुर पार्नेछु र तिमीहरूको आकाशलाई फलामजस्तो*+ र पृथ्वीलाई तामाजस्तो* बनाउनेछु। २० तिमीहरूले व्यर्थैमा परिश्रम गर्नेछौ किनकि तिमीहरूको जमिनले उब्जनी दिनेछैन+ र बोटबिरुवामा फल लाग्नेछैन।
२१ “‘तर तिमीहरू मविरुद्ध चलिरह्यौ र मेरो कुरा सुन्न इन्कार गरिरह्यौ भने म तिमीहरूको पापको लागि सात गुणा बढी दण्ड दिनेछु। २२ म तिमीहरूको बीचमा जङ्गली जनावरहरू पठाउनेछु+ र तिनीहरूले तिमीहरूका छोराछोरीलाई खानेछन्+ र तिमीहरूका गाईवस्तुलाई सखाप पार्नेछन्। तिमीहरूको सङ्ख्या थोरै हुनेछ र तिमीहरूको बाटोघाटो सुनसान हुनेछ।+
२३ “‘यति धेरै सजाय पाएपछि पनि तिमीहरू सुध्रिएनौ+ र हठी भएर मेरो विरुद्धमा खडा भइरह्यौ भने २४ म पनि तिमीहरूविरुद्ध कदम चाल्नेछु र तिमीहरूको पापको लागि सात गुणा बढी दण्ड दिनेछु। २५ मेरो करार भङ्ग गरेकोले तिमीहरूका शत्रुहरूलाई तिमीहरूमाथि तरबारले आक्रमण गर्न लगाउनेछु।+ तिमीहरू ज्यान जोगाउन सहरमा एकसाथ भेला भएर बस्यौ भने पनि म तिमीहरूमाझ महामारी पठाउनेछु+ र तिमीहरू आफ्नो शत्रुको हातमा पर्नेछौ।+ २६ मैले तिमीहरूको अन्नको भण्डार* नष्ट गरेपछि+ दस जना स्त्रीको लागि एउटै चुलो पर्याप्त हुनेछ र तिनीहरूले जोखी-जोखीकन खाना बाँड्नेछन्।+ तिमीहरूले खान त खानेछौ तर अघाउनेगरि होइन।+
२७ “‘यति हुँदाहुँदै पनि मेरो कुरा सुनेनौ र हठी भएर मेरो विरुद्धमा खडा भइरह्यौ भने २८ म तिमीहरूविरुद्ध झनै ठूलो कदम चाल्नेछु+ र तिमीहरूको पापको लागि सात गुणा बढी दण्ड दिनेछु। २९ तिमीहरूले आफ्नै छोराछोरीको मासु खानुपर्नेछ।+ ३० म तिमीहरूले उपासनाको लागि बनाएका सबै अग्ला थान* भत्काउनेछु,+ धूपदानीहरू ढाल्नेछु र तिमीहरूको लासलाई घिनलाग्दा मूर्तिहरूमाथि* थुप्रो लगाइदिनेछु।+ म तिमीहरूलाई एकदमै घृणा गर्नेछु र त्याग्नेछु।+ ३१ म तिमीहरूका सहरहरू तरबारले नाश गर्नेछु+ र तिमीहरूको पवित्र ठाउँहरू उजाड पार्नेछु अनि तिमीहरूले चढाएको बलिदानको मीठो* बास्ना मेरो लागि दुर्गन्ध हुनेछ। ३२ म तिमीहरूको देशलाई उजाड पार्नेछु+ र जब यस देशमा तिमीहरूका शत्रुहरू बसोबास गर्छन्, तब तिनीहरू देशको हालत देखेर छक्क पर्नेछन्।+ ३३ म तिमीहरूलाई तितरबितर पार्नेछु+ र तिमीहरूका शत्रुहरूले तरबार लिएर तिमीहरूलाई खेद्नेछन्;+ तिमीहरूको देश उजाड हुनेछ+ र तिमीहरूका सहरहरू तहसनहस हुनेछन्।
३४ “‘तिमीहरू शत्रुहरूको देशमा रहुन्जेल र तिमीहरूको देश उजाड रहुन्जेल तिमीहरूको भूमिले विश्रामवर्षहरू मनाउनेछ। त्यसबेला भूमिले आराम पाउनेछ किनकि भूमिले पहिला मनाउन नपाएको विश्रामवर्षहरू त्यसबेला मनाउनेछ।+ ३५ तिमीहरूको देश उजाड रहुन्जेल भूमिले आराम पाउनेछ किनकि तिमीहरू बसोबास गरुन्जेल तिमीहरूले विश्रामवर्षबारे मैले दिएको नियम पालन गरेनौ र भूमिलाई आराम दिएनौ।
३६ “‘तिमीहरूमध्ये जो-जो बच्नेछौ+ र शत्रुहरूको देशमा लगिनेछौ, तिनीहरूको मन म डरैडरले भरिदिनेछु; पात हल्लेको आवाज सुन्दा पनि तिनीहरू भाग्नेछन्। शत्रुले तरबार लिएर खेदेको मानिस भागेझैँ तिनीहरू भाग्नेछन्। कसैले नखेदे पनि तिनीहरू भाग्नेछन् र लड्नेछन्।+ ३७ कसैले नखेदे पनि तिनीहरू शत्रुको तरबारदेखि डराएर भागेका मानिसहरूजस्तै आपसमा ठेस खाएर लड्नेछन्। तिमीहरूले शत्रुहरूको सामना गर्न सक्नेछैनौ।+ ३८ तिमीहरू तितरबितर भएर जहाँ-जहाँ पुग्छौ, त्यहीँ नष्ट हुनेछौ+ र शत्रुहरूको देशले तिमीहरूलाई निल्नेछ। ३९ बाँकी रहेकाहरूलाई चाहिँ म शत्रुहरूको देशमै छोडिदिनेछु+ अनि तिनीहरू आफ्नो र आफ्नो पुर्खाको पापले गर्दा त्यहीँ कुहिँदै जानेछन्।+ ४० तब तिनीहरूले यो कुरा स्विकार्नेछन्+ कि तिनीहरू र तिनीहरूका पुर्खाले मेरो विरोध गरेर मलाई विश्वासघात गरेका थिए र मविरुद्ध पाप गरेका थिए।+ ४१ यही कारणले गर्दा मैले तिनीहरूविरुद्ध कदम चालेर+ तिनीहरूलाई शत्रुहरूको देशमा पठाएको थिएँ।+
“‘तिनीहरूको हठी मन* आज्ञाकारी होस्+ अनि तिनीहरूले आफ्नो पापको सजाय भोगून् भनेर मैले त्यसो गरेको थिएँ। ४२ तब म याकुब,+ इसहाक+ र अब्राहामसित+ गरेको करार सम्झनेछु र तिमीहरूको देशलाई पनि सम्झनेछु। ४३ जहिलेसम्म तिनीहरू त्यस देशमा हुँदैनन् र जहिलेसम्म त्यो देश उजाड रहन्छ, त्यतिन्जेल त्यस देशले पहिला मनाउन नपाएको विश्रामवर्षहरू मनाउनेछ।+ अनि तिनीहरूले चाहिँ पापको सजाय भोग्नेछन् किनकि तिनीहरूले मेरा फैसलाहरूलाई तिरस्कार गरे र मेरा विधिविधानलाई घृणा गरे।+ ४४ यी सबै कुराको बाबजुद जब तिनीहरू आफ्ना शत्रुहरूको देशमा हुनेछन्, म तिनीहरूलाई कहिल्यै पूर्णतया इन्कार गर्नेछैनँ+ र तिनीहरूको नामोनिसान मेटाउने हदसम्म तिनीहरूलाई त्याग्नेछैनँ। त्यसो गरेँ भने मैले तिनीहरूसित गरेको करार भङ्ग गरेसरह हुनेछ+ किनकि म तिनीहरूका परमेश्वर यहोवा हुँ। ४५ तिनीहरूको खातिर म तिनीहरूका पुर्खासित गरेको करार सम्झनेछु,+ जसलाई मैले मिश्र देशबाट छुटाएर ल्याएँ। मैले तिनीहरूका पुर्खाहरूलाई जातिजातिको आँखाकै सामने छुटाएर ल्याएँ+ र म नै तिनीहरूका परमेश्वर हुँ भनी देखाएँ। म यहोवा हुँ।’”
४६ यहोवा परमेश्वरले इस्राएलीहरूलाई सिनै डाँडामा मोसामार्फत दिनुभएका नीतिनियम, ऐनकानुन र उहाँले सुनाउनुभएका फैसलाहरू यी नै हुन्।+