पहिलो समुएल
४ समुएलले परमेश्वरको वचन इस्राएलभरि फैलाए।
इस्राएलीहरू पलिस्तियालीहरूसित लडाइँ गर्न गए। तिनीहरूले एबेनेजेरनजिकै छाउनी हाले; पलिस्तियालीहरूले चाहिँ अफेकमा छाउनी हाले। २ पलिस्तियालीहरू इस्राएलीहरूसित लडाइँ गर्न दल-दल बनाएर तैनाथ भए। पलिस्तियालीहरू र इस्राएलीहरूबीच घमासान लडाइँ भयो र इस्राएलीहरू हारे। पलिस्तियालीहरूले युद्धभूमिमा ४ हजार इस्राएली सिपाहीलाई मारे। ३ सिपाहीहरू छाउनीमा फर्केर आएपछि इस्राएलका नाइकेहरूले भने: “आज यहोवा परमेश्वरले किन हामीलाई पलिस्तियालीहरूसित हार्न दिनुभयो?*+ अब सिलोबाट यहोवा परमेश्वरको करारको सन्दुक* यहाँ ल्याऔँ।+ त्यो सन्दुक हामीसितै भयो भने त्यसले हामीलाई शत्रुहरूको हातबाट जोगाउनेछ।” ४ त्यसकारण इस्राएलीहरूले केही मानिसलाई सिलो पठाए। ती मानिसहरूले करूबहरूभन्दा माथि* विराजमान सेनाहरूका यहोवाको करारको सन्दुक सँगै ल्याए।+ एलिका दुई छोरा होप्नि र पिनहास+ पनि साँचो परमेश्वरको करारको सन्दुकसँगै आए।
५ यहोवा परमेश्वरको करारको सन्दुक छाउनीमा आइपुगेपछि सबै इस्राएली ठूलो स्वरले कराउन थाले र उनीहरूको स्वरले जमिनै थर्कियो। ६ इस्राएलीहरू कराइरहेको सुनेपछि पलिस्तियालीहरूले यसो भने: “हिब्रूहरूको छाउनीबाट किन यस्तो ठूलो आवाज आइरहेको छ?” यहोवा परमेश्वरको सन्दुक छाउनीमा ल्याइएको रहेछ भनेर पछि ती पलिस्तियालीहरूले थाह पाए। ७ यो थाह पाएपछि पलिस्तियालीहरू डराए र यसो भने: “उनीहरूको छाउनीमा देवता आएका छन्!”+ तिनीहरूले अझै भने: “अब त हामी उम्कनै सक्दैनौँ। यस्तो त पहिला कहिल्यै भएको थिएन। ८ अब त हाम्रो बच्ने आशै छैन! यस्तो शक्तिशाली देवताको हातबाट हामीलाई कसले बचाउला? यी देवताले नै निर्जनभूमिमा ठूलठूला विपत्ति ल्याएर मिश्रीहरूलाई नाश गरेका थिए।+ ९ हे पलिस्तियालीहरू हो, साहसी होओ र आफ्नो पुरुषार्थ देखाओ। नत्र ती हिब्रूहरूले तिमीहरूको चाकरी गरेझैँ तिमीहरूले पनि उनीहरूको चाकरी गर्नुपर्ला!+ पुरुषार्थ देखाओ र उनीहरूसित लडाइँ गर!” १० त्यसैले पलिस्तियालीहरूले इस्राएलीहरूसित लडाइँ गरे र उनीहरूलाई हराए।+ त्यसपछि इस्राएलीहरू भागेर आ-आफ्नो पालमा गए। त्यो दिन लडाइँमा थुप्रै इस्राएली मारिए; इस्राएलीहरूका ३० हजार पैदल सिपाहीले ज्यान गुमाए। ११ त्यति मात्र होइन, परमेश्वरको सन्दुक कब्जा गरियो अनि एलिका दुई छोरा होप्नि र पिनहास पनि मारिए।+
१२ त्यही दिन बिन्यामिनको कुलका एक जना मानिस युद्धभूमिबाट भागेर सिलो गए। तिनले आफ्नो लुगा च्यातेका थिए र शिरमा धुलो छरेका थिए।+ १३ ती मानिस सिलो पुग्दा एलिचाहिँ बाटो छेउमा कुर्सीमा बसिरहेका थिए र कुनै खबर आउँछ कि भनेर पर्खँदै थिए। किनकि तिनलाई साँचो परमेश्वरको सन्दुकको साह्रै चिन्ता लागिरहेको थियो।+ ती मानिस खबर दिन सहरमा गए; खबर सुनेपछि सहरका सबै मानिस रोइकराइ गर्न थाले। १४ मानिसहरू रोइकराइ गरेको सुनेर एलिले सोधे: “सहरमा किन यस्तो खैलाबैला भइरहेको छ?” ती मानिस हतारिँदै एलिकहाँ गए र तिनलाई सबै कुरा बताए। १५ (त्यतिबेला एलि ९८ वर्ष पुगिसकेका थिए र तिनले आँखा देख्दैनथे।)+ १६ ती मानिसले एलिलाई भने: “म युद्धभूमिबाट भागेर आएको हुँ। त्यहाँबाट म आजै आएको हुँ।” तब एलिले सोधे: “छोरा, लडाइँमा के भयो, मलाई बताऊ!” १७ ती मानिसले भने: “इस्राएलीहरूले पलिस्तियालीहरूको हातबाट ठूलो हार भोग्नुपऱ्यो र तिनीहरू पलिस्तियालीहरूदेखि भागे।+ तपाईँका दुई छोरा होप्नि र पिनहास मारिए+ अनि साँचो परमेश्वरको सन्दुक पनि कब्जा गरियो।”+
१८ ती मानिसले साँचो परमेश्वरको सन्दुक कब्जा गरिएको कुरा बताउनेबित्तिकै मूलढोकाको छेउमा कुर्सीमा बसिरहेका एलि पछिल्तिर ढले। तिनको मुन्टो भाँचियो र त्यहीँ तिनको मृत्यु भयो। किनकि तिनी वृद्ध र ठूलो जीउ भएका मानिस थिए। तिनले इस्राएलमा ४० वर्ष न्यायकर्ताको रूपमा सेवा गरेका थिए। १९ त्यसबेला तिनकी बुहारी अर्थात् पिनहासकी पत्नी दुई जीउकी थिइन् र उनले बच्चा जन्माउने समय हुनै लागेको थियो। साँचो परमेश्वरको सन्दुक कब्जा गरिएको अनि उनका ससुरा र पतिको मृत्यु भएको खबर सुनेपछि उनलाई अचानक बेथा लाग्यो अनि उनले बच्चा जन्माइन्। २० त्यसपछि उनको मृत्यु भयो। उनको मृत्यु हुनुअघि उनको छेउमा उभिरहेका स्त्रीहरूले भने: “नडराऊ, तिम्रो छोरा जन्मिएको छ।” तर उनले तिनीहरूको कुरामा ध्यान दिइनन् र केही जवाफ पनि दिइनन्। २१ बरु उनले बालकको नाम इकाबोद*+ राखिन् र भनिन्: “इस्राएलको महिमा दासत्वमा पऱ्यो।”+ साँचो परमेश्वरको सन्दुक कब्जा गरिएको अनि उनका ससुरा र पतिको मृत्यु भएको कुरालाई सङ्केत गर्दै उनले त्यसो भनेकी थिइन्।+ २२ उनले भनिन्: “इस्राएलको महिमा दासत्वमा पऱ्यो किनकि साँचो परमेश्वरको सन्दुक कब्जा गरिएको छ।”+