हितोपदेश
१६ मानिसले आफ्नो मनमा सोच्न त सोच्छ
तर यहोवाले नै उसको मुखमा जवाफ* हालिदिनुहुन्छ।+
२ मानिसलाई आफ्नो सबै चाल ठीक* लाग्छ+
तर उसको मनसाय यहोवाले जाँच्नुहुन्छ।+
३ आफूले गर्ने जुनसुकै काम यहोवालाई सुम्पिदेऊ;+
तब तिम्रा योजनाहरू सफल हुनेछन्।
४ यहोवाले सबै कुरा आफ्नो उद्देश्यअनुसार गर्नुहुन्छ;
उहाँले दुष्टहरूलाई विनाशको दिनमा नाश गर्ने उद्देश्य राख्नुभएको छ।+
५ घमन्डी मानिसलाई यहोवा घृणा गर्नुहुन्छ।+
यो कुरा पक्का छ, त्यस्तो मानिस सजायबाट उम्कन पाउनेछैन।
६ अटल प्रेम र वफादारी देखाउने मानिसले* आफ्नो गल्तीको क्षमा पाउँछ+
अनि यहोवाको डर राख्ने मानिस खराब कामबाट अलग्गै बस्छ।+
७ जब कुनै मानिसको चालदेखि यहोवा खुसी हुनुहुन्छ,
तब उहाँले उसका शत्रुहरूलाई पनि ऊसित मिलाप गराइदिनुहुन्छ।+
८ बेइमानी गरेर कमाएको धेरै सम्पत्तिभन्दा+
इमानदारीसित कमाएको थोरै सम्पत्ति असल हो।+
९ मानिसले आफ्नो मनमा योजना त बनाउला
तर उसको हरेक कदमलाई यहोवाले डोऱ्याउनुहुन्छ।+
१० राजाको ओठमा ईश्वरीय फैसला हुनुपर्छ,+
उसले कहिल्यै अन्याय गर्नु हुँदैन।+
११ ठीक-ठीक नाप र ढक-तराजु यहोवाका हुन्,
झोलामा भएका ढकहरू पनि उहाँकै हुन्।+
१२ दुष्ट कामलाई राजाहरूले घृणा गर्छन्+
किनकि धार्मिकताले गर्दा नै सिंहासन स्थिर रहन्छ।+
१३ सही कुरा बोल्ने मानिससित राजाहरू खुसी हुन्छन्।
इमानदार भई जवाफ दिने मानिसलाई उनीहरू मन पराउँछन्।+
१४ राजाको क्रोधले मृत्यु निम्त्याउँछ*+
तर बुद्धिमान् मानिसले राजाको क्रोधलाई शान्त पार्छ।*+
१५ राजाको मुहार उज्यालो हुँदा मानिसको जीवन बच्छ,
राजाको निगाह वसन्त ऋतुको वर्षाजस्तै हो।+
१६ सुनभन्दा बुद्धि प्राप्त गर्नु+
अनि चाँदीभन्दा समझ प्राप्त गर्नु उत्तम हो।+
१७ सोझो मानिस गलत बाटोदेखि टाढै बस्छ।
अनि जो होसियार भई सही बाटोमा हिँड्छ, उसले जीवन बचाउँछ।+
१८ नाशको अघि घमन्ड
अनि पतनको अघि अहङ्कार आउँछ।+
१९ अहङ्कारीहरूसित लुटको माल बाँड्नुभन्दा
नम्र भई सोझाहरूमाझ रहनु बेस हो।+
२० समझ* प्रयोग गर्ने मानिस सफल हुन्छ
अनि यहोवामा भरोसा राख्ने मानिस सुखी रहन्छ।
२१ बुद्धिमान् मानिस समझदार हुन्छ+
अनि मीठो बोलीले अरूको मन जित्न सकिन्छ।+
२२ जोसित समझशक्ति* छ, उसको लागि त्यो जीवनको मूल हो
तर मूर्खहरूले आफ्नै मूर्खताले गर्दा सजाय भोग्छन्।
२३ बुद्धिमान् मानिसको बोली समझले* भरिएको हुन्छ+
अनि उसको बोलीले अरूलाई रिझाउन सक्छ।
२४ मीठो बोली शुद्ध महजस्तै हो;
यो गुलियो हुन्छ र यसले शरीरलाई फुर्तिलो बनाउँछ।*+
२५ कुनै बाटो मानिसलाई सही नै लाग्ला
तर त्यसले अन्तमा मृत्युमा पुऱ्याउँछ।+
२६ मजदुरको भोको पेटले उसलाई काम गर्न जुरमुऱ्याउँछ;
उसको भोकले* उसलाई काम नगरी बस्न दिँदैन।+
२७ बेकम्मा मानिसले अरूको नराम्रो कुरा मात्र खोतल्छ;+
उसको बोली आगोको भुङ्ग्रोजस्तै हुन्छ।+
२८ झगडालु मानिसले* फूट गराउँछ+
अनि निन्दा गर्ने मानिसले घनिष्ठ मित्रहरूबीच फाटो ल्याउँछ।+
२९ अत्याचारी मानिसले आफ्नो छिमेकीलाई फुस्ल्याउँछ
र उसलाई गलत बाटोमा लैजान्छ।
३० उसले अरूको हानि गर्न आँखा सन्काउँछ
अनि आफ्नो ओठ टोक्दै दुष्ट काम गर्छ।
३१ धार्मिकताको मार्गमा हिँड्ने मानिसको फुलेको कपाल
३२ हतपती नरिसाउने मानिस+ वीर योद्धाभन्दा असल हो
अनि आफ्नो रिस थाम्न सक्ने मानिस सहरलाई जित्ने मानिसभन्दा असल हो।+
३३ पोल्टामा राखेर गोला त हालिन्छ+
तर हरेक फैसला यहोवाले नै गर्नुहुन्छ।+