मर्कुसका अनुसार
१ परमेश्वरका छोरा येसु ख्रिष्टबारे सुसमाचारको आरम्भ: २ भविष्यवक्ता यसैयाले यस्तो लेखेका थिए: “(हेर! म मेरो दूतलाई तिम्रो अघिअघि पठाउँदै छु र तिनले तिम्रो बाटो तयार पार्नेछन्।)+ ३ उजाड ठाउँमा कोही यसो भन्दै कराइरहेको छ, ‘यहोवाको* बाटो तयार पार; उहाँको मार्ग सोझो बनाओ।’”+ ४ यसैअनुसार बप्तिस्मा गराउने युहन्ना निर्जनभूमिमा देखा परे अनि तिनले मानिसहरूलाई आफ्ना पापको पश्चात्ताप गरेर क्षमा माग्न र त्यसको प्रतीकस्वरूप बप्तिस्मा गर्न प्रचार गरे।+ ५ सारा यहुदिया र यरुसलेमका सबै बासिन्दा तिनीकहाँ आउँथे र उनीहरू आ-आफ्ना पाप खुलेआम स्विकार्थे र तिनले यर्दन नदीमा उनीहरूको बप्तिस्मा गराउँथे।*+ ६ युहन्ना उँटको रौँबाट बनेको लुगा लगाउँथे, कम्मरमा छालाको पटुका कस्थे+ अनि सलह र वन-मह खान्थे।+ ७ तिनी यसो भन्दै प्रचार गर्थे: “मपछि मभन्दा शक्तिशाली एक जना आउँदै हुनुहुन्छ; म निहुरिएर उहाँको जुत्ताको फित्ता फुकाल्न समेत लायकको छैनँ।+ ८ मैले पानीले तिमीहरूको बप्तिस्मा गराएँ तर उहाँले पवित्र शक्तिले तिमीहरूको बप्तिस्मा गराउनुहुनेछ।”+
९ ती दिनहरूमा येसु गालिलको नासरतबाट आउनुभयो र उहाँले युहन्नाबाट यर्दन नदीमा बप्तिस्मा गर्नुभयो।+ १० अनि पानीमाथि निस्कनेबित्तिकै उहाँले आकाश उघ्रँदै गरेको र पवित्र शक्ति ढुकुरको रूपमा आफूमाथि ओर्लँदै गरेको देख्नुभयो।+ ११ अनि आकाशबाट यस्तो आवाज आयो: “तिमी मेरो प्यारो छोरा हौ। मैले तिमीलाई स्विकारेको छु।”+
१२ अनि तुरुन्तै परमेश्वरको शक्तिले उहाँलाई निर्जनभूमिमा जान उत्प्रेरित गऱ्यो। १३ उहाँले निर्जनभूमिमा ४० दिन बिताउनुभयो, जहाँ सैतानले लोभ देखाएर उहाँलाई प्रलोभनमा पार्ने कोसिस गऱ्यो।+ त्यहाँ जङ्गली जनावरहरू पनि थिए। अनि स्वर्गदूतहरूले उहाँको सेवासुसार गर्थे।+
१४ युहन्ना गिरफ्तार भइसकेपछि येसु गालिल जानुभयो+ र यसो भन्दै परमेश्वरको सुसमाचार प्रचार गर्न थाल्नुभयो:+ १५ “तोकिएको समय आइपुगेको छ र परमेश्वरको राज्य नजिकै आएको छ। पश्चात्ताप गर+ अनि सुसमाचारमा विश्वास गर।”
१६ गालिल समुद्रको* छेउमा हिँड्दै गर्दा उहाँले सिमोन र तिनका भाइ अन्द्रियासलाई+ समुद्रमा जाल हान्दै गरेका देख्नुभयो।+ तिनीहरू जलारी थिए।+ १७ येसुले तिनीहरूलाई भन्नुभयो: “मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूको जलारी बनाउनेछु।”+ १८ उत्तिखेरै आफ्ना जालहरू छोडेर तिनीहरू उहाँको पछि लागे।+ १९ अलि पर पुगेपछि उहाँले याकुब र तिनका भाइ युहन्नालाई देख्नुभयो, जो जब्दिका छोराहरू थिए। तिनीहरू डुङ्गामा बसेर आफ्नो जाल तुन्दै थिए।+ २० तिनीहरूलाई देख्नेबित्तिकै उहाँले तिनीहरूलाई बोलाउनुभयो। अनि तिनीहरू आफ्नो बुबा जब्दिलाई डुङ्गामा ज्यालादारी कामदारहरूसितै छोडेर उहाँको पछि लागे। २१ अनि तिनीहरू उहाँसँगै कफर्नहुम गए।
विश्रामदिन* सुरु हुनेबित्तिकै उहाँ सभाघरभित्र* पस्नुभयो र सिकाउन थाल्नुभयो।+ २२ उहाँको सिकाउने तरिका देखेर तिनीहरू छक्क परे किनकि उहाँले शास्त्रीहरूले जस्तो होइन तर अख्तियार पाएको व्यक्तिले जस्तो गरी सिकाइरहनुभएको थियो।+ २३ त्यसबेला प्रेतले* सताएको एक जना मानिस पनि तिनीहरूको सभाघरमा थियो अनि उसले चिच्याउँदै यसो भन्यो: २४ “हे नासरी येसु, तपाईँको हामीसित के सरोकार?*+ के तपाईँ हामीलाई नाश गर्न आउनुभएको हो? तपाईँ वास्तवमा को हुनुहुन्छ, मलाई थाह छ। तपाईँ परमेश्वरको पवित्र जन हुनुहुन्छ!”+ २५ तर येसुले त्यसलाई हप्काउँदै भन्नुभयो: “चुप लाग् र ऊबाट बाहिर निस्केर आइज!” २६ अनि प्रेतले उसलाई अँठ्यायो र चर्को स्वरमा चिच्याउँदै त्यो प्रेत ऊबाट बाहिर निस्क्यो। २७ तब सबै मानिस असाध्यै छक्क परेर आपसमा यसो भन्दै कुरा गर्न थाले: “यो के हो? यो त नयाँ शिक्षा हो! उहाँले प्रेतहरूलाई समेत अख्तियार पाएको व्यक्तिले जस्तो आदेश दिनुहुन्छ र तिनीहरू उहाँले भनेको मान्दा रहेछन्।” २८ त्यसैले उहाँको कीर्ति सारा गालिलभरि तुरुन्तै फैलियो।
२९ अनि उत्तिखेरै उहाँहरू सभाघरबाट बाहिर निस्कनुभयो अनि याकुब र युहन्नासित सिमोन र अन्द्रियासको घर जानुभयो।+ ३० सिमोनकी सासू+ ज्वरोले थलिएकी थिइन् र तिनीहरूले तुरुन्तै उहाँलाई तिनको विषयमा खबर गरे। ३१ अनि नजिक गई तिनको हात समातेर उहाँले तिनलाई उठाउनुभयो र ज्वरोले तिनलाई छोड्यो अनि तिनले उहाँहरूको लागि खाना तयार गर्न थालिन्।
३२ साँझ घाम डुबिसकेपछि मानिसहरूले उहाँकहाँ बिरामीहरू र प्रेतले सताएकाहरू सबैलाई ल्याउन थाले।+ ३३ पूरै सहर घरको ढोकामै जम्मा भएको थियो। ३४ त्यसैले उहाँले विभिन्न किसिमका रोगले सताएका धेरै मानिसलाई निको पार्नुभयो+ अनि थुप्रै प्रेतलाई धपाउनुभयो। तर उहाँले ती प्रेतहरूलाई बोल्न दिनुहुन्नथ्यो किनभने उहाँ ख्रिष्ट हुनुहुन्छ भनी तिनीहरूलाई थाह थियो।*
३५ बिहान झिसमिसेमै उहाँ उठ्नुभयो र बाहिर निस्केर सुनसान ठाउँमा जानुभयो र त्यहाँ प्रार्थना गर्न थाल्नुभयो।+ ३६ तर सिमोन र तिनीसँग भएकाहरूले उहाँलाई धुइँधुइँती खोजे ३७ र उहाँलाई भेट्टाए अनि तिनीहरूले उहाँलाई भने: “सबै जना तपाईँलाई खोज्दै छन्।” ३८ तर उहाँले तिनीहरूलाई भन्नुभयो: “हामी अन्त कतै नजिकैको साना सहरहरूमा जाऔँ ताकि मैले त्यहाँ पनि प्रचार गर्न सकूँ किनकि म यसैको लागि आएको हुँ।”+ ३९ अनि उहाँले सारा गालिलभरि तिनीहरूका सभाघरहरूमा प्रचार गर्नुभयो र प्रेतहरूलाई धपाउनुभयो।+
४० त्यहाँ एक जना कुष्ठरोगी पनि आयो र उसले घुँडा टेकेर बिन्ती गर्दै यसो भन्यो: “तपाईँले मलाई शुद्ध पार्न सक्नुहुन्छ। तपाईँले इच्छा गर्नुभए पुग्छ।”+ ४१ यो सुनेर उहाँ टिठाउनुभयो अनि आफ्नो हात पसारेर उसलाई छुनुभयो र भन्नुभयो: “म इच्छा गर्छु। तिमी शुद्ध भइजाऊ।”+ ४२ अनि तुरुन्तै उसको कुष्ठरोग हरायो र ऊ शुद्ध भयो। ४३ त्यसपछि उहाँले उसलाई कडा आदेश दिनुभयो र त्यहाँबाट तुरुन्तै पठाउनुभयो ४४ अनि यसो भन्नुभयो: “यसबारे कसैलाई केही नभन तर गएर पुजारीलाई देखाऊ अनि आफू शुद्ध भएँ भनी तिनीहरूलाई साक्षी दिन+ मोसाको निर्देशनबमोजिम भेटी चढाऊ।”+ ४५ तर त्यहाँबाट गएपछि त्यस मानिसले यसबारे जताततै कुरा गर्न थाल्यो अनि यो कुरा चारैतिर फैलियो। यसले गर्दा येसु सहरमा खुलेआम पस्न सक्नुभएन। त्यसैले उहाँ सहरबाहिर एकान्त ठाउँहरूमा बस्न थाल्नुभयो। तैपनि तिनीहरू चारैतिरबाट उहाँकहाँ आइरहे।+