न्यायकर्ता
२१ इस्राएलीहरूले मिस्पामा+ यस्तो शपथ खाएका थिए: “हामी कसैले पनि बिन्यामिनीहरूलाई हाम्रा छोरीहरू दिनेछैनौँ।”+ २ बिन्यामिनीहरूसित युद्ध गरेपछि मानिसहरू बेथेल आए+ र साँझसम्मै साँचो परमेश्वरको सामने बसेर रोइकराइ गरिरहे। ३ तिनीहरूले यसरी बिलौना गरे: “हे इस्राएलका परमेश्वर यहोवा, आज इस्राएलीहरूको एउटा कुल हामीमाझ छैन। इस्राएलमा यस्तो के भयो?” ४ मानिसहरू भोलिपल्ट बिहान सबेरै उठे अनि अग्निभेटी र मेलबलि+ चढाउन त्यहाँ एउटा वेदी बनाए।
५ तब इस्राएलीहरूले सोधे: “हामी यहोवा परमेश्वरसामु भेला हुँदा इस्राएलको कुनचाहिँ कुल आएको थिएन?” किनकि मिस्पामा यहोवा परमेश्वरसामु कुनै कुल भेला हुन आएन भने त्यस कुलका मानिसहरू मारिनै पर्छ भनेर तिनीहरूले गम्भीर शपथ खाएका थिए। ६ तब इस्राएलीहरू आफ्ना बिन्यामिनी दाजुभाइको हालत सम्झेर दुःखी भए। तिनीहरूले भने: “आज हाम्रो माझबाट इस्राएलको एउटा कुल मासियो। ७ बिन्यामिनीहरूलाई हाम्रा छोरीहरू दिनेछैनौँ भनेर हामीले यहोवा परमेश्वरसामु शपथ खाइसकेका छौँ।+ त्यसैले बाँकी रहेका बिन्यामिनीहरूको लागि हामीले अब कहाँबाट पत्नी ल्याइदिने?”+
८ तिनीहरूले सोधे: “इस्राएलका कुलहरूमध्ये मिस्पामा यहोवा परमेश्वरसामु कुनचाहिँ कुलका मानिसहरू भेला भएका थिएनन्?”+ हुन पनि इस्राएलीहरू भेला भएको ठाउँमा याबेस-गिलादबाट कोही पनि आएका थिएनन्। ९ भेला भएका मानिसहरू गन्दा याबेस-गिलादबाट कोही पनि नआएको पत्ता लाग्यो। १० त्यसैले इस्राएलीहरूको समुदायले आफ्ना १२ हजार वीर योद्धालाई त्यहाँ पठायो। तिनीहरूलाई यस्तो आदेश दिइयो: “जाओ! याबेस-गिलादका सबै बासिन्दालाई तरबारले मार; स्त्री, बालबच्चा कसैलाई नछोड।+ ११ तिमीहरूले यसो गर: त्यहाँका पुरुषहरू सबैलाई मार अनि पुरुषहरूसँग यौनसम्बन्ध राखेका स्त्रीहरूलाई पनि मार।” १२ तिनीहरूले याबेस-गिलादका बासिन्दाहरूमाझ ४०० जना कन्या भेट्टाए, जसले कुनै पुरुषसँग कहिल्यै यौनसम्बन्ध राखेका थिएनन्। त्यसैले तिनीहरूले ती केटीहरूलाई कनान देशको सिलोमा+ भएको छाउनीमा ल्याए।
१३ त्यसपछि इस्राएलको समुदायले रिम्मोनको पहरामा लुकेर बसिरहेका+ बिन्यामिनीहरूलाई मेलमिलाप गरौँ भनेर खबर पठायो। १४ तब बिन्यामिनको कुलका ती मानिसहरू आए। अनि इस्राएलको समुदायले याबेस-गिलादमा+ नमारिएका कन्याहरू तिनीहरूलाई पत्नीको रूपमा दियो; तर बिन्यामिनी पुरुषहरूलाई ती कन्याहरूको सङ्ख्या पर्याप्त भएन। १५ अनि आफ्ना बिन्यामिनी दाजुभाइको हालत सम्झेर इस्राएलीहरू दुःखी भए+ किनभने यहोवा परमेश्वरले इस्राएलका कुलहरूबाट बिन्यामिनीहरूलाई अलग पार्नुभएको थियो। १६ इस्राएलको समुदायका नाइकेहरूले भने: “हामीले बिन्यामिनको कुलका सबै स्त्रीलाई मारिसकेका छौँ। अब बाँकी बिन्यामिनी पुरुषहरूको लागि हामीले कहाँबाट पत्नी ल्याइदिने?” १७ तिनीहरूले जवाफ दिए: “बिन्यामिनको कुलका बाँकी रहेकाहरूको पैतृक सम्पत्ति मासिनु हुँदैन, नत्र त इस्राएलको एउटा कुलको नामोनिसान रहनेछैन। १८ तर हामी तिनीहरूसित आफ्ना छोरीहरूको बिहे गरिदिन सक्दैनौँ किनभने इस्राएलीहरूले यस्तो शपथ खाएका छन्: ‘जसले बिन्यामिनी पुरुषलाई आफ्नी छोरी दिन्छ, ऊ श्रापित होस्।’”+
१९ त्यसपछि तिनीहरूले भने: “हेर! यहोवा परमेश्वरको निम्ति वर्षैपिच्छे सिलोमा+ चाड मनाइन्छ, जुन ठाउँ बेथेलको उत्तरमा अनि बेथेलदेखि सकेमसम्म जाने मूलबाटोको पूर्वमा र लबोनाहको दक्षिणमा पर्छ।” २० त्यसैले तिनीहरूले बिन्यामिनीहरूलाई यस्तो आदेश दिए: “जाओ! गएर अङ्गुर बगानहरूमा लुकेर बस। २१ अनि जब तिमीहरूले सिलोका केटीहरू* नाच्न* आएका देख्छौ, तब अङ्गुर बगानहरूबाट बाहिर निस्क र सिलोका ती केटीहरूमध्येबाट एक-एक जनालाई समातेर आफ्नी पत्नी बनाओ; त्यसपछि तिमीहरू आफ्नो कुल बिन्यामिनीहरूको इलाकामा फर्क। २२ अनि ती केटीहरूका बुबाहरू वा दाजुभाइहरू हामीकहाँ गुनासो गर्न आए भने हामी उनीहरूलाई यसो भन्नेछौँ: ‘हामीमाथि दया देखाउनुहोस् किनभने हामीले युद्ध जितेर तिनीहरू सबैको लागि पुग्ने केटीहरू ल्याइदिन सकेनौँ+ अनि तपाईँहरूले पनि आफ्ना छोरीहरू दिन सक्नुहुन्नथ्यो किनकि त्यसो गर्नुभएको भए तपाईँहरू दोषी ठहरिनुहुने थियो।’”+
२३ अनि ती बिन्यामिनी पुरुषहरूले त्यसै गरे; नाचिरहेका केटीहरूमध्येबाट तिनीहरू प्रत्येकले आ-आफ्नो लागि एक-एक जनालाई आफ्नी पत्नी बनाउन लिएर गए। त्यसपछि तिनीहरू आफूले पैतृक सम्पत्तिको रूपमा पाएको इलाकामा फर्के र सहरहरू पुनर्निर्माण गरेर+ त्यहीँ बसोबास गर्न थाले।
२४ त्यसपछि इस्राएलीहरू त्यहाँबाट छुट्टिए अनि तिनीहरू आ-आफ्नो कुल र परिवारअनुसार आफूले पैतृक सम्पत्तिको रूपमा पाएको इलाकामा फर्के।
२५ त्यतिबेला इस्राएलमा कुनै राजा थिएनन्।+ त्यसैले हरेकले आफूलाई जे सही लाग्छ, त्यही गर्थ्यो।