हबकुक
१ भविष्यवक्ता हबकुकले* दर्शनमा* पाएको सन्देश:
२ हे यहोवा, म कतिन्जेल तपाईँलाई गुहारूँ र कतिन्जेल तपाईँ सुन्नुहुन्न?+
हिंसाबाट जोगाउनुहोस् भनेर म कतिन्जेल तपाईँलाई पुकारूँ र कतिन्जेल तपाईँ बचाउनुहुन्न?+
३ तपाईँ किन मलाई गलत काम हेर्न लगाउनुहुन्छ?
तपाईँ किन अत्याचार सहनुहुन्छ?
मेरै अगाडि किन विनाश र हिंसा भइरहेको छ?
किन जताततै झैझगडा र कलह मच्चिरहेको छ?
४ कानुन-व्यवस्था कमजोर भएको छ,
न्याय कतै पनि छैन।
दुष्टहरूले असल मानिसलाई घेरेका छन्,
त्यसैले त न्यायलाई टेढो पारिएको छ।+
५ “राष्ट्रहरूलाई हेर र ध्यान देओ!
चकित हुँदै हेर र छक्क पर।
किनकि तिमीहरूको पालामा यस्तो घटना घट्नेछ
कि कसैले तिमीहरूलाई त्यो सुनायो भने पनि तिमीहरूले पत्याउनेछैनौ।+
६ किनकि हेर, म कल्दियालीहरूलाई खडा गर्नेछु,+
जुन अत्यन्तै उग्र र क्रूर जाति हो।
तिनीहरू पृथ्वीको वल्लो छेउदेखि पल्लो छेउसम्म जान्छन्
र अरूको घर कब्जा गर्छन्।+
७ तिनीहरू भयानक र डरलाग्दा छन्।
तिनीहरू आफ्नो लागि आफै कानुन बनाउँछन् र अख्तियार चलाउँछन्।+
८ तिनीहरूका घोडाहरू चितुवाभन्दा छिटो दगुर्छन्,
तिनीहरू राती निस्कने ब्वाँसाहरूभन्दा हिंस्रक छन्।+
तिनीहरूका युद्धका घोडाहरू सर्पट मार्दै आउँछन्।
तिनीहरूका घोडाहरू टाढा-टाढादेखि आउँछन्।
सिकार पक्रन चीलले जमिनतिर वेग हानेझैँ तिनीहरू वेग हान्छन्।+
९ तिनीहरू सबै हिंसा मच्चाउन तम्सिन्छन्।+
तिनीहरू एकसाथ भेला भएर पूर्वीय बतासझैँ आउँछन्।+
तिनीहरूले कैदीहरूलाई बालुवा बटुलेझैँ बटुल्छन्।
१० तिनीहरू राजाहरूलाई हाँसोमा उडाउँछन्
अनि उच्च अधिकारीहरूको खिसी गर्छन्।+
पर्खालले घेरिएका ठाउँहरू देख्दा तिनीहरूलाई हाँस उठ्छ।+
तिनीहरू माटोको ढिस्को बनाएर त्यसलाई कब्जा गर्छन्।
११ तिनीहरू बतासजस्तै हुइँकिन्छन् र देश पार गरेर जान्छन्
तर तिनीहरू दोषी ठहरिनेछन्+
किनकि तिनीहरू आफ्नो शक्तिको श्रेय आफ्नो देवतालाई दिन्छन्।”*+
१२ हे यहोवा, के तपाईँ अनन्त कालदेखि हुनुहुन्न र?+
हे मेरा परमेश्वर, मेरा पवित्र परमेश्वर, तपाईँको अन्त कहिल्यै हुँदैन।*+
हे यहोवा, इन्साफ गर्न तपाईँले तिनीहरूलाई नियुक्त गर्नुभयो।
हे मेरा चट्टान,+ हामीलाई सजाय दिन* तपाईँले तिनीहरूलाई खडा गर्नुभयो।+
१३ तपाईँका आँखाले दुष्ट कुरा हेर्न सक्दैनन् किनकि ती अत्यन्तै पवित्र छन्।
तपाईँ दुष्टता सहन सक्नुहुन्न।+
त्यसोभए छली मानिसहरूलाई तपाईँ किन सहनुहुन्छ?+
अनि दुष्ट मानिसले आफूभन्दा धर्मी मानिसलाई बरबाद पार्दा तपाईँ किन चुप लागिरहनुहुन्छ?+
१४ तपाईँ किन मानिसलाई समुद्रको माछाजस्तै तुल्याउनुहुन्छ,
कुनै शासक नभएको घस्रने जन्तुजस्तै तुल्याउनुहुन्छ?
१५ उसले* यी सबैलाई बल्छीले तान्छ।
उसले तिनीहरूलाई ठूलो जालमा पक्रन्छ।
माछा मार्ने आफ्नो जालमा उसले तिनीहरूलाई जम्मा गर्छ।
अनि ऊ निकै रमाउँछ।+
१६ त्यसैकारण उसले माछा मार्ने आफ्नो जालको लागि भेटी चढाउँछ
अनि जालको नाममा बलि चढाउँछ।*
किनकि ती जालहरूले गर्दा नै उसले पोसिलो* आहार पाउँछ
अनि उत्तम भोजन खान पाउँछ।
१७ के उसले आफ्नो जाल भर्ने र रित्याउने गरिरहन्छ?*
के उसले दयामाया नदेखाई जातिजातिका मानिसहरूलाई मारिरहन्छ?+