लुकाका अनुसार
५ एकचोटिको कुरा हो, येसु गनेसरेत तालको*+ किनारमा उभिएर परमेश्वरको वचन सिकाइरहनुभएको थियो अनि भीड उहाँको कुरा सुन्न ठेलमठेल गर्दै थियो। २ तब उहाँले तालको किनारमा राखिराखेको दुई वटा डुङ्गा देख्नुभयो तर जलारीहरू भने डुङ्गाबाट ओर्लेर आ-आफ्ना जाल धोइरहेका थिए।+ ३ उहाँ ती डुङ्गाहरूमध्ये एउटामा चढ्नुभयो, जुन सिमोनको थियो र उहाँले तिनलाई त्यस डुङ्गालाई पाखाबाट अलि पर लैजान भन्नुभयो। त्यसपछि उहाँ बस्नुभयो अनि त्यही डुङ्गाबाट भीडलाई सिकाउन थाल्नुभयो। ४ आफ्नो कुरा भनिसकेपछि उहाँले सिमोनलाई भन्नुभयो: “डुङ्गालाई गहिरो ठाउँतिर लैजाऊ र माछा समात्न तिमीहरूले आ-आफ्ना जाल हान।” ५ तर सिमोनले जवाफ दिए: “गुरुज्यू, हामीले रातभरि मेहनत गऱ्यौँ तर केही भेट्टाएनौँ + तैपनि तपाईँले भन्नुभएकोले म जाल हाल्नेछु।” ६ जब तिनीहरूले त्यसै गरे, तिनीहरूका जालहरूमा थुप्रै माछा परे, यहाँसम्म कि तिनीहरूका जालहरू फाट्न लागे।+ ७ त्यसैले तिनीहरूले अर्को डुङ्गामा भएका आफ्ना साथीहरूलाई आएर मदत गर्न इसारा गरे। अनि तिनीहरू आए र दुवै डुङ्गा भरे, यहाँसम्म कि ती डुङ्गाहरू डुब्न लागे। ८ यो देखेर सिमोन पत्रुसले येसुसामु घुँडा टेक्दै भने: “हे प्रभु, म पापी मानिस हुँ, त्यसैले मदेखि टाढा गइहाल्नुहोस्।” ९ त्यति धेरै माछा समात्न सकेको देखेर तिनी र तिनीसित भएकाहरू सबै चकित भएका थिए। १० जब्दिका छोराहरू याकुब र युहन्ना,+ जो व्यापारमा सिमोनका साझेदारहरू थिए, तिनीहरूको अवस्था पनि त्यस्तै थियो। तर येसुले सिमोनलाई भन्नुभयो: “डराउन छोड। अबदेखि उसो तिमीहरूले मानिसहरूलाई जिउँदै समात्नेछौ।”+ ११ त्यसैले तिनीहरूले डुङ्गाहरू पाखामा ल्याए र सबै कुरा छोडेर उहाँको पछि लागे।+
१२ अर्को एकचोटिको कुरा हो, उहाँ कुनै एउटा सहरमा हुनुहुन्थ्यो। हेर! पूरै शरीरभरि कुष्ठरोग लागेको एक जना मानिस त्यहाँ थियो। जब उसले येसुलाई देख्यो, तब उसले लम्पसार परेर उहाँलाई दण्डवत् गऱ्यो र यसो भन्दै बिन्ती गऱ्यो: “प्रभु, तपाईँले मलाई शुद्ध पार्न सक्नुहुन्छ। तपाईँले इच्छा गर्नुभए पुग्छ।”+ १३ अनि उहाँले आफ्नो हात पसारेर उसलाई छुनुभयो र भन्नुभयो: “म इच्छा गर्छु। तिमी शुद्ध भइजाऊ।” अनि तुरुन्तै उसको कुष्ठरोग हरायो।+ १४ तब येसुले त्यस मानिसलाई यो कुरा कसैलाई नभन्नू भनी आदेश दिनुभयो। उहाँले उसलाई यसो पनि भन्नुभयो: “जाऊ, गएर पुजारीलाई देखाऊ अनि आफू शुद्ध भएँ भनी तिनीहरूलाई साक्षी दिन मोसाको निर्देशनबमोजिम भेटी चढाऊ।”+ १५ तर उहाँको चर्चा झन्झन् फैलँदै गयो अनि भीडका भीड मानिसहरू उहाँको कुरा सुन्न र आफ्ना रोगहरू निको पार्न उहाँकहाँ आइरहे।+ १६ उहाँ भने अक्सर एकलास ठाउँहरूमा गएर प्रार्थना गर्नुहुन्थ्यो।
१७ एकदिन उहाँ सिकाउँदै हुनुहुन्थ्यो अनि गालिल र यहुदियाका हरेक गाउँ र यरुसलेमबाट आएका फरिसी र व्यवस्थाका शिक्षकहरू त्यहाँ बसिरहेका थिए। उहाँसित मानिसहरूलाई निको पार्ने यहोवा* परमेश्वरको शक्ति थियो।+ १८ अनि हेर, पक्षाघात भएको एक जना रोगीलाई मानिसहरूले खाटमा बोकेर ल्याए। तिनीहरू भित्र पसेर उसलाई येसुको अगाडि राखिदिन खोज्दै थिए।+ १९ तर भीडले गर्दा उसलाई भित्र लैजाने बाटो नपाएपछि तिनीहरूले छानामा चढेर झिँगटी हटाए अनि खाटैसहित उसलाई येसुको अगाडि ओराले। २० तिनीहरूको विश्वास देखेर उहाँले भन्नुभयो: “मित्र, तिम्रो पाप क्षमा भयो।”+ २१ यो सुनेर शास्त्रीहरू र फरिसीहरूले* यस्तो तर्क गर्न थाले: “परमेश्वरको निन्दा गर्न आँट गर्ने यो को हो? परमेश्वरबाहेक अरू कसले पापहरू क्षमा गर्न सक्छ र?”+ २२ तर तिनीहरू के तर्क गर्दै छन् भन्ने चाल पाएर येसुले तिनीहरूलाई भन्नुभयो: “तिमीहरू आफ्नो हृदयमा के तर्क गर्दै छौ? २३ के भन्न सजिलो छ, ‘तिम्रो पाप क्षमा भयो’ भन्न कि ‘उठेर जाऊ’ भन्न? २४ तैपनि मानिसको छोरासित पृथ्वीमा पाप क्षमा गर्ने अख्तियार छ भन्ने तिमीहरूले बुझ . . .।” उहाँले पक्षाघात भएको त्यस मानिसलाई भन्नुभयो: “म तिमीलाई भन्छु, उठ र तिम्रो खाट बोक अनि घर जाऊ।”+ २५ तब ऊ तिनीहरूकै अगाडि उठ्यो अनि आफू सुत्ने गरेको खाट बोक्यो र परमेश्वरको महिमा गर्दै आफ्नो घरतिर लाग्यो। २६ यो देखेर तिनीहरू सबै दङ्ग परे अनि तिनीहरूले परमेश्वरको महिमा गर्न थाले। तिनीहरूले असाध्यै छक्क पर्दै यसो भन्न थाले: “आज हामीले अचम्मका कुराहरू देख्यौँ!”
२७ त्यसपछि उहाँ बाहिर जानुभयो र लेवि नाम गरेको कर उठाउने मानिसलाई कर उठाउने ठाउँमा बसिरहेको देख्नुभयो र उहाँले तिनलाई भन्नुभयो: “मेरो पछि लाग।”+ २८ अनि तिनी जुरुक्क उठे र सब कुरा छोडेर उहाँको पछि लागे। २९ उहाँको लागि लेविले आफ्नो घरमा ठूलो भोज दिए। त्यहाँ कर उठाउने अनि अरू मानिसहरूको ठूलो जमात उहाँसित खान बसिरहेको थियो।+ ३० यो देखेर फरिसी र तिनीहरूका शास्त्रीहरू यसो भन्दै उहाँका चेलाहरूसित गनगन गर्न थाले: “तिमीहरू किन कर उठाउने र पापी मानिसहरूसित बसेर खान्छौ?”+ ३१ येसुले तिनीहरूलाई जवाफ दिनुभयो: “निरोगीहरूलाई होइन तर रोगीहरूलाई वैद्यको* खाँचो पर्छ।+ ३२ म धर्मीहरूलाई बोलाउन आएको होइनँ तर पापीहरूले पश्चात्ताप गरून् भनी उनीहरूलाई बोलाउन आएको हुँ।”+
३३ तिनीहरूले उहाँलाई भने: “युहन्नाका चेलाहरू अक्सर उपवास बस्छन् र उत्कट बिन्ती चढाउँछन् अनि फरिसीहरूका चेलाहरू पनि त्यसै गर्छन् तर तपाईँका चेलाहरू भने खान्छन् र पिउँछन्।”+ ३४ येसुले तिनीहरूलाई भन्नुभयो: “दुलहा आफ्ना साथीहरूसँग होउन्जेल के तिमीहरूले तिनीहरूलाई उपवास बस्न लगाउन सक्छौ र? ३५ तर यस्तो बेला आउनेछ, जब दुलहालाई+ तिनीहरूबाट निश्चय अलग पारिनेछ अनि त्यसबेला तिनीहरू उपवास बस्नेछन्।”+
३६ उहाँले तिनीहरूलाई एउटा उदाहरण पनि सुनाउनुभयो: “कसैले पनि नयाँ लुगाबाट टालो काटेर पुरानो लुगामा सिलाउँदैन किनकि त्यसो गऱ्यो भने नयाँ टालोले पुरानो लुगालाई फटाउँछ अनि नयाँ लुगाबाट काटेको टालो पुरानो लुगासित मेल पनि खाँदैन।+ ३७ त्यसैगरि कसैले पनि नयाँ दाखमद्य* पुरानो मशकमा* राख्दैन किनकि त्यसो गऱ्यो भने नयाँ दाखमद्यले गर्दा मशक च्यातिन्छ र दाखमद्य पोखिन्छ अनि मशक पनि कामै नलाग्ने हुन्छ। ३८ तर नयाँ दाखमद्य नयाँ मशकमै राख्नुपर्छ। ३९ जसले पुरानो दाखमद्य पिएको छ, उसले नयाँ पिउने मन गर्दैन किनकि उसले भन्छ, ‘पुरानोचाहिँ राम्रो।’”