मत्तिका अनुसार
८ उहाँ डाँडाबाट ओर्लनुभएपछि एक हुल मानिसहरू उहाँको पछि लागे। २ अनि हेर! एक जना कुष्ठरोगी आएर उहाँलाई दण्डवत् गर्दै भन्न थाल्यो: “प्रभु, तपाईँले मलाई शुद्ध पार्न सक्नुहुन्छ। तपाईँले इच्छा गर्नुभए पुग्छ।”+ ३ अनि उहाँले आफ्नो हात पसारेर उसलाई छुनुभयो र भन्नुभयो: “म इच्छा गर्छु। तिमी शुद्ध भइजाऊ।”+ अनि तुरुन्तै उसको कुष्ठरोग हट्यो र ऊ शुद्ध भइहाल्यो।+ ४ तब येसुले उसलाई भन्नुभयो: “यो कुरा कसैलाई नभन+ बरु गएर पुजारीलाई देखाऊ+ अनि मोसाले तोकेबमोजिमको भेटी चढाऊ+ ताकि तिमी शुद्ध भएछौ भनेर तिनीहरूले साक्षी पाऊन्।”
५ त्यसपछि उहाँ कफर्नहुम पस्नुभयो। तब एक जना सैनिक अफिसर आए र उहाँलाई बिन्ती गर्दै+ ६ यसो भने: “हे प्रभु, मेरो नोकर पक्षाघातले थलिएको छ र उसले असाध्यै दुःख पाइरहेको छ।” ७ उहाँले तिनलाई भन्नुभयो: “म त्यहाँ आएर उसलाई निको पार्नेछु।” ८ तर त्यस सैनिक अफिसरले यसो भन्दै जवाफ दिए: “प्रभु, तपाईँलाई मेरो घरमा स्वागत गर्न म लायकको छैनँ। केवल एक वचन बोलिदिनुहोस् र मेरो नोकर निको हुनेछ। ९ किनकि म आफै पनि कसैको अधीनमा काम गर्छु अनि मेरो मुनि पनि सिपाहीहरू छन्। म एक जनालाई भन्छु, ‘जाऊ!’ र ऊ जान्छ अनि अर्कोलाई भन्छु, ‘आऊ!’ र ऊ आउँछ अनि मेरो दासलाई भन्छु, ‘यो गर!’ र उसले त्यो गर्छ।” १० यो सुनेर येसु आश्चर्यचकित हुनुभयो अनि आफ्नो पछिपछि आइरहेका मानिसहरूलाई भन्नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, मैले उसको जस्तो ठूलो विश्वास इस्राएलमा अरू कसैको पाइनँ।+ ११ तर म तिमीहरूलाई भन्छु, पूर्व र पश्चिमबाट धेरै जना आउनेछन् अनि स्वर्गको राज्यमा अब्राहाम, इसहाक र याकुबसँगै खान बस्नेछन्।+ १२ तर राज्यका सन्तान भने बाहिर अन्धकारमा फालिनेछन्, जहाँ तिनीहरू दाह्रा किटी-किटी रुनेछन्।”+ १३ त्यसपछि येसुले त्यस सैनिक अफिसरलाई भन्नुभयो: “जाऊ। तिमीले जस्तो विश्वास गरेका छौ, त्यस्तै होस्।”+ तब उत्तिखेरै तिनको नोकर निको भइहाल्यो।+
१४ अनि पत्रुसको घरमा पुग्नुहुँदा येसुले पत्रुसकी सासू+ ज्वरोले थलिएकी देख्नुभयो।+ १५ त्यसैले उहाँले उनको हात छुनुभयो+ र ज्वरोले उनलाई छोड्यो अनि उनी उठेर उहाँको लागि खाना तयार गर्न थालिन्। १६ तर साँझ परेपछि मानिसहरूले प्रेतहरू* बास गरेका धेरै जनालाई उहाँकहाँ ल्याए अनि उहाँले प्रेतहरूलाई एकै वचनले धपाउनुभयो र बिरामीहरूजति सबैलाई निको पार्नुभयो। १७ यसप्रकार भविष्यवक्ता यसैयाद्वारा भनिएको यो वचन पूरा भयो: “उसले हाम्रो रोगबिमार लियो अनि पीडा बोक्यो।”+
१८ आफूलाई चारैतिर भीडले घेरेको देखेर येसुले आफ्ना चेलाहरूलाई डुङ्गा खियाएर पारिपट्टि लैजाने आज्ञा दिनुभयो।+ १९ तब एक जना शास्त्रीले उहाँकहाँ आएर यसो भने: “हे गुरु, तपाईँ जहाँ-जहाँ जानुहुन्छ, म त्यहाँ-त्यहाँ तपाईँको पछि लाग्नेछु।”+ २० तर येसुले तिनलाई भन्नुभयो: “फ्याउराहरूको ओडार हुन्छ र आकाशका चराचुरुङ्गीको गुँड तर मानिसको छोराको भने शिर ढल्काउने ठाउँसमेत छैन।”+ २१ त्यसैगरि अर्को एक जना चेलाले उहाँलाई यसो भने: “हे प्रभु, पहिला मलाई गएर मेरो बुबालाई गाड्न दिनुहोस्।”+ २२ येसुले तिनलाई भन्नुभयो: “मुर्दाहरूलाई मुर्दाहरूले नै गाडून् तर तिमीचाहिँ मेरो पछि लागिरह।”+
२३ उहाँ डुङ्गा चढ्नुभयो र चेलाहरू पनि उहाँसँगै गए।+ २४ अनि हेर! समुद्रमा ठूलो आँधी चल्यो र छाल उठेर डुङ्गा पानीले भरिन थाल्यो तर उहाँ भने निदाइरहनुभएको थियो।+ २५ अनि चेलाहरू आएर उहाँलाई यसो भन्दै ब्युँझाए: “हे प्रभु, हामीलाई बचाउनुहोस्, हामी मर्नै आँट्यौँ!” २६ तर उहाँले तिनीहरूलाई भन्नुभयो: “तिमीहरू किन यतिबिघ्न डराउँछौ? तिमीहरूको विश्वास कत्ति कमजोर!”+ त्यसपछि उहाँले उठेर आँधी र समुद्रलाई हप्काउनुभयो अनि समुद्र पूरै शान्त भयो।+ २७ तब चेलाहरूले छक्क परेर यसो भने: “यिनी को हुन्, जसको आज्ञा आँधी र समुद्रले समेत मान्छन्?”
२८ उहाँ पारिपट्टि गदरिनीहरूको इलाकामा पुग्नुभएपछि चिहानबाट आइरहेका दुई जना मानिससित उहाँको भेट भयो।+ प्रेतहरू बास गरेका ती मानिसहरू असाध्यै डरलाग्दा भएकाले कसैले पनि त्यो बाटो हिँड्ने आँट गर्दैनथ्यो। २९ अनि हेर! तिनीहरू यसो भन्दै चिच्याए: “हे परमेश्वरका छोरा, तपाईँको हामीसित के सरोकार?*+ के तपाईँ तोकिएको समयअघि नै हामीलाई सास्ती दिन यहाँ आउनुभएको हो?”+ ३० निकै पर सुँगुरहरूको एउटा ठूलो बथान चरिरहेको थियो।+ ३१ त्यसैले प्रेतहरूले यसो भन्दै उहाँलाई बिन्ती गर्न थाले: “हामीलाई धपाउने हो भने त्यस सुँगुरको बथानमा पठाउनुहोस्।”+ ३२ उहाँले तिनीहरूलाई भन्नुभयो: “जाओ!” तब तिनीहरू ती मानिसहरूबाट निस्केर सुँगुरहरूभित्र पसे अनि हेर! सुँगुरको पूरै बथान भीरतिर हुत्तिँदै गयो र समुद्रमा खसेर मऱ्यो। ३३ तब गोठालाहरू भागे अनि उनीहरूले प्रेतहरू बास गरेका ती मानिसहरूलाई के भयो, त्योलगायत अरू सबै कुरा सहरमा गएर सुनाए। ३४ अनि हेर! येसुलाई भेट्न पूरै सहर उर्लेर आयो र उहाँलाई देखेपछि तिनीहरूले उहाँलाई आफ्नो इलाकाबाट गइहाल्न बिन्ती गरे।+