युहन्नालाई प्रकाश
१९ यसपछि मैले स्वर्गमा ठूलो भीडको स्वरजस्तो एउटा चर्को आवाज सुनेँ। तिनीहरूले यसो भने: “याहको प्रशंसा गर!*+ उद्धार, महिमा अनि शक्ति हाम्रा परमेश्वरकै हुन् २ किनकि उहाँका फैसलाहरू सही अनि न्यायोचित छन्।+ आफ्नो अवैध यौनसम्बन्धद्वारा* पृथ्वीलाई भ्रष्ट पार्ने महावेश्यालाई उहाँले दण्ड दिनुभएको छ अनि त्यससित आफ्ना दासहरूको रगतको बदला लिनुभएको छ, जसको रगत त्यसले आफ्ना हातहरूले बगाएकी थिई।”+ ३ अनि तुरुन्तै दोस्रो पटक तिनीहरूले यसो भने: “याहको प्रशंसा गर!*+ त्यो सहर जलेर निस्केको धुवाँ सदासर्वदा मास्तिर उठिरहन्छ।”+
४ त्यसपछि २४ जना एल्डर+ र चार वटा जीवले+ सिंहासनमा बस्नुहुने परमेश्वरसामु घोप्टो परेर उहाँको उपासना गरे अनि यसो भने: “आमिन! याहको प्रशंसा गर!”*+
५ अनि सिंहासनबाट एउटा आवाज पनि आयो र त्यसले यसो भन्यो: “हे परमेश्वरको डर मान्ने उहाँका साना-ठूला सबै+ दास हो,+ हाम्रा परमेश्वरको प्रशंसा गर।”
६ त्यसपछि मैले ठूलो भीडको स्वरजस्तो, धेरै पानी बगिरहेको आवाजजस्तो र ठूलो स्वरमा मेघ गर्जेको जस्तो एउटा आवाज सुनेँ। तिनीहरूले यसो भने: “याहको प्रशंसा गर*+ किनकि हाम्रा सर्वशक्तिमान् परमेश्वर+ यहोवाले* राजाको रूपमा शासन गर्न थाल्नुभएको छ!+ ७ आओ, हामी रमाऔँ र असाध्यै खुसी होऔँ अनि उहाँको महिमा गरौँ किनकि पाठोको विवाह हुन लागेको छ र तिनकी दुलहीले आफूलाई तयार पारिसकेकी छिन्। ८ हो, तिनकी दुलहीलाई उज्यालो, सफा र उच्च कोटिको मलमलको* लुगा लगाउन दिइएको छ किनकि उच्च कोटिको मलमलको अर्थ पवित्र जनहरूका असल कामहरू हुन्।”+
९ त्यसपछि तिनी मलाई भन्छन्, “लेख: आनन्दित हुन् तिनीहरू, जसले पाठोको विवाहको साँझको भोजमा आउन निम्तो पाएका छन्।”+ तिनी मलाई यसो पनि भन्छन्: “यी परमेश्वरले भन्नुभएका सत्य वचनहरू हुन्।” १० यो सुनेर म तिनको उपासना गर्न तिनका पाउमा घोप्टो परेँ। तर तिनी मलाई भन्छन्: “होसियार! त्यसो नगर!+ किनकि म तिम्रो अनि तिम्रा भाइहरू, जसले येसुको साक्षी दिने काम पाएका छन्,+ तिनीहरूको सङ्गी दास मात्र हुँ। परमेश्वरको उपासना गर!+ किनभने येसुको विषयमा साक्षी दिनु नै भविष्यवाणीहरूको उद्देश्य हो।”+
११ मैले स्वर्ग उघ्रेको देखेँ अनि हेर! एउटा सेतो घोडा पनि देखेँ।+ त्यसमा सवार हुनेको नाम विश्वासयोग्य+ अनि साँचो+ हो र तिनले परमेश्वरको धार्मिक स्तरबमोजिम+ न्याय र युद्ध गरिरहन्छन्। १२ तिनका आँखा आगोको ज्वालाजस्ता छन्+ र तिनको शिरमा धेरै ताज* छन्। साथै तिनमा एउटा यस्तो नाम लेखिएको छ, जसको अर्थ तिनलाई बाहेक अरू कसैलाई थाह छैन। १३ अनि तिनले रगतको दाग लागेको* लुगा लगाएका छन् र तिनको नाम हो, परमेश्वरको वचन।+ १४ साथै स्वर्गका सेनाहरू सेता घोडाहरू चढेर तिनको पछिपछि आइरहेका थिए अनि तिनीहरूले सेता, सफा र उच्च कोटिको मलमलको लुगा लगाएका थिए। १५ राष्ट्रहरूलाई प्रहार गर्न तिनको मुखबाट लामो धारिलो तरबार+ निस्कन्छ। तिनले फलामको डन्डाले तिनीहरूलाई गोठालोले झैँ डोऱ्याउनेछन्।+ साथै तिनले सर्वशक्तिमान् परमेश्वरको भयानक क्रोधको कोल पनि पेल्छन्।+ १६ तिनको लुगामा, हो, तिनको तिघ्रामा राजाहरूका महाराजा, प्रभुहरूका महाप्रभु भन्ने नाम लेखिएको छ।+
१७ मैले सूर्यमा उभिरहेका एक जना स्वर्गदूतलाई पनि देखेँ अनि आकाशमा* उड्ने सबै चरालाई तिनले चर्को स्वरमा कराएर यसो भने: “यहाँ आओ, परमेश्वरको साँझको ठूलो भोज खान भेला होओ।+ १८ तिमीहरूले राजाहरूको मासु, सेनापतिहरूको मासु, शक्तिशालीहरूको मासु,+ घोडाहरूको मासु, घोडसवारहरूको मासु+ अनि के स्वतन्त्र, के दास, के साना, के ठूला, सबैको मासु खान पाउनेछौ।”
१९ अनि मैले घोडामा सवार हुनेसित र तिनका सेनासित लडाइँ गर्न जङ्गली जनावर, पृथ्वीका राजाहरू अनि तिनीहरूका सेनाहरू एकसाथ भेला भएको देखेँ।+ २० तब त्यो जङ्गली जनावर पक्राउ पऱ्यो र त्यसको अगाडि चिन्हहरू देखाउने झूटो भविष्यवक्ता+ पनि पक्राउ पऱ्यो। यो त्यही झूटो भविष्यवक्ता हो, जसले चिन्हहरू देखाएर जङ्गली जनावरको चिन्ह लिने+ अनि त्यसको मूर्तिको उपासना गर्ने मानिसहरूलाई+ बहकाउँथ्यो। अनि ती दुवैलाई गन्धकको अग्निकुण्डमा जिउँदै हुर्ऱ्याइयो।+ २१ तर बाँकी अरू भने घोडामा सवार हुनेको मुखबाट निस्केको लामो तरबारद्वारा मारिए।+ अनि सबै चराले अघाउन्जेल तिनीहरूको मासु खाए।+