यहोसु
१ यहोवा परमेश्वरका सेवक मोसाको मृत्यु भएपछि मोसाका सहायक यहोसु,* जो नुनका छोरा थिए,+ तिनलाई यहोवा परमेश्वरले यसो भन्नुभयो: २ “मेरो सेवक मोसाको मृत्यु भइसक्यो।+ त्यसैले तिमी तयार होऊ र सबै इस्राएलीलाई लिएर यर्दनपारि मैले तिनीहरूलाई दिन लागेको देशमा जाऊ।+ ३ तिमीहरूले जुन-जुन ठाउँमा पाइला टेक्नेछौ, ती सबै ठाउँ मोसासित मैले प्रतिज्ञा गरेअनुसारै म तिमीहरूलाई दिनेछु।+ ४ तिमीहरूको सिमाना यस निर्जनभूमिदेखि लेबनान र महानदी युफ्रेटिससम्म, जुन हित्तीहरूको इलाका+ हो र पश्चिममा महासागरसम्म* फैलिनेछ।+ ५ तिम्रो जीवनभर तिमीलाई कसैले हराउन सक्नेछैन।+ जसरी म मोसासँग थिएँ, त्यसैगरि तिमीसँग पनि हुनेछु।+ म तिमीलाई छोड्नेछैनँ, म तिमीलाई त्याग्नेछैनँ।+ ६ साहसी र बलियो होऊ!+ किनभने यी मानिसहरूलाई जुन देश दिन्छु भनेर मैले यिनीहरूका पुर्खाहरूसित शपथ खाएको थिएँ, त्यो देश अधिकार गर्न तिमीले नै यिनीहरूलाई लैजानेछौ।+
७ “साहसी र खूब बलियो होऊ! अनि मेरा सेवक मोसाले दिएको व्यवस्थाको एक-एक कुरा होसियारीसाथ पालन गर। यसबाट तर्केर दायाँबायाँ नलाग;+ यसो गऱ्यौ भने जहाँ गए पनि तिमीले बुद्धि पुऱ्याएर कदम चाल्न सक्नेछौ।+ ८ व्यवस्थाको यो पुस्तक तिम्रो मुखबाट नहटोस्।+ तिमीले यसमा दिनरात मनन गर्नू।* तब तिमीले यसमा लेखिएका एक-एक कुरा होसियार भई पालन गर्न सक्नेछौ।+ यसो गऱ्यौ भने तिमी सफल हुनेछौ र तिमीले बुद्धि पुऱ्याएर कदम चाल्न सक्नेछौ।+ ९ म तिमीलाई फेरि भन्छु, साहसी र बलियो होऊ! नडराऊ र नआत्तिऊ किनभने तिमी जहाँ गए पनि यहोवा तिम्रा परमेश्वर तिमीसँग हुनुहुनेछ।”+
१० त्यसपछि यहोसुले इस्राएलीहरूका अफिसरहरूलाई यस्तो आज्ञा दिए: ११ “इस्राएलीहरूको पूरै छाउनीमा जाओ र तिनीहरूलाई यस्तो आज्ञा देओ: ‘तिमीहरूले आफ्नो लागि खानेकुराको बन्दोबस्त गर किनभने अबको तीन दिनमा तिमीहरू यर्दन नदी तर्नेछौ र यहोवा परमेश्वरले तिमीहरूलाई दिनुहुने देश कब्जा गर्नेछौ।’”+
१२ अनि यहोसुले रुबेनको कुल, गादको कुल अनि मनस्सेको आधा कुललाई यसो भने: १३ “यहोवा परमेश्वरका सेवक मोसाले तिमीहरूलाई दिएको यो आज्ञा सम्झ:+ ‘यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई सुरक्षित राख्नुहुनेछ र तिमीहरू शान्तसित रहनेछौ। अनि उहाँले यो देश तिमीहरूलाई दिनुभएको छ। १४ यर्दन नदीको यस छेउमा* मोसाले तिमीहरूलाई दिएको इलाकामा तिमीहरूका पत्नी, बालबच्चा अनि वस्तुभाउ बसून्।+ तर तिमीहरू सबै वीर योद्धाचाहिँ+ दल-दल बनाएर अरू कुलभन्दा अघिअघि नदी पार गर्नू।+ तिमीहरूले अरू कुलका दाजुभाइलाई तबसम्म मदत गर्नू, १५ जबसम्म यहोवा परमेश्वरले तिनीहरूलाई पनि तिमीहरूलाई जस्तै शान्ति र सुरक्षा दिनुहुन्न अनि यहोवा परमेश्वरले दिनुहुने इलाका तिनीहरूले हासिल गर्दैनन्। त्यसपछि यहोवा परमेश्वरका सेवक मोसाले तिमीहरूलाई दिएको यर्दन नदीको पूर्वपट्टिको इलाकामा फर्कनू र त्यहाँ बसोबास गर्नू।’”+
१६ यो सुनेपछि तिनीहरूले यहोसुलाई भने: “तपाईँले हामीलाई जे-जे आज्ञा गर्नुहुन्छ, हामी ती सबै पालन गर्नेछौँ र तपाईँले हामीलाई जहाँ-जहाँ पठाउनुहुन्छ, त्यहाँ-त्यहाँ जानेछौँ।+ १७ मोसाको एक-एक कुरा मानेझैँ हामी तपाईँको कुरा पनि मान्नेछौँ। तपाईँका परमेश्वर यहोवाले मोसालाई साथ दिनुभएझैँ तपाईँलाई पनि साथ देऊन्।+ १८ कुनै मानिस तपाईँविरुद्ध खडा हुन्छ र तपाईँको आज्ञा पालन गर्दैन भने ऊ मारिनेछ।+ केवल साहसी र बलियो हुनुहोस्।”+