दोस्रो राजा
९ तब भविष्यवक्ता एलिसाले ‘भविष्यवक्ताहरूका छोराहरू’-मध्ये* एक जनालाई बोलाएर यसो भने: “आफ्नो कम्मर कस र यो तेलको सुराही लिएर झट्टै रामोथ-गिलाद जाऊ।+ २ त्यहाँ पुगेर निम्सिका नाति, यहोसापातका छोरा येहुलाई खोज्नू।+ त्यसपछि तिनलाई तिनका भाइबन्धुको माझबाट बोलाउनू अनि अलग्गै भित्री कोठामा लैजानू। ३ अनि यो सुराहीको तेल तिनको शिरमा खन्याएर यसो भन्नू, ‘यहोवा परमेश्वर भन्नुहुन्छ: “म तिमीलाई इस्राएलका राजा अभिषेक गर्छु।”’+ त्यसपछि ढोका खोलेर त्यहाँबाट तुरुन्तै भाग्नू।”
४ तब भविष्यवक्ताका ती सेवक रामोथ-गिलाद जान निस्के। ५ उनी त्यहाँ पुग्दा सेनापतिहरू एकै ठाउँमा बसिरहेका थिए। उनले भने: “हे सेनापति! मैले तपाईँको लागि एउटा सन्देश ल्याएको छु।” येहुले सोधे: “कसको लागि?” उनले जवाफ दिए: “तपाईँको लागि।” ६ त्यसैले येहु उठे र घरभित्र गए। तब भविष्यवक्ताका ती सेवकले येहुको शिरमा तेल खन्याएर यसो भने, “इस्राएलका परमेश्वर यहोवा भन्नुहुन्छ: ‘म तिमीलाई यहोवाको प्रजा इस्राएलीहरूको राजा अभिषेक गर्छु।+ ७ तिमीले आफ्नो मालिक आहाबको घरानाको नामोनिसान मेटाइदिनू। ईजेबेलको हातबाट मारिएका मेरा सबै भविष्यवक्ता र यहोवाका सबै सेवकको रगतको म बदला लिनेछु।+ ८ आहाबको पूरै घराना मेटिनेछ। म उसको घरानाका सबै पुरुषलाई नाश गर्नेछु। म इस्राएलमा भएका निस्सहाय र कमजोरहरूलाई समेत छोड्नेछैनँ।+ ९ म आहाबको घरानाको हालत नबातका छोरा यरोबामको+ र अहियाहका छोरा बासाको+ घरानाको जस्तै बनाइदिनेछु। १० ईजेबेलको लासचाहिँ यिज्रेलको जमिनमा कुकुरहरूले खानेछन्+ र कसैले त्यसलाई गाड्नेछैन।’” यति भनेर भविष्यवक्ताका ती सेवक ढोका खोलेर त्यहाँबाट भागे।+
११ जब येहु अरू सेनापतिकहाँ फर्केर आए, तब तिनीहरूले सोधे: “सबै ठीक छ? त्यो बौलाहा किन तिमीलाई भेट्न आएछ?” तिनले जवाफ दिए: “त्यो बौलाहा हो अनि त्यसले बकम्फुसे कुरा गर्छ भनेर तिमीहरूलाई थाहै छ नि!” १२ तर तिनीहरूले भने: “तिमी झूट बोल्दै छौ! के भयो, भन त।” तब येहुले भविष्यवक्ताका ती सेवकले भनेको कुरा तिनीहरूलाई बताइदिए। तिनले अझै यसो भने: “उनले मलाई यो सन्देश पनि दिए, ‘यहोवा परमेश्वर भन्नुहुन्छ: “म तिमीलाई इस्राएलका राजा अभिषेक गर्छु।”’”+ १३ यो सुन्नेबित्तिकै तिनीहरू सबैले आ-आफ्नो लुगा येहुको अगाडि भऱ्याङमा बिछ्याइदिए+ अनि सिङ फुकेर यस्तो घोषणा गरे: “येहु राजा हुनुभएको छ!”+ १४ त्यसपछि निम्सिका नाति, यहोसापातका छोरा येहुले+ यहोरामविरुद्ध षड्यन्त्र रचे।
इस्राएललाई सिरियाका राजा हाजाएलको+ आक्रमणबाट जोगाउन यहोराम पूरै इस्राएली सेनासहित रामोथ-गिलाद+ गएका थिए। १५ तर सिरियाका राजा हाजाएलसित+ लडाइँ गर्दा सिरियालीहरूले राजा यहोरामलाई घाइते बनाइदिएका थिए। त्यसैले यहोराम निको हुन यिज्रेल फर्केका थिए।+
तब येहुले आफूसँग भएका सेनापतिहरूलाई भने: “यदि तिमीहरू मेरो पक्षमा छौ भने कसैलाई पनि सहरबाट बाहिर निस्कन नदिनू। यो खबर यिज्रेलमा पुग्न नपाओस्।” १६ त्यसपछि येहु आफ्नो रथमा यिज्रेल गए किनकि घाइते यहोराम त्यहाँ गएका थिए। यहुदाका राजा आहाज्याह पनि यहोरामलाई भेट्न त्यहीँ गएका थिए। १७ यिज्रेलको धरहरामा उभिरहेका पहरेदारले येहु आफ्नो फौजसहित आइरहेको देखे। तब तिनले तुरुन्तै यसो भने: “म एउटा फौज आइरहेको देख्दै छु।” यहोरामले भने: “तिनीहरूलाई भेट्न एक जना घोडचढीलाई पठाऊ र यो कुरा सोध्न लगाऊ, ‘के तिमीहरू मित्रभावले आएका हौ?’” १८ त्यसैले एक जना घोडचढी येहुलाई भेट्न गयो र यसो भन्यो: “राजा सोध्नुहुन्छ, ‘के तिमी मित्रभावले आएका हौ?’” तर येहुले भने: “मलाई यो सोध्ने तिमी को हौ? चुपचाप मेरो पछि लाग!”
तब पहरेदारले यहोरामलाई भने: “त्यो सन्देशवाहकले तिनीहरूलाई भेट्न त भेट्यो तर ऊ फर्केर आएन।” १९ त्यसैले यहोरामले अर्को घोडचढीलाई पठाए। उसले तिनीहरूलाई भेटेपछि यसो भन्यो: “राजा सोध्नुहुन्छ, ‘के तिमी मित्रभावले आएका हौ?’” तर येहुले भने: “मलाई यो सोध्ने तिमी को हौ? चुपचाप मेरो पछि लाग!”
२० पहरेदारले यहोरामलाई फेरि यसो भने: “उसले तिनीहरूलाई भेट्न त भेट्यो तर ऊ फर्केर आएन। त्यो रथ हाँक्ने त निम्सिका नाति* येहु जस्ता छन् किनकि तिनी बौलाहाले जस्तै रथ हाँक्छन्।” २१ तब यहोरामले भने: “झट्टै मेरो रथ तयार गर!” तिनीहरूले त्यसै गरे र इस्राएलका राजा यहोराम अनि यहुदाका राजा आहाज्याह+ आ-आफ्नो रथ चढेर येहुलाई भेट्न गए। उनीहरूले तिनलाई यिज्रेली नाबोथको+ जग्गामा भेटे।
२२ येहुलाई देख्नेबित्तिकै यहोरामले सोधे: “येहु! के तिमी मित्रभावले आएका हौ?” तर येहुले जवाफ दिए: “तिम्री आमा ईजेबेलले+ वेश्यावृत्ति* र टुनामुना गर्न छोडेकी छैनन्; तिमीसँग केको मित्रभाव?”+ २३ तब यहोराम तुरुन्तै आफ्नो रथ घुमाएर त्यहाँबाट भाग्न खोजे अनि आहाज्याहलाई यसो भने: “आहाज्याह! यो त पासो रहेछ!” २४ येहुले आफ्नो धनु उठाएर यहोरामको पिठिउँमा हाने। काँडले यहोरामको मुटु वारपार हुनेगरि छेड्यो र उनी रथमै मरे। २५ त्यसपछि येहुले आफ्नो सेनाका सहायक अफिसर बिदकारलाई यसो भने: “यसको लास उठाएर यिज्रेली नाबोथको खेतमा फालिदेऊ।+ तिमीलाई याद छ? जब तिमी र म यसको बुबा आहाबको पछिपछि रथ हाँकिरहेका थियौँ, तब यहोवा परमेश्वर स्वयम्ले आहाबलाई यो सजाय सुनाउनुभएको थियो:+ २६ ‘यहोवा घोषणा गर्नुहुन्छ, “मैले हिजो नाबोथ र तिनका छोराहरूको हत्या भएको देखेको थिएँ,”+ यहोवा घोषणा गर्नुहुन्छ, “यही ठाउँमा म तँसित बदला लिनेछु।”’+ त्यसैले यहोवा परमेश्वरको वचनअनुसारै यो लास उठाएर यही जमिनमा फालिदेऊ।”+
२७ यो सब देखेपछि यहुदाका राजा आहाज्याह+ एउटा ठूलो बगैँचाको* बाटो भएर भागे। (पछि येहुले उनलाई खेदे र आफ्ना मानिसहरूलाई भने: “त्यसलाई पनि मार!” आहाज्याह आफ्नो रथ हाँकेर इब्लामनजिकै+ पर्ने गुरतर्फ गइरहेको बेला तिनीहरूले उनलाई प्रहार गरे। तर उनी भाग्दै-भाग्दै मगिद्दोसम्म पुगे र त्यहीँ मरे। २८ त्यसपछि उनका सेवकहरूले उनलाई रथमा राखेर यरुसलेम लगे अनि दाउदनगरमा उनका पितापुर्खाको चिहानमा गाडे।+ २९ आहाबका छोरा यहोरामको शासनकालको ११ औँ वर्ष चलिरहेको बेला आहाज्याह+ यहुदाका राजा भएका थिए।)
३० येहु यिज्रेल+ आएका छन् भनेर ईजेबेलले+ सुनिन्। त्यसैले उनले आँखामा गाजल लगाइन्, कपाल बाटिन् र झ्यालबाट तल हेरेर बसिन्। ३१ येहु ढोकाबाट भित्र छिरेपछि उनले भनिन्: “आफ्नो मालिकको हत्या गर्ने जिम्रिको के हालत भएको थियो, तिमीलाई थाह छ हैन?”+ ३२ तब येहुले माथि झ्यालतिर हेरेर यसो भने: “मलाई साथ दिने को छ?”+ दरबारका दुई-तीन जना अफिसरले तुरुन्तै येहुलाई माथिबाट हेरे। ३३ तब तिनले भने: “त्यस स्त्रीलाई तल फ्याँकिदेओ!” अनि तिनीहरूले ईजेबेललाई तल फ्याँकिदिए। उनको रगतको छिटा पर्खालमा र घोडाहरूमा पऱ्यो। तब येहुले आफ्ना घोडाहरूले उनलाई कुल्चिदिए। ३४ त्यसपछि तिनले भित्र गएर खानपिन गरे अनि यसो भने: “जाओ र त्यो श्रापित स्त्रीको लास गाडिदेओ। आखिर त्यो राजकुमारी हो।”+ ३५ तर ईजेबेलको लास उठाउन जाँदा तिनीहरूले उनको खप्पर, खुट्टा र हत्केलाबाहेक अरू केही भेटेनन्।+ ३६ तिनीहरूले गएर येहुलाई यो कुरा बताइदिए। तब तिनले यसो भने: “यहोवा परमेश्वरले आफ्नो सेवक तिस्बेली एलियामार्फत भन्नुभएको यो कुरा आज पूरा भयो,+ ‘यिज्रेलको जमिनमा कुकुरहरूले ईजेबेलको मासु खानेछ।+ ३७ ईजेबेलको लास यिज्रेलको जमिनमा मलसरह हुनेछ र कसैले पनि यसो भन्न सक्नेछैन: “यो ईजेबेल हो।”’”