तेस्रो युहन्ना
१ एक जना पाको पुरुषको* नाताले म प्रिय गायसलाई लेख्दै छु, जसलाई म साँच्चै प्रेम गर्छु।
२ प्रिय भाइ, म यही प्रार्थना गर्छु कि जसरी अहिले तिम्रो प्रगति भइरहेको छ, त्यसरी नै सबै कुरामा तिम्रो उत्तरोत्तर प्रगति होस् अनि तिम्रो स्वास्थ्य पनि सधैँ राम्रो रहिरहोस्। ३ तिमीले सत्यलाई पक्रिरहेका छौ भनेर भाइहरूले आएर सुनाउँदा म ज्यादै आनन्दित भएँ। हो, मलाई थाह छ, तिमी सत्यमा हिँडिरहेका छौ।+ ४ मेरा छोराछोरी सत्यमा हिँडिरहेका छन्+ भनेर सुन्न पाउनुभन्दा बढ्ता खुसीको कुरा* मसित अरू छैन।
५ प्रिय भाइ, तिमीले आफूले नचिनेका भाइहरूका निम्ति समेत जे-जति गरिरहेका छौ, त्यसबाट तिमी विश्वासयोग्य छौ भनेर देखिन्छ।+ ६ तिनीहरूले मण्डलीसामु तिम्रो प्रेमको विषयमा साक्षी दिएका छन्। तिनीहरूलाई यात्रामा पठाउन तिमी जे-जति गर्छौ, कृपया परमेश्वरलाई मन पर्ने तरिकामा गर+ ७ किनकि तिनीहरू संसारका मानिसहरूबाट केही नलिई उहाँको नामको खातिर निस्किएका हुन्।+ ८ त्यसैले यस्ता मानिसहरूको अतिथि-सत्कार गर्नु हाम्रो कर्तव्य हो।+ यसरी हामी सत्यमा तिनीहरूको सहकर्मी बन्न सक्नेछौँ।+
९ मैले मण्डलीलाई केही लेखेको थिएँ तर तिनीहरूमाझ पहिलो स्थान ओगट्न चाहने डियोत्रिफसले+ हामीलाई आदर गर्दैन र हामीले भनेको कुनै पनि कुरा स्विकार्दैन।+ १० त्यसैले म आएँ भने उसले गरिरहेका कामहरूमा सबैको ध्यान खिच्नेछु किनकि ऊ हाम्रो बदनाम गर्न हाम्रो विषयमा दुष्ट कुरा फैलाउँदै हिँड्छ।+ त्यतिमा चित्त नबुझाएर उसले भाइहरूलाई आदर र स्वागत-सत्कार गर्न मान्दैन+ अनि जसले गर्न चाहन्छ, तिनीहरूलाई पनि गर्न दिँदैन बरु तिनीहरूलाई मण्डलीबाट निकाल्न खोज्छ।
११ प्रिय भाइ, जे खराब छ, त्यसको होइन तर जे असल छ, त्यसको अनुकरण गर।+ जसले असल काम गर्छ, ऊ परमेश्वरको हो।+ जसले खराब काम गर्छ, उसले परमेश्वरलाई देखेको हुँदैन।+ १२ तिनीहरू सबैले डेमेत्रियसको प्रशंसा गर्छन् र सत्यले पनि यसको साक्षी दिएको छ। वास्तवमा हामीले पनि तिनीबारे साक्षी दिइरहेका छौँ अनि तिमीलाई थाह छ, हामीले दिने साक्षी साँचो छ।
१३ तिमीलाई भन्नुपर्ने कुरा त धेरै छन् तर म मसी र कलमले ती लेख्न चाहन्नँ। १४ बरु म तिमीलाई चाँडै भेट्ने आशा गर्दै छु। त्यतिबेला हामी आमनेसामने बसेर कुरा गरौँला।
तिमीलाई शान्ति होस्।
यहाँका मित्रहरूले तिमीलाई अभिवादन पठाएका छन्। त्यहाँका एकएक मित्रलाई मेरो अभिवादन छ भनिदेऊ।