मर्कुसका अनुसार
१५ अनि बिहान हुनेबित्तिकै मुख्य पुजारीहरू, धर्मगुरुहरू र शास्त्रीहरूले अर्थात् पूरै यहुदी न्यायपरिषद्ले आपसमा सल्लाह गरे। त्यसपछि तिनीहरूले येसुलाई बाँधे अनि लगेर पिलातसको हातमा सुम्पे।+ २ पिलातसले उहाँलाई प्रश्न गरे: “के तिमी यहुदीहरूका राजा हौ?”+ उहाँले जवाफ दिनुभयो: “तपाईँ आफैले भन्नुभयो।”+ ३ तर मुख्य पुजारीहरूले उहाँलाई धेरै कुराको आरोप लगाउन थाले। ४ तब पिलातसले उहाँलाई फेरि सोध्न थाले: “के तिमी केही जवाफ दिँदैनौ?+ हेर, यिनीहरू तिम्रो विरुद्धमा कति धेरै आरोप लगाउँदै छन्।”+ ५ तर येसुले अरू केही जवाफ दिनुभएन। त्यसैले पिलातसले अचम्म माने।+
६ कुरा के थियो भने, तिनले हरेक वर्ष चाडको बेला भीडले चाहेको कुनै एक कैदीलाई मुक्त गर्ने गर्थे।+ ७ त्यतिबेला थुनामा केही राजद्रोहीहरू पनि थिए, जसले विद्रोहको बेला अरूको हत्या गरेका थिए। तीमध्ये बरब्बा नाम गरेको एक जना मानिस पनि थियो। ८ तब भीड पिलातसकहाँ आयो र पहिला-पहिला पिलातसले तिनीहरूका निम्ति जे गर्दै आएका थिए, अहिले पनि त्यही गर्नुपऱ्यो भनेर बिन्ती गर्न थाल्यो। ९ तिनले तिनीहरूलाई भने: “के तिमीहरू मैले यहुदीहरूका राजालाई मुक्त गरिदिएको चाहन्छौ?”+ १० किनकि ईर्ष्याले जलेर मुख्य पुजारीहरूले उहाँलाई सुम्पेका हुन् भनेर तिनलाई थाह थियो।+ ११ तर मुख्य पुजारीहरूले उहाँको सट्टा बरब्बालाई मुक्त गरिदिने माग गर्न भीडलाई उक्साए।+ १२ तब पिलातसले तिनीहरूलाई फेरि सोधे: “त्यसोभए तिमीहरू जसलाई यहुदीहरूका राजा भन्छौ, उसलाई चाहिँ म के गरूँ?”+ १३ तिनीहरू फेरि कराए: “त्यसलाई खम्बामा टाँग्नुहोस्!”+ १४ तर पिलातसले तिनीहरूलाई भने: “किन? उसले के खराब काम गऱ्यो र?” तर तिनीहरू यसो भन्दै झन् चिच्याए: “त्यसलाई खम्बामा टाँग्नुहोस्!”+ १५ तब भीडको चित्त बुझाउन पिलातसले बरब्बालाई मुक्त गरिदिए तर येसुलाई भने कोर्रा लगाउने आदेश दिए+ अनि खम्बामा टाँग्न तिनीहरूको हातमा सुम्पे।+
१६ तब सिपाहीहरूले उहाँलाई राज्यपालको निवासभित्र चोकमा लगे र तिनीहरूले सेनाको पूरै टुकडीलाई त्यहाँ बोलाए।+ १७ अनि तिनीहरूले उहाँलाई बैजनी रङ्गको लुगा लगाइदिए र काँडाको मुकुट उनेर पहिराइदिए। १८ अनि तिनीहरूले चिच्याउँदै यसो भन्न थाले: “हे यहुदीहरूका राजा, प्रणाम!”*+ १९ साथै तिनीहरूले उहाँलाई नर्कटले शिरमा हिर्काए, उहाँलाई थुके अनि घुँडा टेकेर दण्डवत् गरे। २० अनि गिज्याउनुसम्म गिज्याएपछि अन्तमा तिनीहरूले उहाँको बैजनी रङ्गको लुगा फुकालेर उहाँकै लुगा लगाइदिए अनि उहाँलाई खम्बामा टाँग्न लगे।+ २१ त्यतिखेर सिमोन नाम गरेका साइरेनीवासी गाउँबाट आउँदै थिए। तिनी अलेक्जेन्डर र रुफसका बुबा थिए। तिनीहरूले उसलाई उहाँको यातनाको खम्बा* बोक्ने आदेश दिए।*+
२२ अनि तिनीहरूले उहाँलाई गलगथा भन्ने ठाउँमा पुऱ्याए, जसको अनुवाद गर्दा अर्थ हुन्छ, “खप्पर स्थान।”+ २३ यहाँ तिनीहरूले उहाँलाई नशालु पदार्थ मर्र* मिसाइएको दाखमद्य* दिन खोजे+ तर उहाँले पिउन मान्नुभएन। २४ तिनीहरूले उहाँलाई खम्बामा टाँगे अनि कसले के लिने भनी गोला हालेर उहाँको लुगा आपसमा बाँडे।+ २५ त्यसबेला तेस्रो घडी* भएको थियो अनि तिनीहरूले उहाँलाई खम्बामा टाँगे। २६ अनि एउटा पाटीमा यस्तो अभियोग लेखेर उहाँको शिरमास्तिर राखे: “यहुदीहरूका राजा।”+ २७ साथै तिनीहरूले दुई जना डाँकुलाई पनि उहाँसँगै खम्बामा टाँगे—एक जनालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि।+ २८ *— २९ त्यो बाटो भएर गइरहेका बटुवाहरूले आफ्नो मुन्टो हल्लाएर खिसी गर्दै+ यसो भने: “वाह! मन्दिर भत्काएर तीन दिनमा बनाउँछु भनेर तँ खुब फुइँ लगाउँथिस् हैन,+ ३० लौ यातनाको खम्बाबाट* ओर्लेर आइज र आफैलाई बचाएर देखा।” ३१ त्यसैगरि मुख्य पुजारीहरूका साथै शास्त्रीहरूले पनि यसो भन्दै आपसमा ठट्टा गरिरहेका थिए: “यसले अरूलाई त बचायो तर आफैलाई भने बचाउन सकेन!+ ३२ अब इस्राएलको राजा ख्रिष्ट यातनाको खम्बाबाट* ओर्लेर आओस् अनि त्यो देखेपछि हामी पत्याऔँला।”+ उहाँको छेउमा खम्बामा टाँगिएकाहरूले समेत उहाँलाई गिल्ला गरिरहेका थिए।+
३३ छैटौँ घडीमा* सारा देशभरि अन्धकार छायो र नवौँ घडीसम्म* त्यस्तै भइरह्यो।+ ३४ अनि नवौँ घडीमा येसु यसो भन्दै ठूलो स्वरले कराउनुभयो: “एली, एली, लामा सबख्थनी?” जसको अनुवाद गर्दा अर्थ हुन्छ, “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नुभयो?”+ ३५ वरपर उभिरहेका कसै-कसैले यो सुनेर यसो भन्न थाले: “हेर, उसले एलियालाई बोलाउँदै छ।” ३६ तब कोही एक जना दौडेर गयो अनि अमिलो दाखमद्यमा स्पन्ज चोपेर त्यसलाई नर्कटमा राख्यो र यसो भन्दै उहाँलाई पिउन दियो:+ “एलिया यसलाई तल झार्न आउँछन् कि आउँदैनन्, हेरौँ न।” ३७ तर येसु ठूलो स्वरले चिच्याउनुभयो र बित्नुभयो।+ ३८ तब मन्दिरको पर्दा+ टुप्पोदेखि फेदसम्म च्यातिएर दुई फ्याक भयो।+ ३९ जब उहाँको अगाडि उभिरहेका सैनिक अफिसरले उहाँ बित्नुहुँदा यस्ता घटनाहरू भएको देखे, तब तिनले यसो भने: “यिनी साँच्चै परमेश्वरका छोरा रहेछन्।”+
४० त्यहाँ केही स्त्री टाढैबाट हेरिरहेका थिए। तिनीहरूमा मरियम मग्दलिनी, सानो याकुब र योसिकी आमा मरियम अनि सलोमी पनि थिए।+ ४१ उहाँ गालिलमा हुँदा तिनीहरू उहाँसँगै हिँड्थे र उहाँको सेवा-सुसार गर्थे।+ यसबाहेक उहाँसँगै यरुसलेम उक्लेका अरू थुप्रै स्त्री पनि त्यहीँ थिए।
४२ साँझ पर्नै लागिसकेको थियो र त्यो दिन विश्रामदिनको* अघिल्लो दिन अर्थात् तयारीको दिन* थियो। ४३ न्यायपरिषद्का प्रतिष्ठित सदस्य, अरिमथियाका युसुफ, जो आफै पनि परमेश्वरको राज्यको बाटो हेरिरहेका थिए, तिनी त्यहाँ आए। तिनी साहस गरेर पिलातसकहाँ गए अनि येसुको शव मागे।+ ४४ तर येसुको मृत्यु भइसकेको छ कि छैन भनेर जान्न पिलातस उत्सुक थिए। त्यसैले तिनले सैनिक अफिसरलाई बोलाएर उहाँको मृत्यु भइसकेको छ कि छैन भनेर सोधे। ४५ सैनिक अफिसरसित यो कुरा पक्का गरिसकेपछि तिनले उहाँको शव युसुफलाई जिम्मा लगाए। ४६ त्यसैले तिनले उच्च कोटिको मलमलको कपडा किने र उहाँको शव तल झारेर त्यस मलमलको कपडाले बेरे अनि चट्टान खोपेर बनाइएको चिहानमा राखे।+ त्यसपछि ढुङ्गा गुडाएर चिहानको मुख बन्द गरे।+ ४७ तर मरियम मग्दलिनी र योसिकी आमा मरियमले भने उहाँलाई राखिएको ठाउँतिर हेरिरहे।+