यसैया
८ यहोवाले मलाई यसो भन्नुभयो: “एउटा ठूलो पाटी लेऊ+ र त्यसमा साधारण कलमले ‘महेर-शालल-हाज-बज’* लेख। २ अनि दुई जना भरपर्दा साक्षीले अर्थात् पुजारी उरियाह+ अनि यबेरक्याहका छोरा जकरियाले यस कुराको प्रमाण लेखेरै देऊन्।”
३ त्यसपछि मेरी पत्नी, जो एक भविष्यवक्ता हुन्, तिनीसित मैले शारीरिक सम्बन्ध राखेँ* र तिनी गर्भवती भइन्। अनि तिनले एउटा छोरो जन्माइन्।+ तब यहोवाले मलाई यसो भन्नुभयो: “त्यसको नाम महेर-शालल-हाज-बज राख। ४ किनकि तिम्रो छोराको बोली फुटेर ‘बुबा’ अथवा ‘आमा’ भन्न सिक्नुअघि नै दमिसकका सबै धनसम्पत्ति र सामरियाबाट लुटिएका सबै मालसामान अस्सेरियाका राजाकहाँ लगिनेछ।”+
५ यहोवाले मलाई फेरि यसो भन्नुभयो:
६ “यी मानिसहरूले सिलोहको* कलकल बग्ने पानीलाई तिरस्कार गरे+
अनि रमल्याहका+ छोराको र रजिनको पछि लागे।
७ त्यसैले हेर, म यहोवाले तिनीहरूविरुद्ध
अस्सेरियाका राजा+ र तिनका सबै सेनालाई पठाउनेछु।
तिनी उर्लेर आउने युफ्रेटिस नदीको भेलजस्तै छन्।
जसरी नदी उर्लेर आउँदा सबै नाला भरिन्छन्
र पानी किनार बाहिरसम्म पुग्छ, त्यसरी नै तिनी आउनेछन्।
८ अनि यहुदालाई स्वात्तै बगाएर लैजानेछन्।
तिनले यहुदामा बाढी ल्याउनेछन् र यहुदाको गर्दनसम्मै पुग्नेगरि पानीको भल ल्याउनेछन्।+
तिनले आफ्नो पखेटा फिँजाउँदा तिम्रो देश वारिदेखि पारिसम्मै ढाकिनेछ।”
९ ए जातिजातिका मानिस हो, तिनीहरूलाई हानि पुऱ्याएर त हेर! तिमीहरू टुक्राटुक्रा पारिनेछौ।
ए टाढा-टाढाका देशमा बस्ने सबै मानिस हो, सुन!
युद्धको लागि तयार होओ* तर तिमीहरू टुक्राटुक्रा पारिनेछौ।+
युद्धको लागि तयार होओ तर तिमीहरू टुक्राटुक्रा पारिनेछौ।
१० जे षड्यन्त्र रच्नु छ, रच तर त्यो विफल हुनेछ;
११ यहोवाले आफ्नो बलियो हात ममाथि राख्नुभयो। अनि म यी मानिसहरूको पछि नलागोस् भनेर उहाँले मलाई यस्तो चेतावनी दिनुभयो:
१२ “यिनीहरूले कुनै षड्यन्त्र रच्दा तिमीहरू त्यसमा सामेल नहुनू।
यिनीहरू जेदेखि डराउँछन्, तिमीहरू त्यसदेखि नडराउनू;
थरथर नकाँप्नू।
१३ सेनाहरूका यहोवालाई नै तिमीहरूले पवित्र मान्नू;+
उहाँकै डर मान्नू।
उहाँबाहेक अरू कसैसामु डरले नकाँप्नू।”+
१४ उहाँ शरणस्थान बन्नुहुनेछ
तर इस्राएलका दुवै घरानाको लागि
उहाँ ठक्कर दिने ढुङ्गा+
र ठेस लाग्ने चट्टान साबित हुनुहुनेछ।
यरुसलेमका बासिन्दाहरूका लागि
उहाँ पासो र जाल बन्नुहुनेछ।
१५ धेरै जना ठेस खाएर लड्नेछन् र घाइते हुनेछन्।
तिनीहरू पासोमा पर्नेछन् र समातिनेछन्।
१६ साक्षीहरूले लेखेरै दिएको प्रमाणलाई बेरेर राख।
मैले दिएको व्यवस्थामा* मेरा चेलाहरूसामु लाहाछाप लगाऊ!
१७ म यहोवाको बाटो हेर्नेछु।+ उहाँले याकुबको घरानादेखि आफ्नो अनुहार अन्तै फर्काउनुभएको छ।+ म उहाँकै प्रतीक्षा गर्नेछु।
१८ हेर! म अनि मेरा छोराहरू, जो यहोवाले मलाई दिनुभएको हो,+ इस्राएलको लागि चिन्हहरू+ र चमत्कारहरूजस्तै भएका छौँ। ती चिन्हहरू र चमत्कारहरू सियोन डाँडामा बास गर्नुहुने सेनाहरूका यहोवाले दिनुभएको हो।
१९ तिनीहरूले तिमीहरूलाई यसो भन्लान्: “फलाक्दै भूतप्रेत खेलाउने र भावी बताउनेहरूसित सोधपुछ गर।” तर के तिनीहरूले आफ्ना परमेश्वरलाई सोधपुछ गर्नुपर्ने होइन र? जिउँदाहरूका बारेमा मरेकाहरूलाई सोध्नु के उचित हो?+ २० तिनीहरूले त व्यवस्था अनि लिखित प्रमाणको पो खोजी गर्नुपर्ने हो।
जो-जो यस वचनअनुसार बोल्दैनन्, तिनीहरूसित कुनै ज्योति*+ हुँदैन। २१ अनि देशका सबै मानिसलाई भोक र दुःखले सताउनेछ।+ भोक र रिसको सुरमा प्रत्येकले आफ्नो राजालाई धिक्कार्नेछ र मास्तिर हेर्दै आफ्नो परमेश्वरलाई सराप्नेछ। २२ अनि पृथ्वीमा उसले कतै उज्यालो देख्नेछैन। बरु जताततै दुःख र अँध्यारो, पीडा र घोर अन्धकार मात्रै देख्नेछ।