दोस्रो इतिहास
१८ यहोसापातले थुप्रै धनसम्पत्ति र मानसम्मान हासिल गरेका थिए+ तर तिनले आहाबको घरानासित वैवाहिक नाता गाँसे।+ २ त्यसैले केही वर्षपछि यहोसापात आहाबलाई भेट्न सामरिया गए+ अनि आहाबले यहोसापात र उनका मानिसहरूको तर्फबाट परमेश्वरलाई प्रशस्तै भेडा र गाईवस्तु बलि चढाए। तिनले यहोसापातलाई रामोथ-गिलादमा आक्रमण गर्न आग्रह* गरे।+ ३ त्यसपछि इस्राएलका राजा आहाबले यहुदाका राजा यहोसापातलाई यसो भने: “रामोथ-गिलादलाई आक्रमण गर्न के तपाईँ मलाई साथ दिनुहुन्छ?” उनले जवाफ दिए: “हामी दुई जना एकै हौँ। मेरा मानिसहरू तपाईँका मानिसहरू हुन्। हामी तपाईँलाई लडाइँमा साथ दिनेछौँ।”
४ तर यहोसापातले इस्राएलका राजालाई यस्तो आग्रह गरे: “यस विषयमा यहोवा परमेश्वर के भन्नुहुन्छ, पहिला त्यो बुझ्नुहोस्।”+ ५ त्यसैले इस्राएलका राजाले ४०० जना भविष्यवक्ता भेला गरेर उनीहरूलाई सोधे: “हामी रामोथ-गिलादलाई आक्रमण गर्न जाऔँ कि नजाऔँ?” उनीहरूले भने: “जानुहोस्! साँचो परमेश्वरले त्यसलाई हजुरको हातमा सुम्पिदिनुहुनेछ।”
६ त्यसपछि यहोसापातले सोधे: “के यहाँ यहोवा परमेश्वरका कुनै भविष्यवक्ता छैनन्?+ उनीमार्फत पनि परमेश्वरको सल्लाह लेऔँ।”+ ७ तब इस्राएलका राजाले यहोसापातलाई भने: “यहोवा परमेश्वरको सल्लाह लिन सकिने अर्को एक जना पनि छ।+ तर मलाई ऊ फिटिक्कै मन पर्दैन। किनकि उसले मेरो विषयमा भविष्यवाणी गर्दा कहिल्यै राम्रो कुरा भन्दैन,+ सधैँ नराम्रो कुरा मात्र भन्छ। ऊ इम्लाहको छोरा मिकायाह हो।” तर यहोसापातले भने: “तपाईँ त राजा हुनुहुन्छ। तपाईँले यस्तो कुरा गर्नु उचित होइन।”
८ त्यसैले इस्राएलका राजाले दरबारका एक जना अफिसरलाई बोलाएर यस्तो हुकुम गरे: “इम्लाहको छोरा मिकायाहलाई तुरुन्तै यहाँ ल्याऊ।”+ ९ इस्राएलका राजा र यहुदाका राजा यहोसापात सामरियाको मूलढोकाको छेउमा एउटा खुला ठाउँमा* थिए। उनीहरू शाही पोसाक लगाएर आ-आफ्नो सिंहासनमा बसिरहेका थिए। अनि सबै भविष्यवक्ताले उनीहरूसामु भविष्यवाणी गरिरहेका थिए। १० त्यसपछि केनानाका छोरा सिदकियाहले फलाम गालेर सिङहरू बनाए र यसो भने: “यहोवा परमेश्वर भन्नुहुन्छ, ‘सिरियालीहरूको नामोनिसान नमेटिएसम्म तपाईँले तिनीहरूलाई यी सिङहरूले हान्नुहुनेछ।’” ११ अरू सबै भविष्यवक्ताले पनि त्यस्तै भविष्यवाणी गरे। तिनीहरूले यसो भनिरहेका थिए: “रामोथ-गिलाद जानुहोस्; हजुर सफल हुनुहुनेछ।+ यहोवा परमेश्वरले त्यसलाई हजुरको हातमा सुम्पिदिनुहुनेछ।”
१२ मिकायाहलाई बोलाउन गएका सन्देशवाहकले तिनलाई भने: “हेर्नुहोस्! सबै भविष्यवक्ताले एक भएर राजाको विषयमा राम्रो भविष्यवाणी गरिरहेका छन्। त्यसैले बिन्ती छ, तपाईँले पनि उनीहरूले जस्तै राम्रो भविष्यवाणी गर्नुहोस्।”+ १३ तर मिकायाहले भने: “म जीवित परमेश्वर यहोवाको कसम खाएर भन्छु, मेरा परमेश्वरले मलाई जे भन्नुहुन्छ, म त्यही बोल्नेछु।”+ १४ त्यसपछि तिनी राजाकहाँ आए अनि राजाले तिनलाई सोधे: “मिकायाह, हामी रामोथ-गिलादलाई आक्रमण गर्न जाऔँ कि नजाऔँ?” तिनले तुरुन्तै जवाफ दिए: “जानुहोस्! हजुर सफल हुनुहुनेछ। परमेश्वरले तिनीहरूलाई हजुरको हातमा सुम्पिदिनुहुनेछ।” १५ तब राजाले तिनलाई भने: “यहोवा परमेश्वरको नाममा मसित साँचो कुरा मात्र बोल्नू भनी तिमीलाई कति चोटि कसम खान लगाऊँ?” १६ त्यसैले तिनले भने: “सबै इस्राएली डाँडाहरूमा तितरबितर भइरहेको म देख्दै छु; तिनीहरू गोठालो नभएका भेडाहरूजस्तै भएका छन्।+ यहोवा परमेश्वरले यसो भन्नुभएको छ: ‘यिनीहरूको कोही मालिक छैन। यिनीहरू सबै शान्तिपूर्वक आ-आफ्नो घर फर्कून्।’”
१७ तब इस्राएलका राजाले यहोसापातलाई भने: “‘उसले मेरो विषयमा भविष्यवाणी गर्दा कहिल्यै राम्रो कुरा भन्दैन, सधैँ नराम्रो कुरा मात्र भन्छ’ भनेर मैले तपाईँलाई बताएकै थिएँ नि!”+
१८ त्यसपछि मिकायाहले भने: “यहोवा परमेश्वर के भन्नुहुन्छ, अब सुन्नुहोस्। मैले यहोवा परमेश्वर आफ्नो सिंहासनमा विराजमान हुनुभएको देखेँ।+ स्वर्गको सारा सेना+ उहाँको दायाँ र बायाँपट्टि उभिरहेको थियो।+ १९ त्यसपछि यहोवा परमेश्वरले भन्नुभयो: ‘इस्राएलका राजा आहाबलाई कसले झुक्क्याउनेछ, ताकि ऊ रामोथ-गिलाद जाओस् र त्यहीँ मारियोस्?’ तब एक जना स्वर्गदूतले एउटा जवाफ, अर्को स्वर्गदूतले अर्कै जवाफ दिइरहेका थिए। २० त्यसपछि एक जना स्वर्गदूत+ अगाडि आए र यहोवा परमेश्वरसामु उभिएर भने, ‘म उसलाई झुक्क्याउँछु।’ यहोवा परमेश्वरले सोध्नुभयो: ‘तिमी कसरी झुक्क्याउँछौ?’ २१ तिनले जवाफ दिए: ‘म गएर उसका सबै भविष्यवक्तालाई झूट बोल्न लगाउनेछु।’ तब परमेश्वरले तिनलाई भन्नुभयो: ‘तिमीले उसलाई झुक्क्याउनेछौ। गएर त्यसै गर। तिमी अवश्य सफल हुनेछौ।’ २२ त्यसैले यहोवा परमेश्वरले नै यी भविष्यवक्ताहरूलाई झूट बोल्न लगाउनुभएको हो।+ तपाईँमाथि विपत्ति आइपर्नेछ भनेर यहोवा परमेश्वरले घोषणा गर्नुभएको छ।”
२३ तब केनानाका छोरा सिदकियाहले+ मिकायाहलाई+ थप्पड हानेर+ यसो भने: “यहोवा परमेश्वरको शक्तिले कहिलेदेखि मसँग कुरा गर्न छोडेर तँसित कुरा गर्न थाल्यो?”+ २४ मिकायाहले जवाफ दिए: “जुन दिन तिमी घरको कुनाको कोठामा गएर लुक्नेछौ, त्यही दिन तिमीले यसको जवाफ पाउनेछौ।” २५ तब इस्राएलका राजाले भने: “मिकायाहलाई लगेर सहरका प्रमुख अमोन र राजकुमार योआसको हातमा सुम्पिदेओ। २६ उनीहरूलाई भन्नू: ‘राजा यसो भन्नुहुन्छ, “यसलाई झ्यालखानामा जाकिदेओ।+ म सकुशल नफर्केसम्म यसलाई थोरै रोटी र पानी मात्र दिने गर्नू।”’” २७ तर मिकायाहले भने: “यदि तपाईँ सकुशल यहाँ फर्कनुभयो भने यहोवा परमेश्वरले मसँग कुरा गर्नुभएको होइन रहेछ भनेर साबित हुनेछ।”+ तिनले यसो पनि भने: “हे मानिसहरू हो, यो कुरा नबिर्सनू।”
२८ त्यसपछि इस्राएलका राजा र यहुदाका राजा यहोसापात रामोथ-गिलाद गए।+ २९ इस्राएलका राजाले यहोसापातलाई भने: “म भेष बदलेर लडाइँमा जानेछु तर तपाईँ भने शाही पोसाक नै लगाउनुहोस्।” त्यसैले इस्राएलका राजाले आफ्नो भेष बदले र तिनीहरू लडाइँमा गए। ३० अर्कोतिर सिरियाका राजाले चाहिँ रथ हाँक्ने सैनिकहरूका कप्तानहरूलाई यस्तो आदेश दिएका थिए: “तिमीहरू साना-ठूला कसैसित नलड्नू, इस्राएलका राजासित मात्र लड्नू।” ३१ रथ हाँक्ने सैनिकहरूका कप्तानहरूले यहोसापातलाई देख्नेबित्तिकै आपसमा यसो भने: “ऊ नै इस्राएलको राजा हुनुपर्छ।” त्यसैले तिनीहरू यहोसापातसित लड्न गए। तब यहोसापातले मदतको लागि गुहार्न थाले।+ अनि यहोवा परमेश्वरले उनलाई मदत गर्नुभयो र शत्रुहरूलाई उनको पछि लाग्नदेखि तुरुन्तै रोकेर अन्तै पठाइदिनुभयो। ३२ जब ती कप्तानहरूले उनी इस्राएलका राजा होइन रहेछन् भनी थाह पाए, तब तिनीहरू उनको पछि लाग्न छोडे।
३३ तर एक जना सिपाहीले अन्धाधुन्ध काँड हान्यो र त्यस काँडले इस्राएलका राजाले लगाइराखेको कवचलाई छेड्यो। त्यसैले राजाले आफ्नो सारथिलाई भने: “रथ घुमाएर मलाई रणभूमिबाट बाहिर लगिहाल, म साह्रै घाइते भएको छु।”+ ३४ दिनभरि घमासान युद्ध चलिरह्यो। त्यसैले इस्राएलका राजालाई सहारा दिएर रथमै उभ्याइराख्नुपऱ्यो। तिनलाई साँझसम्म सिरियालीहरूको सामुन्ने उभ्याएर राखियो र सूर्यास्तपछि तिनको मृत्यु भयो।+