सुनौलो नियम किन आज सम्म पनि कायम छ?
निक्खुर सुनको टलक कहिले पनि धमिलिदैन। यसकारण सुनले बनाइएको गहनाको ठूलो कदर र मूल्य हुन्छ। सुनले बनाइएको सर सामान बिग्रेको खण्डमा, तिनीहरूलाई फाल्नुको सट्टा, सुनारले त्यसैको सुनबाट नया कलात्मक चीज बनाउने गर्छ किनभने सुनको मोल सधैं कायम रहन्छ।
त्यस्तैगरी, येशूले यो सुनौलो नियम करिब दुई हजार वर्ष अघि सुनाउनु भएको भएतापनि, यस्को मोल कम भएर गएको छैन। यो नियमको औचित्यका कारणहरूलाई जाँच अथवा पारख गऱ्यौं भने, आज त्यसको मोलको अझ राम्रो सँग हामी मुल्याङ्कन गर्न सक्नेछौं।
“मानिसहरूले तिमीहरूलाई जे जसो गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनिहरूलाई त्यसै गर,” भनेर हामीलाई सुनौलो नियम दिनु भए पछि, उहाँले यो कुरा थप्नु भयो: “किनभने यही नै व्यवस्था र अगमवक्ताका शिक्षा हुन्।” (मत्ती ७:१२) येशूका चेलाहरू र अन्य स्रोताह रूले यस्को के अर्थ लगाए?
“व्यवस्था र अगमवक्ताको” अर्थ के हो
“व्यवस्था” भन्नाले बाइबलको उत्पत्ति देखिन् व्यवस्थाविवरण सम्मका, प्रथम पाँच पुस्तकहरूको बोध हुन्छ। खराबी हटाउन एउटा सन्तान उत्पन्न गर्ने ईश्वरीय उद्देश्यबारे यी पुस्तकहरूमा चर्चा गरिएको छ। (उत्पत्ति ३:१५) ती प्राचीन पुस्तकहरूमा, यहोवाले सिनै पर्वतमा, मोशाको मध्यस्थता द्वारा ई. पु. १५१३ मा इस्राएली जातिलाई, दिनु भएको व्यवस्था अथवा आज्ञाहरू थिए।
ईश्वरीय व्यवस्थाले, इस्राएली जातिलाई अरू मूर्तिपूजक जातिहरूबाट अलग राखिएको थियो र यहोवाको सामने आफ्नो ग्रहणयोग्य अवस्थालाई खतरामा पार्ने कुनै पनि काम तिनीहरूले गर्नु हुँदैन थियो। तिनीहरू उहाँका विशेष सम्पत्ति थिए र उहाँबाट आशिष पाउनका लागि तिनीहरू यस्तै भएर बस्न आवश्यक थियो। (प्रस्थान १९:५; व्यवस्था १०:१२, १३) तर परमेश्वर प्रति तिनीहरूको कर्त्तव्य बाहेक, इस्राएलमा बसोबास गर्ने विदेशीहरूका निम्ति भलाइ गर्नु पनि इस्राएलीहरूको जिम्मेवारी हो भनेर मोशाको व्यवस्थामा किटेर दिइएको थियो। उदाहरणका लागि, त्यहाँ एसो भनिएको थियो: “तिमीहरूको लागि त्यो [विदेशी] स्वदेशी जस्तै होस्, र तिमीहरूले त्यसलाई आफूलाई झैं प्रेम गर्नू, किनभने तिमीहरू पनि मिश्रमा परदेशी थियौ। म यहोवा [NW] तिमीहरूका परमेश्वर हूँ।” (लेवी १९:३४) इस्राएलमा, राजाहरूको शासनकाल अन्तरगत, परदेशीहरूले परमेश्वरको मन्दिर निमार्ण गर्ने जस्ता धेरै कामहरूमा भाग लिने आनन्द उठाउन सके।—१ इतिहास २२:२.
इस्राएललाई दिइएको व्यवस्थामा व्यभिचार, हत्या, चोरी र लोभ निषेध थियो। यी निषेधाज्ञाहरूका साथै “अरू केही आज्ञा छ भने” ती सबैको सारांश यो एउटै नीतिमा गर्न सकिन्थ्यो, अर्थात् “तैंले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर।” प्रेरित पावलले यो कुरा पनि थपे: “प्रेमले छिमेकीको खराबी हुने काम गर्दैन। यसकारण प्रेम गर्नुनै व्यवस्था पूरा गर्नु हो।”—रोमी १३:९, १०.
व्यवस्थाले सुनौलो नियमको निम्ति एउटा आधार बनायो भने, यस बारे “अगमक्ताहरूले” के गरे?
हिब्रू शास्त्रका भविष्यसूचक पुस्तकहरूले पनि सुनौलो नियमको औचित्यलाई समर्थन गर्छन्। हिब्रू शास्त्र अनुसार, यहोवा आफ्नो उद्देश्य इमानदारीसाथ पूरा गर्नु हुने परमेश्वर हुनुहुन्छ। असिद्ध भएतापनि उहाँको इच्छा गर्न कोशिश गर्ने र आफ्ना स्वेच्छाकारी कार्यहरूका लागि पश्चाताप गर्ने उहाँका सेवकहरूलाई उहाँ आशिष दिनुहुन्छ। “आफूलाई धोएर चोखो पार। मेरो सामनेबाट तिमीहरूका दुष्टाइँ फालिदेऊ, खराबी गर्न छोड़। भलाइ गर्न सिक, इन्साफ खोज, अत्याचारलाई दमन गर, टुहुरा-टुहुरीको न्याय गर, विधवाहरूको पक्षमा बोलिदेऊ।”—यशैया १:१६, १७.
परमेश्वरका मानिसहरूले परमेश्वर र अरूहरू प्रति सही काम गर्दा, तिनीहरूलाई यहोवाले निश्चित् रूपमा समर्थन गर्नु हुन्थ्यो। “यहोवा [NW] भन्नु हुन्छ, ‘न्याय कायम राख। जे ठीक छ, त्यो गर। . . . त्यो मानिस धन्यको हो जसले यो गर्दछ, त्यो मानिसको छोरो जो यस कुरामा स्थिर रहन्छ।”—यशैया ५६:१, २.
ख्रीष्टले आफ्नो मण्डलीलाई निर्देशन दिनु हुन्छ
ख्रीष्ट व्यवस्था र अगमवक्ताहरूका कुराहरू पुरा गर्न आउनु भयेको थियो र उहाँका समय देखिन् उप्रान्त, यहोवाको अनन्त उद्देश्य निरन्तर प्रगतिशील भएको छ। (मत्ती ५:१७; एफिसी ३:१०, ११, १७-१९) मोशाको पुरानो व्यवस्थाको ठाउँमा नया वाचा आएको छ जसमा यहूदी र अन्य जाति दुवैका अभिषिक्त मसीहीहरू सम्मिलित् छन्। (यर्मिया ३१:३१-३४) तथापि, हाम्रा समयका मसीही मण्डलीले अझ पनि सुनौलो नियमको पालना गर्छन्। र यो नियमको औचित्य स्वीकार्ने एउटा कारण यो हो: आधुनिक मसीही मण्डलीको सकृय शिर ख्रीष्ट हुनुहुन्छ। उहाँले आफ्नो उपदेश बदलिनु भएको छैन। उहाँका प्रेरितहरूको उपदेश आज पनि लागु हुन्छ।
यस पृथ्वीबाट विदा हुनु भन्दा अघि, येशूले आफ्ना चेलाहरूलाई सबै जातिका मानिसहरूलाई चेला बनाउन र “जे जे मैंले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ” भन्नु भयो। यो उपदेशमा सुनौलो नियम समावेश छ। येशूले आफ्ना चेलाहरूलाई यो ढाढस दिनु भयो: “हेर! म सब दिन, अँ, जगत्को अन्तसम्म तिमीहरूका साथमा छँदैछु।”—मत्ती २८:१९, २०.
लूका ६:३१ मा उल्लेखित् येशूले यो आज्ञा गर्नु भयो: “औ जसो मानिसहरूले तिमीहरूसित गरून् भन्ने इच्छा गर्दछौ, तिमीहरूले पनि तिनीहरू सित त्यसै गर।” अरूहरूको निम्ति भलाइ गर्नमा आफूले प्रथम पाइलो चाल्नु भनेर येशूले यहाँ हाम्रा लागि एउटा असल उदाहरण दिनु भएको छ!
आफ्नो पार्थिव सेवकाईको दौरानमा, मानिसहरूले सहनु पर्ने कुराहरूमा येशूले राम्रो सँग ध्यान दिनु भयो र तिनीहरूका लागि उहाँको हृदयमा सहानुभूति हुन्थ्यो। उहाँको एउटा प्रचार भ्रमणमा, भीड़हरूलाई देखेर उहाँको हृदय दयाले भरियो। तर यस बाहेक, उहाँले तिनीहरूलाई मदद दिने प्रबन्ध गर्नु भयो। कसरी? एउटा धूम-धामको प्रचार अभियान आयोजित गर्नु भयो जस द्वारा उहाँका चेलाहरू मानिसहरूको घर-घरमै पुग्ने भए। उहाँले यो निर्देशन दिनु भयो: “औ जुन शहर कि गाउँमा तिमीहरू पसौला, त्यसमा ‘को योग्य छ?’ भनी सोधपूछ गर। र जब सम्म तिमीहरू त्यहाँबाट निस्कँदैनौं त्यसकहाँ बस।” यो काममा पिताको आशिष र समर्थन थियो भन्ने कुरा येशूका यी शब्दहरूबाट स्पष्टसँग बुझ्न सकिन्छ: “तिमीहरूलाई ग्रहण गर्नेले मलाई ग्रहण गर्दछ, र मलाई ग्रहणगर्नेले मलाई पठाउनेलाई ग्रहण गर्दछ। . . . औ जसले यी सानाहरू मध्ये एउटालाई चेलाको नाउँमा एक कचौरा चिसो पानी मात्र भए पनि पिउन देला, म तिमीहरूलाई साँच्चै भन्दछु, त्यसले कुनै रीतिले त्यसको इनाम गुमाउनेछैन।”—मत्ती ९:३६–१०:४२.
सुनौलो नियमको अर्थ अरूहरूका निम्ति सकारात्मक कार्य गर्नु हो भनेर, येशूले एउटा अर्कै अवसरमा गर्नु भएको यो तर्कबाट बुझिन्छ: “तिमीहरूलाई प्रेम गर्नेहरूसँग प्रेम गर्दछौ भने तिमीहरूलाई के स्याबासी छ र? किनकि पापीहरूले पनि आफूसँग प्रेम गर्नेहरूसँग प्रेम नै गर्दछन्। तिमीहरूलाई भलाइ गर्नेहरूलाई भलाइनै गर्दछौ भने तिमीहरूलाई के स्याबासी छ? किनकि पापीहरूले पनि ता त्यसै गर्दछन्। तर आफ्ना शत्रुहरूलाई प्रेम गर, र तिनीहरूको भलाइ गर . . . र तिमीहरूको इनाम ठूलो हुनेछ।” (लूका ६:३२, ३३, ३५) यसकारण, सुनौलो नियमलाई कायम राख्यौं भने, अपरिचित मानिसहरूका लागि पनि भलाइ गर्न प्रथम कदम चाल्ने प्रेरणा पाउँने छौं।
अझ पनि कायम छ, अझ पनि सकृय छ
सुनौलो नियम अझ पनि कायम छ भन्ने प्रमाण त्यो नियम अनुसार जीवन व्यतित गर्ने मानिसहरूका वास्तविक अनुभवहरूमा देख्न सकिन्छ। परमेश्वरको व्यवस्था अनुसार आफ्नो दैनिक जीवन बिताउने मसीहीहरूले अकसर महान आनन्द र आशा नगरेका आशिषहरू पाउँछन्। एक जना मसीही स्त्रीले, आफू जाने चिकित्सा केन्द्रमा काम गर्ने मानिसहरूसँग शिष्ट र दयापूर्ण व्यवहार गरेको हुनाले, त्यहाँका डाक्टरहरू र नर्सहरूले उनको विशेष हेरचाह गरे।
चाँड़-चाँड़ो निर्माण गरिने राज्य-सभागृहहरू बनाउने योजनाहरूमा काम गरिसकेका यहोवाका साक्षीहरूले पनि सुनौलो नियमको औचित्यलाई समर्थन गर्न सक्नेछन्। वरिपरिका गाउँ-घरका मानिसहरूलाई शिष्टता साथ भेट गर्न गएर, हाम्रा योजनाहरूबारे बताउँदा, तिनीहरूले असल प्रतिकृया व्यक्त गरेकाछन्। पहिले साक्षीहरूको विरोध गर्नेहरूले पनि परमेश्वरका मानिसहरू मिलेर काम गरेको अफ्नै आँखाले देख्छन् र साक्षीहरूले आफ्ना छिमेकीहरूका लागि भलाइ नै गर्दारहेछन् भन्ने कुरा बुझ्छन्। फलःस्वरूप, यस्ता कति मानिसहरूले व्यक्तिगत रूपमा आएर मदद गर्ने इच्छा प्रकट गरेकाछन् र कुनैले चाहिं सर-सामान जोड़ेर सहयोग गरेकाछन्।—जकरिया ८:२३ तुलना गर्नु होस्.
बेलायतमा बस्ने एउटा इरानी साक्षीले पसलबाट खाने कुरा खरिद गर्दा, पसलेले उसलाई परदेशी हो भनेर गाली गर्यो। तर, यो साक्षीले कृपापूर्ण भाषामा उ यहोवाको एक जना साक्षी हो र अरू जातका मानिसहरू प्रति उसको कुनै खराब भाव छैन बरू उ गाउँ घरका सबै मानिसहरू कहाँ बाइबलको समाचार प्रचार गर्न जाने गर्छ भनेर बताइ दियो। यस्को परिणाम के भयो? यो साक्षीले खरिद गरेको खाने कुरामा पसलेले स्वादिष्ट कुराहरू अझ थपि दियो।
तर सुनौलो नियम यस प्रकारको सानो सानो दयाका कार्यहरूमा मात्र सीमित् छैन। किनभने, यहोवाका साक्षीहरू परमेश्वरको राज्यको सुसमाचार सुनाउन आफ्ना छिमेकीहरूको घरमा लगातार गएर छिमेकीहरूका लागि सबै भन्दा ठूलो भलाइ गर्ने गर्छन्।
सुनौलो नियम अनुसार जीवन बिताउने
सुनौलो नियम प्रयोगमा ल्याउनुको अर्थ अरूहरूको कुरामा ध्यान दिनु हो। यो एउटा सकारात्मक सिद्धान्त हो। तपाईंका वरिपरिका मानिसहरूका लागि भलाइ गर्ने मौका खोज्नु आवश्यक हुनेछ। मित्रैलो हुनु होस् र अरूहरूमा व्यक्तिगत् चासो लिने गर्नु होस्! (फिलिप्पी २:४) एसो गर्नु भयो भने, प्रशस्त आशिष पाउनु हुनेछ। साथै तपाईं येशूको यो उपदेश अनुसार हिड़नु भएको हुनेछ: “तिमीहरूका ज्योति मानिसहरूको सामु चम्कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून् र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्।” (मत्ती ५:१६) जसै तपाईं उत्सुक्तासाथ यहोवाको खोजी गर्नु हुनेछ र दिनहुँ सुनौलो नियम अनुसार जीवन बिताउने कोशिश गर्नु हुनेछ, यहोवाबाट तपाईंले प्रतिफल पाउनु हुनेछ।—हिब्रू ११:६. (w89 11/1)