तपाईं ती अवरोधहरू उछिन्न सक्नुहुन्छ!
एउटा ठूलो हवाईजहाजले सयौं यात्रुहरू तथा निकै टन भारी बोक्नसक्छ। त्यस्तो ठूलो जहाज कसरी उड्नसक्छ? हावाको दबाबलाई उछिनेर।
अवतरण पथमा हवाईजहाज वेगसँग दौडँदा घुमाउरो पखेटाले हावालाई छेडेर अघि बढ्छ। यसले गर्दा हवाईजहाजलाई माथि उचाल्ने बल पैदा हुन्छ। यथेष्ट बल उत्पादन भएपछि हवाईजहाजले पृथ्वीको गुरुत्वाकर्षणलाई उछिनेर उड्नसक्छ। निस्सन्देह, अचाक्ली भारी बोकेको हवाईजहाजले जमीनबाट उड्न पर्याप्त बल पैदा गर्नसक्दैन।
हामी पनि अचाक्ली भारले दबिएका हुनसक्छौं। शताब्दीयौंअघि राजा दाऊदले ‘आफ्ना त्रुटिहरू गह्रौं भारीजस्तो भएको’ बताए। (भजन ३८:४) त्यस्तैगरि येशू ख्रीष्टले जीवनको फिक्रीले लट्टिनदेखि सतर्क हुन चेताउनी दिनुभयो। (लूका २१:३४) नकारात्मक विचार तथा भावनाहरूको बोझले पनि हामीलाई दबाउनसक्छ जसले गर्दा “उड्न” कठिनजस्तो देखिनसक्छ। के तपाईं त्यस्तो प्रकारले दबिनुभएको छ? अथवा के तपाईंले थप आध्यात्मिक प्रगति गर्न केही अवरोध महसुस गर्नुभएको छ? छ भने, कुन कुरा मदतकारी हुनसक्छ?
के तपाईंलाई पट्टाइ लागेको छ?
पट्टाइ लाग्नु आजकल एउटा सामान्य गुनासो भइसकेको छ। अनि यो यहोवाका जनहरूका लागि समेत मानसिक अवरोध हुनसक्छ। विशेषगरि जवानहरूले केही क्रियाकलापहरूलाई पट्टाइलाग्दो भनी बेवास्ता गर्ने गर्छन्। के तपाईंलाई कहिलेकाहीं मसीही सभाहरू पट्टाइलाग्दो लाग्छ? लाग्छ भने, सभामा उपस्थितिलाई कसरी रोचक बनाउन सक्नुहुन्छ?
त्यसको कुञ्जी सभाहरूमा भाग लिनु हो। पावलले जवान तिमोथीलाई यसप्रकार लेखे: “आफैलाई भक्तितर्फ साधन गर। किनभने शारीरिक साधन थोरैको निम्ति उपयोगी हुन्छ, तर भक्तिचाहिं अहिले भइरहेको र पछि हुनेसमेत जीवनको प्रतिज्ञा भएका सबै कुराको निम्ति उपयोगी हुन्छ।” (१ तिमोथी ४:७, ८) शारीरिक तन्दुरुस्तीसम्बन्धी पुस्तकमा सुझावित व्यायामअनुसार कसरत गरेनौं भने त्यो पट्टाइलाग्दो र कुनै खास मोलको हुँदैन। मसीही सभाहरू हाम्रो मनको अभ्यासको लागि तयार पारिएका हुन्छन् र हामीले तयारी गरेर भाग लियौं भने हाम्रो मनको अभ्यास हुनेछ। यो सहभागिताले गर्दा सभाहरू बढी इनामदायी र रोचक हुनेछ।
यस सन्दर्भमा मारा नाउँकी एक जवान मसीहीले यसो भनिन्: “सभाहरूका लागि तयारी गरिनँ भने मलाई रमाइलो नै लाग्दैन। तथापि, पूर्वतयारी गरेकी छु भने मेरो मन अनि हृदय बढी ग्रहणशील हुन्छ। सभाहरू बढी अर्थपूर्ण हुन्छन् र टिप्पणी गर्न तत्पर हुन्छु।”
सुन्न सिक्नु पनि मदतकारी हुनेछ। मीठो संगीत सुन्न कुनै मेहनत गर्नुपर्दैन र सुन्नेबित्तिकै रमाइलो भइहाल्छ। तर सबै कुराहरूबाट तुरुन्त सन्तुष्टि प्राप्त भइहाल्दैन। सभामा ध्यान दिएर सुन्यौं भने मात्र सन्तुष्टि पाउनसक्छौं। रेचेल नाउँकी मसीहीले यसो भनिन्: “वक्ता जोशिलो छैन भने मैले झन् बढी ध्यान दिनुपर्ने हुन्छ। मैले यसलाई नियमै बनाएकी छु, ‘भाषण त्यत्तिको चाखलाग्दो छैन भने अझ बढी ध्यान दिनुपर्ने हुन्छ।’ . . . म विशेषगरि शास्त्रपदहरूमा ध्यान केन्द्रित गर्छु र त्यसबाट यथासम्भव लाभ उठाउन खोज्छु।” रेचेलले जस्तै हामीले सुन्नको लागि आफूलाई अनुशासनमा राख्नुपर्छ। हितोपदेशको पुस्तकले यसो भन्छ: “हे मेरो छोरो, मेरो बुद्धिमा ध्यान दे, र मेरो अर्तीलाई ध्यानसित सुन्।”—हितोपदेश ५:१.
सभामा प्रस्तुत गरिने केही जानकारीहरूमा पुरानै कुराहरू दोहोरिएका हुनसक्छन्। यो हामीलाई अत्यावश्यक छ! परमेश्वरका सबै जनहरूलाई सम्झौटाहरू चाहिन्छन्। असिद्ध शरीरलगायत बरालिएका झुकावहरू र त्रुटिपूर्ण स्मरणशक्तिलाई यथासम्भव मदत चाहिन्छ। प्रेरित पत्रुस ‘सत्यमा स्थिर भएका संगी विश्वासीहरूलाई सम्झाउनालाई सधैं तत्पर’ थिए। (२ पत्रुस १:१२) येशूले पनि वर्णन गर्नुभयो, “शिक्षा पाएको हरेक शास्त्री एक जना घरको मालिक जस्तो हो, जसले आफ्नो ढुकुटीबाट नयाँ र पूराना चीजहरू बाहिर झिक्तछ।” (मत्ती १३:५२) तसर्थ, हाम्रा सभाहरूले परिचित शास्त्रीय विचारहरू वा ‘पुराना चीजहरू’ स्मरण गराउनुको साथै हामीलाई मनपर्ने केही ‘नयाँ चीजहरू’ सधैं प्रदान गर्छ।
सभाहरूबाट पूर्ण लाभ उठाउन कटिबद्ध हुँदा साँचो आध्यात्मिक प्रोत्साहन प्राप्त हुन्छ। येशूले भन्नुभयो, “धन्य आत्मामा दरिद्र हुनेहरू [आत्माका भिखारीहरू]।” (मत्ती ५:३) सभाहरूमा प्रस्तुत गरिने स्वस्थकर आध्यात्मिक भोजनप्रति त्यस्तो मनोवृत्तिले पट्टाइपनलाई हटाउनेछ।—मत्ती २४:४५-४७.
खराब उदाहरणले गर्दा निरुत्साहित?
के तपाईं आफ्नो मण्डलीमा कसैको आचरणले गर्दा खिन्न हुनुभएको छ? शायद तपाईंले सोच्नुभएको होला, ‘एक जना भाइले त्यस्तो व्यवहार गरेर पनि कसरी राम्रो नाउँ कमाउनसक्छ?’ त्यस्ता विचारहरू मानसिक अवरोधसरह हुनसक्छन्। त्यसले गर्दा परमेश्वरका जनहरूसित कायम गर्नसक्ने सुमधुर सम्बन्धलाई बिर्सनसक्छौं।—भजन १३३:१.
शायद कलस्सी मण्डलीका केही सदस्यहरूको पनि त्यस्तै समस्या थियो। पावलले तिनीहरूलाई आग्रह गरे: “एउटाले अर्कोलाई सहेर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एउटाले अर्कोलाई क्षमा गर।” (कलस्सी ३:१३) कलस्सीका केही मसीहीहरूले नराम्रो व्यवहार गरेको हुँदा अरू व्यक्तिहरूले गुनासो गर्ने बाटो पाएको हुनुपर्छ भनेर पावलले बुझे। अतः हाम्रा भाइ वा बहिनी कुनै मसीही गुनमा चुकेका छन् भने, हामी साह्रै ताजुब हुनुपर्ने कारण छैन। येशूले गम्भीर समस्याहरू सुल्झाउने सम्बन्धमा स्वस्थकर सल्लाह दिनुभयो। (मत्ती ५:२३, २४; १८:१५-१७) तर प्रायजसो हामीले आफ्ना संगी विश्वासीहरूको सीमालाई बुझेर क्षमा गर्नसक्छौं। (१ पत्रुस ४:८) वास्तवमा भन्ने हो भने, त्यसो गर्नु आफू स्वयम् र अरूको निम्ति फाइदाजनक हुनसक्छ। त्यसो किन?
हितोपदेश १९:११ यसो भन्छ, “धीरज धारण गर्नु चातुर्य हो, दोषको वास्ता नगर्नु मानिसको गौरव हो।” रिसाएर बदलाको भावना जगाउनुभन्दा क्षमा दिनु कति उत्तम हो! एक प्राचीन, साल्भाडोर, आफ्नो मायालु स्वभावका लागि चिनिन्छन् र तिनी यसो भन्छन्: “कुनै भाइले मप्रति अपव्यवहार गर्दा वा घोच्ने वचन बोल्दा म आफैलाई सोध्छु: ‘म त्यो भाइलाई कसरी मदत दिनसक्छु? म तिनीसित आफ्नो अमूल्य सम्बन्धलाई कसरी कायम राख्नसक्छु?’ गलत कुरा भन्नु कतिको सजिलो छ भनेर म सधैं सजग रहन्छु। कसैले केही सोचविचारै नपुऱ्याइ बोल्छ भने, आफ्नो वचन फिर्ता लिएर फेरि कुराकानी सुरुदेखि थाल्नु सर्वोत्तम हुनेछ। तर त्यसो गर्नु असम्भव छ। अतः म अर्को सर्वोत्तम विकल्प छान्छु र टिप्पणीलाई नसुनेजस्तै गर्छु। मेरो भाइको व्यक्तित्व वास्तवमा त्यस्तो छैन तर असिद्धताले गर्दा भएको हो भनी ठान्छु।”
यो तपाईंलाई भन्न त सजिलो तर गर्न गाह्रो लाग्ला। तर निकै कुरा हाम्रो सोच्ने तरिकामा निर्भर हुन्छ। पावलले सल्लाह दिए, “जे कुरा मनपर्दा छन्, . . . तिनै कुराको विचार गर।” (फिलिप्पी ४:८) “मनपर्दा” भन्ने शब्दको शाब्दिक अर्थ “स्नेह जगाउनु” हो। हामीले मानिसहरूमा हुने असल कुरालाई मनमा राखेको अनि प्रतिशोधको साटो स्नेह जगाउने कुराहरूमा ध्यान केन्द्रित गरेको यहोवा चाहनुहुन्छ। यस सन्दर्भमा उहाँले नै सर्वोत्तम उदाहरण बसाल्नुभएको छ। भजनरचयिताले हामीलाई यसो भन्दै सम्झाए, “हे परमप्रभु, तपाईंले अधर्मको लेखा लिनुभयो भनेता हे परमप्रभु, को खड़ा हुनसक्छ र?”—भजन १०३:१२; १३०:३.
हो, कहिलेकाहीं कुनै भाइको आचरण निरुत्साहजनक हुनसक्छ तर अधिकांश उपासकहरूले मसीही जीवनको अत्युत्तम उदाहरण बसालेका छन्। हामीले यसलाई सम्झ्यौं भने दाऊदजस्तै हामी ‘परमप्रभुमा पूरा धन्यवाद चढाउन र धेरै भीडको बीचमा उहाँको प्रशंसा गर्न’ खुशी हुनेछौं।—भजन १०९:३०.
के साक्षी हुनु गाह्रोजस्तो देखिन्छ?
दुःखको कुरा, अर्को मानसिक अवरोधले गर्दा केही व्यक्तिहरूले यहोवाको प्रशंसा गर्न अझै थालेका छैनन्। त्यस्ता थुप्रै पुरुषहरू छन्, जो यहोवाका साक्षीहरू होइनन्। तर तिनीहरूले आफ्नो परिवारको लागि प्रबन्ध गर्छन् र मसीही सेवकाईमा भाग लिन आफ्नी पत्नीहरूलाई समेत सहयोग गर्छन्। तिनीहरू मिलनसार छन् र मण्डलीमा पनि चासो लिनसक्छन् तर परमेश्वरका समर्पित सेवकहरू हुनबाट भने पछि हट्छन्। तिनीहरूलाई कुन कुराले रोकिराखेको छ?
एउटा समस्या, यी पतिहरूले आफ्नी पत्नीहरूको व्यस्त ईश्वरतान्त्रिक क्रियाकलाप देखेपछि साक्षी हुनु भनेको निकै समय खानेजस्तो महसुस गर्नसक्छन्। अथवा सम्भवतः तिनीहरू घर-घरको प्रचार कार्यमा भाग लिन डराउनसक्छन्। तिनीहरूको दृष्टिकोणमा आशिष्हरूभन्दा जिम्मेवारीहरू बढी देखिन्छन्। यो मानसिक अवरोध किन? धेरै बाइबल विद्यार्थीहरूले बिस्तारै सत्य सिक्छन् र त्यसलाई व्यवहारमा उतार्छन्। तर विश्वासमा नभएका पतिहरू ती मसीही जिम्मेवारीहरू स्वीकार्न उत्प्रेरित हुनुअघि नै त्यसबारे सजग भइसकेका हुन्छन्।
यस्तै परिस्थितिमा भएका मान्वेल यसरी बताउँछन्: “म दश वर्षसम्म मेरी पत्नीसित सम्मेलन तथा सभाहरू धाउँथें। इमान्दारीसाथ भन्ने हो भने, मलाई सांसारिक मानिसहरूभन्दा साक्षीहरूको संगति मन पर्थ्यो र तिनीहरूलाई यथासम्भव मदत दिन रमाउँथें। तिनीहरूमा व्याप्त प्रेम देखेर म प्रभावित भएको थिएँ। तर मेरोलागि घर-घर जानु सबैभन्दा ठूलो बाधा थियो र मेरा सहकर्मीहरूले गिज्याउलान् भन्ने डर लाग्थ्यो।
“मेरी पत्नी असाध्यै धीरजी थिइन् र बाइबल अध्ययन गर्न मलाई कहिल्यै जबरजस्ती गरिनन्। तिनी र छोराछोरीहरूले विशेषगरि तिनीहरूको राम्रो उदाहरणद्वारा ‘प्रचार गरे।’ मण्डलीका प्राचीन, होसाले मप्रति विशेष चासो देखाए। मेरो विचारमा तिनको प्रोत्साहनले गर्दा नै मैले आखिरमा अध्ययनलाई गम्भीरतापूर्वक लिन सकें। मेरो निम्ति मुख्य बाधा त मानसिक अवरोध पो रहेछ भनेर बप्तिस्मापश्चात् थाह पाएँ। मैले यहोवाको सेवा गर्ने निर्णय गरिसकेपछि समस्याहरूमाथि विजय प्राप्त गर्न उहाँको मदत महसुस गर्न थालें।”
पत्नीहरू तथा मसीही प्राचीनहरूले मान्वेलजस्ता पतिहरूलाई मानसिक अवरोधमाथि विजय हासिल गर्न कसरी मदत दिनसक्छन्? बाइबल अध्ययनले मूल्यांकन र परमेश्वरको इच्छा गर्ने चाहना विकास गर्नसक्छ। निस्सन्देह, शास्त्रमा आधारित मजबूत ज्ञान नै विश्वास र भावी आशामा भरोसा राख्ने आधार हो।—रोमी १५:१३.
त्यस्ता पतिहरूलाई बाइबल अध्ययन गर्न कुन कुराले प्रोत्साहन दिनेछ? प्रायजसो, मण्डलीमा एक समझदार भाइसितको मित्रताले पतिलाई अध्ययन गर्ने निर्णय गर्न मदत दिनसक्छ। शायद प्राचीन वा अनुभवी भाइले त्यस पतिलाई राम्ररी चिन्ने प्रयास गर्नसक्छन्। एउटा राम्रो सम्बन्ध कायम भइसकेपछि कसैले तिनीसित अध्ययन गर्ने प्रस्ताव राख्नु मात्र पनि पर्याप्त हुन्छ। (१ कोरिन्थी ९:१९-२३) त्यतिञ्जेल, विवेकी मसीही पत्नीले आफ्नो पति दबाबमा परेर केही गर्नेवाला छैन भन्ने बुझेर आध्यात्मिक आहार तिनीसित बाँड्नसक्छन्।—हितोपदेश १९:१४.
मान्वेलले अनुभवबाट सिकेझैं एक जना व्यक्तिले आध्यात्मिक बल हासिल गरेपछि पहाडरूपी बाधाहरू ढिस्कोजस्तो हुन्छन्। यहोवाको सेवा गर्ने इच्छा राख्नेहरूलाई उहाँले तन्दुरुस्ती दिनुहुन्छ। (यशैया ४०:२९-३१) परमेश्वरको बल र परिपक्व साक्षीहरूको मदतद्वारा विश्वासमा नभएका पतिहरूको अवरोधलाई हटाउन सकिन्छ। यसप्रकार घर-घरको प्रचार कार्य त्यत्तिको भयावह हुँदैन र संगी कामदारहरूले त्रास उत्पन्न गर्दैन अनि यसको साथै सम्पूर्ण मनतनको सेवा बढी मोहक हुन्छ।—यशैया ५१:१२; रोमी १०:१०.
गति कायम गर्ने
अहिले छलफल गरिएका जस्ता तीन मानसिक अवरोधहरूमाथि विजय हासिल गर्नु सम्भव छ। हवाईजहाज सुरुमा जमीनबाट उड्दा सामान्यतया इन्जिनले अधिकतम शक्ति उत्पन्न गर्नुपर्ने र उड्डयन टोलीले एकाग्र ध्यान दिनुपर्ने हुन्छ। सुरुमा जमीनबाट उड्दा हवाईजहाजले उडानको दौडानभन्दा बढी तेल खान्छ। त्यस्तैगरि नकारात्मक विचार तथा भावनाहरूबाट उम्किन सबैभन्दा बढी प्रयास र एकाग्रता खाँचो हुन्छ। सुरु गर्न सबैभन्दा गाह्रो हुनसक्छ। तर गति कायम भइसकेपछि प्रगति गर्न सजिलो हुन्छ।—२ पत्रुस १:१० तुलना गर्नुहोस्।
शास्त्रीय प्रोत्साहनलाई निरन्तर पालना गरेर अनवरत प्रगति गर्न सकिन्छ। (भजन ११९:६०) मण्डली मदत दिन इच्छुक हुनेछ भनेर हामी ढुक्क हुनसक्छौं। (गलाती ६:२) तथापि, सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवा परमेश्वरबाट प्राप्त हुने समर्थन हो। दाऊदले भनेझैं “हाम्रो बोझ दिनहुँ उठाउनुहुने परमप्रभु धन्यका होऊन्।” (भजन ६८:१९) हामीले प्रार्थना मार्फत आफ्नो भारी बिसाउँदा हाम्रो बोझ हलुका हुन्छ।
कहिलेकाहीं हवाईजहाज कालो बादल हुँदै घमाइलो आकाशमा उड्न थाल्छ। त्यस्तैगरि हामीले पनि नकारात्मक विचारहरूलाई त्याग्नसक्छौं। ईश्वरीय मदतद्वारा त्यो कालो बादलरूपी अवरोधलाई उछिनेर यहोवाका उपासकहरूको विश्वव्यापी परिवारको आनन्दमय वातावरणमा रमाउनसक्छौं।
[पृष्ठ २३-मा भएको चित्र]
हामी यहोवाको मदतद्वारा मानसिक अवरोधहरू उछिन्नसक्छौं