निभ्नै लागेको सलेदोलाई के तपाईं निभाउनुहुनेछ?
येशू ख्रीष्टले सबै प्रकारका मानिसहरूलाई परमेश्वरको राज्यको सुसमाचार सुनाउनुभयो। तिनीहरूमध्ये धेरैजसो दबिएका वा हतोत्साहित थिए। तर येशूले तिनीहरूलाई उत्साहवर्धक समाचार सुनाउनुभयो। उहाँले कष्टमा परेकाहरूप्रति अनुकम्पा देखाउनुहुन्थ्यो।
सुसमाचारको पुस्तकका लेखक मत्तीले यशैयाको भविष्यवाणीमा ध्यानाकर्षण गरेर येशूको अनुकम्पामाथि प्रकाश पारे। ख्रीष्टले पूरा गर्नुभएका ती शब्दहरूलाई उद्धरण गर्दै मत्तीले यो लेखे: “फुटेको निगालो पनि तिनले भाँच्नेछैनन्, र धुवाँ निस्किरहेको सलेतो [निभ्नै लागेको सलेदो, न्युव] तिनले निभाउनेछैनन्। जबसम्म तिनले न्यायलाई विजयमा पुऱ्याउँदैनन्।” (मत्ती १२:२०; यशैया ४२:३) यी शब्दहरूको अर्थ के हो र येशूले यो भविष्यवाणीलाई कसरी पूरा गर्नुभयो?
भविष्यवाणीलाई केलाउँदा
निगालो साधारणतः ओसिलो ठाउँमा उम्रिन्छ र यो बलियो तथा स्थिर हुँदैन। निस्सन्देह, “फुटेको निगालो” कमजोर हुनेछ। येशूले विश्राम दिनमा हात सुकेको मानिसलाई निको पार्नुभएको थियो। अतः यस्तैप्रकारका दबिएका वा कष्टमा परेका मानिसहरूलाई फुटेको निगालोले चित्रण गरेको हुनुपर्छ। (मत्ती १२:१०-१४) तर सलेदोको भविष्यसूचक संकेतबारे के भन्न सकिन्छ?
प्रथम शताब्दी सा.यु. तिर प्रयोग गरिने दियो, बिंडसहितको माटोको सानो सुराहीजस्तो हुन्थ्यो। दियोमा प्रायजसो जैतूनको तेल हालिन्थ्यो। बलिरहेको नैनसुतको सलेदोले बिस्तारै तेल सोस्थ्यो। निस्सन्देह, ‘निभ्नै लागेको सलेदो’ निभ्न धेरै बेर लाग्दैन।
लाक्षणिक अर्थमा फुटेको निगालोजस्तै लुत्रुक्क परेका र हैरान भएकाहरूलाई येशूले सान्त्वनादायी समाचार घोषणा गर्नुभयो। यी मानिसहरू निभ्नै लागेका सलेदोजस्तै थिए किनभने तिनीहरूको जीवनमा केही गर्ने जोशै थिएन। तिनीहरू साँच्चै दबिएका र निरुत्साहित थिए। तथापि, येशूले लाक्षणिक अर्थमा फुटेको निगालोलाई भाँच्नुभएन वा निभ्नै लागेको प्रतीकात्मक सलेदोलाई निभाउनुभएन। उहाँका मायालु, कोमल, अनुकम्पापूर्ण शब्दहरूले कष्टमा परेका मानिसहरूलाई अझै हतोत्साहित वा निराश तुल्याएन। बरु, उहाँको टिप्पणी र व्यवहारले तिनीहरू उत्साहित भए।—मत्ती ११:२८-३०.
आज पनि धेरैले निरुत्साहजनक समस्याहरू भोगिरहेका हुँदा धेरैलाई अनुकम्पा र प्रोत्साहन चाहिन्छ। यहोवाका सेवकहरूसमेत विरोधको सामना गर्नुपर्दा सधैं दह्रो हुँदैनन्। कहिलेकाहीं कोही कोही त निभ्नै लागेको सलेदोजस्तै हुन्छन्। तसर्थ, मसीहीहरू प्रोत्साहनदायी हुनुपर्छ। भनौं भने, आगोलाई हम्केझैं एकअर्कालाई बलियो बनाउनुपर्छ।—लूका २२:३२; प्रेरित ११:२३.
मसीहीहरूको हैसियतमा हामी उत्थानदायी हुन चाहन्छौं। आध्यात्मिक मदत खोज्ने व्यक्तिलाई हामी जानाजानी कमजोर तुल्याउन चाहनेछैनौं। निस्सन्देह, अरूलाई सुदृढ पार्न हामी येशूको उदाहरण अनुकरण गर्ने इच्छा गर्छौं। (हिब्रू १२:१-३; १ पत्रुस २:२१) हामीसित प्रोत्साहन माग्ने व्यक्तिलाई अनजानमा चकनाचूर पार्नसक्ने भएकोले अरूसित व्यवहार गर्दा गम्भीरतापूर्वक सोच्नुपर्ने ठोस कारण छ। हामी पक्कै पनि ‘निभ्नै लागेको सलेदोलाई निभाउन’ चाहदैनौं। यस सन्दर्भमा हामीलाई कस्ता शास्त्रीय मार्गनिर्देशनहरूले मदत पुऱ्याउनसक्छ?
आलोचनाका असरहरू
मसीहीले ‘कुनै गलत कदम उठायो भने आध्यात्मिक योग्यता भएकाहरूले त्यसलाई नम्रताको आत्माले सुधार्ने प्रयास गर्नुपर्छ।’ (गलाती ६:१) तथापि, अरूका त्रुटिहरू खोज्नु र तिनीहरूलाई सधैं सच्याउने मौका ढुकेर बस्नु के उचित हुनेछ? अथवा तिनीहरूको वर्तमान प्रयास अपुग भएजस्तो महसुस गराएर तिनीहरूलाई अझ बढी गर्न जबरजस्ती गर्नु के ठीक होला? शायद त्यसो गर्दा तिनीहरूले दोषी महसुस पनि गर्नसक्छन्। येशूले त्यस्तो प्रकारको कार्य गर्नुभयो भन्ने कुनै प्रमाण छैन। अरूलाई सुध्रिने मदत दिनु हाम्रो मनसाय नै थियो भने पनि कसैलाई निर्दयी भएर आलोचना गर्दा तिनीहरू सुदृढ हुनुको साटो कमजोर महसुस गर्नसक्छन्। अचाक्ली गऱ्यो भने अरूको प्रगति होस् भनेर गरिने आलोचनासमेत निरुत्साहजनक हुनसक्छ। समझदार मसीहीले यथाशक्य प्रयास गर्दागर्दै पनि अरूले सधैं आलोचना मात्र गर्छ भने, शायद तिनले यसो भन्दै हार मान्नसक्छन्, ‘बेकारमा किन कोसिस गर्ने?’ निस्सन्देह, तिनले पूर्णतया लत्तो छोड्नसक्छन्।
शास्त्रीय सल्लाह दिनु महत्त्वपूर्ण छ तर यसले मण्डलीमा नियुक्त प्राचीनहरू वा अरूको जस्तो मनोभाव भने झल्काउनु हुँदैन। मसीही सभाहरू मुख्यतः सल्लाहको आदानप्रदान गर्न मात्र सञ्चालन हुँदैनन्। बरु, सबैले एकअर्काको संगति र परमेश्वरप्रति पवित्र सेवाको आनन्द उठाउन पाऊन् भनेर हामी एकअर्कालाई प्रोत्साहन दिन नियमित तवरमा भेला हुन्छौं। (रोमी १:११, १२; हिब्रू १०:२४, २५) गम्भीर त्रुटि र असिद्धताबीच भिन्नता छुट्याउन सक्यौं अनि ती गल्तीहरूको परवाह नगर्नु बुद्धिमानी र मायालु कुरा हो भनेर बुझ्यौं भने साँच्चै कति असल हुनेछ!—उपदेशक ३:१, ७; कलस्सी ३:१३.
मानिसहरूले आलोचनाभन्दा प्रोत्साहन गर्दा छिटो प्रतिक्रिया देखाउँछन्। वास्तवमा, आफ्नो अन्यायपूर्वक आलोचना गरेको महसुस हुँदा व्यक्तिविशेषले आफ्नो कमजोरी झनै त्याग्दैन। तर तिनीहरूलाई न्यायोचित ढंगमा सराहना गर्दा तिनीहरू प्रोत्साहित हुन्छन् र सुध्रिन उत्प्रेरित हुन्छन्। (हितोपदेश १२:१८) त्यसकारण हामी येशूजस्तै प्रोत्साहनदायी होऔं र ‘निभ्नै लागेको’ सलेदोलाई कहिल्यै ननिभाऔं।
तुलना गर्ने सन्दर्भमा के भन्न सकिन्छ?
अरू मसीहीहरूका असल अनुभवहरू सुन्नु निकै उत्प्रेरणादायी हुनसक्छ। आफ्ना चेलाहरू राज्य समा- चार प्रचारकार्यमा सफल भएको खबर सुन्नुहुँदा येशू पनि रमाउनुभयो। (लूका १०:१७-२१) त्यस्तैगरि, एउटै विश्वासका भाइबहिनीहरूको सफलता, असल उदाहरण वा निष्ठाबारे सुन्दा हामी प्रोत्साहित हुन्छौं र मसीही मार्गमा लागिरहन अझ बढी कटिबद्ध हुन्छौं।
यद्यपि, यस्तो अर्थ लाग्ने ढंगमा अनुभव सुनाइयो भने नि, ‘तपाईं ती मसीहीहरू जति असल हुनुहुन्न र तपाईंले त योभन्दा बढी गर्नुपर्ने हो।’ के यो सुन्ने व्यक्तिले सुध्रिन कुनै जोशिलो कदम चालिहाल्छ होला? सम्भवतः तिनी निरुत्साहित हुनेछन् र सधैंजसो तिनलाई अरूसित मात्र तुलना गरिन्छ भने शायद लत्तो छाड्नेछन्। यो आमाबाबुले आफ्नो बच्चालाई यस्तो प्रश्न गरेझैं हो, ‘तिमी आफ्नो दाइजस्तो किन हुँदैनौ?’ त्यस्तो टिप्पणीले गर्दा नमीठो अनुभव वा निरुत्साहित हुनसक्छ। तर त्यसले सुध्रिन कमै मात्र प्रोत्साहित गर्ला। तुलना गर्दा वयस्कहरूमाथि त्यस्तै असर हुनसक्छ र जससित तिनीहरूको तुलना गरिन्छ त्यसप्रति कताकता रीस पनि उठ्नसक्छ।
सबैले परमेश्वरलाई एउटै परिमाणको सेवा चढाएको हामी आशा गर्न सक्दैनौं। येशूले प्रयोग गर्नुभएको एउटा उखानमा एक जना मालिकले आफ्ना नोकरहरूलाई एक, दुइ वा पाँचवटा चाँदीका तोडाहरू दिए। तिनीहरूका “आफ्ना आफ्ना खूबी अनुसार” त्यो दिइएको थियो। दुइ नोकरले बुद्धिमानीपूर्वक त्यसबाट व्यापार गरेर नाफा कमाए। मालिकले यिनीहरूको सराहना गरे किनभने धेरथोर मुनाफा कमाए तापनि तिनीहरू विश्वासी थिए।—मत्ती २५:१४-३०.
प्रेरित पावलले औचित्यपूर्वक यसरी लेखे: “तर हरेक मानिसले आफ्नो काम जाँचेर ठहराओस्। तब आफ्ना छिमेकीको विषयमा ता होइन, तर आफ्नै विषयमा मात्र अहंकार गर्ने कारण हुनेछ।” (गलाती ६:४) अरूलाई साँच्चै प्रोत्साहन दिन हामीले नकारात्मक ढंगमा तुलना गर्नहुँदैन।
अरूलाई उत्थान गर्ने केही तरिकाहरू
हामीले निरुत्साहित भएकालाई उत्थान गर्न र ‘निभ्नै लागेको सलेदोलाई’ ननिभाउन के गर्नसक्छौं? वास्तवमा, प्रोत्साहन दिनु भनेको कुनै निर्दिष्ट सूत्र अपनाउनु होइन। तथापि, हामीले बाइबल सिद्धान्तहरू लागू गऱ्यौं भने सम्भवतः हाम्रो वचन अरूको लागि उत्थानदायी हुनसक्छ। ती के के हुन्?
नम्र हुनुहोस्। फिलिप्पी २:३ मा पावलले हामीलाई ‘फोस्रो घमण्डले केही नगर्न’ आग्रह गरे। बरु हामीले नम्रतापूर्वक बोल्नु तथा व्यवहार गर्नुपर्छ। ‘हामीले नम्रतामा एउटाले अर्कोलाई श्रेष्ठ ठान्नुपर्छ।’ हामीले आफूलाई कुनै मूल्यको ठान्नुहुँदैन भनेर पावलले भनेका होइनन्। यद्यपि, कुनै न कुनै ढंगमा अर्को व्यक्ति हामीभन्दा श्रेष्ठ छ भनेर स्वीकार्नुपर्छ। यहाँ “श्रेष्ठ” भनी अनुवाद गरिएको युनानी शब्दले त्यस्तो व्यक्तिलाई बुझाउँछ जसले “आफ्ना सुअवसरहरूलाई त्यत्तिको महत्त्व दिंदैन र आफूभन्दा श्रेष्ठ व्यक्तिका दक्षताहरूलाई लगनशीलतापूर्वक केलाउँछ।” (जोन एल्बर्ट बेन्जलद्वारा लिखित न्यु टेस्टामेन्ट वर्ड स्टडीज्, खण्ड २, पृष्ठ ४३२) यसो गऱ्यौं र अरूलाई श्रेष्ठ ठान्यौं भने हामी तिनीहरूसित नम्रतापूर्वक व्यवहार गर्नेछौं।
आदर देखाउनुहोस्। हामीले निष्कपटता साथ आफूलाई व्यक्त गर्दा के स्पष्ट गर्छौं भने, हामी आफ्ना सँगी विश्वासीहरूलाई भरोसा गर्छौं र परमेश्वरलाई खुशी तुल्याउन चाहने व्यक्तिहरू ठान्छौं। तर मानि लिनुहोस्, तिनीहरूलाई आध्यात्मिक मदत चाहिएको छ। त्यसो हो भने तिनीहरूलाई आदरपूर्ण तथा मर्यादित ढंगमा सहयोग देऔं। पावलले यसप्रकार भने: “मानमा एउटाले अर्कोको बढ़ता कदर गर।”—रोमी १२:१०.
ध्यान दिएर सुन्नुहोस्। हो, निरुत्साहजनक समस्याहरू भोगिरहेकाहरूलाई प्रोत्साहन दिन हामीले भाषण छाँट्ने होइन तर ध्यान दिएर सुन्नुपर्छ। हतपत सतही सुझाव दिई हाल्नुको साटो आवश्यकताअनुरूपको शास्त्रीय निर्देशन दिन समय निकालौं। आफूलाई के भन्ने थाह छैन भने बाइबलको अनुसन्धान गरेपछि सान्त्वनादायी कुराहरू बताउन र अरूलाई सुदृढ पार्न मदत मिल्नेछ।
मायालु हुनुहोस्। प्रोत्साहन दिन चाहने व्यक्तिप्रति हामी मायालु हुनुपर्छ। यहोवाका सँगी सेवकहरूप्रति माया देखाउनु भनेको तिनीहरूको हित हुने काम गर्नु मात्रै होइन। यसमा गहन भावनाहरू मुछिएको हुनुपर्छ। यहोवाका सम्पूर्ण जनहरूप्रति त्यस्तो प्रेम छ भने हाम्रो वचन तिनीहरूको लागि साँच्चै प्रोत्साहनदायी हुनेछ। सुधार्नको लागि सुझावै दिनु परे तापनि हामीले भनेको कुराको गलत अर्थ लगाइनेछैन। हाम्रो मनसाय आफ्नो दृष्टिकोण व्यक्त गर्नु मात्र होइन तर मायालु मदत प्रदान गर्नु हो भने त्यसले अरूलाई हानि पुऱ्याउनेछैन। पावलले सत्यतापूर्वक भनेझैं, “प्रेमले उन्नति गराउँछ।”—१ कोरिन्थी ८:१; फिलिप्पी २:४; १ पत्रुस १:२२.
सधैं उत्थानदायी हुनुहोस्
यो कठिन “आखिरी दिनमा” यहोवाका जनहरूले थुप्रै परीक्षाहरू सामना गर्छन्। (२ तिमोथी ३:१-५) अतः कहिलेकाहीं तिनीहरूले धीरजको असह्य जाँच भएजस्तो महसुस गर्नु अनौठो कुरा होइन। यहोवाका सेवकहरूको हैसियतमा हामी निस्सन्देह आफ्ना सँगी उपासकहरूलाई निभ्नै लागेको सलेदोजस्तो महसुस हुने कुनै पनि कुरा भन्न वा गर्न चाहँदैनौं।
अतः एकअर्कालाई प्रोत्साहन दिनु कति महत्त्वपूर्ण छ! निरुत्साहित सँगी उपासकहरूप्रति नम्र र आदरपूर्वक हामी सधैं उत्थानदायी हुने प्रयास गरौं। तिनीहरूले हामीसित आफ्नो दुःख पोख्दा ध्यान दिएर सुनौं र परमेश्वरको वचन, बाइबलमा ध्यान केन्द्रित गरेर तिनीहरूलाई मदत दिन खोजौं। सबैभन्दा महत्त्वपूर्ण कुरा, प्रेम प्रकट गरौं किनभने यो परमेश्वरको पवित्र आत्माको फल हो र यसले एकअर्कालाई सुदृढ पार्न मदत दिनेछ। ‘निभ्नै लागेको सलेदोलाई’ निभाउनसक्ने ढंगमा कहिल्यै नबोलौं र त्यस्तो व्यवहार पनि नगरौं।