“खुशीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ”
यहोवा उदारताको अमूर्त रूप हुनुहुन्छ। भनौं भने, बाइबलले उहाँ “हरेक असल दान र हरेक उत्तम वरदान[का]” दाता हुनुहुन्छ भनेर बताउँछ। (याकूब १:१७) उदाहरणका लागि, परमेश्वरका सृष्टिहरूबारे विचार गर्नुहोस्। उहाँले भोजन खल्लो होइन स्वादिलो बनाउनुभयो; फूलहरू सादा होइन रंगीचंगी बनाउनुभयो अनि सूर्यास्तको दृश्य उराठलाग्दो होइन मनोरम बनाउनुभयो। हो, यहोवाको सृष्टिको हरेक पक्षले उहाँको प्रेम र उदारताको प्रमाण दिन्छ। (भजन १९:१, २; १३९:१४) यसबाहेक, यहोवाले खुसीसाथ दिनुहुन्छ। उहाँ आफ्ना सेवकहरूको खातिर असल काम गर्न पाउँदा आनन्दित हुनुहुन्छ।—भजन ८४:११; १४९:४.
इस्राएलीहरूलाई आपसमा व्यवहार गर्दा परमेश्वरको उदारता झल्काउने आज्ञा दिइएको थियो। मोशाले तिनीहरूलाई यसो भने: “आफ्नो दाज्यू-भाइलाई दुःखमा परेको देख्यौ भने निष्ठूर भएर आफ्नो मुठी नबाँध्नू। तिमीहरूले उसलाई निसंकोच दिनू, औ . . . तिमीहरूको मनमा कष्ट नहोस्।” (व्यवस्था १५:७, १०) दिने भन्ने कुरा मनबाटै आउने भएको हुनाले उदारता देखाउन पाउँदा इस्राएलीहरू आनन्दित हुनुपर्थ्यो।
मसीहीहरूलाई पनि यस्तै सल्लाह दिइएको थियो। वास्तवमा, येशूले “दिनु . . . असल हो” भन्नुभयो। (प्रेरित २०:३५) खुसीसाथ दिनुमा येशूका चेलाहरू उदाहरणीय थिए। उदाहरणका लागि, बाइबलअनुसार यरूशलेममा विश्वासी भएकाहरूले “आफ्ना धन-सम्पत्ति र माल-मत्ता बेचीकन जस जसलाई जे जे कुराको खाँचो पर्थ्यो सबैलाई ती बाँड़िदिन्थे।”—प्रेरित २:४४, ४५.
तर यी उदार यहूदीहरू पछि गरिब भए। तिनीहरू कुन कारणले त्यस्तो अवस्थामा पुगे, बाइबलले स्पष्टसँग बताएको छैन। केही शास्त्रविद्हरूअनुसार प्रेरित ११:२८, २९ मा उल्लिखित अनिकाल नै त्यसको कारण हुनसक्छ। जेसुकै होस्, यहूदी मसीहीहरू ठूलो संकटको चपेटामा परेका थिए। पावल तिनीहरूका आधारभूत आवश्यकताहरू पूरा होस् भन्ने चाहन्थे। तिनले कसरी त्यसो गर्नसक्थे?
खाँचोमा परेकाहरूका लागि चन्दा
पावलले मेसिडोनियासम्मका मण्डलीहरूलाई मदत मागे अनि गरिबीको चपेटामा परेका यहूदी मसीहीहरूका लागि चन्दा उठाउने प्रबन्ध मिलाए। पावलले कोरिन्थहरूलाई यसो लेखे: “मैले गलातियाका मण्डलीहरूलाई आज्ञा दिएजस्तै तिमीहरूले पनि गर। प्रत्येक हप्ताको पहिलो दिन तिमीहरू हरेकले आफ्नो आफ्नो उन्नतिअनुसार जोगाएर साँचिराखोस्।”a—१ कोरिन्थी १६:१, २.
पावल यसरी संकलन गरिएको चन्दा चाँडै यरूशलेमका भाइहरूलाई दिन चाहन्थे। तर कोरिन्थहरूले पावलको निर्देशनप्रति ढिलासुस्ती गरे। किन? के तिनीहरू यहूदी भाइबहिनीहरूको दुर्दशाप्रति असंवेदनशील थिए? अहँ, होइन। किनकि पावललाई कोरिन्थहरू “सबै कुरामा . . . विश्वासमा, बोलिवचनमा, ज्ञानमा, सब उत्साहमा” प्रशस्त थिए भनेर थाह थियो। (२ कोरिन्थी ८:७) सम्भवतः पावलले तिनको पहिलो पत्रमा लेखेका महत्त्वपूर्ण कुराहरू सुल्झाउन तिनीहरू व्यस्त थिए। तर यरूशलेमको समस्याबारे यथाशीघ्र कदम चाल्नु आवश्यक थियो। अतः पावलले तिनको दोस्रो पत्रमा त्यसबारे कोरिन्थहरूलाई लेखे।
उदार हुन आह्वान
प्रथमतः पावलले कोरिन्थहरूलाई म्यासिडोनियालीहरूबारे बताए। तिनीहरूले उद्धारकार्यमा उदाहरणीय कदम चालेका थिए। पावलले यसो लेखे: “कष्टको ठूलो परीक्षामा तिनीहरूको प्रशस्त आनन्द र अगाध दरिद्रताचाहिं तिनीहरूका उदारताको धन भएर प्रशस्त बढ़यो।” म्यासिडोनियालीहरूलाई चन्दा दिने कुरामा झकझकाउनु परेन। यसको विपरीत, तिनीहरूले “अनुग्रह र संगतिमा हामी भाग लिन पाऔं भनी ज्यादै निवेदनसाथ हामीलाई आग्रहपूर्वक बिन्ती गरे” भनी पावलले बताए। तिनीहरू आफै पनि “अगाध दरिद्रता[मा]” भएकाले म्यासिडोनियालीहरूले खुसीसाथ देखाएको उदारता अति उल्लेखनीय छ।—२ कोरिन्थी ८:२-४.
के पावलले म्यासिडोनियालीहरूको प्रशंसा गरेर कोरिन्थहरूको मनमा प्रतिस्पर्धात्मक विचार जगाउने कोसिस गरिरहेका थिए? अहँ, कदापि होइन। किनकि त्यसरी उत्प्रेरित गराउनु उचित होइन भनी तिनलाई थाह थियो। (गलाती ६:४) यसबाहेक, केरिन्थीहरूलाई शर्ममा पारेर सही काम गर्न लगाउनुपर्दैन भनेर तिनलाई थाह थियो। बरु, कोरिन्थीका मसीहीहरू तिनीहरूका यहूदी भाइबहिनीहरूलाई प्रेम गर्छन् र उद्धारकार्यको निम्ति चन्दा दिन इच्छुक छन् भनेर तिनी विश्वस्त थिए। तिनले कोरिन्थहरूलाई यसो भने: “तिमीहरू एक साल अघि, गर्नालाई मात्र होइन, तर इच्छा गर्नालाई पनि, शुरू गर्न पहिला भएका थियौ।” (२ कोरिन्थी ८:१०) निस्सन्देह, केही उद्धारकार्यमा कोरिन्थहरू पनि उदाहरणीय थिए। “म तिमीहरूको तत्परता जान्दछु, जसको विषयमा म म्यासिडोनियनहरूका सामने तिमीहरूका पक्षमा घमण्ड गर्दछु” भन्दै पावलले तिनीहरूलाई अझ यसो भने: “तिमीहरूको जोशले तिनीहरूका धेरै जसोलाई उत्तेजित पारेको छ।” (२ कोरिन्थी ९:२) तथापि, अब भने कोरिन्थीहरूले तिनीहरूको जोस र तत्परतालाई व्यवहारमा उतार्नु परेको थियो।
तसर्थ, पावलले तिनीहरूलाई भने: “हरेक मानिसले आफ्नो मनमा अड़कले बमोजिम गरोस्, नता चित्त दुखाएर, न जरुरत भएकोले, किनभने खुशीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ।” (२ कोरिन्थी ९:७) तर पावलको उद्देश्य कोरिन्थीहरूलाई बलजफ्ती गर्नु थिएन किनकि कसैले पनि करकापमा परेर खुसीसाथ दिन सक्दैन। स्पष्टतः तिनीहरूसँग पहिल्यैबाट उचित मनोभाव थियो अर्थात् हरेकले आफ्नो मनमा अडकलेका थिए भनी पावलले अनुमान लगाए। यसबाहेक, पावलले तिनीहरूलाई भने: “तत्परता छ भने, आफूसित नभएअनुसार होइन, तर आफूकहाँ भएअनुसार यो ग्रहणयोग्य हुन्छ।” (२ कोरिन्थी ८:१२) हो, मानिससँग तत्परता छ र प्रेमद्वारा उत्प्रेरित भएको छ भने चाहे उसले थोरै नै किन नदेओस्, परमेश्वरले ग्रहण गर्नुहुन्छ।—लूका २१:१-४ तुलना गर्नुहोस्।
आज खुसीसाथ दिनेहरू
यहूदी मसीहीहरूका निम्ति गरिएको उद्धारकार्यले आज हाम्रो समयमा उत्कृष्ट उदाहरण पेश गर्छ। यहोवाका साक्षीहरूले विश्वव्यापी तवरमा प्रचार गरेर आध्यात्मिक भोकले व्याकुल लाखौं मानिसहरूलाई पौष्टिक भोजन दिइरहेका छन्। (यशैया ६५:१३, १४) तिनीहरूले येशूको आज्ञा पालन गर्दै यो काम गरेका छन्: “गएर सबै देशका जातिहरूलाई चेला बनाओ, . . . बप्तिस्मा देओ। जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ।”—मत्ती २८:१९, २०.
यो आज्ञा पूरा गर्नु सजिलो छैन। यसको निम्ति मिसनरी भवन र संसारभरिका सयभन्दा बढी शाखा कार्यालयहरूको रेखदेख गर्नुपर्छ। साथै यहोवाका उपासकहरू उपयुक्त ठाउँमा भेला हुन र एकअर्कालाई प्रोत्साहन दिनको निम्ति राज्यभवन र सम्मेलन भवनहरू पनि बनाउनुपर्छ। (हिब्रू १०:२४, २५) यहोवाका साक्षीहरूले समय समयमा प्राकृतिक प्रकोपद्वारा क्षतिग्रस्त भएका ठाउँहरूमा उद्धारकार्य पनि गर्छन्।
साहित्यहरू छाप्न कत्ति धेरै खर्च लाग्छ, यसबारे पनि विचार गर्नुहोस्। हरेक हप्ता सरदर २,२०,००,००० भन्दा बढी प्रहरीधरहरा र लगभग २,००,००,००० प्रति ब्यूँझनुहोस्! छापिन्छ। नियमित तवरमा उपलब्ध हुने यी आध्यात्मिक भोजनको अलावा हरेक वर्ष लाखौंको संख्यामा पुस्तक, पुस्तिका, श्रव्य क्यासेट र भिडियो क्यासेटहरू उत्पादन गरिन्छन्।
यी सब कामका लागि कसरी खर्च बेहोरिन्छ? स्वैच्छिक चन्दाद्वारा। यस्तो चन्दा नाउँ कमाउन वा स्वार्थी उद्देश्यले नभई साँचो उपासना प्रवर्धन गर्न दिइन्छ। अतः चन्दा दाताले यहोवाको आशिष्सँगसँगै आनन्द पनि पाउँछन्। (मलाकी ३:१०; मत्ती ६:१-४) यहोवाका साक्षीहरूमाझ भएका केटाकेटीहरूले पनि तिनीहरू उदार अनि खुसीसाथ दिनेहरू हुन् भनेर देखाउँछन्। उदाहरणका लागि, संयुक्त राज्यको एउटा इलाका आँधीबेह्रीले तहसनहस गरेको सुनेपछि चार वर्षीया एलिसनले चन्दास्वरूप दुई अमेरिकी डलर पठाइन्। तिनले यसो लेखिन्: “मसँग भएको पैसा यति नै हो। केटाकेटीहरूका सबै खेलौना, पुस्तक अनि पुतलीहरू हरायो भनेर मलाई थाह छ। तपाईंहरू यो पैसाले मेरै उमेरकी बच्चीको लागि एउटा पुस्तक किन्न सक्नुहुन्छ।” उक्त आँधीबेह्रीबाट कुनै पनि भाइबहिनीको ज्यान गएन भनेर थाह पाउँदा खुसी छु भनेर आठ वर्षीय मेक्लिनले लेखे। तिनले अझै यसो लेखे: “मैले बुबासँग गाडीको क्याप बेचेर १७ अमेरिकी डलर जम्मा गरें। यो पैसाले केही किन्नै लागेको थिएँ तर त्यसै बखत मैले भाइबहिनीहरूलाई सम्झें।”—माथिको पेटी पनि हेर्नुहोस्।
हो, जवान तथा वृद्धाहरूले ‘तिनीहरूका धन-सम्पत्तिले यहोवाको आदर’ गरेर उहाँको राज्य सम्बन्धी कामकुरालाई प्रथम स्थान दिएको देख्दा उहाँ प्रसन्न हुनुहुन्छ। (हितोपदेश ३:९, १०) निस्सन्देह, कसैले पनि यहोवालाई सम्पन्न बनाउनसक्दैन किनकि सबै कुरा उहाँकै हुन्। (१ इतिहास २९:१४-१७) तर यहोवाको कामकुरालाई समर्थन गर्नु एउटा विशेषाधिकार हो जसद्वारा उपासकहरूले उहाँप्रतिको प्रेम प्रदर्शित गर्न पाउँछन्। यसो गर्न भित्री हृदयबाटै उत्प्रेरित हुनेहरू सबैप्रति हामी कृतज्ञ छौं।
[फुटनोट]
a पावलले “आज्ञा दिए” तापनि त्यसको मतलब तिनले मनमानी अनिवार्य माग गरिरहेका थिएनन्। बरु, पावलले त थुप्रै मण्डलीहरूमा चन्दा उठाउने कामको रेखदेख गरिरहेका थिए। यसबाहेक, पावलले “हरेकले आफ्नो आफ्नो उन्नतिअनुसार जोगाएर साँचिराखोस्” भने। अर्को शब्दमा भन्ने हो भने, हरेकले व्यक्तिगत रूपमा तथा स्वेच्छासाथ चन्दा दिनुपर्ने थियो। कसैलाई पनि बलजफ्ती गरिएको थिएन।
[पृष्ठ २६, २७ -मा भएको पेटी]
केही व्यक्तिहरूले स्वेच्छासाथ
विश्वव्यापी कामका लागि चन्दा दिने तरिकाहरू
“सोसाइटीको विश्वव्यापी कामका लागि चन्दा—मत्ती २४:१४” लेखिएको बाकसमा चन्दा राख्न धेरैजसोले केही पैसा छुट्याउँछन् वा बजेट बनाउँछन्। त्यसपछि हरेक महिना मण्डलीहरूले स्थानीय शाखा कार्यालयमा यी धनराशी पठाउँछन्।
स्वेच्छापूर्वक चन्दा दिइएको रुपैयाँ-पैसा कोषाध्यक्षको कार्यालय, Praharidurg Prakashan Society, Plot A/35, Near Industrial Estate, Nangargaon, Lonavla, 410 401 मा सोझै पठाउन सकिन्छ। गरगहना तथा अन्य बहुमूल्य वस्तुहरू पनि चन्दा दिन सकिन्छ। यी चन्दाहरू पठाउँदा स्पष्टसित त्यो पैसा वा वस्तु पूर्णतया दान हो भनेर छोटो पत्र पनि पठाउनुपर्छ।
नियोजित दान
पूर्णतया दान र शर्तनामा चन्दाबाहेक विश्वव्यापी राज्य सेवाको लागि लाभप्रद साबित हुनसक्ने अन्य केही तरिकाहरू पनि छन्। ती हुन्:
बिमा: वाच टावर सोसाइटीलाई जीवन बिमा वा अवकाश/पेन्सन बिमाको हकदार बनाउन सकिन्छ।
बैंक खाता: बैंक खाता, निक्षेप खाता वा व्यक्तिगत अवकाश खातालाई स्थानीय बैंकको आवश्यकताअनुरूप वाच टावर सोसाइटीलाई सुम्पिन वा शेषपछि हस्तान्तरण गर्न सकिन्छ।
ऋणपत्र तथा बन्ड: ऋणपत्र तथा बन्डहरू पनि सोसाइटीलाई पूर्णतया दान वा चन्दादाताले आम्दानी पाउने प्रबन्ध मिलाएर चन्दा दिन सकिन्छ।
घडेरी: बिक्री गर्न मिल्ने घडेरी पनि वाचटावर सोसाइटीलाई चन्दास्वरूप दिन सकिन्छ। घडेरीलाई पूर्णतया दान वा चन्दादाता बाचुञ्जेल प्रयोग गर्न पाउने प्रबन्ध मिलाएर दिन सकिन्छ। सोसाइटीलाई कुनै घडेरी दिनुअघि सोसाइटीसित सम्पर्क राख्नुपर्छ।
वसियतनामा तथा कोश: जायजेथा वा पैसा कानुनी वसियतनामाद्वारा वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीलाई हस्तान्तरण गर्न सकिन्छ। अथवा सोसाइटीलाई कोशको हकदार बनाउन सकिन्छ।
“नियोजित दान” भन्ने वाक्यांशले यस प्रकारका दानहरू दिंदा दाताले योजना बनाउनुपर्छ भनेर बुझाउँछ।
[पृष्ठ २८-मा भएको पेटी]
केटाकेटी पनि उदार दाताहरू!
हाम्रोलागि अझ धेरै किताबहरू छाप्नुहोस् भनेर म यो पैसा पठाउँदैछु। बुबालाई मदत गरेर मैले यो पैसा जम्मा गरेकी थिएँ। तपाईंहरूले गर्नुभएको सबै कडा परिश्रमको लागि धेरै धन्यवाद।—पामेला, वर्ष सात।
अझ धेरै राज्यभवनहरू बनाउन मदत मिलोस् भनेर म यो ६.८५ अमेरिकी डलर पठाउँदैछु। यसै गर्मी महिनामा बाटोमा कागतीको जूस बेचेर मैले यो पैसा कमाएकी हुँ।—सेलेना, वर्ष छ।
मैले हुर्काएको कुखुरीबाट एउटा भाले र अर्को पोथीचल्ला निस्किए। पोथीचाहिं मैले यहोवालाई समर्पण गरें। जसले पारेको तीनवटा कुखुरीहरूलाई मैले बेचें। त्यसको रकम म यहोवाको कामको लागि यसैसाथ पठाउँदैछु।—थिएरी, वर्ष आठ।
म सित भएको पैसा यति मात्रै हो! कृपया यसलाई बुद्धिमानीपूर्वक चलाउनुहोस्। पैसा जम्मा गर्न गाह्रो छ। मैले २१ अमेरिकी डलर पठाएकी छु।—सारा, वर्ष दस।
हाम्रो स्कूलको प्रतियोगितामा मैले प्रथम पुरस्कार पाएँ। जसले गर्दा मैले प्रान्तीय प्रतियोगितामा पनि भाग लिन पाएँ। त्यसमा पनि मैले प्रथम र जिल्लास्तरीय अन्तिम चरणको प्रतियोगितामा चाहिं द्वितीय पुरस्कार पाउन सकें। यी सबैमा मैले नगद पुरस्कार जितें। त्यसको केही रुपियाँ म सोसाइटीसित बाँड्न चाहन्छु। ईश्वरतान्त्रिक सेवकाई स्कूलबाट पाएको प्रशिक्षणले गर्दा नै यी सबै पुरस्कार जित्न सकें भन्ने मलाई लागेको छ। निर्णायक मण्डलको सामु आफ्नो रिपोर्ट पेश गर्दा म अलिकता पनि हडबडाइँन।—एम्बर, कक्षा छ।
म यो पैसा यहोवाको लागि तपाईंहरूलाई दिन चाहन्छु। यसलाई कुन काममा चालाउने हो यहोवालाई सोध्नुहोस्। उहाँलाई सबै कुरा थाह छ।—करिन, वर्ष छ।
[पृष्ठ २५-मा भएको चित्र]
यहोवाका साक्षीहरूका क्रियाकलाप स्वैच्छिक अनुदानद्वारा चल्छ