व्यवस्था
१५ “तिमीहरूसित ऋण लिनेको ऋण प्रत्येक सात वर्षको अन्तमा माफी गरिदिनू।+ २ तिमीहरूले यसरी माफी गर्नू: ऋण दिने हरेक व्यक्तिले आफ्नो छिमेकीको ऋण माफी गरिदिनू। आफ्नो छिमेकी वा दाजुभाइलाई ऋण चुक्ता गर्न नलगाउनू। किनभने यहोवा परमेश्वरको महिमाको लागि त्यो वर्ष ऋण माफीको घोषणा गरिनेछ।+ ३ तिमीहरूले विदेशीहरूलाई ऋण चुक्ता गर्न लगाउन सक्छौ+ तर आफ्नो इस्राएली दाजुभाइलाई भने ऋण चुक्ता गर्न नलगाउनू। ४ तिमीहरूमाझ कोही पनि गरिब नहोस्। किनभने यहोवा परमेश्वरले तिमीहरूलाई पैतृक सम्पत्तिको रूपमा जुन देश दिनुहुनेछ, त्यहाँ यहोवा परमेश्वरले तिमीहरूलाई प्रशस्त आशिष् दिनुहुनेछ।+ ५ त्यस्तो आशिष् पाउने हो भने तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरले भन्नुभएको एक-एक कुरा मान्नुपर्छ र आज मैले दिएको उहाँका सबै आज्ञा तिमीहरूले होसियार भई पालन गर्नुपर्छ।+ ६ आफ्नो प्रतिज्ञाअनुसारै यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुहुनेछ। तिमीहरूले जातिजातिलाई ऋण दिनेछौ* तर तिमीहरूले भने तिनीहरूसित ऋण लिनुपर्नेछैन।+ तिमीहरूले जातिजातिलाई आफ्नो अधीनमा राख्नेछौ तर तिनीहरूले तिमीहरूलाई अधीनमा राख्नेछैनन्।+
७ “यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएको देशको कुनै सहरमा यदि तिमीहरूका दाजुभाइमध्ये कोही गरिब भयो भने तिमीहरू ऊप्रति निष्ठुर नहुनू र उसलाई मदत गर्न कन्जुस्याइँ नगर्नू।+ ८ बरु खुला मनले उसलाई मदत गर्नू;+ उसलाई जे-जे कुराको खाँचो छ, ती सबै सापटी दिनू। ९ ‘ऋण माफी गर्ने सातौँ वर्ष आउनै लाग्यो, त्यसैले अहिले ऋण दिएँ भने फिर्ता पाउँदिनँ’ भन्ने कुविचार राखेर आफ्नो गरिब दाजुभाइलाई मदत गर्नदेखि पछि नहट्नू।+ तिमीहरूले उसलाई केही दिएनौ र उसले यहोवा परमेश्वरलाई पुकाऱ्यो भने तिमीहरू दोषी ठहरिनेछौ।+ १० तिमीहरूले उसलाई मन नलागी-नलागी होइन तर खुला मनले दिनू।+ त्यसरी दियौ भने मात्र यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूको मेहनतमा आशिष् दिनुहुनेछ र तिमीहरू जे काम गर्छौ, त्यसमा तिमीहरूलाई सफल तुल्याइदिनुहुनेछ।+ ११ तिमीहरूमाझ गरिबहरू त सधैँभरि हुनेछन्।+ त्यसैले म तिमीहरूलाई यो आज्ञा दिन्छु, ‘आफ्नो देशमा भएका गरिब र दुःखमा परेका दाजुभाइलाई खुला मनले मदत गर।’+
१२ “कोही हिब्रू, चाहे ऊ पुरुष होस् या स्त्री, यदि ऊ दासको रूपमा तिमीकहाँ बेचियो र उसले छ वर्षसम्म तिम्रो सेवा गरिसकेको छ भने सातौँ वर्षमा उसलाई स्वतन्त्र छोडिदिनू।+ १३ उसलाई स्वतन्त्र छोड्दा खाली हात नपठाउनू। १४ तिमीहरूले आफ्नो बगालबाट जनावर, खलाबाट अन्न अनि कोलबाट तेल र मद्य दिन कन्जुस्याइँ नगर्नू। जसरी यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुहुन्छ, त्यसरी नै तिमीहरूले पनि अरूलाई खुला मनले दिनू। १५ नबिर्स! मिश्रमा छँदा तिमीहरू पनि दास थियौ अनि यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यहाँबाट छुटाउनुभयो। त्यसैले मैले आज यो आज्ञा तिमीहरूलाई दिएको हुँ।
१६ “तिम्रो दासले तिमी र तिम्रो परिवारलाई एकदमै माया गर्छ र तिमीकहाँ बसुन्जेल ऊ एकदमै खुसी भएकोले ‘अब म तपाईँहरूलाई छोडेर जान्नँ’ भन्छ भने+ १७ तिमीहरूले एउटा सियो* लिनू र उसलाई ढोकाअगाडि ल्याएर उसको कान छेडिदिनू। त्यसपछि ऊ जिन्दगीभर तिमीहरूको दास हुनेछ। तिमीहरूले आफ्नो दासीलाई पनि त्यसै गर्नू। १८ तर ऊ स्वतन्त्र भएर जान चाहन्छ भने दुःख नमान्नू। किनभने उसले छ वर्षसम्म तिम्रो निम्ति काम गरिसकेको छ। त्यतिन्जेल उसले ज्यालादारी कामदारले भन्दा दोबर ज्याला पाउन योग्यको काम गरिसकेको छ अनि यहोवा तिमीहरूका परमेश्वरले तिम्रो हरेक काममा आशिष् दिनुभएको छ।
१९ “तिमीहरूले भेडाबाख्रा र गाईवस्तुको पहिलो सन्तानलाई यहोवा तिमीहरूका परमेश्वरको निम्ति अर्पण गर्नू।+ तिमीहरूले पहिले जन्मेको बहरलाई कुनै काममा नलगाउनू र पहिले जन्मेको पाठोको ऊन नकत्रनू। २० भेडाबाख्रा र गाईवस्तुको पहिलो सन्तानको मासु तिमीहरूले हरेक वर्ष आफ्नो परिवारसित यहोवा परमेश्वरले रोज्नुभएको ठाउँमा यहोवासामु खानू।+ २१ तर त्यस जनावरमा खोट छ अर्थात् त्यो जनावर लङ्गडो छ, अन्धो छ वा अरू कुनै किसिमको ठूलो खोट छ भने तिमीहरूले त्यसलाई यहोवा परमेश्वरको निम्ति बलि नचढाउनू।+ २२ बरु जसरी तिमीहरू जरायो वा मृगको मासु खान्छौ, त्यसरी नै त्यस जनावरको मासु पनि शुद्ध र अशुद्ध मानिस सबैले आ-आफ्नो सहरमा खाऊन्।+ २३ तर तिमीहरूले त्यसको रगतचाहिँ नखानू;+ त्यसलाई भुईँमा पानीझैँ बगाइदिनू।+