साथीहरूको दबाब—के यसले तपाईंलाई फाइदा पुऱ्याउँछ?
हामी सबैसित साथीहरूबीच लोकप्रिय हुने जन्मजात चाहना हुन्छ। सबै जना अरूले मन पराएको, स्वीकार गरेको चाहन्छन्। तसर्थ, कसैलाई कम त कसैलाई बढी, साथीहरूले भने हामीलाई अवश्य प्रभाव पार्छ।
मित्रलाई “आफू बराबरको; . . . एउटै सामाजिक वर्ग, विशेष गरी एउटै उमेर, स्तर वा प्रतिष्ठाको” भनेर परिभाषित गरिएको छ। अत: साथीहरूको दबाब भनेको साथीभाइको प्रभाव हो र जानाजानी वा अनजानमा हामी तिनीहरूको जस्तै सोचाइ राख्ने वा व्यवहार गर्ने गर्छौं। साथीहरूको दबाबलाई प्रायजसो नराम्रो प्रभावको रूपमा हेरिन्छ। तर यसले हामीलाई फाइदा पुऱ्याउनसक्छ र त्यसबारे हामी छलफल गर्नेछौं।
सबै उमेरका मानिसहरूमा प्रभाव
साथीहरूको दबाब जवानहरूमाथि मात्र आइपर्ने होइन। निम्न प्रश्नहरूमा ध्यान दियौं भने साथीहरूको दबाब सबै उमेरका मानिसहरूले सामना गर्छन् भनेर प्रस्ट हुन्छ: “अरू सबैले गर्दैछन्, मैले किन गर्न नहुने?” “म किन सधैं अरूभन्दा बेग्लै हुनुपर्ने?” “अरूले के सोच्लान् वा के भन्लान्?” “मेरा सबै साथीहरूको विवाह हुँदैछ तर खै मेरो त हुँदैन कि क्या हो?”
साथीहरूजस्तै हुने दबाबले सबै उमेरका मानिसहरूलाई प्रभाव पारे तापनि किशोरावस्थामा यो सबैभन्दा प्रबल हुन्छ। द वर्ल्ड बुक इन्साइक्लोपीडिया-अनुसार “अधिकांश किशोरकिशोरीहरू आफ्ना साथीहरूको समूह अर्थात् साथीभाइ र चिनजानहरूसित नङर मासुजस्तो मिलेका हुन्छन्। यी किशोरकिशोरीहरू कुनै पनि कामको अनुमोदन आमाबाबुबाट होइन तर साथीभाइबाट खोज्छन् अनि तिनीहरूको स्वीकृति पाउन आफ्नो आचरण बदल्न पनि पछि पर्दैनन्।” साथै, अझ यसो भनिएको छ कि किशोरकिशोरीहरू “साथीभाइबीच लोकप्रिय छन् भने आफ्नो सामान्य विकास भइरहेको छ भन्ठान्छन्।” त्यसकारण, “तिनीहरू आफ्नो लोकप्रियतामा असर गर्ने कुराहरू जस्तै, पहिरन, नेतृत्व लिने क्षमता र खास केटा वा केटीसित चिनजान बढाउने इत्यादि कुरामा चुर्लुम्मै डुबेका हुन्छन्।”
विवाहित दम्पतीहरूका निर्णयहरू पनि समुदाय, साथीभाइ वा जनजातिमाझ के स्वीकार्य छ, त्यसले प्रभाव पारेको हुन्छ। जस्तै, कस्तो घर किन्ने वा भाडामा लिने, कुन गाडी चलाउने, बच्चा जन्माउने या नजन्माउने इत्यादि। कुनै परिवारहरू साथीभाइ वा छिमेकीहरूको जस्तै आर्थिक स्तरमा पुग्न ऋणसमेत काढ्छन्। हो, हाम्रो लक्ष्य, सोचाइ वा निर्णयहरूमा साथीहरूको दबाब लुकेको हुन्छ। साथीहरूको दबाबलाई ध्यानमा राख्दै के त्यसलाई हाम्रो फाइदा हुने, हामी पुग्न चाहेको लक्ष्यतर्फ डोऱ्याउन प्रयोग गर्न सकिन्छ? अवश्य सकिन्छ!
लाभदायक मैत्री प्रभावको सदुपयोग गर्ने
डाक्टर तथा अन्य स्वास्थ्य पेशेवरहरूले बिरामीहरूमा सकारात्मक दृष्टिकोण राख्ने मानिसहरूको संगति तथा अन्य स्वास्थ्यकर प्रभावको महत्त्व बुझेका छन्। त्यस्तो वातावरणले निवारण प्रक्रियालाई निकै तीव्र बनाउन सक्छ। उदाहरणका लागि, हातखुट्टा गुमाएका मानिसहरूलाई प्रायजसो त्यस्तै पीडा भोगेका मानिसहरूको राम्रो उदाहरण र प्रोत्साहन दिएर शारीरिक पुनर्स्थापना र भावनात्मक निवारणमा मदत दिइन्छ। स्पष्टतः आशावादी, सकारात्मक आदर्श नमुनाहरूको समूहमा बस्नु, साथीहरूको सही दबाबको सदुपयोग गर्ने एउटा तरिका हो।
यो सिद्धान्त मसीही मण्डलीमा पनि लागू हुन्छ किनभने यहोवाले आफ्ना जनहरूलाई नियमित तवरमा भेला हुने निर्देशन दिनुको एउटा कारण सकारात्मक साथीहरूको दबाब हो। परमेश्वरले हामीलाई “प्रेम र सुकर्ममा उत्तेजित गराएर एउटाले अर्कोको विचार राख्न” आग्रह गर्नुभएको छ। (हिब्रू १०:२४, २५) त्यो अनमोल प्रोत्साहन हो किनभने वर्तमान संसारमा थुप्रै हानिकारक तथा नकारात्मक दबाबहरू व्याप्त छन्। यी दबाबहरूले गर्दा मसीहीहरू आध्यात्मिकतामा बलियो हुन कडा ‘प्रयत्न गर्नुपर्छ।’ (लूका १३:२४) तसर्थ, हामीलाई सँगी मसीहीहरूको मायालु सहयोग चाहिन्छ र हामी त्यसको मूल्यांकन गर्छौं। साथै, कसै कसैले सायद बिरामी वा असमर्थता, “शरीरमा एक किसिमको छेस्को” भोगिरहेका हुन्छन्। (२ कोरिन्थी १२:७) अरू भने खराब आनीबानी वा निराशा हटाउन जुटिरहेका हुन्छन् वा जीवन धान्न धौ-धौ परिरहेको हुनसक्छ। त्यसकारण, यहोवा परमेश्वरको नजिक हुनु र उहाँको सेवा गर्न चाहनेहरूसित संगत गर्नु बुद्धिमानी हुनेछ। त्यस्ता मित्रहरूले हामीलाई “अन्तसम्म स्थिर रहन” ठूलो टेवा पुऱ्याउँछ।—मत्ती २४:१३.
अतः सही मित्रहरू छानेर हामी साथीहरूको प्रभावलाई नियन्त्रणमा राख्नसक्छौं। साथै, मसीही सभाहरूमा प्रदान गरिने असल आध्यात्मिक आहार तथा व्यवहारिक डोऱ्याइले साथीभाइबाट पाउने व्यक्तिगत प्रोत्साहनलाई अझ मजबुत बनाउँछ।
निस्सन्देह, सभामा जानु सधैं सजिलो हुँदैन। कसै कसैले आफ्नो पति वा पत्नीबाट एकदमै कम वा पटक्कै सहयोग नपाउने हुन्छन्। अरू कतिपयले भने छोराछोरीलाई तयार पार्नुपर्ने हुन्छ भने कतिलाई यातायातको असुविधा होला। तर यसो विचार गर्नुहोस्: तपाईंले यी अवरोधहरूको सामने हार मान्नुभएन भने तपाईंको जस्तै परिस्थिति भोगिरहेका अरूले तपाईंको असल उदाहरणबाट प्रेरणा पाउनसक्छन्। अर्को शब्दमा भनौं भने, तपाईं, तपाईंजस्ता अरू व्यक्तिहरूका लागि असल उदाहरण मात्र होइन तर फाइदाजनक दबाब दिइरहनुभएको हुनेछ र त्यो पनि कुनै जबरजस्ती नगरेर।
भनौं भने, थुप्रै कठिनाइ र अवरोध खप्नु परेका प्रेरित पावलले मसीहीहरूलाई तिनको र अरू पाको मसीहीहरूको असल उदाहरण अनुकरण गर्न प्रोत्साहन दिए। तिनले भने: “ए भाइ हो, तिमीहरू मसँगसँगै मेरा देखासिकी गर्नेहरू होओ, र जसरी हामी तिमीहरूका नमूना भएका छौं त्यसरी हिंड़नेहरूलाई हेर।” (फिलिप्पी ३:१७; ४:९) थिस्सलोनिकीका प्रारम्भिक मसीहीहरूले पावलको असल उदाहरणलाई अनुकरण गरे। तिनीहरूबारे पावलले यसप्रकार लेखे: “पवित्र आत्माको आनन्दसाथ, ज्यादै कष्टमा वचन ग्रहण गरेर तिमीहरू हाम्रो र प्रभुको देखा-सिकि गर्ने भयौ। यहाँसम्म कि, म्यासिडोनिया र अखैयामा विश्वास गर्नेहरू सबैमा तिमीहरू एक नमूना भयौ।” (१ थिस्सलोनिकी १:६, ७) हाम्रो सकारात्मक मनोवृत्ति र नमुनाले हामीसित संगत गर्नेहरूलाई त्यस्तै प्रभाव पार्नसक्छ।
नकारात्मक प्रभावहरूबाट अलग बस्नुहोस्
हामी साथीहरूको हानिकारक दबाबबाट अलग रहन चाहन्छौं भने ‘शरीरअनुसार चल्नेहरूको’ प्रभावको प्रतिरोध गर्नुपर्छ। (रोमी ८:४, ५; १ यूहन्ना २:१५-१७) अन्यथा, साथीहरूको हानिकारक दबाबले हामीलाई यहोवा र उहाँको बुद्धिमान सल्लाहबाट अलग गर्नेछ। हितोपदेश १३:२० यसो भन्छ: “बुद्धिमानीहरूको संगत गर्नाले बुद्धिमान होइन्छ, मूर्खहरूसित लागे बरालिन्छ।” साथीहरूको हानिकारक दबाबको कारण बरालिएका व्यक्तिहरू तपाईंले पनि अवश्य देख्नुभएको होला। उदाहरणका लागि, कोही कोही मसीहीहरू आफ्ना साथीहरूको प्रभावमा भौतिकवाद, अनैतिकतामा फसेका वा मद्यपान र लागू पदार्थको दुर्व्यसनी भएका छन्।
हामीले आध्यात्मिक तवरमा कमजोर व्यक्तिहरूलाई आफ्नो घनिष्ठ मित्र बनायौं भने मण्डलीभित्रै पनि साथीहरूको हानिकारक दबाबको सिकार हुनसक्छौं। (१ कोरिन्थी १५:३३; २ थिस्सलोनिकी ३:१४) त्यस्ता व्यक्तिहरूलाई आध्यात्मिक कुराहरू छलफल गर्ने कुनै चासो हुँदैन; तिनीहरूले आध्यात्मिक विषयमा छलफल गर्नेहरूलाई गिज्याउने समेत गर्छन्। हामीले यस्ताहरूलाई आफ्नो घनिष्ठ मित्र बनायौं भने साथीहरूको दबाबले हामीलाई त्यतैतिर धकेल्न सक्छ र तिनीहरूको जस्तै सोचाइ अनि मनोवृत्ति राखेको पत्तै नहुनसक्छ। अनि त हामीले निष्कपट विश्वास राख्ने तथा आध्यात्मिक प्रगति गर्न खोज्नेहरूप्रति नकारात्मक दृष्टिकोण राख्न पनि बेर लाग्दैन।—१ तिमोथी ४:१५.
त्यसकारण, यहोवालाई खुसी तुल्याउन कोसिस गर्ने, आध्यात्मिक कुराहरूमा रमाउनेहरूसित मित्रता खेती गर्नु कत्ति बुद्धिमानी हो! त्यस्ता साथीहरूले हामीलाई ‘माथिबाट आउने ज्ञान’ झल्काउन मदत गर्नेछ। “पहिले ता त्यो पवित्र, त्यसपछि मिलापी, कोमल, मृदुभाव, दया र बढ़िया फलले भरिएको, . . . र कपटरहित हुन्छ।” (याकूब ३:१७) यसको मतलब, आध्यात्मिक झुकाउ भएका मानिसहरूले आध्यात्मिक कुराहरूबाहेक अरू विषयमा कुरा नै गर्दैनन् भनेको हो? त्यसो कहाँ हो र! वाच टावरका ब्यूँझनुहोस्! जस्ता प्रकाशनमा छलफल गरिने विविध रोचक लेखहरूलाई विचार गर्नुहोस् त। लाभदायक विषयहरूको कुनै अन्त छैन अनि विविध विषयहरूमा चासो लिएर हामी जीवन र यहोवाका कार्यहरूप्रति प्रेम झल्काउँछौं।
राम्रो टेनिस खेलाडी अरू राम्रा खेलाडीहरूसित खेलेर आफ्नो खेलमा अझ निपुण भएझैं सही साथीभाइले हाम्रो मानसिक, भावनात्मक तथा आध्यात्मिक अवस्थालाई उकास्छ। अर्कोतिर, गलत साथीभाइले हामीलाई दोहोरो जीवन बिताउने कपटी मार्गतिर लैजानसक्छ। त्यो भन्दा त आत्मसम्मान र सफा अन्तस्करण हुनु कत्ति बेस!
फाइदा उठाएकाहरू
बाइबलका सिद्धान्तहरू र यसका नैतिक तथा आध्यात्मिक आवश्यकताहरूबारे सिक्नु त्यति गाह्रो कुरा होइन भनी धेरै मानिसहरू बताउँछन्। तर, गाह्रो कुरा त त्यसलाई व्यवहारमा उतार्नु हो। निम्न उदाहरणहरूले देखाएअनुसार साथीहरूको स्वास्थ्यकर दबाबले हामीलाई तनमनले यहोवाको सेवा गर्न मदत दिनसक्छ।
आफ्नी पत्नीसित पूर्ण-समय सेवकाई गरिरहेका साक्षी आफ्ना लक्ष्यहरूमा साथीहरूले प्रभाव पारेको कुरा बताउँछन्। तिनी हुर्कंदै गर्दा हानिकारक प्रभावहरू भोग्नुपऱ्यो। तर तिनले सेवकाई र मसीही सभाहरूमा नियमित हुन प्रोत्साहन दिने साथीहरू रोजे। यी साथीहरूसित संगत गरिरहँदा आध्यात्मिक तवरमा परिपक्व हुने मदत पाए।
अर्को साक्षी यसप्रकार लेख्छन्: “विवाहपछि हामी सरेको मण्डलीमा हाम्रै उमेरका एक नियमित अग्रगामी दम्पती थिए। तिनीहरूको उदाहरणले गर्दा हामी पनि पूर्ण-समय सेवकाईमा लाग्यौं। त्यसपछि मण्डलीमा अग्रगामीको मनोभाव विकास गर्न हामीले पनि प्रयास गऱ्यौं। फलस्वरूप थुप्रैले अग्रगामी गरे।”
ईश्वरतान्त्रिक लक्ष्य भएकाहरूसित संगत गर्दा यहोवाको आज्ञा पालन गर्न त्यति गाह्रो पर्दैन। साथीहरूको स्वास्थ्यकर दबाबको अर्को फाइदा यो पनि हो। जवान छँदा पूर्ण-समय सेवकाईमा लागेर पछि परिभ्रमण निरीक्षक पनि भएका एक जना भाइ अहिले वाचटावर सोसाइटीको शाखा कार्यालयमा सेवारत छन्। तिनी लेख्छन्: “म सानो छँदा हाम्रो घरमा पूर्ण-समय सेवकहरू आउनुहुँदाको मीठो सम्झना अहिले पनि ताजै छ। पाहुनासित एक छाक भोजन बाँड्न हामी कहिल्यै पछि परेनौं। एक जना परिभ्रमण निरीक्षकले म दश वर्षको हुँदा प्रचारमा जान एउटा झोला दिनुभएको थियो। त्यो झोला अहिलेसम्मै जतन गरेर राखेको छु।”
किशोरावस्थाबारे सम्झँदै उक्त साक्षी यसो भन्छन्: “मण्डलीका थुप्रै जवानहरू मण्डलीको क्रियाकलापमा सामेल हुन चाहन्थे र तिनीहरूको उदाहरणले हामीलाई पनि त्यस्तै हुन उत्प्रेरित गऱ्यो।” एउटा सानो टुसो, बलियो अनि ठाडो रूख भएजस्तै असल मसीही बन्न राम्रा साथीहरूले यस जवान मानिसलाई मदत गऱ्यो। आमाबाबु हो, के तपाईंहरू आफ्ना छोराछोरीमाथि सकारात्मक, उत्थानदायी प्रभाव पार्ने व्यक्तिहरूलाई आफ्नो घरमा निम्त्याउनुहुन्छ?—मलाकी ३:१६.
निस्सन्देह, यहाँ उल्लेख गरिएका व्यक्तिहरूजस्तै हामी सबै पूर्ण-समय सेवकाईमा भाग लिन सक्दैनौं। तर हामी सबैले यहोवालाई “आफ्ना सारा हृदयले, र आफ्ना सारा प्राणले, र आफ्ना सारा समझले प्रेम” गर्न सिक्नसक्छौं। (मत्ती २२:३७) हामी कस्ता साथीहरू छान्छौं, त्यसले त्यस्तो प्रेम विकास गर्न र अनन्त जीवनको प्रत्याशा पाउन ठूलो भूमिका निर्वाह गर्छ।
जीवनमा साँचो सफलता हासिल गर्न भजनरचयिताले यस्तो सरल तथा प्रभावकारी सूत्र दिए: “त्यो मानिस धन्य हो, जो दुष्टहरूको युक्तिमा चल्दैन, नता पापीहरूको मार्गमा खड़ा हुन्छ, न गिल्ला गर्नेहरूको बैठकमा बस्तछ। तर परमप्रभुको व्यवस्थामानै त्यो प्रसन्न रहन्छ, र दिनरात उहाँकै व्यवस्थामा त्यसले ध्यान दिन्छ। खोलाको धारको छेउमा रोपेको बोटजस्तै त्यो हुन्छ, जसले आफ्नो ऋतुमा फल दिन्छ, जसको पात कहिल्यै ओइलाउँदैन, र त्यसले जे गर्छ, त्यसमा त्यो सफल हुन्छ।”—भजन १:१-३.
कस्तो अद्भुत ग्यारेन्टी! हामी असिद्ध छौं र गल्तीहरू गर्छौं। तर यहोवाको डोऱ्याइ स्वीकाऱ्यौं र ईश्वरप्रदत्त साथीहरूको दबाबको भण्डार अर्थात् “यस संसारमा भएका [हाम्रा] दाज्यूभाइहरूको” पूर्ण सदुपयोग गऱ्यौं भने हाम्रो जीवन सफल हुनेछ।—१ पत्रुस ५:९.
[पृष्ठ २४-मा भएको चित्र]
मण्डलीले प्रदान गर्ने साथीहरूको दबाब स्वास्थ्यकर हुन्छ
[पृष्ठ २५-मा भएको चित्र]
आमाबाबु हो, तपाईंका छोराछोरीलाई उत्थानदायी साथीहरूसित घुलमिल गर्न प्रोत्साहन दिनुहोस्