खुसीसाथ यहोवाको निर्देशन स्वीकार्ने
युलिसेज ग्लासको वृत्तान्तमा आधारित
यो कुनै साधारण अवसर थिएन। यस स्नातक कक्षामा जम्मा १२७ जना विद्यार्थीहरू मात्र थिए। तर उपस्थिति भने विभिन्न राष्ट्रबाट आएका १,२६,३८७ जना थिए। यो थियो, जुलाई १९, १९५३ का दिन वाचटावर बाइबल स्कूल अफ गिलियडको २१ औं कक्षाको स्नातक समारोह र स्थान थियो, न्यु योर्क शहरको यांकी स्टेडियम। यो मेरो जीवनमा एकदमै महत्त्वपूर्ण घटना हुनुको कारण के थियो? मेरो अलिकता पृष्ठभूमि सुन्नुहोस्।
मेरो जन्म फेब्रुअरी १७, १९१२ का दिन अर्थात् प्रकाश १२:१-५ मा वर्णन गरिएको मसीही राज्यको जन्मभन्दा लगभग दुई वर्षअघि सं.रा.अ.-को भिन्सेन्स्, इन्डियानामा भएको थियो। त्यसको एक वर्षअघि मेरा आमाबाबुले धर्मशास्त्रको अध्ययन खण्डहरू मार्फत बाइबल अध्ययन गर्न थालिसक्नुभएको थियो। हरेक आइतबार बिहान बुबाले उक्त खण्डहरूमध्ये एउटाबाट हामीलाई पढेर सुनाउनुहुन्थ्यो र हामी त्यसबारे छलफल गर्थ्यौं।
आमाले जे जति सिकिरहनुभएको थियो, त्यसैको आधारमा छोराछोरीको सोचाइ ढाल्न थाल्नुभयो। उहाँ असाध्यै दयालु, मदत गर्न तत्पर अनि सुशिल स्वभावको हुनुहुन्थ्यो। हामी चार छोराछोरी थियौं तर आमाले हामीलाई मात्र होइन छरछिमेकका केटाकेटीहरूलाई पनि माया गर्नुहुन्थ्यो। उहाँले हामीसित समय बिताउनुहुन्थ्यो। हामीलाई कथा सुनाउन र हामीसित गीत गाउन मन पराउनुहुन्थ्यो।
पूर्ण-समय सेवकाई गरिरहेका थुप्रै मानिसहरूलाई उहाँ हाम्रो घरमा निम्तो पनि दिनुहुन्थ्यो। उहाँहरू एक दुई दिन बसेर हाम्रो घरमा सभा सञ्चालन गर्ने र भाषण दिने गर्नुहुन्थ्यो। हामीलाई चित्रहरू देखाएको र कथा सुनाएको सबैभन्दा मनपर्थ्यो। एक चोटि १९१९ को कुरा हो, प्रथम विश्वयुद्ध अन्त भएको एक वर्षपछि हाम्रो घरमा आउनुभएका भाइले विशेष गरी हामी केटाकेटीबारे टिप्पणी गर्नुभयो। उहाँले समर्पणबारे कुरा गर्नुभयो र त्यसले हाम्रो जीवनमा कस्तो प्रभाव पार्छ भनी बुझ्ने मदत दिनुभयो। त्यो रात ओछ्यानमा ढल्कँदा मैले स्वर्गमा हुनुहुने पितालाई प्रार्थना गरेर सधैं उहाँको सेवा गर्ने इच्छा व्यक्त गरें।
तथापि, १९२२ तिर जीवनका अन्य फिक्रीहरूले गर्दा मैले त्यो संकल्पलाई त्यति प्राथमिकता दिन सकिनँ। हामी थुप्रै ठाउँमा बसाइँ सऱ्यौं र यहोवाका जनहरूसित कुनै सरसंगत भएन। बुबाको काम रेलमार्गमा भएकोले उहाँ प्रायजसो काममै व्यस्त हुनुहुन्थ्यो। त्यसैले हामीले नियमित तवरमा बाइबल अध्ययन गर्न सकेनौं। मैले पछि विज्ञापन जगत्मा पेशेवर चित्रकार हुने उद्देश्य राखेर स्कूलमा त्यससित सम्बन्धित विषयहरू लिएँ र एउटा विख्यात विश्वविद्यालयमा भर्ना हुने लक्ष्य राखें।
मेरो जीवनका लक्ष्यलाई छाँटकाँट गर्दै
सन् १९३० दशकको बीचतिर संसारै विश्वव्यापी युद्धको तयारीमा थियो। हामी क्लिभल्याण्ड, ओहायोमा छँदा एक जना यहोवाको साक्षी हाम्रो घरमा ढोका ढक्ढक्याउँदै आइपुगे। हामीले सानै छँदा सिकेका कुराहरूलाई गम्भीरतापूर्वक सोच्न थाल्यौं। मेरो रसल दाइ सबैभन्दा गम्भीर स्वभावका हुनुहुन्थ्यो र उहाँले नै हामीमध्ये सबैभन्दा पहिला बप्तिस्मा लिनुभयो। म अलि बेलगाम घोडाजस्तो थिएँ तर फेब्रुअरी ३, १९३६ का दिन मैले पनि बप्तिस्मा लिएँ। यहोवालाई समर्पण गर्नुको अर्थ के हो भनेर मैले अझ बढी मूल्यांकन गर्न थालेको थिएँ र यहोवाको निर्देशन स्वीकार्न पनि सिक्दैथें। त्यही साल, क्याथ्रिन दिदी र गट्रुड बहिनीले पनि बप्तिस्मा लिए। हामी सबैले अग्रगामीको हैसियतमा पूर्ण-समय सेवकाई गर्न थाल्यौं।
तर त्यसको मतलब हामीले अरू कुनै पनि कुराबारे विचारै गरेनौं भनेको होइन। मेरी भाउजूले एन नाउँकी एउटी राम्री केटीबारे बताउनुहुँदा मेरो कान ठाडो भयो। एनले सच्चाइबारे थाह पाउनेबित्तिकै खुशीले गद्गद भएर हाम्रो घरमा हुने सभाहरूमा आउनै लागेकी थिइन्। त्यतिबेला एन एउटा कानुनी कार्यालयमा सेक्रेटरी थिइन् र एक वर्षभित्र बप्तिस्मा लिइन्। मेरो विवाह गर्ने विचार थिएन तर एन शत प्रतिशत सत्यको पक्षमा थिइन्। उनी यहोवाको सेवामा पूर्णतया भाग लिन चाहन्थिन्। उनले कहिल्यै “मैले गर्नसक्छु होला र?” भन्ने प्रश्न गरिनन्। बरु यस्तो प्रश्न गर्थिन्, “यो गर्ने सबैभन्दा राम्रो तरिका कुन होला?” अनि उनी त्यो पूरा गरेरै छोड्न कटिबद्ध थिइन्। त्यस्तो सकारात्मक दृष्टिकोण मलाई मन पऱ्यो। साथै, उनी असाध्यै राम्री थिइन्, अहिले पनि राम्री नभएकी कहाँ हो र। उनी मेरी पत्नी र केही समयमै मेरो अग्रगामी साथी भइन्।
अग्रगामीहरूको हैसियतमा मूल्यवान् प्रशिक्षण
अग्रगामीको हैसियतमा हामीले कहिले कम त कहिले धेरै भौतिक प्रबन्ध हुँदा पनि सन्तुष्ट हुन सिक्यौं। (फिलिप्पी ४:११-१३) एक दिनको कुरा हो, साँझ पर्नै लागिसकेको थियो र हामीसित खानेकुरा केही थिएन। हामीसित पाँच सेन्ट मात्र थियो। हामी मासु पसलमा गएर सोध्यौं, “हामीलाई पाँच सेन्टको मासु दिन सक्नुहुन्छ?” पसलेले हामीलाई हेरेर चार टुक्रा मासु दिए। तर त्यो पाँच सेन्टभन्दा बढीकै थियो। हामीले त्यसबाट निकै तागत पायौं।
सेवकाईमा लाग्दा कठोर सतावट भोग्नु पनि कुनै अनौठो कुरा थिएन। न्यु योर्कको सिराक्युज नजिकैको शहरमा हामीले हातेपर्चाहरू वितरण गर्दैथियौं र विशेष सभाको लागि विज्ञापन पाटी पनि लगाएका थियौं। दुई जना ढड्डू मानिसहरूले मलाई च्याप्प समाएर जबरजस्ती गरे। एक जना प्रहरी थिए तर प्रहरीको पोसाक लगाएका थिएनन्। मैले तिनको ब्याज हेरूँ भन्दा टेर्दै टेरेनन्। त्यति नै बेला ब्रूक्लिन बेथेलका ग्रान्ट सुटर आइपुग्नुभयो र कुराको टुंगो लगाउन प्रहरी थाना जानेछौं भन्नुभयो। त्यसपछि उहाँले ब्रूक्लिनस्थित सोसाइटीको कार्यालयलाई फोन गर्नुभयो र परिणाम के हुनेछ हेर्न त्यही दिन विज्ञापन पाटी र हातेपर्चीसहित प्रचारमा जान हामी दुई श्रीमान् श्रीमतीलाई अह्राउनुभयो। के हुन्थ्यो र, हामी गिरफ्तार भयौं। तर, तिनीहरूले गैरकानुनी ढंगमा हामीलाई पक्रेको हुँदा तिनीहरूमाथि मुद्दा हाल्नेछौं भनेपछि हामीलाई जान दिए।
भोलिपल्ट एक बथान हुल्याहाहरू एक जना पादरीको उस्काइमा हाम्रो सम्मेलन भवनभित्र घुसे। प्रहरीहरूको नाकमुख देखिंदैनथ्यो। हुल्याहाहरूले काठको भुईंमा बेसबल ब्याट ठटाए, दर्शकहरू बसिरहेको ठाउँबाट कसै कसैलाई घचेटेर भुइँमा खसाले अनि मञ्चमा उभिएर अमेरिकी झण्डा समाउँदै “यसलाई सलाम गर्! यसलाई सलाम गर्!” भनी कराउन थाले। त्यसपछि तिनीहरूले “बियर बारल पोल्का” भन्ने गीत गाउन थाले। तिनीहरूले सभालाई तितर बितर पारिदिए। येशूले भन्नुभएको यो कुरा हामीले आफ्नै आँखाले देखिरहेका थियौं: “तिमीहरू यस संसारका होइनौ, मैले तिमीहरूलाई संसारबाट छानें, यसैकारण संसारले तिमीहरूलाई घृणा गर्दछ।”—यूहन्ना १५:१९.
भनौं भने, यो वाच टावर सोसाइटीको तत्कालीन अध्यक्ष जे. एफ. रदरफर्डले दिनुभएको जनभाषणको रूपान्तर थियो। एन र म त्यो शहरमा दुई चार दिन बस्यौं र त्यो भाषण घरैमा बसेर सुन्न चाहन्छन् कि भनेर मानिसहरूको घर-घरमा गयौं। कोही कोहीले सुने।
विदेशी सेवाको लागि स्वयंसेवा
समयको दौडान, सेवकाईका नयाँ पक्षहरू खुले। मेरो रसल दाइ र डोरोथी भाउजूले १९४३ मा सम्पन्न गिलियड स्कूलको पहिलो कक्षामा उपस्थित हुने निम्तो पाउनुभयो। त्यसपछि उहाँहरू क्युबा खटाइनुभयो। क्याथ्रिन दिदी चौथो कक्षामा हुनुहुन्थ्यो। उहाँ पनि क्युबा नै खटाइनुभयो। पछि उहाँ डोमिनिकन रिपब्लिक र पोर्टो रिकोमा खटाइनुभयो। एन र म नि?
गिलियड स्कूल र सोसाइटीले विदेशी भूमिमा मिसनरीहरू पठाउन चाहेको कुरा सुनेपछि हामी पनि विदेशी सेवामा जान उत्सुक भयौं। सुरुमा त हामी आफै मेक्सिकोतिर लाग्ने विचार गऱ्यौं। तर फेरि अलि पर्खेर हामी गिलियड स्कूलमा गइसकेपछि सोसाइटीले जहाँ पठाउँछ, त्यही जानु बेस हुनेछ भन्ने निधो गऱ्यौं। यो यहोवाले चलाउनुभएको एउटा प्रबन्ध हो भनेर हामीले बुझ्यौं।
हामीलाई गिलियडको चौथो कक्षाको लागि बोलाइयो। तर त्यो कक्षा सञ्चालन हुनुभन्दा केही समयअघि तत्कालीन अध्यक्ष एन. एच. नोरले एनको शारीरिक सीमिततालाई विचार गर्नुभयो किनभने उनलाई बाल्यावस्थामा पोलियो भएको थियो। उहाँले यसबारे मसित कुरा गर्नुभयो र हामीलाई अर्को देशमा सेवा गर्न पठाउनु बुद्धिमानी हुनेछैन भन्ने विचार गर्नुभयो।
त्यसको दुई वर्षपछि म अधिवेशन्को लागि पूर्वतयारी गर्न व्यस्त भएको बेला भाइ नोरले मलाई फेरि बोलाउनुभयो र हामीलाई अझै पनि गिलियड जाने इच्छा छ कि सोध्नुभयो। उहाँले अब विदेशी सेवामा होइन तर हाम्रो लागि अर्कै काम छ भन्नुभयो। अतः फेब्रुअरी २६, १९४७ का दिन नवौं कक्षामा दर्ता हुँदा हामी पनि विद्यार्थीहरूको समूहमा सामेल भयौं।
गिलियडका ती दिनहरू दिमागमा सधैं ताजा रहिरहनेछन्। आध्यात्मिक तवरमा तन्दुरुस्त राख्ने पाठहरू छलफल गरिन्थे। आजीवन मित्रताहरू गाँस्न सक्यौं। तर गिलियड स्कूलसित मेरो सम्बन्ध त्यति मै सीमित रहेन।
कहिले वाशिङ्टन त कहिले गिलियड
गिलियड स्कूल सुरु भएको धेरै भएको थिएन। संयुक्त राज्य अमेरिकाको सरकारलाई यो स्कूलका उद्देश्यहरूबारे राम्ररी थाह थिएन। त्यसैले थुप्रै प्रश्नहरू गरियो। सोसाइटीले वाशिङ्टन डि.सि. मा पनि एक जना प्रतिनिधि राख्ने विचार गऱ्यो। गिलियडबाट स्नातक भएको केही महिनापछि हामीलाई त्यहाँ खटाइयो। गिलियड स्कूलमा उपस्थित हुन अरू देशबाट आएकाहरूलाई प्रवेशाज्ञा लिन सहयोग गर्नु तथा मिसनरी कार्यको लागि विदेशमा पठाइनेहरूका लागि कानुनी कागजातहरू ल्याइदिन मदत गर्नुपर्थ्यो। कोही कोही अधिकृतहरू एकदमै खुला विचारका र मदतकारी थिए। अरू कतिपयले भने साक्षीहरूप्रति कटु भाव राख्थे। बलियो राजनैतिक धारणा भएका कसै कसैले हाम्रो अराजक तत्त्वहरूसित सम्बन्ध होला भन्ने गलत अनुमान लगाए।
एउटा कार्यालयका मानिसले हामी झण्डा सलाम नगर्ने वा युद्धमा भाग नलिनेहरू भएकोले कडा आलोचना गरे। तिनी केही समयसम्म भट्भटाएपछि मैले भनें: “म तपाईंलाई के भन्न चाहन्छु भने, र त्यो तपाईंलाई पनि राम्ररी थाह होला कि यहोवाका साक्षीहरू संसारका कसैसित पनि युद्धमा मुछिएका छैनन्। हामी संसारका मामिलाहरूमा मुछिएका छैनौं। हामी संसारको युद्ध र राजनीतिमा भाग लिंदैनौं। हामी निष्पक्ष छौं। तपाईंले भोगिरहनुभएका समस्याहरूमाथि हामीले विजय हासिल गरिसक्यौं; हाम्रो संगठनमा एकता छ। . . . अब, तपाईं नै भन्नुस हामी के गरौं? के हामीले जुन कुरा त्यागिसकेका छौं, त्यही गर्न थालौं?” त्यसपछि तिनी चुप भए।
मैले हप्ताको दुई दिन सरकारी कार्यालयमा कामको लागि छुट्याएको थिएँ। त्यसको साथै, हामी विशेष अग्रगामीको हैसियतमा सेवारत थियौं। त्यतिबेला सेवकाईमा हरेक महिना १७५ घण्टा बुझाउनुपर्थ्यो (पछि त्यो १४० घण्टा गरियो)। त्यसकारण, हामी राति अबेलासम्म सेवकाईमै हुन्थ्यौं। निकै रमाइलो हुन्थ्यो। थुप्रै परिवारहरूसित बाइबल अध्ययन सञ्चालन गऱ्यौं। तिनीहरूले राम्रो प्रगति गरे। एन र मैले छोराछोरी नजन्माउने निधो गरिसकेका थियौं। तर आध्यात्मिक अर्थमा कुरा गर्ने हो भने, हाम्रा छोराछोरी मात्र कहाँ हो र, नाति, पनाति भइसके। यो हाम्रो लागि साह्रै आनन्दको कुरा हो!
सन् १९४८ को अन्ततिर मैले अर्को एउटा काम पाएँ। गिलियड स्कूलका रजिस्ट्रार तथा प्रशिक्षक, भाइ श्रोडर अरू महत्त्वपूर्ण काममा व्यस्त हुनुहुने हुँदा भाइ नोरले मलाई खाँचो परेको बेला गिलियडमा सिकाउन अह्राउनुभयो। मनमा डर लिई लिई एन र म डिसेम्बर १८ का दिन न्यु योर्क, साउथ लान्सिङस्थित गिलियड फर्क्यौं। सुरुमा त हामी केही हप्ताको लागि गिलियडमा बसेर फेरि वाशिङ्टन फर्कन्थ्यौं। तर पछि वाशिङ्टनभन्दा बढी समय गिलियडमा बिताउन थाल्यौं।
मैले सुरुमा उल्लेख गरेको घटना यसै बेलातिरको कुरा हो। न्यु योर्कको यांकी स्टेडियममा गिलियडको २१ औं कक्षा स्नातक भयो। अतः प्रशिक्षकको हैसियतमा मैले स्नातक समारोहमा भाग लिने सुअवसर पाएँ।
मुख्य कार्यालयमा सेवा
फेब्रुअरी १२, १९५५ का दिन हामीले फेरि अर्को कार्यभार पायौं। हामी यहोवाको दृश्य संगठनको मुख्य कार्यालय बेथेल परिवारका सदस्य भयौं। यहाँ हाम्रो काम के हुनेथियो? मुख्यतया, हामीलाई अह्राइएको जुनसुकै काम गर्न इच्छुक हुनु, अरूसित मिलेर कामकुरा गर्नु। यसो त हामीले पहिला पनि गरेका थियौं तर अब हामी बेथेल परिवारको मुख्यालयको ठूलो समूहको भाग हुने भयौं। यो नयाँ कार्यभार पनि यहोवाकै निर्देशन सम्झी स्वीकार्यौं।
मेरो काम मुख्यतया सञ्चारमाध्यमसित सम्बन्धित थियो। सनसनीपूर्ण कथा र पूर्वाग्रह राख्ने स्रोतहरूबाट समाचार पाउने इच्छाले गर्दा सञ्चारमाध्यमले यहोवाका साक्षीहरूबारे एकदमै नराम्रो कुरा लेखेका थिए। हामीले त्यो अवस्थालाई केही सुधार्ने प्रयास गऱ्यौं।
भाइ नोर हामी सबैसित प्रशस्त काम होस् भन्ने चाहनुहुन्थ्यो। त्यसकारण अरू कामहरू पनि थिए। कुनै कुनै काममा त मैले सिकेको चित्रकारिता उपयोगी भयो। अरू काम भने सोसाइटीको रेडियो स्टेशन, डब्ल्यु बि बि आर-मा थियो। सोसाइटीले बनाएका चलचित्रहरूसित सम्बन्धित काम पनि थियो। गिलियड पाठ्यक्रमको एउटा भाग, ईश्वरतान्त्रिक इतिहासबारे थियो तर वर्तमान समयको ईश्वरतान्त्रिक संगठनबारे यहोवाका जनहरू र जनसाधारणलाई पनि परिचित गराउन अरू थुप्रै कामहरू थालियो। गिलियड प्रशिक्षणको अर्को पक्ष, जन भाषणसित सम्बन्धित थियो। त्यसकारण मण्डलीका भाइहरूको लागि जन वक्ता हुने सहायक सामग्रीहरू तयार गर्नु पर्नेथियो। कामको कुनै अभाव थिएन।
नियमित तवरमा गिलियड
सन् १९६१ मा परिभ्रमण अध्यक्ष तथा शाखा कार्यालयका कर्मचारीहरूको प्रशिक्षणलाई विचार गरेर गिलियडलाई वाच टावर सोसाइटीका मुख्य कार्यालयहरू भएको ठाउँ, ब्रूक्लिनमा सारियो। फेरि एक चोटि मेरो काम कक्षाकोठामा भयो। तर यस पालि सहायक प्रशिक्षकको रूपमा नभई उक्त निकायको स्थायी सदस्यको रूपमा। कस्तो सुअवसर! गिलियड स्कूल यहोवाले दिनुभएको वरदान हो भन्ने कुरामा मेरो दृढ विश्वास छ। यो वरदानले सम्पूर्ण दृश्य संगठनलाई निकै फाइदा पुऱ्याएको छ।
ब्रूक्लिनमा गिलियड कक्षाहरू सञ्चालन हुँदा यी विद्यार्थीहरूले थुप्रै मौकाहरू पाए, जुन यसअघिका विद्यार्थीहरूले पाएका थिएनन्। अतिथि वक्ताहरूको संख्या बढ्यो अनि परिचालक निकाय र मुख्य कार्यालयको बेथल परिवारका सदस्यहरूसित बढी घुलमिल गर्ने मौका पाएँ। विद्यार्थीहरूले कार्यालय कार्य, बेथेल गृहको सञ्चालन तथा कारखानाका विभिन्न कामहरूमा प्रशिक्षण पाए।
वर्षौंको दौडान, विद्यार्थीहरू र प्रशिक्षकहरूको संख्या सँधै एउटै रहेन। स्कूलको ठेगाना पनि धेरै चोटि हेरफेर भइरह्यो। अहिले यो न्यु योर्कस्थित पाटर्सनको रमणीय वातावरणमा छ।
विद्यार्थीहरूसित काम गर्दा
यी कक्षाहरूमा पढाउन पाउनु मेरो लागि ठूलो आनन्दको कुरा भएको छ! यहाँ आउने युवाहरू यस पुरानो रीतिरिवाजमा केही गर्न चाहँदैनन्। तिनीहरूले आफ्नो परिवार, साथीभाइ, घर र आफ्नो भाषालाई छोडेर नयाँ ठाउँमा आउँछन्। नयाँ ठाउँमा हावापानी, खानेकुरा, सब थोक फरक हुन्छ। आफू कुन ठाउँमा खटाइने हो, त्यो पनि तिनीहरूलाई थाह छैन। तर तिनीहरूको लक्ष्य मिसनरीहरू हुनु हो। त्यस्ता मानिसहरूलाई थप उत्प्रेरणाको खाँचो छैन।
कक्षाकोठामा प्रवेश गर्दा मेरो लक्ष्य सधैं नै विद्यार्थीहरूलाई ढुक्क अनि रमाइलो महसुस गराउनु हुन्थ्यो। तनाउग्रस्त र चिन्तित अवस्थामा मान्छेले सिक्न सक्दैन। हुन त हो, मलाई प्रशिक्षक हुँदाको अनुभव छ तर विद्यार्थीलाई कस्तो हुन्छ भनेर मैले भोगिसकें। म पनि त विद्यार्थीको त्यो बेन्चमा बसेको थिएँ। हो, तिनीहरूले कडा मेहनत गरेर गिलियडमा धेरै कुरा सिक्थे तर रमाइलो अनुभव पनि होस् भन्ने चाहन्थें।
तिनीहरूलाई खटाइने ठाउँमा सफलता हासिल गर्न चाहिने केही कुराहरूबारे मलाई थाह थियो। तिनीहरूसित बलियो विश्वास हुनुपर्छ। अति नम्र हुनुपर्छ। अरू मानिसहरूसित मिलेर बस्न, परिस्थितिअनुरुप चल्न, मनमा बदला लिने भाव नराखी क्षमा गर्न सिक्नुपर्छ। आत्माको फल खेती गरिरहनुपर्छ। मानिसहरूलाई प्रेम गर्न अनि आफूलाई खटाइएको कामप्रतिको प्रेम सेलाउन दिनु हुँदैन। गिलियडमा छँदा मैले विद्यार्थीहरूलाई यी कुराहरूमा नै सधैं जोड दिन्थें।
मैले अहिलेसम्म कति जना विद्यार्थीहरूलाई पढाइसकें, त्यो त याद छैन। तर तिनीहरू आफ्नै परिवारजस्तो लाग्थ्यो। कक्षाकोठामा तिनीहरूसित पाँच महिना बिताइसकेपछि म तिनीहरूसित एकदमै नजिक हुन्थें। अनि स्नातक समारोहका दिन तिनीहरू मञ्चमा उभिएर स्नातक पत्र लिन जाँदा भने तिनीहरूले सफलतापूर्वक पाठ्यक्रम पूरा गरेको र अब तिनीहरूसित बिदावारी गर्नुपर्नेछ भन्ने भावना मनमा आउँथ्यो। आफ्नो परिवार नै आफूबाट टाढा गएजस्तो लाग्थ्यो। आफ्नो जीवन अरूको लागि समर्पण गर्न तत्पर र यस्तो काम गर्न अग्रसर मानिसहरूलाई माया नगर्ने को होला र?
वर्षौंपछि तिनीहरू भेट्न आउँदा सेवकाईमा पाएको आनन्दबारे सुनाउँछन् अनि तिनीहरूलाई जुन कामको लागि प्रशिक्षण दिइएको थियो, त्यसमा अझै लागिरहेका रहेछन् भनेर थाह पाउँछु। यतिबेला मलाई असाध्यै राम्रो लाग्छ।
भविष्यतिर हेर्दै
मेरा आँखाहरू अहिले धमिला भएका छन् र यसले गर्दा असाध्यै निराश लाग्छ। अब म गिलियडमा पढाउन सक्दिनँ। सुरुमा त त्यो वास्तविकता स्वीकार्न गाह्रो भयो तर जिन्दगीभर मैले परिस्थितिअनुसार काँटछाँट गरेर त्यसको सामना गर्न सिकेको छु। म प्रायजसो प्रेरित पावल र तिनको “शरीरमा एक किसिमको छेस्को” सम्झन्छु। पावलले त्यो दुःखबाट मुक्ति पाऊँ भनेर तीन चोटि प्रार्थना गरे तर प्रभुले तिनलाई यसो भन्नुभयो: “मेरो अनुग्रह तिम्रो निम्ति प्रशस्त छ, किनभने मेरो शक्ति दुर्बलतामा सिद्ध हुन्छ।” (२ कोरिन्थी १२:७-१०) पावलले जिन्दगीभर त्यो कष्ट सहनुपऱ्यो। तिनले त गर्न सके भने मैले पनि कोसिस गर्नुपर्छ। म अहिले कक्षाहरू सञ्चालन गर्दिनँ तर दिनदिनै विद्यार्थीहरू आवतजावत गरेको देख्न पाएकोमा कृतज्ञ छु। कहिलेकाहीं म तिनीहरूसित कुरा गर्ने मौका पाउँछु र तिनीहरूको असल मनोभाव देख्दा मेरो हृदय खुसीले गद्गद हुन्छ।
भविष्यबारे सोच्नु आनन्दमय कुरा हो। अहिले नै त्यसको जग बसालिंदैछ। गिलियडले त्यसको लागि महत्त्वपूर्ण भूमिका खेलेको छ। महासंकष्टपछि जब प्रकाश २०:१२ मा उल्लिखित पुस्तकहरू खोलिन्छन्, तब थप हजार वर्षको लागि यहोवाका मार्गहरूबारे व्यापक शिक्षा दिइनेछ। (यशैया ११:९) त्यति मात्र होइन। त्यो त सुरुआत मात्र हो। यहोवाबारे सिक्ने र उहाँका उद्देश्यहरू पूरा हुँदै जाँदा अनन्तसम्म थुप्रै कुराहरू सिक्नेछौं। यहोवाले गर्नुभएका सबै महान् प्रतिज्ञाहरू पूरा हुनेछन् भनेर मलाई पूरा विश्वास छ र त्यतिबेला यहोवाले दिनुहुने निर्देशनहरू स्वीकार्न म त्यहाँ उपस्थित हुन चाहन्छु।
[पृष्ठ २६-मा भएको चित्र]
न्यु योर्क यांकी स्टेडियममा १९५३ मा गिलियड स्नातक समारोह
[पृष्ठ २६-मा भएको चित्र]
गट्रुड, म, क्याथ्रिन र रसल
[पृष्ठ २६-मा भएको चित्र]
अधिवेशन आयोजनामा एन. एच. नोर (सबैभन्दा बायाँ) र एम. जि. हेन्शलसित काम गर्दै
[पृष्ठ २६-मा भएको चित्र]
डब्ल्यु बि बि आर रेडियो स्टेशनमा
[पृष्ठ २९-मा भएको चित्र]
गिलियड कक्षाकोठामा
[पृष्ठ ३१-मा भएको चित्र]
एनसित हालैको तस्वीर