अध्ययन लेख ७
बाइबल पढाइबाट अझ धेरै लाभ उठाउनुहोस्
“व्यवस्थामा के लेखिएको छ? तिमीले के पढेका छौ?”—लुका १०:२६.
गीत ९७ यहोवाको वचन—हाम्रो जीवन
परिचयa
१. येसु धर्मशास्त्रको मोल गर्नुहुन्थ्यो भनेर केले देखाउँछ?
येसुको शिक्षा सुन्न पाउँदा मानिसहरू कस्तो महसुस गर्थे होलान्, कल्पना गर्नुहोस्। उहाँ अक्सर पवित्र धर्मशास्त्रबाट उद्धरण गर्नुहुन्थ्यो, त्यो पनि धर्मशास्त्र नखोलीकनै। वास्तवमा भन्ने हो भने उहाँले आफ्नो बप्तिस्मापछि भन्नुभएको पहिलो कुरा र आफ्नो मृत्युअघि भन्नुभएका केही कुरा धर्मशास्त्रबाटै उद्धरण गर्नुभएको थियो।b (व्यव. ८:३; भज. ३१:५; लुका ४:४; २३:४६) साढे तीन वर्ष लामो सेवाको दौडान उहाँले मानिसहरूसामु धर्मशास्त्र पढ्नुभयो, उद्धरण गर्नुभयो र त्यसको व्याख्या गर्नुभयो।—मत्ति ५:१७, १८, २१, २२, २७, २८; लुका ४:१६-२०.
२. हुर्कँदै जाँदा धर्मशास्त्र राम्ररी बुझ्न येसुलाई केले मदत गऱ्यो? (आवरण चित्र हेर्नुहोस्।)
२ येसु बाल्यकालदेखि नै परमेश्वरको वचन पढ्ने र सुन्ने गर्नुहुन्थ्यो। परिवारमा कुराकानीको दौडान मरियम र युसुफले धर्मशास्त्रबाट उद्धरण गरेको उहाँले पक्कै सुन्नुभएको हुनुपर्छ।c (व्यव. ६:६, ७) उहाँ आफ्नो परिवारसँग प्रत्येक विश्रामदिनमा सभाघर जानुहुन्थ्यो। (लुका ४:१६) त्यहाँ धर्मशास्त्र पढिँदा उहाँ पक्कै ध्यान दिएर सुन्नुहुन्थ्यो। पछि उहाँ आफैले पवित्र लेखोटहरूबाट अझ धेरै लाभ उठाउन सक्ने गरी पढ्न सिक्नुभयो। यसले गर्दा उहाँले धर्मशास्त्रमा लेखिएका कुराहरू राम्ररी बुझ्नुभयो। साथै धर्मशास्त्रका कुराहरूलाई प्रेम गर्न र आफ्नो जीवनमा लागू गर्न पनि सिक्नुभयो। उदाहरणको लागि, उहाँ १२ वर्षको मात्र हुँदा मन्दिरमा भएको एउटा घटना विचार गरौँ। मोसाको व्यवस्थामा पोख्त धर्मगुरुहरू “[येसुको] जवाफ अनि समझशक्ति देखेर छक्क परिरहेका थिए।”—लुका २:४६, ४७, ५२.
३. हामी यस लेखमा के छलफल गर्नेछौँ?
३ हामीले पनि दिनहुँ धर्मशास्त्र पढ्दा त्यसमा लेखिएका कुराहरू बुझ्न र त्यसलाई प्रेम गर्न सक्नेछौँ। तर पढेको कुराबाट पूरापूर लाभ उठाउन हामी के गर्न सक्छौँ? येसुले शास्त्री, फरिसी र सदुकीहरूलगायत व्यवस्थासित परिचित अरू मानिसहरूलाई भन्नुभएको कुराबाट हामी केही पाठ सिक्न सक्छौँ। ती धर्मगुरुहरूले धर्मशास्त्र पढ्न त पढ्थे तर पढेको कुराबाट लाभ उठाउन भने सकेनन्। धर्मशास्त्रबाट पूरापूर लाभ उठाउन तिनीहरूले गर्नुपर्ने तीन वटा कुराबारे येसुले जोड दिनुभयो। उहाँले भन्नुभएका कुराहरूले हामीलाई निम्न क्षेत्रमा अझै उन्नति गर्न मदत गर्नेछ: (१) पढेको कुरा बुझ्न, (२) आध्यात्मिक धन भेट्टाउन र (३) परमेश्वरको वचनले दिने आकारमा ढालिन।
बुझ्ने गरी पढ्नुहोस्
४. लुका १०:२५-२९ बाट बाइबल पढ्नेबारे के सिक्न सक्छौँ?
४ हामीले बाइबल पढ्दा त्यसको अर्थ राम्ररी बुझ्ने कोसिस गर्नुपर्छ। नत्र त्यसबाट पूरापूर लाभ उठाउन सक्दैनौँ। येसुले “व्यवस्थामा पोख्त एक जना मानिस”-सित गर्नुभएको कुराकानी विचार गरौँ। (लुका १०:२५-२९ पढ्नुहोस्।) उसले अनन्त जीवन पाउन के गर्नुपर्छ भनेर सोध्दा येसुले उसको ध्यान परमेश्वरको वचनतर्फ खिच्दै यस्तो प्रश्न सोध्नुभयो: “व्यवस्थामा के लेखिएको छ? तिमीले के पढेका छौ?” उसले परमेश्वर र छिमेकीलाई प्रेम गर्नेबारे धर्मशास्त्रबाट उद्धरण गर्दै सही जवाफ त दियो। (लेवी १९:१८; व्यव. ६:५) तर त्यसपछि उसले के भन्यो, याद गर्नुहोस्: “वास्तवमा मेरो छिमेकी को हो?” यसबाट उसले पढेको कुराको वास्तविक अर्थ बुझेको थिएन भन्ने देखियो। त्यसले गर्दा धर्मशास्त्रमा लेखिएको कुरा जीवनमा कसरी लागू गर्ने भनेर उसले बुझ्न सकेन।
बाइबल पढ्ने तरिकामा उन्नति गर्दा पढेको कुरा अझ राम्ररी बुझ्न सक्छौँ
५. प्रार्थना गर्दा र बिस्तारै पढ्दा पढेको कुरा कसरी अझ राम्ररी बुझ्न सकिन्छ?
५ बाइबल पढ्ने राम्रो बानी बसालेर हामी परमेश्वरको वचन अझ राम्ररी बुझ्न सक्छौँ। हामी कसरी यसो गर्न सक्छौँ, केही सुझाव विचार गरौँ। बाइबल पढ्नुअघि प्रार्थना गर्नुहोस्। धर्मशास्त्र राम्रोसँग बुझ्न हामीलाई यहोवाको मदत चाहिन्छ। त्यसैले पढेको कुरामा ध्यान दिन उहाँसित पवित्र शक्ति माग्न सक्छौँ। त्यसपछि बिस्तारै पढ्नुहोस्। यसो गर्दा तपाईँले पढेको कुरा राम्रोसँग बुझ्न सक्नुहुन्छ। बाइबल पढ्दा आवाज निकालेर पढ्नुहोस् वा बाइबलको अडियो रेकर्डिङ तपाईँको भाषामा उपलब्ध छ भने त्यसलाई पछ्याउँदै पढ्नुहोस्। यसरी पढ्दा तपाईँको आँखा र कान दुवै सक्रिय हुन्छ अनि बाइबलको कुरा अझ राम्ररी बुझ्न, सम्झन र सिक्न सक्नुहुन्छ। (यहो. १:८) पढिसकेपछि फेरि प्रार्थना गरेर यहोवालाई उपहारस्वरूप उहाँको वचन दिनुभएकोमा धन्यवाद दिनुहोस् र पढेको कुरा लागू गर्न सकूँ भनेर मदत पनि माग्नुहोस्।
६. आफैलाई प्रश्नहरू सोध्दा र छोटो नोट लिँदा कस्तो फाइदा हुन्छ? (तस्बिर पनि हेर्नुहोस्।)
६ बाइबलको कुरा अझ राम्ररी बुझ्न थप दुइटा सुझाव विचार गरौँ। पढ्दै गर्दा आफैलाई केही प्रश्न सोध्नुहोस्। जस्तै: ‘यसका मुख्य पात्र को-को हुन्? कसले बोलिरहेको छ? तिनी कोसँग बोल्दै छन् र किन? यो घटना कहाँ र कहिले भएको थियो?’ यस्ता प्रश्नहरूले पढिरहेको अंशबारे सोच्न र त्यसको मूल भाव बुझ्न मदत गर्छ। साथै पढ्दै गर्दा छोटो नोट लिनुहोस्। यसरी लेख्दा आफूले सोचिरहेको कुरालाई शब्दमा व्यक्त गरिरहनुभएको हुनेछ र ती कुराहरू अझ राम्ररी बुझ्न सक्नुहुनेछ। साथै पढेको कुरा सम्झन पनि सजिलो हुनेछ। तपाईँले मनमा उठेका प्रश्नहरू, अनुसन्धानबाट थाह पाएका कुराहरू, पढेको कुराको मुख्य बुँदाहरू र लागू गर्ने तरिका लेख्न सक्नुहुन्छ अथवा पढ्दा आफूले महसुस गरेको कुरा मात्र लेख्न पनि सक्नुहुन्छ। यसरी नोट लिँदा बाइबल यहोवाले तपाईँको लागि पठाउनुभएको सन्देश हो भनेर महसुस गर्न सक्नुहुनेछ।
७. पढेको कुरा बुझ्न हामीमा कुन गुण हुनुपर्छ र किन? (मत्ति २४:१५)
७ बाइबलको कुरा बुझ्न हामीमा एउटा महत्त्वपूर्ण गुण हुनुपर्छ भनेर येसुले बताउनुभयो। त्यो हो, समझ। (मत्ति २४:१५ पढ्नुहोस्।) समझ भनेको के हो? समझ भनेको कुनै दुई कुराबीचको सम्बन्ध बुझ्न सक्ने, भिन्नता छुट्ट्याउन सक्ने र शब्दहरूको पछाडि लुकेको अर्थ बुझ्न सक्ने क्षमता हो। बाइबलका भविष्यवाणीहरू कसरी पूरा भए भनेर बुझ्न पनि समझ चाहिन्छ भनेर येसुले सङ्केत गर्नुभयो। बाइबलमा पढेका सम्पूर्ण कुराबाट पूरापूर लाभ उठाउन पनि हामीमा यही गुण हुनुपर्छ।
८. बाइबल पढ्दा कसरी समझ चलाउन सक्छौँ?
८ यहोवा आफ्ना सेवकहरूलाई समझ दिनुहुन्छ। त्यसैले उहाँलाई प्रार्थना गर्नुहोस् र यो गुण विकास गर्न मदत माग्नुहोस्। (हितो. २:६) तपाईँ आफ्नो प्रार्थनाअनुसार कसरी काम गर्न सक्नुहुन्छ? पढेका कुराहरूको विश्लेषण गर्नुहोस् र भर्खरै पढेको कुरा आफूलाई पहिल्यै थाह भएको कुरासित कसरी सम्बन्धित छ भनेर याद गर्नुहोस्। यसको लागि तपाईँ हाम्रा बाइबल अध्ययन साम्रगीहरूमा अनुसन्धान गर्न सक्नुहुन्छ। जस्तै: यहोवाका साक्षीहरूको लागि अनुसन्धान सहयोगी। यस्ता सामग्रीहरूले तपाईँलाई बाइबल विवरणहरूको अर्थ बुझ्न र त्यसलाई लागू गर्ने तरिकाहरू थाह पाउन मदत गर्छ। (हिब्रू ५:१४) यसरी समझ चलाउँदै पढ्नुभयो भने तपाईँले धर्मशास्त्रलाई अझ राम्रोसँग बुझ्न सक्नुहुनेछ।
आध्यात्मिक धन भेट्टाउने लक्ष्यसहित पढ्नुहोस्
९. सदुकीहरूले कुन महत्त्वपूर्ण सत्य बुझ्न सकेनन्?
९ सदुकीहरूलाई हिब्रू धर्मशास्त्रको पहिलो पाँच वटा किताबको राम्रो ज्ञान थियो तर तिनीहरूले ती किताबहरूमा पाइने महत्त्वपूर्ण सत्यहरू बुझ्न सकेनन्। जस्तै, सदुकीहरूले येसुलाई मरेकाहरू फेरि जीवित हुनेबारे सोध्दा उहाँले कस्तो जवाफ दिनुभयो, विचार गरौँ। उहाँले यसो भन्नुभयो: “के तिमीहरूले झाडीसम्बन्धी मोसाको विवरण पढेका छैनौ? परमेश्वरले तिनलाई यसो भन्नुभएको थियो: ‘म अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकुबका परमेश्वर हुँ।’” (मर्कु. १२:१८, २६) हुनत ती सदुकीहरूले यो विवरण थुप्रै चोटि पढेको हुनुपर्छ तर येसुको प्रश्नबाट तिनीहरूले एउटा महत्त्वपूर्ण धर्मशास्त्रीय सत्य नबुझेको स्पष्ट हुन्छ। त्यो हो, पुनर्जीवनको शिक्षा।—मर्कु. १२:२७; लुका २०:३८.d
१०. बाइबल पढ्दा कस्तो कुरामा ध्यान दिनुपर्छ?
१० यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? कुनै बाइबल पद वा विवरण पढ्दा त्यसबाट के-कस्तो कुरा सिक्न सक्छौँ भनेर हामीले ध्यान दिनुपर्छ। हामी आधारभूत शिक्षाहरूमा मात्र चित्त बुझाएर बस्न चाहँदैनौँ बरु लुकेर बसेका गहिरा सत्य र सिद्धान्तहरू खोज्न चाहन्छौँ।
११. दोस्रो तिमोथि ३:१६, १७ विचार गर्दै बाइबल पढ्दा तपाईँ कसरी आध्यात्मिक धन भेट्टाउन सक्नुहुन्छ?
११ बाइबल पढ्दा तपाईँ कसरी आध्यात्मिक धन भेट्टाउन सक्नुहुन्छ? दोस्रो तिमोथि ३:१६, १७ मा के भनिएको छ, विचार गरौँ। (पढ्नुहोस्।) याद गर्नुहोस्, “धर्मशास्त्रमा भएका सबै कुरा” (१) सिकाउन, (२) सुधार्न, (३) सच्याउन र (४) अनुशासन दिनका लागि उपयोगी छ। धेरै प्रयोग नगरिने बाइबलका किताबहरूबाट पनि तपाईँले यी चार वटा लाभ उठाउन सक्नुहुन्छ। कुनै बाइबल विवरण पढ्दा त्यसले तपाईँलाई यहोवा, उहाँको उद्देश्य र सिद्धान्तबारे कस्तो कुरा सिकाउँछ भनेर विश्लेषण गर्नुहोस्। यो सुधार्न कसरी मदतकारी छ, विचार गर्नुहोस्। यसको लागि ती पदहरूले आफूमा खराब झुकाव वा मनोवृत्ति भएको पत्ता लगाउन र यसलाई तिरस्कार गर्न अनि वफादार रहिरहन कसरी मदत गर्छ, विचार गर्नुहोस्। यी पदहरू अरूलाई सच्याउन कसरी प्रयोग गर्न सकिन्छ भनेर केलाउनुहोस्। जस्तै, साक्षीकार्यमा कसैले गलत धारणा व्यक्त गर्दा। अनि ती पदहरूबाट कस्तो अनुशासन पाउन सक्नुहुन्छ भनेर पनि विचार गर्नुहोस्। यसले तपाईँलाई यहोवाको जस्तै सोचाइ राख्न मदत गर्नेछ। यी चार वटा लाभ मनमा राख्नुभयो भने तपाईँले आध्यात्मिक धन भेट्टाउन र बाइबल पढाइबाट अझ धेरै लाभ उठाउन सक्नुहुनेछ।
परमेश्वरको वचनले तपाईँलाई आकार देओस्
१२. येसुले फरिसीहरूलाई “के तिमीहरूले व्यवस्थामा पढेका छैनौ” भनेर किन सोध्नुभयो?
१२ फरिसीहरूले धर्मशास्त्रप्रति गलत धारणा राखेका छन् भनेर देखाउन पनि येसुले “के तिमीहरूले व्यवस्थामा पढेका छैनौ” भनेर सोध्नुभयो। (मत्ति १२:१-७)e त्यतिबेला फरिसीहरूले येसुका चेलाहरूलाई विश्रामदिन उल्लङ्घन गरेको आरोप लगाएका थिए। फरिसीहरूले विश्रामदिनको उद्देश्य बुझेका छैनन् र तिनीहरू कृपा देखाउनदेखि चुकेका छन् भनेर देखाउन येसुले दुइटा धर्मशास्त्रीय उदाहरण चलाउनुभयो र होसेको किताबबाट एउटा पद उद्धरण गर्नुभयो। तिनीहरू किन परमेश्वरको वचनले दिने आकारमा ढालिन सकेनन्? किनकि तिनीहरू आलोचनात्मक र घमन्डी थिए। यस्तो मनोवृत्तिले गर्दा तिनीहरूले पढेको कुराको सही अर्थ बुझ्न सकेनन्।—मत्ति २३:२३; युह. ५:३९, ४०.
१३. हामीले कस्तो मनोवृत्ति राखेर बाइबल पढ्नुपर्छ र किन?
१३ येसुले बताउनुभएको कुराबाट हामीले सही मनोवृत्ति राखेर बाइबल पढ्नुपर्छ भनेर सिक्न सक्छौँ। हाम्रो मनोवृत्ति फरिसीहरूको जस्तो हुनु हुँदैन। बरु हामी नम्र र सिक्न इच्छुक हुनुपर्छ। परमेश्वरले आफ्नो ‘वचन हामीमा रोप्नुहुँदा त्यसलाई नम्रतासाथ स्विकार्नुपर्छ।’ (याकु. १:२१) हामी नम्र भयौँ भने बाइबलमा पढेका कुराहरूले हाम्रो मनमा गहिरो जरा गाड्न सक्छ। आलोचनात्मक वा घमन्डी मनोवृत्ति त्याग्यौँ भने मात्र कृपा, अनुकम्पा र प्रेम देखाउने सन्दर्भमा बाइबलको सिद्धान्त जीवनमा लागू गर्न सक्नेछौँ।
१४. आफूलाई परमेश्वरको वचनले दिने आकारमा ढालिन दिइरहेका छौँ कि छैनौँ भनेर कसरी थाह पाउन सक्छौँ? (तस्बिर पनि हेर्नुहोस्।)
१४ हामीले अरूसित गर्ने व्यवहारबाट आफूलाई परमेश्वरको वचनले दिने आकारमा ढालिन दिइरहेका छौँ कि छैनौँ भन्ने कुरा देखिन्छ। फरिसीहरूले परमेश्वरको वचन आफ्नो मनसम्म पुग्न दिएका थिएनन्, जसले गर्दा तिनीहरूले ‘निर्दोषहरूलाई दोषी ठहराए।’ (मत्ति १२:७) त्यसैगरि अरूप्रति राख्ने दृष्टिकोण र अरूसित गर्ने व्यवहारबाट हामीले आफूलाई परमेश्वरको वचनले दिने आकारमा ढालिन दिइरहेका छौँ कि छैनौँ भन्ने कुरा देखिन्छ। जस्तै, के हामी अरूमा भएको राम्रो कुराको प्रशंसा गर्ने गर्छौँ? वा तिनीहरूको कमीकमजोरी देखाइहाल्छौँ कि? के हामी कृपा देखाउन र क्षमा दिन तयार हुन्छौँ? वा के हामी आलोचनात्मक छौँ र मनमा रिस पालेर राख्छौँ कि? यसरी आफूलाई जाँच्दा हामीले आफ्नो सोचाइ, भावना र कामलाई परमेश्वरको वचनले दिने आकारमा ढालिन दिइरहेका छौँ कि छैनौँ भनेर थाह पाउन सक्छौँ।—१ तिमो. ४:१२, १५; हिब्रू ४:१२.
परमेश्वरको वचन पढ्दा आनन्दित हुन सक्छौँ
१५. पवित्र धर्मशास्त्रप्रति येसु कस्तो महसुस गर्नुहुन्थ्यो?
१५ येसु पवित्र धर्मशास्त्रलाई प्रेम गर्नुहुन्थ्यो। भजन ४०:८ मा परमेश्वरको वचनप्रति उहाँ कस्तो महसुस गर्नुहुन्थ्यो भनेर भविष्यसूचक ढङ्गमा यसरी व्यक्त गरिएको छ: “हे मेरा परमेश्वर, म तपाईँको इच्छा पूरा गर्न पाउँदा रमाउँछु अनि तपाईँको व्यवस्था मेरो हृदयको गहिराइमा छ।” त्यसैले उहाँ आनन्दित र यहोवाको सेवामा सफल हुन सक्नुभयो। हामीले पनि परमेश्वरको वचन आफ्नो मनमा ठप्प बसाल्यौँ भने आनन्दित र सफल हुन सक्छौँ।—भज. १:१-३.
१६. बाइबल पढाइबाट अझ धेरै लाभ उठाउन तपाईँ के गर्न चाहनुहुन्छ? (“येसुले भन्नुभएका कुराहरूले पढेको कुरा बुझ्न मदत गर्छ” भन्ने पेटी हेर्नुहोस्।)
१६ येसुले भन्नुभएका कुराहरू र उहाँले बसाल्नुभएको उदाहरण अनुकरण गर्दै आफ्नो बाइबल पढ्ने तरिकामा अझै उन्नति गरौँ। प्रार्थना गरेर, बिस्तारै पढेर, आफैलाई प्रश्नहरू सोधेर र छोटो नोट लिएर हामी बाइबलका कुराहरू अझ राम्ररी बुझ्न सक्छौँ। हाम्रा प्रकाशनहरूको मदत लिँदै पढेको कुराको विश्लेषण गरेर हामी समझ चलाउन सक्छौँ। आफूलाई त्यत्ति थाह नभएका बाइबल विवरणहरूमा पनि आध्यात्मिक धन भेट्टाउने कोसिस गर्दा हामी बाइबल चलाउन अझ पोख्त हुन सक्छौँ। सही मनोवृत्ति राखेर बाइबल पढ्दा हामीले आफूलाई परमेश्वरको वचनले दिने आकारमा ढाल्न सक्छौँ। यसरी प्रयास गर्दा बाइबल पढाइबाट अझ धेरै लाभ उठाउन सक्छौँ र यहोवा परमेश्वरसित अझ नजिक हुन सक्छौँ।—भज. ११९:१७, १८; याकु. ४:८.
गीत ९५ ज्योति झनै चहकिलो भयो
a हामी यहोवाका उपासकहरू दिनहुँ बाइबल पढ्न समय निकाल्छौँ। अरू मानिसहरू पनि बाइबल पढ्छन् तर पढेको कुरा बुझ्दैनन्। येसुको समयका केही मानिस पनि त्यस्तै थिए। येसुले परमेश्वरको वचन पढेका मानिसहरूलाई भन्नुभएको कुरा विचार गर्दा हामीले बाइबल पढाइबाट अझ धेरै लाभ उठाउन के गर्नुपर्छ भनेर सिक्न सक्छौँ।
b येसु बप्तिस्माको बेला पवित्र शक्तिद्वारा अभिषेक हुनुभएपछि आफ्नो स्वर्गीय जीवनको सबै कुरा उहाँको स्मरणमा आएको हुनुपर्छ।—मत्ति ३:१६.
c मरियमलाई धर्मशास्त्रका कुराहरू राम्ररी थाह थियो र तिनले ती कुराहरू उल्लेख पनि गरिन्। (लुका १:४६-५५) युसुफ र मरियम गरिब भएकोले सायद तिनीहरूसित धर्मशास्त्रका प्रतिहरू किन्न पैसा थिएन। त्यसैले तिनीहरू सभाघरमा परमेश्वरको वचन पढेर सुनाइँदा ध्यान दिएर सुन्थे र ती कुराहरू आफ्नो मनमा ठप्प बसाल्थे।
d अप्रिल १, २०१३ अङ्कको प्रहरीधरहरा-मा भएको “परमेश्वरको नजिक हुनुहोस्—‘उहाँ . . . जीवितहरूका परमेश्वर हुनुहुन्छ’” भन्ने लेख हेर्नुहोस्।
e मत्ति १९:४-६ मा पनि येसुले फरिसीहरूलाई “के तिमीहरूले पढेका छैनौ” भनेर सोध्नुभएको पाउँछौँ। हुनत ती फरिसीहरूले सृष्टिको विवरण पढेका थिए तर त्यसले विवाहप्रति परमेश्वरको दृष्टिकोणबारे के सिकाउँछ भन्ने कुराचाहिँ बुझ्न सकेनन्।
f तस्बिरको व्याख्या पृष्ठ १२: सभाको दौडान अडियो/भिडियोमा काम गर्ने एक भाइले केही गल्ती गर्छन्। तर सभापछि अरू भाइहरूले गल्ती कोट्ट्याउनुको सट्टा तिनले गरेको प्रयासको लागि प्रशंसा गर्छन्।