अध्ययन लेख ६
बाइबलले यसका ग्रन्थकारबारे के बताउँछ?
“मैले तिमीलाई बताएका सबै कुरा एउटा पुस्तकमा लेख।” —यर्मि. ३०:२.
गीत ९६ परमेश्वरको किताब —एउटा अमूल्य धन
परिचयa
१. बाइबल पाएकोमा हामी किन खुसी छौँ?
यहोवाले हामीलाई बाइबल दिनुभएकोमा हामी खुसी छौँ। उहाँले बाइबलमार्फत दिनुभएको बुद्धिमानी सल्लाहले समस्याहरूको सामना गर्न मदत गर्छ। उहाँले हामीलाई भविष्यको लागि सुन्दर आशा पनि दिनुभएको छ। अझ महत्त्वपूर्ण कुरा, यहोवाले बाइबलमार्फत आफ्नो व्यक्तित्वका थुप्रै पक्ष प्रकट गर्नुभएको छ। उहाँका मनमोहक गुणहरूमा मनन गर्दा हाम्रो मन छुन्छ र यसले हामीलाई उहाँको घनिष्ठ मित्र बन्न उत्प्रेरित गर्छ।—भज. २५:१४.
२. यहोवाले मानिसहरूलाई उहाँबारे कुन-कुन तरिकामा प्रकट गर्नुभएको छ?
२ यहोवा मानिसहरूले उहाँलाई चिनेको चाहनुहुन्छ। विगतमा उहाँले सपनाहरू, दर्शनहरू र कहिलेकाहीँ स्वर्गदूतहरूमार्फत आफूबारे प्रकट गर्नुभयो। (गन्ती १२:६; प्रेषि. १०:३, ४) यदि उहाँले यस्ता कुराहरू लेख्न नलगाउनुभएको भए हामीले कसरी ती कुराहरू अध्ययन गर्न पाउँथ्यौँ होला र? त्यसैले यहोवाले आफूबारे थाह दिन केही पुरुषलाई ‘एउटा पुस्तकमा लेख्न’ लगाउनुभयो। (यर्मि. ३०:२) “साँचो परमेश्वरको काम निष्खोट छ।” (भज. १८:३०) त्यसैले उहाँले हामीसित यसरी लिखित रूपमा सञ्चार कायम गर्नुभएको तरिका नै सबैभन्दा उत्तम र लाभदायक हो भन्न सक्छौँ।
३. बाइबल हाम्रो समयसम्म सुरक्षित राख्न यहोवाले के गर्नुभयो? (यसैया ४०:८)
३ यसैया ४०:८ पढ्नुहोस्। हजारौँ वर्षदेखि वफादार पुरुष र स्त्रीहरूले परमेश्वरको वचनबाट बुद्धिमानी डोऱ्याइ पाउँदै आएका छन्। यो कसरी सम्भव भयो? बाइबल धेरै वर्षअगाडि नाश हुने खालका सामग्रीहरूमा लेखिएको थियो। त्यसैले आज एउटा पनि मौलिक पाण्डुलिपि अस्तित्वमा छैन। तर यहोवाले पुरातन समयका मानिसहरूलाई पवित्र शास्त्रका प्रतिलिपिहरू बनाउन लगाउनुभएको थियो। ती प्रतिलिपिकहरू त्रुटिपूर्ण भए तापनि आफ्नो काम निकै होसियारीसाथ गर्थे। जस्तै, हिब्रू धर्मशास्त्रबारे एक शास्त्रविद्ले यस्तो लेखे: “प्राचीन समयका किताबहरूमध्ये बाइबलजत्तिको सही तरिकामा सारिएको किताब अरू कुनै छैन भनेर हामी ठोकुवा गरेर भन्न सक्छौँ।” त्यसैले बाइबल धेरै समयअघि नाश हुने खालका सामग्रीहरूमा लेखिएको र यसका प्रतिलिपिकहरू त्रुटिपूर्ण भए तापनि आज हामीले पढ्ने बाइबलमा यसका ग्रन्थकार यहोवाको विचार पाइन्छ भन्ने कुरामा ढुक्क हुन सक्छौँ।
४. यस लेखमा हामी के छलफल गर्नेछौँ?
४ हामीले “हरेक असल वरदान र हरेक उत्तम उपहार” यहोवाबाटै पाएका हौँ। (याकु. १:१७) बाइबल यहोवाले हामीलाई दिनुभएको सर्वोत्तम उपहारहरूमध्ये एक हो। कसैले हामीलाई दिएको उपहारबाट तिनलाई हामी र हाम्रो आवश्यकताबारे कत्ति राम्ररी थाह रहेछ भन्ने देखिन्छ। बाइबल दिनुहुने परमेश्वरबारे पनि यस्तै भन्न सकिन्छ। यस उपहारलाई राम्ररी जाँच्दा हामी यहोवाबारे धेरै कुरा सिक्न सक्छौँ। उहाँलाई हामी र हाम्रो आवश्यकताबारे कत्ति राम्ररी थाह छ भनेर सिक्न सक्छौँ। यस लेखमा बाइबलबाट यहोवाका तीन वटा गुण—बुद्धि, न्याय र प्रेमबारे के सिक्न सक्छौँ, जाँच्नेछौँ। आउनुहोस्, सुरुमा परमेश्वरको बुद्धिबारे विचार गरौँ।
बाइबलमा परमेश्वरको बुद्धि झल्किन्छ
५. बाइबलमा परमेश्वरको बुद्धि झल्किन्छ भन्न सकिने एउटा कारण के हो?
५ हामीलाई यहोवाको बुद्धिमानी सल्लाह चाहिन्छ भनेर उहाँलाई थाह छ। उहाँले दिनुभएको उपहार बाइबल उहाँका बुद्धिका कुराहरूले भरिएको छ। यसको सल्लाहले मानिसको जीवनमा सकारात्मक प्रभाव पारेको छ र तिनीहरूको जीवन परिवर्तन गरेको छ। बाइबलका एक लेखक मोसाले इस्राएलीहरूलाई यसो भने: “यो व्यर्थको कुरा होइन, यसैमा तिमीहरूको जीवन निर्भर छ।” (व्यव. ३२:४७) बाइबलको सल्लाह पालन गर्नेहरूले सफल र सुखी जीवन बिताउन सक्छन्। (भज. १:२, ३) यो धेरै वर्षअघि लेखिएको भए पनि यसमा अहिले पनि मानिसको जीवनलाई परिवर्तन गर्ने शक्ति छ। जस्तै, jw.org मा “बाइबलले जीवनलाई नयाँ मोड दिन्छ” भन्ने शृङ्खलाबद्ध लेखमा ४० वटाभन्दा धेरै जीवनी पाइन्छ। यसबाट परमेश्वरको वचनमा विश्वास गर्नेहरूबीच ‘त्यही वचनले काम गरिरहेको छ’ भन्ने देखिन्छ।—१ थिस्स. २:१३.
६. बाइबलजस्तो अरू कुनै किताब छैन भनेर किन भन्न सकिन्छ?
६ बाइबलजस्तो अरू कुनै किताब छैन। हामी किन यसो भन्न सक्छौँ? किनकि यस किताबका ग्रन्थकार यहोवा सर्वोच्च र युगयुगका परमेश्वर हुनुहुन्छ अनि उहाँसित अतुलनीय बुद्धि छ। हुनत अरू किताबहरू त्यसका लेखकहरूको मृत्युपछि पनि पढिन्छन् तर समय बित्दै जाँदा त्यसको सल्लाह अक्सर काम नलाग्ने हुन्छन्। अर्कोतर्फ, बाइबलका सिद्धान्तहरू भने सधैँ उपयोगी छन्। त्यसको सल्लाहबाट हरेक पुस्ताका मानिसहरूले लाभ उठाएका छन्। यो पवित्र किताब पढ्दा र मनन गर्दा यसका ग्रन्थकारले पवित्र शक्तिमार्फत हामीलाई बाइबलको सिद्धान्त लागू गर्न मदत गर्नुहुन्छ। (भज. ११९:२७; मला. ३:१६; हिब्रू ४:१२) हो, बाइबलका ग्रन्थकार तपाईँलाई मदत गर्न उत्सुक हुनुहुन्छ। यस कुराले हामीलाई दिनदिनै बाइबल पढ्न उत्प्रेरित गर्नुपर्छ!
७. बाइबलले विगतमा यहोवाका मानिसहरूलाई एकतामा रहन कसरी मदत गऱ्यो?
७ बाइबलमा परमेश्वरको बुद्धि झल्किन्छ भनेर देखाउने अर्को कारण हो: यसले परमेश्वरका जनहरूलाई एकतामा रहन मदत गरेको छ। इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गरेपछि तिनीहरू विभिन्न इलाकामा छरिएर बसे। तिनीहरूमध्ये कोही जलारी बने, कसैले वस्तुभाउ पाले र अरू कतिले भने खेतीकिसानी गरे। यस्तो भौतिक दूरीले गर्दा तिनीहरूबीचको प्रेम र चासो सजिलै सेलाउन सक्थ्यो। तर तिनीहरूले धर्मशास्त्र पढिएको र त्यसको अर्थ खोलिदिएको सुन्न सकून् भनेर यहोवाले विभिन्न अवसरमा एक ठाउँमा भेला हुने प्रबन्ध मिलाउनुभएको थियो। (व्यव. ३१:१०-१३; नहे. ८:२, ८, १८) प्रतिज्ञा गरिएको देशका विभिन्न भागबाट लाखौँ उपासक यरुसलेम आएको देख्दा वफादार इस्राएलीहरूलाई कस्तो लाग्यो होला, कल्पना गर्नुहोस् त! यसरी यहोवाले आफ्ना मानिसहरूलाई एकतामा रहन मदत गर्नुभयो। पछि ख्रिष्टियन मण्डली स्थापना भयो, जुन फरक-फरक भाषा, आर्थिक स्तर र सामाजिक ओहोदाका पुरुष तथा स्त्रीहरू मिलेर बनेको थियो। तर धर्मशास्त्रप्रतिको प्रेमले गर्दा तिनीहरू साँचो परमेश्वरको उपासनामा एकताबद्ध थिए। ख्रिष्टियन बनेकाहरूले सङ्गी उपासकहरूको मदत पाएर अनि एकसाथ भेला भएर मात्रै परमेश्वरको वचन बुझ्न सकेका थिए।—प्रेषि. २:४२; ८:३०, ३१.
८. बाइबलले हामीलाई एकतामा रहन कसरी मदत गरेको छ?
८ हाम्रो बुद्धिमान् परमेश्वरले बाइबलमार्फत हामीलाई सिकाइरहनुभएको छ र एकतामा रहन मदत गरिरहनुभएको छ। हामीले आज पाइरहेको आध्यात्मिक भोजनको स्रोत बाइबल नै हो। हामी सभा, सम्मेलन र अधिवेशनहरूमा बाइबल पढिएको, स्पष्टसित बुझाइएको र छलफल गरिएको सुन्न नियमित रूपमा एकसाथ भेला हुन्छौँ। त्यसैले यहोवाको उद्देश्यअनुरूप “काँधमा काँध मिलाएर उहाँको सेवा” गर्न सक्नुमा बाइबलको महत्त्वपूर्ण भूमिका छ।—सप. ३:९.
९. बाइबलको सन्देश बुझ्न कुन गुण चाहिन्छ? (लुका १०:२१)
९ यहोवाको बुद्धिको अर्को प्रमाण विचार गरौँ। उहाँले धर्मशास्त्रका थुप्रै भाग यस्तो तरिकामा लेख्न लगाउनुभयो, जुन नम्र पाठकहरूले मात्र बुझ्न सक्ने थिए। (लुका १०:२१ पढ्नुहोस्।) संसारका विभिन्न ठाउँका मानिसहरू बाइबल पढ्छन्। बाइबल “संसारकै सबैभन्दा धेरै पढिएको किताब मात्र होइन, सबैभन्दा ध्यान दिएर पढिएको किताब पनि हो” भनेर एक शास्त्रविद्ले बताए। तर नम्र व्यक्तिहरूले मात्र बाइबलको कुरा राम्ररी बुझ्न र त्यसको सल्लाह लागू गर्न सक्छन्।—२ कोरि. ३:१५, १६.
१०. बाइबलमा यहोवाको बुद्धि झल्किन्छ भनेर देखाउने अर्को प्रमाण के हो?
१० बाइबलमा यहोवाको बुद्धि झल्किन्छ भनेर देखाउने अर्को प्रमाण विचार गरौँ। यहोवा हामीलाई समूहको रूपमा सिकाउन मात्र होइन, हामी प्रत्येकलाई निर्देशन र सान्त्वना दिन पनि धर्मशास्त्र प्रयोग गर्नुहुन्छ। यहोवाको वचन पढ्दा उहाँ हामीमा व्यक्तिगत चासो राख्नुहुन्छ भनेर महसुस गर्न सक्छौँ। (यसै. ३०:२१) कुनै समस्या आइपर्दा तपाईँले मदतको लागि पक्कै बाइबल पढ्नुभएको होला अनि ‘यो त मेरै लागि लेखिएको हो’ भनेर महसुस गर्नुभएको होला। बाइबल लाखौँ मानिसले बुझ्न सकून् भनेर लेखिएको थियो। यसमा तपाईँले आफूलाई चाहिएकै जानकारी पाउन सक्नुहुन्छ। यो कसरी सम्भव भयो? यसको एउटै मात्र कारण हो, यसका ग्रन्थकार ब्रह्माण्डकै सबैभन्दा बुद्धिमान् व्यक्ति हुनुहुन्छ।—२ तिमो. ३:१६, १७.
बाइबलमा परमेश्वरको न्याय झल्किन्छ
११. बाइबल लेख्न प्रयोग गरिएका भाषाहरूबाट परमेश्वर पक्षपाती हुनुहुन्न भनेर कसरी देखिन्छ?
११ यहोवाको अर्को गुण न्याय हो। (व्यव. ३२:४) न्यायी व्यक्तिले कसैको पक्षपात गर्दैन र यहोवा त्यस्तै परमेश्वर हुनुहुन्छ। (प्रेषि. १०:३४, ३५; रोमी २:११) उहाँले थुप्रै मानिसले बोल्ने भाषामा बाइबल लेख्न लगाउनुभएको कुराबाट उहाँ पक्षपाती हुनुहुन्न भन्ने देखिन्छ। बाइबलको सुरुका ३९ वटा किताबमध्ये धेरैजसो हिब्रू भाषामा लेखिए, जुन त्यतिबेलाका परमेश्वरका मानिसहरूले सजिलै बुझ्न सक्थे। तर इस्वी संवत् प्रथम शताब्दीसम्ममा धेरैजसोले ग्रीक भाषा बोल्न थालिसकेका थिए। त्यसैले बाइबलका अन्तिम २७ वटा किताब त्यही भाषामा लेखिए। यहोवाले आफ्नो वचन एउटै भाषामा मात्र लेखिनुपर्छ भन्ने सोचाइ राख्नुभएन। आज संसारभरि लगभग ८ अरब मानिस विभिन्न भाषा बोल्छन्। यत्ति धेरै फरक-फरक भाषाका मानिसहरूले यहोवाबारे कसरी सिक्न सक्छन्?
१२. अन्तको दिनमा दानिएल १२:४ कसरी पूरा भइरहेको छ?
१२ यहोवाले भविष्यवक्ता दानियलमार्फत अन्तको समयमा “साँचो ज्ञान प्रशस्त हुनेछ” भनेर प्रतिज्ञा गर्नुभयो। यसको मतलब थुप्रै मानिसले बाइबलको कुरा बुझ्ने थिए। (दानिएल १२:४ पढ्नुहोस्।) बाइबल र बाइबलआधारित साहित्यहरूको अनुवाद, प्रकाशन र वितरणले गर्दा पनि साँचो ज्ञान प्रशस्त भएको छ। बाइबल संसारकै सबैभन्दा धेरै अनुवाद र वितरण गरिएको किताब हो। व्यावसायिक कम्पनीहरूले प्रकाशित गरेका बाइबल अनुवादहरू अक्सर धेरै महँगा हुन्छन्। यहोवाका साक्षीहरूले बाइबल पूरै वा आंशिक रूपमा २४० भन्दा धेरै भाषामा अनुवाद गरेका छन् र यो जोसुकैले पनि निश्शुल्क पाउन सक्छन्। फलस्वरूप, सबै जातिका मानिसहरूले यस युगको अन्त हुनुअघि नै ‘राज्यको सुसमाचारबारे’ सिक्ने मौका पाइरहेका छन्। (मत्ति २४:१४) हाम्रो न्यायी परमेश्वर धेरैभन्दा धेरै मानिसले उहाँको वचन पढेर उहाँसित नजिक भएको चाहनुहुन्छ किनकि उहाँ हामीलाई धेरै प्रेम गर्नुहुन्छ।
बाइबलमा परमेश्वरको प्रेम झल्किन्छ
१३. बाइबलमा यहोवाको प्रेम झल्किन्छ भनेर किन भन्न सक्छौँ? (युहन्ना २१:२५)
१३ बाइबलमा यसका ग्रन्थकारको सबैभन्दा प्रमुख गुण प्रेम झल्किन्छ। (१ युह. ४:८) यहोवाले बाइबलमा कस्ता कुराहरू समावेश गर्नुभएको छ र कस्ता कुराहरू समावेश गर्नुभएको छैन, विचार गरौँ। परमेश्वरले उहाँसित सम्बन्ध गाँस्न, अहिल्यै सुखी जीवन बिताउन र अनन्त जीवन पाउन चाहिने जानकारी मात्र हामीलाई दिनुभएको छ। यहोवा हामीलाई धेरै प्रेम गर्नुहुन्छ; त्यसैले हामीले थेग्नै नसक्ने गरी तीनथुप्रो जानकारी दिनुभएको छैन।—युहन्ना २१:२५ पढ्नुहोस्।
१४. यहोवाको प्रेम अरू कुन तरिकामा पनि देखिन्छ?
१४ यहोवा हाम्रो सम्मान हुने तरिकामा हामीसित सञ्चार कायम गरेर पनि हामीलाई प्रेम गरेको देखाउनुहुन्छ। बाइबलमा उहाँले हाम्रो जीवनको हरेक पक्षमा के गर्नु हुन्छ, के गर्नु हुँदैन भनेर नियमहरूको सूची दिनुभएको छैन। बरु हामीले सोच्ने क्षमता प्रयोग गरेर सही निर्णय गर्न सकोस् भनेर बाइबल पात्रहरूको उदाहरण, रोमाञ्चकारी भविष्यवाणीहरू र व्यावहारिक सल्लाह दिनुभएको छ। यसरी बाइबलले हामीलाई मनैदेखि उहाँलाई प्रेम गर्न र उहाँप्रति आज्ञाकारी हुन उत्प्रेरित गर्छ।
१५. (क) बाइबलबाट यहोवा हाम्रो ख्याल राख्नुहुन्छ भनेर कसरी थाह पाउन सक्छौँ? (ख) तस्बिरमा देखाइएका सानी केटी, जवान भाइ र वृद्ध बहिनीले कोबारे मनन गर्दै छन्? (उत्प. ३९:१, १०-१२; २ राजा ५:१-३; लुका २:२५-३८)
१५ बाइबलबाट यहोवा हाम्रो ख्याल राख्नुहुन्छ भनेर थाह पाउन सक्छौँ। हामी किन यसो भन्न सक्छौँ? उहाँको वचनमा मानिसहरूले व्यक्त गरेका विभिन्न भावना पाउन सक्छौँ। हामी बाइबल पात्रहरूको भावना बुझ्न सक्छौँ किनकि तिनीहरू पनि “हाम्रो जस्तै भावना भएका मानिस थिए।” (याकु. ५:१७) अझ महत्त्वपूर्ण कुरा, परमेश्वरले ती मानिसहरूसित कसरी व्यवहार गर्नुभयो भन्ने कुरा याद गर्दा “यहोवा परमेश्वर कोमल स्नेहले भरिपूर्ण अनि कृपालु हुनुहुन्छ” भनेर अझ राम्ररी बुझ्न सक्नेछौँ।—याकु. ५:११.
१६. गल्ती गरेका बाइबल पात्रहरूबारे पढ्दा हामी यहोवाबारे के सिक्न सक्छौँ? (यसैया ५५:७)
१६ बाइबलमा यहोवाको प्रेम झल्किन्छ भनेर देखाउने अर्को प्रमाण विचार गरौँ। हामीले गल्ती गरे पनि परमेश्वरले हामीलाई त्याग्नुहुनेछैन भनेर बाइबलले आश्वासन दिन्छ। इस्राएलीहरूले यहोवाविरुद्ध बारम्बार पाप गरे तर मनैदेखि पश्चात्ताप गर्दा उहाँले क्षमा दिनुभयो। (यसैया ५५:७ पढ्नुहोस्।) प्रथम शताब्दीका ख्रिष्टियनहरूलाई पनि परमेश्वर तिनीहरूलाई प्रेम गर्नुहुन्छ भनेर थाह थियो। प्रेषित पावलले सङ्गी ख्रिष्टियनहरूलाई गम्भीर पाप गरिरहेको व्यक्ति, जसले पछि पश्चात्ताप गरे, तिनलाई ‘क्षमा र सान्त्वना’ दिन आग्रह गरे। (२ कोरि. २:६, ७; १ कोरि. ५:१-५) आफ्ना उपासकहरूले गल्ती गर्दैमा यहोवाले तिनीहरूलाई तिरस्कार गर्नुभएन; यो कुरा साँच्चै उल्लेखनीय छ। बरु उहाँले तिनीहरूलाई मायालुपूर्वक मदत गर्नुभयो, सच्याउनुभयो र आफ्नो न्यानो अङ्गालोमा फर्कन आग्रह गर्नुभयो। उहाँले पश्चात्ताप गर्ने व्यक्तिहरूलाई त्यसै गर्ने प्रतिज्ञा गर्नुभएको छ।—याकु. ४:८-१०.
“असल वरदान”-को मोल गर्नुहोस्
१७. बाइबल किन सुन्दर उपहार हो?
१७ बाइबल यहोवाले हामीलाई दिनुभएको सुन्दर उपहार हो। उहाँको वचन किन उल्लेखनीय छ? यसमा परमेश्वरको बुद्धि, न्याय र प्रेम झल्किन्छ भनेर हामीले सिक्यौँ। साथै यसबाट हामीले यहोवालाई चिनेको उहाँ चाहनुहुन्छ भनेर थाह पायौँ। हामी परमेश्वरको साथी भएको उहाँ चाहनुहुन्छ।
१८. यहोवाले “असल वरदान” बाइबल दिनुभएकोमा उहाँप्रति कृतज्ञ भएको कसरी देखाउन सक्छौँ?
१८ परमेश्वरले दिनुभएको “असल वरदान” बाइबललाई हामी कहिल्यै हल्कासित लिन चाहँदैनौँ। (याकु. १:१७) त्यसैले यो उपहार पाएकोमा सधैँ कृतज्ञता देखाइरहौँ। यसो गर्ने एउटा तरिका प्रार्थनापूर्वक बाइबल पढेर अनि यसमा मनन गरेर हो। यसो गर्दा यस किताबका महान् ग्रन्थकारले हाम्रो प्रयासमा आशिष् दिनुहुनेछ र हामीले ‘उहाँको ज्ञान पाउनेछौँ।’—हितो. २:५.
गीत ९८ धर्मशास्त्र—ईश्वर प्रेरित
a बाइबलले हामीलाई यहोवासित नजिक हुन मदत गर्छ। यस पवित्र किताबबाट परमेश्वरको बुद्धि, न्याय र प्रेमबारे हामी के सिक्न सक्छौँ? हामीले सिक्ने कुराले परमेश्वरको वचनको अझ धेरै मोल गर्न र यो परमेश्वरले दिनुभएको उपहार हो भनेर बुझ्न मदत गर्छ।