के परमेश्वर सबै ठाउँमा हुनुहुन्छ—सर्वव्यापी हुनुहुन्छ?
बाइबलको जवाफ
परमेश्वर सबै कुरा देख्न सक्नुहुन्छ र जुनसुकै ठाउँमा आफूले चाहेअनुसार जे पनि गर्न सक्नुहुन्छ। (हितोपदेश १५:३; हिब्रू ४:१३) तर बाइबलले परमेश्वर सर्वव्यापी हुनुहुन्छ अर्थात् उहाँ हरेक ठाउँमा र हरेक वस्तुमा हुनुहुन्छ भनेर सिकाउँदैन। बरु उहाँ एक जना व्यक्ति हुनुहुन्छ र उहाँको वासस्थान छ भनेर सिकाउँछ।
परमेश्वरको स्वरूप: परमेश्वर अदृश्य व्यक्ति हुनुहुन्छ। (यूहन्ना ४:२४) मानिसले उहाँलाई देख्न सक्दैन। (यूहन्ना १:१८) परमेश्वरले दिनुभएका विभिन्न दर्शन बाइबलमा रेकर्ड गरिएका छन् र यी दर्शनहरूले उहाँ निश्चित ठाउँमा बास गर्नुहुन्छ भनेर देखाउँछ। तर उहाँ सर्वव्यापी हुनुहुन्छ भनेर बाइबलमा कतै पनि बताइएको छैन।—यशैया ६:१, २; प्रकाश ४:२, ३, ८.
परमेश्वरको वासस्थान: परमेश्वर बास गर्नुहुने ठाउँ अदृश्य भएकोले हामीले देख्न सक्दैनौँ। परमेश्वरको “वासस्थान स्वर्गमा” छ। (१ राजा ८:३०) बाइबलको एउटा घटनामा स्वर्गदूतहरू “परमप्रभुको सामने उपस्थित” भएको कुरा उल्लेख गरिएको छ अनि यसबाट परमेश्वर एउटा निश्चित ठाउँमा बास गर्नुहुन्छ भनेर स्पष्ट हुन्छ।—अय्यूब १:६.
यदि परमेश्वर सर्वव्यापी हुनुहुन्न भने उहाँले मेरो ख्याल राख्न सक्नुहुन्छ र?
हो, सक्नुहुन्छ। परमेश्वर हरेक व्यक्तिको साँच्चै ख्याल राख्नुहुन्छ। हुनत उहाँ स्वर्गमा बस्नुहुन्छ, तैपनि पृथ्वीमा भएका आज्ञाकारी मानिसहरूलाई याद गर्नुहुन्छ र तिनीहरूलाई मदत गर्नुहुन्छ। (१ राजा ८:३९; २ इतिहास १६:९) यहोवालेa आफ्नो वफादार उपासकहरूलाई कसरी चासो देखाउनुहुन्छ, विचार गर्नुहोस्:
तपाईँले प्रार्थना गर्नुहुँदा: तपाईँले प्रार्थना गर्नेबित्तिकै यहोवाले त्यो प्रार्थना सुन्न सक्नुहुन्छ।—२ इतिहास १८:३१.
तपाईँ निराश हुनुहुँदा: “टुटेका हृदय भएकाहरू सबैको नजिक परमप्रभु हुनुहुन्छ, र पश्चातापी मन हुनेहरूलाई उहाँले बचाउनुहुन्छ।”—भजन ३४:१८.
तपाईँलाई डोऱ्याइको खाँचो पर्दा: यहोवाले आफ्नो वचन बाइबलद्वारा ‘शिक्षा दिनुहुन्छ र सिकाउनुहुन्छ।’—भजन ३२:८.
परमेश्वर सर्वव्यापी हुनुहुन्छ भन्नेबारे गलत धारणा
गलत धारणा: परमेश्वर सृष्टिको हरेक कुरामा बास हुनुहुन्छ।
तथ्य: परमेश्वर न त यो पृथ्वीमा न त ब्रह्माण्डको कुनै ठाउँमा नै बास गर्नुहुन्छ। (१ राजा ८:२७) वास्तवमा ताराहरू र अन्य सृष्टिका कुराहरूले “परमेश्वरको महिमाको वर्णन गर्छ।” (भजन १९:१) जसरी एक चित्रकार आफूले कोरेको चित्रमा बास गर्दैन, त्यसरी नै परमेश्वर पनि आफ्नो सृष्टिमा बास गर्नुहुन्न। तैपनि चित्रले हामीलाई चित्रकारबारे केही न केही बताउँछ। त्यसैगरि यस संसारमा भएका सृष्टिका कुराहरूले सृष्टिकर्ताको शक्ति, बुद्धि र प्रेम जस्ता “अदृश्य गुणहरू”-बारे बताउँछ।—रोमी १:२०.
गलत धारणा: सबै कुरा थाह पाउन र सर्वशक्तिमान् हुन परमेश्वर सर्वव्यापी हुनै पर्छ।
तथ्य: परमेश्वरको पवित्र शक्ति भनेको उहाँको सक्रिय शक्ति हो र यही शक्ति प्रयोग गरेर उहाँ काम गर्नुहुन्छ। परमेश्वर आफ्नो पवित्र शक्तिद्वारा सबै कुरा हेर्न र गर्न सक्नुहुन्छ, जुनसुकै समयमा र जुनसुकै ठाउँमा। त्यसको लागि उहाँ आफू स्वयम् उपस्थित हुन आवश्यक छैन।—भजन १३९:७.
गलत धारणा: परमेश्वर सर्वव्यापी हुनुहुन्छ भनेर भजन १३९:८ ले सिकाउँछ, जहाँ यस्तो लेखिएको छ: “स्वर्गमा उक्लेँ भने, तपाईँ त्यहाँ हुनुहुन्छ, पातालमा आफ्नो ओछ्यान बनाएँ भने, त्यहाँ पनि तपाईँ हुनुहुन्छ।”
तथ्य: यस पदले परमेश्वर बास गर्नुहुने स्थानबारे बताएको होइन। बरु उहाँ हामीलाई मदत गर्न जुनसुकै ठाउँमा पुग्न सक्नुहुन्छ भनेर कवितात्मक शैलीमा बताएको हो।
a यहोवा बाइबलमा उल्लेख गरिएको परमेश्वरको नाम हो।