अध्याय २६
असल काम गर्नकालागि सङ्घर्ष
१. कुन दुई कुराहरूका विरुद्ध मसीहीहरूले सङ्घर्ष गरिरहनु पर्छ?
शैतानको संसार रहुञ्जेल, त्यसको दुष्ट असरबाट मुक्त रहन मसीहीहरूले सङ्घर्ष गरिरहनु पर्छ। प्रेरित पावलले लेखे: “शैतानका युक्तिहरूका विरुद्ध खड़ा हुनसक्नालाई परमेश्वरको सारा हात-हतियार धारण गर।” (एफिसी ६:११-१८) तथापि हाम्रो सङ्घर्ष शैतान र उसको संसारसँग मात्र छैन; खराब कुरा गर्ने हाम्रा आफ्नै इच्छाहरूका विरुद्ध पनि हामीहरूले सङ्घर्ष गर्नु परेकोछ। बाइबल भन्दछ: “मानिसको हृदयका विचार बालक देखिनै खराब हुन्छ।”—उत्पत्ति ८:२१; रोमी ५:१२.
२. (क) हामीहरूमा अक्सर गलत काम गर्ने तीब्र इच्छा किन हुन्छ? (ख) गलत इच्छाहरूका विरुद्ध हामीहरूले किन सङ्घर्ष गर्नु पर्दछ?
२ प्रथम मानव आदमबाट वंशानुगत पापले गर्दा, हाम्रो हृदय खराब काम कुरा गर्न इच्छुक रहन्छ। यदि हामीहरू त्यस लालसाको सामने झुक्यौं भने, परमेश्वरको नया रीतिरिवाजमा हामीहरूले अनन्त जीवन पाउँने छैनौं। अत: असल कुरा गर्न हामीले सङ्घर्ष गर्नु पर्छ। प्रेरित पावल समेतले पनि त्यस्तो सङ्घर्ष गर्नु परेको थियो। उनले व्याख्या गरेका छन्: “असल गर्न इच्छा मलाई हुँदाहुँदै पनि खराबी मसित हाजिरै हुँदो रहेछ।” (रोमी ७:२१-२३) तपाईंलाई पनि यो सङ्घर्ष कठिनै लाग्दो हो। कुनै-कुनै बेला तपाईं भित्र एउटा ठूलो सङ्घर्ष चलि रहँदो हो। त्यस बेला तपाईं के गर्ने निर्णय गर्नु हुनेछ?
३. (क) धेरै व्यक्तिहरूमा के आन्तरिक सङ्घर्ष भइ रहन्छ? (ख) धेरैले असल काम गर्न चाहँदा चाहँदै पनि गलत काम गर्छन् भन्ने कुराले बाइबलको कुन सच्चाइलाई प्रदर्शित गर्दछ?
३ सिद्ध स्थिति भएको पृथ्वीमा सदाकालागि जीवित रहन पाउने परमेश्वरको अद्भुत प्रतिज्ञावारे तपाईंले बुझि सक्नु भएको छ। यी प्रतिज्ञाहरूलाई तपाईं विश्वास गर्नु हुन्छ, र यी राम्रा कुराहरू तपाईं आफ्नालागि चाहनु हुन्छ। अत: परमेश्वरको सेवा गर्नु तपाईंकै चिरस्थायी हितकालागि हो भन्ने कुरा तपाईंले बुझ्नु भएको छ। तरपनि कुनै कुनै कुराहरू खराब छन् भन्ने बुझेर पनि तपाईंको हृदयमा ती कुराहरूकै निम्ति इच्छा हुन सक्छ। कहिलेकाहीं तपाईंको मनमा व्यभिचारगर्ने, चोरी गर्ने, वा अरू कुनै अन्य प्रकारका गलत काम कुरा गर्ने तीब्र इच्छा उत्पन्न हुन सक्छ। यो पुस्तक अध्ययन गरिरहेका केही व्यक्तिहरू, परमेश्वरले त्यस्ता कुराहरूको भर्त्सना गर्नु हुन्छ भनेर थाह पाएर पनि वास्तवमा त्यस्ता खराब कुराहरूमा लिप्त भइ रहेका होलान्। असल काम गर्न चाहँदा चाहँदै तिनीहरूले खराब काम गरेर बाइबलको यो सच्चाइलाई प्रदर्शित गर्दछ: “मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ, त्यो अति भ्रष्ट हुन्छ।”—यर्मिया १७:९.
सङ्घर्षलाई जित्न सकिन्छ
४. (क) सङ्घर्षमा विजय हुने हो वा हार हुने हो सो कसमा निर्भर गर्दछ? (ख) असल काम गर्ने सङ्घर्षमा विजयी हुनकालागि के को आवश्यकता पर्दछ?
४ तथापि, यसको तात्पर्य, खराब काम गर्ने आफ्नो तीब्र इच्छालाई मानिसले नियंत्रण गर्न सक्दैन भनेको होइन। तपाईं वास्तवमा चाहनु हुन्छ भने, असल बाटोमा तपाईंलाई डोऱ्याउन आफ्नो हृदयलाई तपाईंले बलियो पार्न सक्नु हुन्छ। तर यो सबै तपाईंमाथि निर्भर गर्दछ। (भजनसंग्रह २६:१, ११) तपाईंकालागि अरूले यो सङ्घर्ष जिति दिन सक्दैन। अत:, सर्व प्रथम, जीवनदायी बाइबल ज्ञान लगातार प्राप्त गरी रहनु होस्। (यूहन्ना १७:३) आफ्नो दिमागमा ज्ञान लिएर मात्र पुग्दैन। त्यो भन्दा अझ बढ़ी कुरा गर्ने आवश्यकता छ। त्यो ज्ञान तपाईंको हृदयसम्म पुग्नु पर्दछ। जुन कुरा तपाईं सिकी रहनु भएको छ त्यसको गहिरो अनुभूति राखेर वास्तवमा त्यस अनुरूप हिड्ने इच्छा तपाईंमा हुनु पर्दछ।
५. परमेश्वरका नियमहरूकालागि हार्दिक मूल्याङ्कन कसरी गर्न सकिन्छ?
५ तर तपाईंले हृदयबाट परमेश्वरका नियमहरूको मूल्याङ्कन कसरी गर्न सक्नु हुन्छ? तपाईंले ती विषयहरूमा गहिरो चिन्तन र मनन गर्नु पर्ने आवश्यकता छ। उदाहरणकालागि, आफैलाई सोध्नु होस्: परमेश्वरको आज्ञा पालन गर्नाले वास्तवमा के फरक पार्छ? अनि परमेश्वरका नियमहरूको अवहेलना गर्ने व्यक्तिहरूको जीवनमाथि दृष्टि दिनुहोस्। एउटी १९ वर्षकी केटीले यसो लेखि: “म तीन पटक यौन रोगले ग्रस्त भइ सकेकी छू। पछिल्लो पटक मेरो गर्भाशय निकाल्नु परेको हुनाले, अब म बच्चा पाउन पनि सक्दिन।” परमेश्वरका नियमहरू पालन नगर्नाले आइ पर्ने कष्टहरू वारे सोंच्दा साँच्चीनै दु:ख लाग्छ। (२ शमूएल १३:१-१९) व्यभिचारमा फँसेकी एउटी आइमाइले दु:खका साथ भनी: “अवज्ञाको कारण उत्पन्न दु:ख र भावनात्मक खिन्नतालाई सम्झेर ल्याउँदा, त्यो अनुचित कार्य कत्तिको निरर्थक रहेछ भन्ने अनुभव हुन्छ। त्यस कामले गर्दा मैले आजसम्म दु:ख उठाइ रहेछु।”
६. (क) खराब काम गरेर प्राप्त हुने आनन्द किन व्यर्थ हो? (ख) मोशाले मिस्रमा कुन प्रकारको जीवनको आनन्द उठाउन सक्थिए?
६ तापनि, व्यभिचार, मतवालापन, र नशालाग्ने औषधीहरूको प्रयोग गर्नु रमाइलो हो भनेर मानिसहरूले भनेको तपाईंले सुन्नु भएको होला। तर त्यो तथाकथित रमाइलोपना मात्र अस्थायी हो। साँचो र स्थायी आनन्दबाट वञ्चित हुने बाटोमा हिड़ने भ्रममा नपर्नु होस्। “फिरऊनकी छोरीको छोरा” भएर हुर्किएका मोशावारे सोंच्नु होस्। प्राचीन मिस्रमा राजघरानाको शानशौकतमा तिनी बसेका थिए। तथापि, तिनी ठूलो भए पछि, “केही समयसम्म पापको सुख भोग्नु भन्दा बरू परमेश्वरका मानिसहरूका साथमा थिचोमिचोमा पर्न रोजे” भनेर बाइबल भन्दछ। (हिब्रू ११:२४, २५) अत: मिस्रको राजघरानामा प्रत्यक्षत: भइरहेको अनैतिक र छाड़ा जीवन-शैलीमा निश्चयनै आनन्द र मौजमज्जा प्राप्त हुन्थियोनै होला। तापनि, त्यस प्रकारको जीवनबाट मोशाले किन मुख फेरे?
७. मिस्रको राजघरानामा पाइने “केही समयसम्म पापको सुख” मोशाले किन त्यागे?
७ किनभने मोशा यहोवा परमेश्वरमा विश्वास गर्द थिए। र मिस्रको राजघरानामा केही समयसम्म पापको सुख भोग्नु भन्दा धेरै असल आनन्दवारे उनलाई जानकारी थियो। बाइबल भन्दछ: “तिनले आफ्नो दृष्ट प्रतिफलतिर लाएका थिए।” परमेश्वरले प्रतिज्ञा गर्नु भएका ती सबै कुरावारे मोशा गहिरो चिन्तन र मनन गर्दथिए। एउटा न्याययुक्त नया रीतिरिवाज सृजना गर्ने परमेश्वरको उद्देश्यमाथि उनको पूर्ण विश्वास थियो। मानवजातिकालागि यहोवाको प्रेम र रुचिले उनको हृदयमा गहिरो प्रभाव पारेको थियो। मोशाले यहोवा वारे नेको वा पढ़ेको मात्र थिएन। बाइबल भन्दछ: “अदृश्यलाई देखेझैं गरी तिनी स्थिर रहे।” (हिब्रू ११:२६, २७) मोशाका निम्ति यहोवा वास्तविक हुनु हुन्थ्यो, र उहाँले गर्नु भएको अनन्त जीवनको प्रतिज्ञा पनि त्यस्तै वास्तविक थियो।
८. (क) असल काम गर्ने सङ्घर्षमा विजयी हुन हामीलाई कुनकुराको आवश्यकता छ? (ख) एउटा नौजवानले व्यक्त गरे जस्तै, कुन दृष्टिकोण हामीहरूले अपनाउनु बुद्धिमत्तापूर्ण हुनेछ?
८ के तपाईंलाई पनि त्यस्तै लाग्छ? के तपाईं यहोवालाई एउटा वास्तविक व्यक्तिको रूपमा अर्थात तपाईंलाई माया गर्ने एउटा पिता जस्तै हेर्नु हुन्छ? पार्थिव प्रमोदबनमा अनन्त जीवनवारे उहाँको प्रतिज्ञाहरू पढ़दा, के ती आशिषहरूको आनन्द तपाईंले त्यहाँ उठाइ रहेको कल्पना गर्नु हुन्छ? (१५६ देखि १६२ पानाहरू हेर्नुहोस्) गलत काम गर्ने अनेक दबावहरूका विरुद्ध सङ्घर्षमा विजयी हुन हामीहरूले यहोवासँग एउटा घनिष्ठ सम्बन्ध राख्नु आवश्यक छ। र मोशाले गरे जस्तै हामीहरूले पनि “आफ्नो दृष्टि प्रतिफलतिर” लाउनु पर्दछ। व्यभिचार गर्ने प्रलोभनको सामना गर्नु पर्दा, एउटा २० वर्ष पुगेको नौजवानले मोशाको दृष्टिकोण राखेको थियो। उसले भन्यो: “अनैतिकताका केही क्षणभन्दा अनन्त जीवनको मेरो आशा धेरैनै बहुमूल्य छ।” के यस प्रकारको मनोवृत्ति राख्नु ठीक होइन?
अरूहरूका गलतीहरूबाट सिक्खनु
९. असल काम गर्ने सङ्घर्षमा दाऊद राजा कसरी असफल भए?
९ तपाईंले यस सङ्घर्षमा आफ्नो सतर्कता कहिले छाड़नु भएन जस्तो कि एक पटक दाऊद राजाले छाड़ेका थिए। एक दिन तिनी आफ्नो महलको कौसीमाथि घुमिरहेको बेला टाढ़ामा सुन्दरी बेतशेबालाई नुहाइरहेकी देखे। उनको मनमा अनुचित विचार उठनु भन्दा पहिले नै त्यसतर्फ नहेर्नुको सट्टा, तिनी त्यसतर्फनै हेरी रहे। बेतशेबासँग सम्भोग गर्ने तिनको इच्छा यति प्रवल भयो कि उसलाई दरवारमा ल्याउन लगाए। पछि, उ गर्भवति भएकी हुनाले, र तिनीहरूको व्यभिचारलाई लुकाउन असमर्थ भएको कारण, तिनले उसको पतिलाई युद्धमा मार्न लगाए।—२ शमूएल ११:१-१७.
१०. (क) दाऊदले उनको पापकालागि कसरी सजाय पाए? (ख) व्यभिचारमा फस्नबाट दाऊदलाई के कुराले वचाउन सक्ने थियो?
१० त्यो साँच्चीनै एउटा भयङ्कर पाप थियो। र त्यसकालागि दाऊदले वास्तवमा दु:ख पाए। तिनी आफूले गरेको कामकालागि अतिनै दु:खित मात्र भएनन्। यहोवाले तिनलाई जीवनभरि तिनको घरानाभित्रबाट दु:ख दिएर सजाए दिनुभयो। (भजनसंग्रह ५१:३, ४; २ शमूएल १२:१०-१२) दाऊदले सोंचेको भन्दा बढ़ी उनको हृदय छली साबित भयो; उनको गलत इच्छाहरूले उनलाई पराजित पाऱ्यो। पछि गएर उनले भने: “हेर्नुहोस्, म अधर्ममा उत्पन्न भएँ, र पापैमा मेरी आमाले मलाई गर्भ धारण गरिन्।” (भजनसंग्रह ५१:५) तर दाऊदले बेतशेबासँग गरेको खराब काम हुनैपर्ने थिएन। हेरिरहनुनै उनको समस्या थियो। अर्काकी स्वास्नीसँग सम्भोग गर्ने भोक बढ़ाउने परिस्थितिबाट बाँच्ने प्रयास तिनले गरेनन्।
११. (क) दाऊदको अनुभवबाट हामीहरूले के सिक्खन सक्दछौं? (ख) “कामुकताको भोकलाई” कुन क्रियाकलापले उत्तेजित पार्न सक्दछ भनेर तपाईं भन्न सक्नु हुन्छ? (ग) एउटा नौजवानले भने अनुसार बुद्धिमान व्यक्तिले कुन कुराबाट आफूलाई अलग राख्ने छ?
११ अनुचित काम-वासनाहरूलाई उत्तेजित पार्ने स्थितिहरूका विरुद्ध सदा सतर्क रहनु पर्छ भन्ने कुरा हामीहरूले दाऊदको अनुभवबाट सिक्खनु पर्दछ। उदाहरणकालागि, कामुकतालाई अधिक महत्व दिने किसिमका पुस्तकहरू तपाईं पढ़नु हुन्छ र त्यस प्रकारका टेलीविजन कार्यक्रम हरू र सिनेमाहरू हेर्नु हुन्छ भने के हुन सक्छ? यसबाट काम-वासना उत्तेजित हुने सम्भावना हुनेछ। अत: “कामुकताको भोक” जगाउने खालका गतिविधिहरू र मनोरञ्जनबाट टाढ़ा बस्नु होस्। (कलस्सी ३:५; १ थिस्सलोनिकी ४:३-५; एफिसी ५:३-५) आफू अर्को व्यक्तिसँग यस्तो स्थितिमा नपर्नु होस् जसबाट व्यभिचार हुने सम्भावना हुनेछ। एउटा १७ वर्ष पुगेको केटोले बुद्धिको कुरा भन्यो: “‘कहाँ सम्म गएर रोक्नु पर्छ, हामीलाई थाह छ’ भनेर जसले पनि भन्न सक्छन्।” तर, कहाँसम्म भन्ने कुरा थाह भएतापनि, कत्ति जना त्यहाँ सम्मगएर वास्तवमा रोक्न सक्छन्? त्यसप्रकारको स्थितिबाट आफूलाई टाढ़ा राख्नुनै बेस हुनेछ।
१२. यूसुफको के उदाहरण हामीहरूले आफ्नो मनमा राख्नु पर्दछ?
१२ दाऊदले यूसुफको उदाहरण याद राखेको भए, परमेश्वरको विरुद्ध यत्ति ठूलो पाप उनले गर्ने थिएनन्। मिस्रमा यूसुफ पोतीफरको घरको मुख्य कारिन्दा थिए। पोतीफर बाहिर गएको बेलामा, उसकी यौन-मद पत्नीले सुन्दर यूसुफलाई यसो भनेर पथभ्रष्ट गर्ने प्रयत्न गर्थी: “मसँग सुत्।” तर यूसुफले अस्वीकार गरे। अनि एक दिन तिनले यूसुफलाई समातेर आफूसँग सुताउने प्रयास गरिन्। तर यूसुफ आफूलाई छोड़ाएर भागे। उनले आफ्नो काम-वासना भन्दा परमेश्वरको दृष्टिमा कुन कुरा ठीक छ भन्ने कुरालाई बढ़ी महत्व दिइएको हुनाले, उनले आफ्नो हृदयलाई बलियो राख्न सके। उनले सोधे: “यस्तो दुष्ट काम गरेर परमेश्वरको विरुद्धमा मैले पाप गर्नु?”—उत्पत्ति ३९:७-१२.
तपाईंलाई विजयी गराउन सक्ने सहायता
१३, १४. (क) यस सङ्घर्षमा विजयी हुन के को आवश्यकता छ? (ख) कोरिन्थमा मसीही हुनेहरूले आफूमा के परिवर्तन ल्याए र के को मददले? (ग) पावल र तितस पहिले कुन प्रकारका व्यक्तिहरू थिए?
१३ यस सङ्घर्षमा विजयी हुनकालागि बाइबलको ज्ञानलाई तपाईंले आफ्नो हृदयमा भित्र पस्न दिनु पर्छ जसलेगर्दा त्यस ज्ञान अनुसार काम गर्ने प्रेरणा तपाईंले पाउनु हुनेछ। यहोवाको दृश्य सङ्गठनको भाग हुनकालागि परमेश्वरका जनहरूसँग सङ्गत गर्नु पनि आवश्यक छ। तपाईं कत्तिनै गलत कार्यहरूमा ग्रस्त भएता पनि, सङ्गठनको मददले तपाईं बदलिन सक्नु हुन्छ। प्राचीन कोरिन्थका बदलिएका व्यक्तिहरू वारे प्रेरित पावलले लेखे: “न ठगियौ। व्यभिचारीहरू, मूर्तिपूजकहरू, जारी गर्नेहरू, लुच्चाहरू, पुरुषगामीहरू, चोरहरू, लोभीहरू, मतवालाहरू, गाली गर्नेहरू, लुटाहाहरू परमेश्वरको राज्यको हकदार हुनेछैन। औ तिमीहरूमा कोही कोही यस्तै थिए। तर तिमीहरू पखालिएका छौ।”—१ कोरिन्थी ६:९-११.
१४ यस वारे सोंच्नु होस्! प्राचीन मसीहीहरू मध्य पनि कोही कोही व्यभिचारीहरू, जारी गर्नेहरू, पुरुषगामीहरू, चोरी गर्नेहरू र मतवालाहरू थिए। तर मसीही मण्डलीको मददले तिनीहरू बदलिए। प्रेरित पावल स्वयंले एकताका खराब कार्यहरू गरेका थिए। (१ तिमोथी १:१५) आफ्नो सङ्गी मसीही, तितसलाई उनले लेखे: “किनभने हामी पनि पहिले मूर्ख, अट्टेरी, ठगिएका, किसिम किसिमका अभिलाषा र सुख-विलासमा फँसेका थियौं।”—तितस ३:३.
१५. (क) पावलकालागि पनि असल काम गर्नु सजिलो थिएन भनेर केले प्रदर्शित गर्दछ? (ख) पावलको उदाहरणबाट हामीले के लाभ उठाउन सक्छौं?
१५ पावल मसीही भइसके पछि, जे असल काम छ सो गर्न, के त्यसबेला उनलाई सजिलो थियो? थिएन। जुन अनुचित अभिलाषाहरू र सुख-विलासको दासतामा पावल पहिले परेका थिए, ती नै इच्छाहरूसँग तिनले जीवनभरी सङ्घर्ष गर्नु परेको थियो। उनले लेखे: “म आफ्नो शरीरलाई कुट्तछु, र वशमा ल्याउँछु, नत्रता अरूहरूलाई प्रचार गरेपछि म आफैचाहिं इन्कार गरिनेछु।” (१ कोरिन्थी ९:२७) पावलले आफूमाथि ‘कड़ा नियंत्रण’ राखे। तिनको शरीरले खराब काम गर्न चाहेता पनि, असल काम गर्न तिनी आफूलाई जोड़ लगाउँद थिए। र तिनले गरे जस्तै तपाईंले गर्नु भयो भने, तपाईंले पनि यो सङ्घर्ष जित्न सक्नु हुनेछ।
१६. असल काम गर्ने सङ्घर्षमा विजयी हुन के आधुनिक उदाहरणबाट हामीहरूलाई मदद मिल्न सक्छ?
१६ आफ्ना केही खराब बानीहरूमाथि विजय पाउन तपाईंलाई कठिन भइ रहेछ भने, यहोवाका साक्षीहरूको आउँदो ठूलो सम्मेलनमा सामेल हुनुहोस्। त्यहाँ उपस्थित हुनेहरूको स्वच्छ आचरण र आनन्द देखेर तपाईं निश्चय पनि प्रभावित हुनुहुनेछ। तथापि तिनीहरू मध्य धेरै जना कुनै समयमा यसै संसारका भाग थिए जहाँ व्यभिचार, जारी, मतवालापन, पुरूषगमन, धूम्रपान, नशालाग्ने औषधीहरूको सेवन, चोरी, ठगी, झूट र जुआ इत्यादि बिलकुलै सामान्य कुराहरू छन्। तिनीहरू मध्य धेरै जना, कुनै समयमा यी कुराहरूमा संलग्न थिए। (१ पत्रुस ४:३, ४) जसै तपाईं यहोवाका साक्षीहरूको सानो मण्डलीका सभाहरूमा जतिसके चाँड़ो सम्मिलित हुनु भयो भने, तपाईं जुन खराब बानीहरू र इच्छाहरूका विरुद्ध सङ्घर्ष गर्दै हुनुहुन्छ ती सबैमाथि विजय प्राप्त गर्न सङ्घर्ष गरेका व्यक्तिहरूका बीचमा आफूलाई पाउनु हुनेछ। त्यसकारण हिम्मत बाँध्नु होस्! तिनीहरू असल काम गर्ने सङ्घर्षमा विजयी भइ रहेकाछन्। परमेश्वरको मददले तपाईं पनि विजयी हुन सक्नु हुन्छ।
१७. (क) त्यस सङ्घर्षमा विजयी हुने हो भने कुन प्रकारको सङ्गति जरूरी छ? (ख) समस्याहरूकालागि तपाईं को सँग सहायता प्राप्त गर्न सक्नु हुन्छ?
१७ यहोवाका साक्षीहरूसँग केही समय देखिन् तपाईं बाइबल अध्ययन गर्दै हुनुहुन्छ भने, तपाईं निश्चय पनि राज्य सभा-गृहमा हुने सभाहरूमा सामेल हुनु भएकै होला। यस प्रकारको सभामा नियमित रूपले सामेल हुने बानी बसाल्नु होस्। यस प्रकारको मसीही सङ्गति द्वारा पाइने आध्यात्मिक प्रोत्साहनको हामी सबैलाई आवश्यकता छ। (हिब्रू १०:२४, २५) मण्डलीका “धर्म-गुरु” वा प्राचीनहरूसँग परिचित हुने प्रयत्न गर्नुहोस्। “परमेश्वरको बगालको गोठालोको” काम गर्ने जिम्मेवारी तिनीहरूको हो। (१ पत्रुस ५:१-३; प्रेरित २०:२८) अत: परमेश्वरका नियम विपरीतका केही बानीहरूमाथि विजय पाउँन यदि तपाईंलाई मददको आवश्यकता छ भने तिनीहरू कहाँ जान सङ्कोच नमान्नु होस्। तपाईंले तिनीहरूलाई स्नेही, कृपालु र विचारशील पाउनु हुनेछ।—१ थिस्सलोनिकी २:७, ८.
१८. भविष्यका कुन् प्रत्याशाहरूले सङ्घर्ष गरिरहने बल दिनेछन्?
१८ गलत कुराहरू गर्ने दबाव हामीहरूमाथि शैतानको संसारबाट मात्र आउँदैन। त्यो दबाव हाम्रो आफ्नै पापपूर्ण स्वभावको कारणले पनि आउँछ। अत: परमेश्वर प्रति वफादार रहनकालागि प्रति दिन सङ्घर्षरत् रहनु पर्छ। तर यो सङ्घर्ष सदाकालागि रहिरहने छैन भनेर सुन्दा कत्ति राम्रो लाग्छ! शैतान चाड़ैनै हटाइनेछ र त्यसको सारा दुष्ट संसारलाई नाश गरिनेछ। अनि, नजिक आइरहेको परमेश्वरको नया रीति-रिवाजमा न्याययुक्त परिस्थितिहरू हुनेछन् जसले गर्दा हाम्रो कार्य मार्ग धेरैनै सजिलो हुनेछ। अन्तत्वगत्वा पापका सबै अवशेषहरू सिद्धिने छन्, र असल काम गर्न यत्तिको कड़ा सङ्घर्ष गर्नु पर्ने छैन।
१९. यहोवालाई खुशी पार्ने हर प्रयत्न गर्न तपाईं किन इच्छुक हुनु पर्छ?
१९ त्यस नया रीति-रिवाजमा हुने आशिषहरूवारे नियमित रूपले सोंची रहनु होस्। हो, “मुक्तिको आशाको टोप” पहिरनु होस्। (१ थिस्सलोनिकी ५:८) तपाईंको मनोबृत्ति पनि त्यो तरूणी आइमाइ जस्तै होस् जसले भनी: “यहोवाले मेरालागि जे जति गरी दिनु भएको छ र भविष्यमा अझ गर्ने प्रतिज्ञा गर्नु भएको छ, ती सबै कुरालाई म प्रति दिन सोंची रहन्छु। अनन्त जीवनकालागि गरिने कुनै पनि प्रयत्न व्यर्थको हुन सक्तैन।” यदि हामीहरूले इमान्दारीपूर्वक धार्मिकताको खोजी गरी रह्यौं भने, ‘यहोवाले गर्नु भएको सबैनै उत्तम प्रणहरू’ उहाँलाई प्रेम गर्नेहरूकालागि पूरा हुनेछ।—यहोशू २१:४५.
[पृष्ठ २१९-मा भएको चित्र]
प्राचीन मिस्रको जीवन-शैली विलासपूर्ण भएर पनि मोशाले त्यसको परित्याग किन गरे?
[पृष्ठ २२०, २२१-मा भएको चित्र]
दाऊद हेरिरहे: अनैतिकता तर्फ लैजाने परिस्थितिबाट उनले आफूलाई बचाएनन्
[पृष्ठ २२२-मा भएको चित्र]
यूसुफ पोतीफरकी पत्नीको अनैतिक चालबाट टाढ़ा भागे