हिब्रू
१० मोसाको व्यवस्था वास्तविकता नभएर आउन लागेका असल कुराहरूको छाया मात्र हो।+ त्यसैले हरेक वर्ष एउटै किसिमका बलिदानहरू निरन्तर चढाइए पनि त्यसले* परमेश्वरका उपासकहरूलाई कहिल्यै पूर्ण* बनाउन सक्दैन।+ २ अन्यथा के बलिदान चढाउने काम बन्द भइसक्ने थिएन र? किनकि पवित्र सेवा चढाउने मानिसहरू एक पटक शुद्ध भइसकेपछि तिनीहरूलाई आफू पापी हुँ भन्ने चेतना नै हुने थिएन। ३ बरु यसको विपरीत यी बलिदानहरूले हरेक वर्ष तिनीहरूलाई आफ्ना पापहरूको सम्झना गराइरहन्थ्यो।+ ४ किनकि बहर अनि बोकाहरूको रगतले पापहरू हटाउन असम्भव छ।
५ त्यसैले जब उहाँ संसारमा आउनुभयो तब उहाँले परमेश्वरलाई यसो भन्नुभयो: “‘तपाईँले बलिदान र भेटीहरू चाहनुभएन तर तपाईँले मेरो निम्ति एउटा शरीर तयार पार्नुभयो। ६ तपाईँले अग्निभेटी* र पापभेटी* स्विकार्नुभएन।’+ ७ तब मैले भनेँ: ‘हे परमेश्वर, हेर्नुहोस्, तपाईँको इच्छा पूरा गर्न म आएँ (जस्तो कि मुठामा* मेरो विषयमा लेखिएको छ)।’”+ ८ पहिला उहाँले यसो भन्नुभयो: “तपाईँले बलिदान, भेटी, अग्निभेटी अनि पापभेटीहरू”—जुन मोसाको व्यवस्थाबमोजिम चढाइने बलिदानहरू हुन्—“न त चाहनुभयो न स्विकार्नुभयो।” ९ त्यसपछि उहाँ यसो भन्नुहुन्छ: “हेर्नुहोस्! तपाईँको इच्छा पूरा गर्न म आएँ।”+ नयाँलाई स्थापित गर्न सकियोस् भनेर उहाँ पुरानोलाई विस्थापित गर्नुहुन्छ। १० येसु ख्रिष्टले एकै चोटि सदाको लागि चढाउनुभएको आफ्नो शरीरको भेटीले गर्दा यही “इच्छा”-द्वारा+ हामी पवित्र पारिएका छौँ।+
११ साथै बलिदानहरूले पापहरू पूरै हटाउन कहिल्यै सम्भव छैन।+ त्यसैले त पवित्र सेवा* गर्न र एउटै किसिमका बलिदानहरू बारम्बार चढाउन+ हरेक पुजारी दिनहुँ आ-आफ्नो ठाउँमा खडा हुन्छन्।+ १२ तर उहाँले पापहरूका निम्ति सदाको लागि एउटा बलिदान चढाउनुभयो र परमेश्वरको दाहिने हाततर्फ बस्नुभयो।+ १३ त्यसबेलादेखि उहाँ त्यो समयलाई पर्खिरहनुभएको छ, जब उहाँका शत्रुहरूलाई उहाँको पाउदान तुल्याइनेछ।+ १४ किनकि पवित्र पारिँदै गरेकाहरू सबैलाई उहाँले एउटै बलिदानद्वारा सदाको लागि पूर्ण बनाउनुभएको छ।+ १५ यसबाहेक पवित्र शक्तिले पनि हामीलाई साक्षी दिन्छ किनकि त्यसले पहिले यसो भन्छ: १६ “‘ती दिनहरूपछि तिनीहरूसित मैले गर्ने करार यही हो,’ यहोवा* भन्नुहुन्छ। ‘मेरा नियमहरू म तिनीहरूको हृदयमा राखिदिनेछु र तिनीहरूको दिमागमा ती लेखिदिनेछु।’”+ १७ त्यसपछि यसो भन्छ: “अनि म तिनीहरूका पापहरू र तिनीहरूका कुकर्महरू फेरि कहिल्यै सम्झनेछैनँ।”+ १८ अब जहाँ यी पापहरूको क्षमा हुन्छ, त्यहाँ पापको लागि भेटीको कुनै आवश्यकता हुँदैन।
१९ तसर्थ हे भाइ हो, येसुको रगतले गर्दा हामीसित पवित्र ठाउँभित्र पस्ने हिम्मत छ,+ २० जहाँ पुग्न उहाँले हाम्रो निम्ति नयाँ र जीवित बाटो खोल्नुभयो, जुन बाटो पर्दा भएर जान्छ+ र त्यो पर्दा उहाँको शरीर हो। २१ साथै परमेश्वरको घरानामाथि खटाइनुभएको महान् पुजारी हामीसित हुनुहुन्छ।+ २२ त्यसैले आओ, निष्कपट हृदय र पूरा विश्वासका साथ परमेश्वरसामु जाऔँ। किनकि हाम्रो हृदय अनि दुष्ट अन्तस्करण शुद्ध पारिएको छ+ अनि हाम्रो शरीर सफा पानीले धोइएको छ।+ २३ आओ, हामी नधरमराई आफ्नो आशा जनसमक्ष घोषणा गरिरहौँ + किनकि प्रतिज्ञा गर्ने जो हुनुहुन्छ, उहाँ विश्वासयोग्य हुनुहुन्छ। २४ अनि आपसमा गहिरो चासो राखेर* हामी एकअर्कालाई प्रेम र सुकर्म गर्न उत्साहित बनाऔँ,*+ २५ कसै-कसैलाई एकसाथ भेला हुन छोड्ने बानी परेको छ तर हामी भने त्यसरी भेला हुन नछोडौँ + बरु एकअर्कालाई प्रोत्साहन दिइरहौँ + अनि दिन जति-जति नजिक हुँदै गइरहेको देख्छौँ, झन् बढी त्यसो गरिरहौँ।+
२६ सत्यको सही ज्ञान पाएपछि यदि हामी जानाजानी पाप गरिरहन्छौँ भने+ हाम्रा पापहरूको निम्ति कुनै बलिदान बाँकी रहँदैन।+ २७ बाँकी रहन्छ त केवल न्यायको भयावह पर्खाइ अनि विरोधीहरूलाई भस्म गर्ने क्रोधको आगो।+ २८ यदि मोसाको व्यवस्थाको अवहेलना गर्ने मानिसलाई दुई वा तीन जनाले दिएको साक्षीको आधारमा कुनै दयामाया नदेखाई मृत्युदण्ड दिइन्छ भने+ २९ तिमीहरू सोच त, त्यो मानिस झन् कति ठूलो दण्ड पाउन लायक हुनेछ, जसले परमेश्वरको छोरालाई कुल्चेको छ अनि जुन करारको रगतले+ आफूलाई पवित्र बनायो, त्यसैलाई मूल्यहीन सम्झेको छ अनि जसले परमेश्वरले देखाउनुभएको असीम अनुग्रहलाई हेय दृष्टिले हेरेर पवित्र शक्तिको अपमान गरेको छ?+ ३० किनकि हामी परमेश्वरलाई चिन्छौँ, जसले यसो भन्नुभएको छ: “बदला लिने काम मेरो हो, म साटो फेर्नेछु।” अनि फेरि: “यहोवाले* आफ्ना मानिसहरूको न्याय गर्नुहुनेछ।”+ ३१ जीवित परमेश्वरको हातमा पर्नु डरलाग्दो कुरा हो।
३२ तथापि तिमीहरू पहिले-पहिलेका ती दिनहरू सम्झिरहो, जुन बेला ज्ञानको ज्योति पाइसकेपछि+ तिमीहरूले ठूलो सङ्घर्ष गरेर दुःखकष्ट सह्यौ। ३३ कहिले सबैको अगाडि* तिमीहरूको अपमान गरियो र तिमीहरूलाई सताइयो भने कहिलेचाहिँ त्यस्ता कुराहरू अनुभव गर्नेहरूसितै तिमीहरूले दुःख भोग्यौ।* ३४ तिमीहरूले झ्यालखानामा हुनेहरूलाई सहानुभूति देखायौ अनि आफ्नो सम्पत्ति लुटिँदा हाँसीहाँसी सह्यौ+ किनकि तिमीहरूसित त्योभन्दा उत्तम अनि स्थायी सम्पत्ति छ भनेर तिमीहरूलाई थाह थियो।+
३५ तसर्थ साहसी हुन नछोड* किनकि त्यसबापत तिमीहरूले प्रशस्त इनाम पाउनेछौ।+ ३६ तिमीहरू सहनशील हुनु आवश्यक छ+ किनकि परमेश्वरको इच्छा पूरा गरिसकेपछि तिमीहरूले त्यो कुरा पाउन सक्नेछौ, जसको विषयमा उहाँले प्रतिज्ञा गर्नुभएको छ। ३७ किनकि “थोरै समय मात्र” बाँकी छ+ अनि “जो आउँदै हुनुहुन्छ, उहाँ ढिलो नगरी आउनुहुनेछ।”+ ३८ “तर मेरो नजरमा धर्मी ठहरिएको मानिस विश्वासैले गर्दा जिउनेछ”+ अनि “यदि ऊ पछि हट्छ भने म ऊसित खुसी हुनेछैनँ।”+ ३९ अब हामी पछि हटेर नाश हुने खालका मानिसहरू होइनौँ + बरु विश्वास गरेर आफ्नो जीवन बचाउने खालका मानिसहरू हौँ।