अध्याय ४३
दृष्टान्तसहितको शिक्षा
येशूले फरिसीहरूलाई हप्काउँदा सायद उहाँ कफर्नहुममा हुनुहुन्छ। त्यसै दिन केही समयपछि उहाँ घर छाडेर नजिकको गालील समुद्रतर्फ हिंड्दै जानुहुन्छ, जहाँ मानिसहरूको भीड जम्मा हुन्छ। यस ठाउँबाट उहाँ एउटा डुङ्गामा सवार भएर अलिक टाढा जानुहुन्छ र किनारमा जम्मा भएकाहरूलाई स्वर्गको राज्यको विषयमा शिक्षा दिन सुरु गर्नुहुन्छ। उहाँले सो काम मानिसहरूले बुझ्ने प्रकारका विभिन्न दृष्टान्त वा उदाहरणहरूद्वारा गर्नुहुन्छ।
सर्वप्रथम, येशूले एक जना बीउ छर्ने किसानको विषयमा कुरा गर्नुहुन्छ। कुनै-कुनै बीउ बाटोमा खस्छन् र ती चराले खाइहाल्छन्। अरू बीउ चट्टानमा खस्छन्। जरा लाग्न नपाएर नयाँ पलाएको टुसा घामको तापले ओइलाइहाल्छ। अझ अरू बीउ काँडाहरूको माझमा खस्छन् र काँडाहरूले गर्दा पलाउनासाथै निसासिन्छन्। आखिरमा कुनै बीउ असल माटोमा खस्छन् र कुनैले सय, कुनैले साठी, कुनैले तीस गुणा फल फलाउँछन्।
एउटा अर्को दृष्टान्तमा परमेश्वरको राज्यलाई बीउ छर्ने मानिससँग येशू तुलना गर्नुहुन्छ। दिन जसै बित्दै जान्छ र त्यो मानिस सुतेर उठ्दा बीउ पलाउँछ। कसरी, त्यो मानिसलाई थाह छैन। त्यो बीउ आफै बढ्छ र अन्न फलाउँछ। अन्न पाकेपछि त्यस मानिसले फल काट्छ।
येशूले तेस्रो दृष्टान्त दिनुहुन्छ र यो दृष्टान्त त्यस मानिसको विषयमा हो जसले राम्रो प्रकारको बीउ छर्छ तर “मानिसहरू सुतिरहेको बेला” एउटा शत्रु आएर गहुँको बीच-बीचमा सामाहरू छरिदिन्छ। सामाहरूलाई उखेलिदिने हो कि भनेर त्यस मानिसका चाकरहरूले उसलाई सोध्छन्। तर उसले यो जवाफ दिन्छ: ‘भो, पर्दैन। नत्रता तिमीहरूले सामासँगसँगै गहुँ पनि उखेल्नेछौ। बाली काट्ने बेलासम्म दुवैलाई सँगै बढ्न देओ। अनि बाली काट्ने बेला म खेतालाहरूलाई भन्नेछु, पहिला सामा बटुलेर जलाउनलाई बिटा बाँध र त्यसपछि गहुँ जम्मा गरेर मेरो धनसारमा राख।’
किनारमा भेला भएका मानिसहरूलाई भाषण दिंदै येशू अझै दुई वटा दृष्टान्तहरू भन्नुहुन्छ। “स्वर्गको राज्य” एक जना मानिसले रोपेको एउटा रायोको दानाजस्तै हो भनी उहाँ भन्नुहुन्छ। त्यो सबैभन्दा सानो बीउ भए तापनि जब त्यो बढ्छ, सबै सागपातहरू भन्दा त्यो ठूलो हुन्छ भनेर उहाँ भन्नुहुन्छ। बढेर त्यो एउटा रूख हुन्छ जसमा चराहरू आउने गर्छन् र त्यसका हाँगाहरूमा शरण लिन्छन्।
तथापि रायोको दानाभन्दा पनि साना बीउहरू छन् भन्दै आज कुनै-कुनै मानिसहरू आपत्ति गर्छन्। तर येशूले यहाँ वनस्पति विज्ञानसम्बन्धी शिक्षा दिनुभएको होइन। उहाँका समयका गालीलीहरूलाई थाह भएका बीउमध्ये रायोको दाना वास्तवमा सबैभन्दा सानो हो। यसकारण येशूले अद्भुत वृद्धिबारे दिनुभएको दृष्टान्तलाई तिनीहरू कदर गर्छन्।
अन्तमा येशू “स्वर्गको राज्य”-लाई एउटी स्त्रीले तीन भाँडो पीठोमा राखिछोडेकी खमिरसँग तुलना गर्नुहुन्छ। समयमा त्यो खमिरले पीठोको जम्मै ढिक्कालाई खमिरा बनाइदिन्छ भनी उहाँ भन्नुहुन्छ।
यी पाँच वटा दृष्टान्त बताइसकेपछि येशू भीडबाट बिदा लिनुहुन्छ र आफू बसेको घरमा फर्कनुहुन्छ। चाँडै उहाँका १२ जना प्रेषितहरू र अरूहरू उहाँकहाँ आउँछन्।
येशूका दृष्टान्तहरूबाट लाभ उठाउने
किनारमा जम्मा भएका भीडसँग येशूले बोलिसकेपछि उहाँका चेलाहरू उहाँकहाँ आएर उहाँको शिक्षा दिने नयाँ ढङ्गबारे जिज्ञासा प्रकट गर्छन्। उहाँले पहिले पनि दृष्टान्तहरू प्रयोग गर्नुभएको तिनीहरूले सुनेका छन् तर यति विस्तृत रूपमा होइन। यसकारण तिनीहरू उहाँलाई सोध्छन्: “तिनीहरूसित कुरा गर्दा तपाईं किन दृष्टान्तहरू चलाउनुहुन्छ?”
यसको एउटा कारण त भविष्यवक्ताका यी शब्दहरू पूरा गर्नका लागि हो: “दृष्टान्तहरू चलाएर म आफ्नो मुख खोल्नेछु, प्रारम्भदेखि छिपेको कुरा म प्रकट गर्नेछु।” तर कारण यति मात्र होइन। उहाँले प्रयोग गर्नुभएका दृष्टान्तहरूले मानिसको मनोवृत्ति प्रकट गर्न मदत पुऱ्याउँछ।
वास्तवमा धेरैजसो मानिसले येशूलाई एउटा निपुण कथाकार र चमत्कार गर्ने व्यक्ति ठानेर मात्र उहाँमा चासो व्यक्त गरेका हुन्। उहाँलाई प्रभु मान्दै उहाँको सेवा गर्ने र निःस्वार्थ भावसाथ उहाँको पछि लाग्ने उद्देश्यले होइन। आफ्नो जीवनशैली अथवा विभिन्न कुराप्रति तिनीहरू आफ्नो दृष्टिकोण बदल्न चाहँदैनन्। येशूका सन्देशबाट तिनीहरू त्यस हदसम्म प्रभावित हुन चाहँदैनन्।
यसकारण येशू भन्नुहुन्छ: “त्यसैले म तिनीहरूसित कुरा गर्दा दृष्टान्तहरू चलाउँछु, किनभने तिनीहरू हेर्न त हेर्छन् तर देख्दैनन्, सुन्न त सुन्छन् तर ठम्याउँदैनन्, न त तिनीहरू त्यसको अर्थ नै बुझ्छन्। यशैयाको भविष्यवाणी तिनीहरूमाथि पूरा हुन्छ, जहाँ यसो भनिएको छ: ‘. . . किनकि यी मानिसहरूको मन बोधो भएको छ।’ ”
येशू अझ यसो भन्नुहुन्छ: “तर तिमीहरू आनन्दित हौ किनभने तिमीहरूका आँखाले देख्छन् र तिमीहरूका कानले सुन्छन्। म तिमीहरूलाई साँचो-साँचो भन्छु, धेरै भविष्यवक्ताले र परमेश्वरको स्तरबमोजिम असल काम गर्ने मानिसहरूले तिमीहरूले देखिरहेका कुराहरू हेर्ने इच्छा गरेका थिए तर देख्न पाएनन् अनि तिमीहरूले सुनिरहेका कुराहरू सुन्ने इच्छा गरेका थिए तर सुन्न पाएनन्।”
हो, ती १२ जना प्रेषितहरू र तिनीहरूसँग हुनेहरूको मन कठोर छैन। यसकारण येशू भन्नुहुन्छ: “तिमीहरूलाई स्वर्गको राज्यको पवित्र रहस्य बुझ्ने मौका दिइएको छ तर ती मानिसहरूलाई त दिइएको छैन।” चेलाहरूले बुझ्ने इच्छा गरेकोले येशूले तिनीहरूलाई बीउ छर्ने मानिसको दृष्टान्तको अर्थ खोलिदिनुहुन्छ।
येशू भन्नुहुन्छ: “बीउ परमेश्वरको वचन हो” र माटोचाहिं मन हो। बाटोको कडा जग्गामा छरिएको बीउको अर्थ उहाँ यसप्रकार खोल्नुहुन्छ: “जसले वचन सुन्छन् तर त्यसपछि दियाबल आउँछ र तिनीहरूले विश्वास गरेर उद्धार नपाऊन् भनेर तिनीहरूको मनबाट त्यो वचन खोसेर लैजान्छ।”
अर्कोतिर चट्टानमा पर्ने बीउले ती मानिसहरूको मनलाई सङ्केत गर्छ जसले वचन खुसीसाथ ग्रहण गर्छन्। तर यसप्रकारका मानिसहरूमा वचनले गहिरो जरा हाल्न नसकेकोले सतावट अथवा कुनै परीक्षाको समय आइपर्दा यी मानिसहरू पछि हटेर गइहाल्छन्।
येशू भन्नुहुन्छ कि काँडाहरूको माझमा खसेका बीउहरूचाहिं ती मानिसहरू हुन् जसले वचन सुनेका छन्। तर जीवनका चिन्ता, धनसम्पत्ति अनि मोजमज्जामा लागेर बाटो बिराएकोले तिनीहरूको प्रगतिमा बाधा आइपर्छ र त्यसलाई पूरा गर्न सक्दैनन्।
अन्तमा असल जमिनमा खसेका बीउहरूको विषयमा येशू भन्नुहुन्छ कि तिनीहरू त्यस प्रकारका मानिसहरू हुन् जसले राम्रो र असल मनले वचन सुन्छन्, त्यसलाई मनमा राख्छन् र धीरजी भई फल फलाउँछन्।
येशूका शिक्षाहरूको अर्थ बुझ्न चाहेर उहाँको खोजी गर्ने यी चेलाहरू कति आनन्दित हुन्! अरूहरूलाई सत्य बुझाउनका निम्ति उहाँका दृष्टान्तहरूको अर्थ बुझेको येशू चाहनुहुन्छ। उहाँ प्रश्न गर्नुहुन्छ: “के दियो बालेर पाथीमुनि वा खाटमुनि राखिन्छ र? त्यो त पानसमाथि राखिन्छ नि, होइन र?” यसप्रकार यहाँ येशू यो कुरा पनि थप्नुहुन्छ: “त्यसैले तिमीहरू कसरी सुन्छौ, ध्यान देओ।”
अझ बढी उपदेशद्वारा आशिष्
येशूले बीउ छर्ने दृष्टान्तको अर्थ बुझाउनुभएपछि उहाँका चेलाहरू अझ सिक्न चाहन्छन्। तिनीहरू बिन्ती गर्छन्: “खेतको सामाको दृष्टान्तको अर्थ हामीलाई बताइदिनुहोस्।”
किनारमा भएका भीडको भन्दा चेलाहरूको विचारधारा कति बेग्लै छ! दृष्टान्तहरूमा प्रस्तुत बाहिरी रूपरेखासँग मात्र सन्तोष मान्दै लुकेको अर्थ बुझ्ने उत्कट इच्छा ती भीडका मानिसहरू गर्दैनन्। उहाँकहाँ जिज्ञासा प्रकट गर्दै घरभित्र आएका आफ्ना चेलाहरूको तुलना किनारमा भेला भएका ती मानिसहरूसँग गर्दै येशू भन्नुहुन्छ:
“जुन नापले तिमीहरू नाप्छौ, त्यही नापले तिमीहरू नापिनेछौ। हो, तिमीहरूलाई त्योभन्दा अझ धेरै दिइनेछ।” चेलाहरूले येशूलाई धेरै परिमाणमा उत्कट चासो र ध्यान दिइरहेका छन् जसले गर्दा तिनीहरूले पनि आशिष्को रूपमा अझ बढी निर्देशन पाएका छन्। यसकारण चेलाहरूको प्रश्नको जवाफ दिंदै येशू व्याख्या गर्नुहुन्छ:
“असल बीउ छर्ने व्यक्ति मानिसको छोरा हो; खेत संसार हो; असल बीउ राज्यका सन्तान हुन्; तर सामाचाहिं त्यस दुष्टका सन्तान हुन्; ती छर्ने शत्रु दियाबल हो। बाली काट्ने समयचाहिं युगको आखिरी समय हो अनि खेतालाहरूचाहिं स्वर्गदूतहरू हुन्।”
आफ्नो दृष्टान्तको प्रत्येक विशेषतालाई खुलस्त पारिसकेपछि येशू त्यसको नतिजाको वर्णन गर्नुहुन्छ। युगको आखिरी समयको बेलामा खेतालाहरू अथवा स्वर्गदूतहरूले सामाजस्ता नकली ख्रीष्टियनहरूलाई “राज्यका सन्तान”-बाट अलग पार्नेछन् भनी उहाँ भन्नुहुन्छ। यसपछि “दुष्टका सन्तान” विनाशका लागि छुट्याइनेछन् र परमेश्वरको राज्यका सन्तान अथवा “परमेश्वरको स्तरबमोजिम असल काम गर्ने मानिसहरू”-चाहिं तिनीहरूका बुबाको राज्यमा सूर्यझैं चम्किनेछन्।
यसपछि येशूले चासो व्यक्त गर्ने आफ्ना चेलाहरूलाई अझ तीन वटा दृष्टान्तहरू बताएर आशिष् दिनुहुन्छ। सर्वप्रथम, उहाँ भन्नुहुन्छ: “स्वर्गको राज्य खेतमा लुकाइराखेको धनजस्तो हो, जो एक जना मानिसले फेला पारेर लुकाउँछ अनि ऊ खुसी हुँदै जान्छ र आफूसित भएको सबै थोक बेचेर त्यो खेत किन्छ।”
उहाँ अझ यसो भन्नुहुन्छ: “स्वर्गको राज्य असल मोती खोज्दै हिंड्ने व्यापारीजस्तो हो, जसले उच्चकोटिको एउटा मोती फेला पारेपछि गएर आफूसित भएको सबै थोक तुरुन्तै बेच्यो र त्यो किन्यो।”
येशू स्वयम्त्यस मानिसजस्तो हुनुहुन्छ जसले गाडेको धन फेला पार्छ र त्यस व्यापारीजस्तो जसले उच्चकोटिको एउटा मोती भेट्टाउँछ। सबै थोक बेचेसरह एउटा नम्र मानिस हुनका लागि स्वर्गमा उहाँले एउटा सम्मानित स्थान छाड्नुभयो। यसपछि पृथ्वीमा मानिसको रूपमा उहाँ निन्दा र घृणास्पद सतावट भोग्नुहुन्छ र यसप्रकार उहाँ परमेश्वरको राज्यको शासक हुने योग्य प्रमाणित हुनुहुन्छ।
येशूका अनुयायीहरूका सामुन्ने पनि या त ख्रीष्टसँग सह-शासक हुने महान् इनाम अथवा राज्यको एउटा पार्थिव प्रजा हुने सुअवसर प्राप्त गर्नका लागि सबै कुरा बेच्ने चुनौती राखिदिइएको छ। परमेश्वरको राज्यमा भाग लिने मौकालाई के हामी जीवनका सबै कुराहरू अथवा कुनै अनमोल धन वा उच्चकोटिको मोतीभन्दा मूल्यवान् ठान्छौं?
अन्तमा येशू “स्वर्गको राज्य-”लाई एउटा ठूलो जालसँग तुलना गर्नुहुन्छ जसले विभिन्न किसिमका माछाहरू बटुल्छ। माछाहरू छुट्याउँदा काम नलाग्ने माछाहरू फालिन्छन् तर असल माछाहरू राखिन्छन्। येशूको भनाइअनुसार यस युगको आखिरी समयमा पनि यस्तै हुनेछ; स्वर्गदूतहरूले दुष्टलाई परमेश्वरको स्तरबमोजिम असल काम गर्ने मानिसहरूको माझबाट अलग पार्नेछन् र दुष्टहरूलाई विनाशका लागि साँचेर राख्नेछन्।
येशू स्वयम्ले त्यो माछा समात्ने अभियान सुरु गर्नुहुन्छ र आफ्ना प्रथम चेलाहरूलाई “मानिसहरूको जलारी” भन्नुहुन्छ। स्वर्गदूतहरूको निगरानीमा माछा समात्ने काम शताब्दीयौंदेखि चलिरहन्छ। आखिरमा, ख्रीष्टियन हुँ भने दाबी गर्ने पृथ्वीका सम्पूर्ण सङ्गठनलगायत अभिषिक्त ख्रीष्टियनहरूको मण्डलीले प्रतिनिधित्व गर्ने “ठूलो जाल”-लाई तानेर किनारामा निकाल्ने समय आउँछ।
काम नलाग्ने माछाहरू विनाशमा फालिए तापनि “असल माछाहरू” साँचेर राखिनेछन् र यसका लागि हामी कृतज्ञ छौं। अझ बढी ज्ञान र समझशक्तिका लागि येशूका चेलाहरूले झैं उत्कट इच्छा प्रकट गऱ्यौं भने हामीले आशिष्को रूपमा अझ उपदेश मात्र होइन तर परमेश्वरले दिनुहुने अनन्त जीवनको आशिष् पनि पाउनेछौं। मत्ती १३:१-५२; मर्कूस ४:१-३४; लूका ८:४-१८; भजन ७८:२; यशैया ६:९, १०.
▪ येशूले कहाँ र कहिले भीडसँग दृष्टान्तहरूमा बोल्नुहुन्छ?
▪ अब भीडलाई येशू कुन पाँच वटा दृष्टान्तहरू बताउनुहुन्छ?
▪ रायोको दानालाई येशू किन सबैभन्दा सानो दाना भन्नुहुन्छ?
▪ येशू किन दृष्टान्तहरूका साथ बोल्नुहुन्छ?
▪ येशूका चेलाहरूले आफूलाई भीडभन्दा बेग्लै कसरी साबित गर्छन्?
▪ बीउ छर्ने मानिसको दृष्टान्तको येशू के अर्थ लगाउनुहुन्छ?
▪ किनारमा भेला भएका भीडभन्दा येशूका चेलाहरू किन बेग्लै छन्?
▪ बीउ छर्ने मानिस, खेत, असल बीउ, शत्रु, बाली काट्ने समय र खेतालाहरूले केको प्रतिनिधित्व गर्छन्?
▪ येशूले अझ कुन तीन दृष्टान्तहरू बताउनुहुन्छ र त्यसबाट हामी के सिक्न सक्छौं?