पुनस्थापित “देश[मा]” मिलिजुली बस्ने निवासीहरू
“तिमीहरू परमप्रभुका पूजाहारी भनिनेछौ। मानिसहरूले तिमीहरूलाई हाम्रा परमेश्वरका सेवक भन्नेछन्।”—यशैया ६१:६.
१, २. (क) इस्राएलमा यहूदी मत मान्नेहरूको स्थिति कस्तो थियो? (ख) आधुनिक समयमा “ठूलो भीड[का]” सदस्यहरूले कस्तो मनोवृत्ति देखाएका छन्?
प्राचीन समयमा इस्राएल विश्वासी छँदा सारा संसारमा यहोवाको महिमाको साक्षी भयो। (यशैया ४१:८, ९; ४३:१०) फलतः थुप्रै विदेशीहरू आकर्षित भए अनि यहोवाको छानिएको जनसँगै उहाँको सेवा गरे। वास्तवमा रूथले नओमीलाई भनेझैं यिनीहरूले इस्राएललाई भने: “तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन्। औ तपाईंका परमेश्वर मेरा परमेश्वर हुनेछन्।” (रूथ १:१६) यिनीहरूले व्यवस्थाको करार पालन गरे। फलतः पुरुषहरूले खतना गरे। (प्रस्थान १२:४३-४८) केही स्त्रीहरूले इस्राएलीहरूसित विवाह गरे। यरीहोकी राहाब र मोआबी रूथ येशू ख्रीष्टका पुर्खा भए। (मत्ती १:५) यहूदी मत मान्ने त्यस्ता मानिसहरू इस्राएलको मण्डलीका सदस्यहरू थिए।—व्यवस्था २३:७, ८.
२ इस्राएलमा यहूदी मत मान्ने मानिसहरूले जस्तै आज “ठूलो भीड़[ले]” शेष अभिषिक्त जनलाई यसो भनेका छन्: “हामी तपाईंसित जानेछौं, किनभने हामीले सुनेका छौं कि परमेश्वर तपाईंसित हुनुहुन्छ।” (प्रकाश ७:९; जकरिया ८:२३) यिनीहरू ती अभिषिक्त मसीहीहरूलाई यहोवाको “विश्वासी र बुद्धिमान दास” मान्छन् र यिनीहरूसित घनिष्ठ भएर काम गर्छन्। फलतः अभिषिक्त जन र “ठूलो भीड़” “एकै बगाल र एकै गोठालाका” हुन्छन्। (मत्ती २४:४५-४७; यूहन्ना १०:१६) तर यिनीहरूका अभिषिक्त भाइहरूले आफ्नो स्वर्गीय इनाम पाएपछि ठूलो भीडलाई के हुनेछ? यिनीहरू डराउनुपर्दैन। किनभने यहोवाले यी “आखिरी दिनमा” त्यसको प्रबन्ध गर्नुभएको छ।—२ तिमोथी ३:१.
आत्मिक “देश”
३. पत्रुसले भविष्यवाणी गरेको “नयाँ स्वर्ग” के हो र यो कहिले स्थापित भयो?
३ प्रेरित पत्रुसले १,४४,००० अभिषिक्त मसीहीहरू सहभागी हुने स्वर्गीय शासन प्रबन्धबारे भविष्यवाणी गरेका थिए। तिनले यसो भने: “उहाँको प्रतिज्ञाबमोजिम हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्छौं, जसमा धार्मिकताले बास गर्छ।” (२ पत्रुस ३:१३) यो “नयाँ स्वर्ग” सन् १९१४ मा ख्रीष्ट स्वर्गीय राज्यको राजा हुनुभएपछि स्थापित भयो। तर “नयाँ पृथ्वी[बारे]” के भन्न सकिन्छ?
४. (क) सन् १९१९ मा कुन अप्रत्याशित घटना भयो? (ख) ‘एकै क्षणमानै उत्पन्न भएको जाति’ र ‘एकै दिनमा उत्पन्न भएको देश’ के थियो?
४ सन् १९१९ मा यहोवाले शेष अभिषिक्त जनलाई महान् बेबिलोनको कैदबाट छुटाउनुभयो। (प्रकाश १८:४) तर मसीहीजगतका नेताहरूका लागि यो नाटकीय घटना एकदम अप्रत्याशित थियो। बाइबलले यिनीहरूबारे यसो भन्छ: “यस्तो कुरा कसले देखेको छ? के एकै दिनमा एउटा देश उत्पन्न हुन्छ र? के एकै क्षणमानै एउटा जाति उत्पन्न हुनसक्छ र?” (यशैया ६६:८) अभिषिक्त मण्डली राष्ट्रहरूसमक्ष एक्कासि स्वतन्त्र देखा पर्दा वास्तवमा “एकै क्षणमानै एउटा जाति उत्पन्न” भयो। तर यो “देश” चाहिं के थियो? एक अर्थमा यो पुरातन इस्राएलको आध्यात्मिक समरूप थियो। त्यो नयाँ “जाति[लाई]” दिइएको सक्रिय संसार थियो जहाँ यशैयाको पुस्तकले प्रमोदवनबारे गरेका भविष्यवाणीहरूको आधुनिक अनि आध्यात्मिक पूर्ति हुन्छ। (यशैया ३२:१६-२०; ३५:१-७; हिब्रू १२:१२-१४ तुलना गर्नुहोस्।) एक जना मसीही जहाँसुकै होस्, ऊ त्यस “देश” भित्र हुन्छ।
५. सन् १९१९ मा कस्तो केन्द्रबिन्दु देखा पऱ्यो? वर्णन गर्नुहोस्।
५ तर पत्रुसले भविष्यवाणी गरेको “नयाँ पृथ्वी[सित]” यसको के सम्बन्ध? कुरा के हो भने, सन् १९१९ मा पुनस्थापित “देश[मा]” जन्मेको त्यो नयाँ “जाति” विकास हुँदै यहोवाका अभिषिक्त भएका र नभएका प्रशंसकहरूको विश्वव्यापी संगठन बन्नुपरेको थियो। यो संगठनले आरमागेडोन पार तरेर परमेश्वरको नयाँ संसारमा प्रवेश गर्नेछ। यसप्रकार त्यो जातिलाई त्यस धार्मिक मानव समाज अर्थात् नयाँ पृथ्वीको केन्द्रबिन्दु मान्न सकिन्थ्यो जुन समाज शैतानको संसारको विनाशपश्चात् पनि रहिरहनेछ।a सन् १९३० दशकको मध्यतिर अभिषिक्त जनहरूलाई एउटा समूहको रूपमा पुनस्थापित देशमा जम्मा गरिसकेको थियो। त्यस समयदेखि अरू भेडाहरूको ठूलो भीडलाई जम्मा गर्नेतर्फ जोड दिइएको छ। आज यी अरू भेडाहरू झन्डै ५० लाख पुगिसकेका छन्। (प्रकाश १४:१५, १६) के यो “देश[मा]” ज्यादै धेरै जनसंख्या भएन र? भएन, किनभने त्यसका सिमानाहरू आवश्यकताअनुरूप विस्तृत पार्न सकिन्छ। (यशैया २६:१५) यसरी शेष अभिषिक्त जनले “देश[लाई]” “फल” अर्थात् स्वस्थकर, शक्तिवर्धक आत्मिक भोजनले भर्दै जाँदा जनसंख्या वृद्धि भएको देख्नपाउनु निस्सन्देह रोमाञ्चकारी कुरा हो। (यशैया २७:६) तर परमेश्वरका जनको पुनस्थापित “देश[मा]” यी अरू भेडाहरूले कुन दर्जा पाएको छ?
“देश[का]” सक्रिय विदेशीहरू
६. परमेश्वरका जनको “देश[मा]” विदेशीहरू कसरी सक्रिय भएका छन्?
६ यहूदी मत मान्नेहरूले इस्राएलको देशमा मोशाको व्यवस्था पालन गरेजस्तै आज पुनस्थापित “देश[का]” ठूलो भीडले यहोवाका आज्ञाहरू पालन गर्छन्। यिनीहरूले आफ्ना अभिषिक्त भाइहरूबाट प्रशिक्षण पाएकोहुँदा झूटो धर्मदेखि पूर्णतया अलग बस्छन् र रगतको पवित्रतालाई पालन गर्छन्। (प्रेरित १५:१९, २०; गलाती ५:१९, २०; कलस्सी ३:५) यिनीहरू पूरा हृदय, पूरा मन, पूरा प्राण र पूरा शक्तिले यहोवालाई प्रेम गर्छन् र आफ्ना छिमेकीहरूलाई आफूलाई जस्तै प्रेम गर्छन्। (मत्ती २२:३७; याकूब २:८) पुरातन इस्राएलमा यहूदी मत मान्ने मानिसहरूले सुलेमानको मन्दिर निर्माण गर्न मदत गर्नुको साथै साँचो उपासना पुनस्थापित गर्नुपर्दा समर्थन गरेका थिए। (१ इतिहास २२:२; २ इतिहास १५:८-१४; ३०:२५) त्यस्तैगरि आज ठूलो भीडले पनि निर्माण योजनाहरूमा भाग लिन्छन्। उदाहरणका लागि, राज्य भवन निर्माण, सम्मेलन भवन निर्माण अनि शाखा भवन निर्माणको त कुरै छोडौं, मण्डली तथा क्षेत्रहरू स्थापना गर्नसमेत मदत गर्छन्।
७. बाबेलको निर्वासनपछि यरूशलेममा मन्दिरका सेवाहरू चढाउन यथेष्ट लेवीहरू नहुँदा के भयो?
७ सा.यु.पू. ५३७ मा बाबेलको निर्वासनबाट फर्केपछि इस्राएलले मन्दिर क्षेत्रको सेवालाई व्यवस्थित गर्न थाले। तथापि, बाबेलबाट यथेष्ट लेवीहरू फर्केका थिएनन्। तसर्थ, नेथिनिमवर्गलाई मन्दिरको सेवामा थप सुअवसरहरू दिइयो। यिनीहरू खतना गरिएका परदेशीहरू थिए र पहिले लेवीहरूका सहायक भएर काम गर्थे। तथापि, यिनीहरू अभिषिक्त हारूनवंशीय पूजाहारीहरूको बराबरीमा थिएनन्।b—एज्रा ७:२४; ८:१५-२०; नहेम्याह ३:२२-२६.
८, ९. आखिरी दिनमा पवित्र सेवा चढाउने सम्बन्धमा अरू भेडाहरूले कसरी थप कार्यभार लिएका छन्?
८ आज अभिषिक्त जनले उपरोक्त नमुना पछ्याएका छन्। “अन्तको समय” अघि बढ्दै जाँदा परमेश्वरका जनको “देश[मा]” शेष अभिषिक्त जनको संख्या झन् झन् कम हुँदै गएको छ। (दानियल १२:९; प्रकाश १२:१७) त्यसैकारण अहिले ठूलो भीडले “पवित्र सेवा” गर्ने अधिकांश कार्य पूरा गर्छन्। (प्रकाश ७:१५) यिनीहरू आफ्ना अभिषिक्त भाइहरूको निर्देशन पालन गर्दै ‘स्तुतिको बलिदान परमेश्वरलाई चढाउँछन्, जो उहाँको नाउँ स्वीकार गर्ने ओठको फल हो।’ यिनीहरू ‘भलाइ गर्न र सहयोगी हुन बिर्संदैनन्’ “किनकि यस्तै बलिदानहरूमा परमेश्वर प्रसन्न हुनुहुन्छ” भनेर यिनीहरूलाई थाह छ।—हिब्रू १३:१५, १६.
९ यसबाहेक, वर्षेनी लाखौंको दरले ठूलो भीड वृद्धि भइरहेकोहुँदा यिनीहरूको निरीक्षण गर्नुपर्ने आवश्यकता पनि दिनानुदिन तड्कारो भइरहेको छ। एकताका अभिषिक्त मसीहीहरूले नै यो काम सँभाल्थे। तर अहिले अधिकांश मण्डलीहरूका साथै क्षेत्र, जिल्ला र शाखाहरूको निरीक्षण अरू भेडाहरूलाई सुम्पिसकेको छ। सन् १९९२ मा यिनीहरूमध्ये केहीलाई परिचालक निकायका समितिहरूको सभाहरूमा उपस्थित हुने सुअवसर दिइयो तर यिनीहरूले परिचालक निकायले जस्तो अन्तिम निर्णयहरूमा भाग लिन पाउँदैनन्। तैपनि अरू भेडाहरू आफ्ना अभिषिक्त संगी मसीहीहरूप्रति वफादार रहन्छन् अनि यिनीहरूलाई यहोवाका विश्वासी र बुद्धिमान दास सम्झी सहयोग गर्न पाएकोमा गौरवान्वित महसुस गर्छन्।—मत्ती २५:३४-४०.
“कुलपति जस्तै”
१०, ११. केही पलिश्तीहरूको नमुना पछ्याउँदै परमेश्वरका केही पुराना शत्रुहरूले कसरी हृदय परिवर्तन गरेका छन्? अनि नतिजा के भयो?
१० विश्वासी र बुद्धिमान दासले अरू भेडाहरूलाई दिएको जिम्मेवारीपूर्ण ओहदाहरूबारे जकरिया ९:६, ७ मा भविष्यवाणी गरिएको थियो। त्यहाँ हामी यो लेखेको पाउँछौं: “म पलिश्तीहरूको अहंकार नष्ट गरिदिनेछु। त्यसपछि म त्यसको मुखबाट त्यसको रगत र त्यसका दाँतबाट त्यसको घिनलाग्दो कुरो निकालिदिनेछु, र त्यो हाम्रा परमेश्वरको निम्ति एउटा बाँकी रहेको भाग हुनेछ। यहूदामा त्यो एउटा कुलपति जस्तै हुनेछ औ एक्रोन चाहिं यबूसी जस्तै हुनेछ।”c आज शैतानको संसारजस्तै पलिश्तीहरू पनि यहोवाका जनको कट्टर दुश्मन थिए। (१ यूहन्ना ५:१९) अन्ततः पलिश्तीहरूको पूरै जाति नष्ट भएजस्तै यो संसार पनि त्यसका धार्मिक, राजनैतिक र व्यापारिक तत्त्वहरूसमेतले चाँडै नै यहोवाको विनाशकारी क्रोध भोग्नेछन्।—प्रकाश १८:२१; १९:१९-२१.
११ तथापि, सपन्याहका शब्दअनुरूप केही पलिश्तीहरूले हृदय परिवर्तन गरे र यसले आज केही सांसारिक मानिसहरूले यहोवासँग सधैंभरि दुश्मनी मोल्दैनन् भनी पूर्वसंकेत गर्छ। यिनीहरूले धार्मिक मूर्तिपूजालाई त्यसका घिनलाग्दा रीतिरिवाज तथा बलिदानहरूसमेत त्याग्नेछन् र यहोवाको नजरमा शुद्ध हुनेछन्। हाम्रो समयमा ठूलो भीडमाझ त्यसरी सुध्रिएका “पलिश्तीहरू” पाइन्छन्।
१२. आधुनिक समयमा “एक्रोन” कसरी “यबूसी जस्तै” भएको छ?
१२ भविष्यवाणीअनुसार पलिश्तीहरूको मुख्य शहर, एक्रोन “यबूसी जस्तै हुनेछ।” एकताका यबूसीहरू इस्राएलका शत्रुहरू थिए। दाऊदले विजय हासिल गर्नुअघि यरूशलेम यिनीहरूकै हातमा थियो। यद्यपि, इस्राएलका युद्धहरूमा बच्ने केही यबूसीहरूले यहूदी मत मान्न थाले भनेर प्रमाणबाट देखिन्छ। यिनीहरूले इस्राएलको देशमा दासहरू भएर काम गरे र मन्दिर निर्माणमा भाग लिने सुअवसरसमेत पाए। (२ शमूएल ५:४-९; २ इतिहास ८:१-१८) आज यहोवाको उपासना गर्ने “एक्रोनीहरूले” पनि विश्वासी र बुद्धिमान दासको निरीक्षणअन्तर्गत देश[मा]” सेवा चढाउने सुअवसर पाएका छन्।
१३. पुरातन समयका कुलपतिहरू को थिए?
१३ जकरियाको भनाइअनुसार पलिश्तीहरू यहूदा- का कुलपतिजस्तै हुनेछन्। अलुफ भन्ने हिब्रू शब्दलाई “कुलपति” भनी अनुवाद गर्दा त्यसको अर्थ “हजारौंको नेता” (वा “किलिआर्क”) हुन्छ। यो अति उच्च ओहदा हो। सम्भवतः एदोम राष्ट्रमा जम्मा १३ जना कुलपतिहरू थिए। (उत्पत्ति ३६:१५-१९) इस्राएलको उल्लेख गरिंदा प्रायः “कुलपति” भन्ने शब्द नचलाइए तापनि “हजारौंमाथि हुने कुलनायकहरू (अथवा सरदार)” भन्ने अभिव्यक्ति बारम्बार चलाइएको पाइन्छ। मोशाले इस्राएल राष्ट्रका प्रतिनिधिहरूलाई भेला हुन बोलाउँदा “हजारौंमाथि हुने कुलनायकहरू” भनी सम्बोधन गरेका थिए।d त्यस्ता १२ कुलनायकहरू थिए र प्रमाणअनुसार यिनीहरू केवल मोशाभन्दा एक दर्जा तल थिए। (गन्ती १:४-१६) त्यस्तैगरि सैन्यदलमा हजारौंमाथि हुने अफिसरहरू जर्नेल वा राजाभन्दा केवल एक दर्जा तल हुन्थे।—२ शमूएल १८:१, २; २ इतिहास २५:५.
१४. आज “पलिश्ती” कसरी कुलपति जस्तै भएको छ?
१४ जकरियाले पश्चात्तापी पलिश्ती साँच्चै नै इस्राएलका कुलपति हुनेछन् भनी भविष्यवाणी गरेका थिएनन्। त्यो अव्यवहारिक छ किनभने पलिश्ती जन्मजात इस्राएली होइन। तर ऊ कुलपति जस्तै हुनेछ अथवा उसले कुलपतिको जस्तै अख्तियार पाउनेछ। र वास्तवमा त्यस्तै भयो। शेष अभिषिक्त मसीहीहरूको संख्या घट्दै गएकोले र जीवित हुनेहरू पनि उमेरले गर्दा सीमित मात्र कामगर्न सक्ने भएकोले प्रतीकात्मक अर्थमा भन्ने हो भने सुप्रशिक्षित अरू भेडाहरूले सघाउ पुऱ्याइरहेका छन्। तर यिनीहरू आफ्ना अभिषिक्त भाइहरूसित चलाकी गरेर उनीहरूको स्थान खोस्न चाहँदैनन्। बरु परमेश्वरको संगठन व्यवस्थित ढंगले अघि बढ्न सकोस् भनेर विश्वासी र बुद्धिमान दासले “देश[को]” आवश्यकता हेरी यिनीहरूलाई अख्तियार दिन्छन्। त्यस्तो क्रमिक प्रक्रिया अर्को भविष्यवाणीमा पनि देखिन्छ।
पूजाहारी तथा खेतालाहरू
१५. (क) यशैया ६१:५, ६ को पूर्तिअनुसार “परमप्रभुका पूजाहारी” को हुन् र यिनीहरूले पूर्ण अर्थमा यो जिम्मेवारी कहिले सँभाल्नेछन्? (ख) इस्राएलका हलो जोत्ने “परदेशीहरू” को हुन् र आत्मिक अर्थमा यसमा कुन कुन कार्यहरू समावेश छन्?
१५ यशैया ६१:५, ६ मा हामी यस्तो लेखिएको पाउँछौं: “परदेशीहरू खड़ा हुनेछन्, र उभी उभी तेरा भेड़ा-बाख्राहरूलाई चराउनेछन्, र विदेशीहरू तेरा हलो जोत्ने र दाखबारीका माली हुनेछन्। तर तिमीहरू परमप्रभुका पूजाहारी भनिनेछौ। मानिसहरूले तिमीहरूलाई हाम्रा परमेश्वरका सेवक भन्नेछन्। तिमीहरूले अन्यजातिहरूका धन-सम्पत्ति खानेछौ, र तिनीहरूकै सम्पत्तिमा तिमीहरूले गर्व गर्नेछौ।” आज अभिषिक्त जन “परमप्रभुका पूजाहारी[हरू]” हुन्। यिनीहरू स्वर्गीय राज्यमा “परमप्रभुका पूजाहारी . . . हाम्रा परमेश्वरका सेवक” भएपछि त्यसले अन्तिम तथा पूर्ण अर्थ लिनेछ। (प्रकाश ४:९-११) कृषि कार्यका लागि जिम्मेवार “विदेशीहरू” को हुन् त? यिनीहरू परमेश्वरको इस्राएल “देश[मा]” बस्ने अरू भेडाहरू हुन्। अनि यिनीहरूलाई सुम्पिएको गोठालोको काम, हलो जोत्ने काम र दाखबारीको काम के हो त? महत्त्वपूर्ण अनि आध्यात्मिक अर्थमा भन्ने हो भने यी सबै कार्यहरू मानिसहरूलाई मदत गर्ने, स्याहारसुसार गर्ने र कटनी गर्ने कामसित सम्बन्धित छन्।—यशैया ५:७; मत्ती ९:३७, ३८; १ कोरिन्थी ३:९; १ पत्रुस ५:२.
१६. परमेश्वरका जनको “देश[मा]” अन्ततः कसले सबै काम सँभाल्नेछन्?
१६ अहिले पृथ्वीमा बाँकी भएका थोरै आत्मिक इस्राएलीहरूले आध्यात्मिक गोठालोको काम, खेती गर्ने काम र दाखबारीको काममा भाग लिन्छन्। अनन्तः पूरै मसीही मण्डली र ख्रीष्टको मिलन भएपछि यो काम अरू भेडाहरूलाई सुम्पिइनेछ। त्यतिबेला “देश[का]” मानव निरीक्षकहरूको कार्यभारसमेत योग्य अरू भेडाहरूको हातमा सुम्पिइनेछ। इजकिएलको पुस्तकमा यिनीहरूलाई नायकेवर्गमा छुट्टाएको छ।—इजकिएल, अध्याय ४५, ४६.e
“देश” डग्दैन
१७. यी आखिरी दिनमा यहोवाले कस्तो प्रबन्धहरू मिलाइरहनुभएको छ?
१७ हो, ठूलो भीड डराउनुपर्दैन। यहोवाले यिनीहरूका निम्ति प्रशस्त तयारीहरू गर्नुभएको छ। यी आखिरी दिनको सबैभन्दा महत्त्वपूर्ण घटना अभिषिक्त जनको संकलन र यिनीहरूमाथि छाप लगाउनु हो। (प्रकाश ७:३) तथापि, यहोवाले यो कामलाई पूरा गर्नुको साथै पुनस्थापित देशमा यिनीहरूको संगतिमा अरू भेडाहरूलाई ल्याउनुभएको छ। त्यहाँ यिनीहरूलाई मसीही जीवनपद्धतिअनुरूप चल्न आध्यात्मिक तवरमा खुवाउनुका साथै प्रशिक्षण पनि दिइएको छ। यसबाहेक, यिनीहरूलाई पवित्र सेवा चढाउन राम्ररी निर्देशन दिइएको छ जसमा निरीक्षण कार्य पनि समावेश छ। यिनीहरू यसका लागि यहोवा र आफ्ना अभिषिक्त भाइहरूप्रति धेरै कृतज्ञ छन्।
१८. कुन चाहिं घटना हुँदा अरू भेडाहरू आत्मिक इस्राएलको “देश[मा]” वफादार भएर बस्नेछन्?
१८ मागोगको गोगले परमेश्वरका जनमाथि अन्तिम प्रहार गर्दा “पर्खाल विनाका गाउँहरू भएको देश[मा]” शेष अभिषिक्त जनसँगै अरू भेडाहरू पनि निष्ठावान भएर बस्नेछन्। यिनीहरू अझै त्यही “देश[मा]” हुनेछन्। त्यहीं बसेर यिनीहरू राष्ट्रहरूको विनाशबाट बच्नेछन् र परमेश्वरको नयाँ संसारमा प्रवेश गर्नेछन्। (इजकिएल ३८:११; ३९:१२, १३; दानियल १२:१; प्रकाश ७:९, १४) विश्वासी भइरहेमा यिनीहरूले त्यो रमणीय स्थान कहिल्यै छोड्नुपर्नेछैन।—यशैया ११:९.
१९, २०. (क) नयाँ संसारमा “देश[बासीहरूले]” कस्तो भव्य निरीक्षण पाउनेछन्? (ख) हामी ठूलो प्रत्याशा लिएर कुन कुरा पर्खन्छौं?
१९ पुरातन इस्राएलमा मानव राजाहरू तथा लेवी कुलका पूजाहारीहरू थिए। तर नयाँ संसारमा मसीहीहरूले त्योभन्दा महान् निरीक्षकहरू पाउनेछन्। यहोवा परमेश्वरको अधीनमा यिनीहरू महान् प्रधानपूजाहारी तथा राजा, येशू ख्रीष्ट अनि १,४४,००० सह-पूजाहारीहरू तथा राजाहरूको प्रजा हुनेछन्। जसमध्ये केहीलाई यिनीहरूले पहिले यसै पृथ्वीमा आफ्ना मसीही भाइ-बहिनीहरूको रूपमा चिन्दथे। (प्रकाश २१:१) आत्मिक देशका विश्वासी प्रजाहरू यसै पृथ्वीमा पुनस्थापित प्रमोदवनमा बाँच्नेछन् र नयाँ यरूशलेमबाट बहने निवारक आशिष्हरूमा रमाउनेछन्।—यशैया ३२:१; प्रकाश २१:२; २२:१, २.
२० यहोवाको भव्य अलौकिक रथ आफ्नो उद्देश्य पूर्तितर्फ अनवरत रूपले अघि बढ्दै जाँदा हामी चाहिं ठूलो प्रत्याशा लिएर आफ्नो जिम्मेवारी पूरा गर्ने आशा गर्नेछौं। (इजकिएल १:१-२८) अन्ततः ती सबै उद्देश्यहरू पूरा हुँदा कति हर्षोल्लासका साथ यहोवाको विजयी पवित्रिकरणको उत्सव मनाइएला, कल्पना गर्नुहोस् त! त्यसपछि प्रकाश ५:१३ मा अभिलिखित महान् गान सारा सृष्टिले गाउनेछन्: “सिंहासनमा विराजमान हुनुहुने र थुमालाई धन्यवाद, आदर, महिमा र राज्य सदा सर्वदा होस्”! चाहे हाम्रो स्थान स्वर्गमा होस् या पृथ्वीमा, के हामी प्रशंसाले भरिएको यो भव्य सामूहिक गीत गाउन लालायित हुँदैनौं र?
[फुटनोटहरू]
a सन् १९५३ मा वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ न्यु योर्क, इन्क.-द्वारा प्रकाशित “न्यु हेभन्स एण्ड अ न्यु अर्थ” (“नयाँ स्वर्ग र नयाँ पृथ्वी”) पुस्तकको पृष्ठ ३२२-३ हेर्नुहोस्।
b यसबारे पूरा जानकारी हासिल गर्नु परेमा जुलाई १, १९९२ अंकको प्रहरीधरहरा-मा “यहोवाको प्रबन्ध, ती ‘दिइएकाजनहरू’” शीर्षक भएको लेख हेर्नुहोस्।
c वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ न्यु योर्क इन्क.-द्वारा प्रकाशित पारडाइज रिस्टोर्ड टु म्यानकाइन्ड—बाइ थिओक्रसि! (मानवजातिका लागि पुनस्थापित प्रमोदवन—ईश्वरतन्त्रद्वारा!) पुस्तकको पृष्ठ २६४-९ हेर्नुहोस्।
d हिब्रूमा रासेआलपेयिस्रेल जसलाई सेप्टुआजिन्ट-मा खिलिआर्खोइ इस्राएल “इस्राएलका सरदारहरू” भनी अनुवाद गरिएको छ।
e सन् १९७१ मा वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ न्यु योर्क इन्क.-द्वारा प्रकाशित “द नेशन्स श्याल नो द्यात आइ एम जेहोभा”—हाउ? (म यहोवा हुँ भनेर सारा राष्ट्रहरूले जान्नेछन्—कसरी?) पुस्तकको पृष्ठ ४०१-७ हेर्नुहोस्।
तपाईं कसरी जवाफ दिनुहुन्छ?
◻ सन् १९१९ मा कुन “देश” पुनस्थापित भयो र त्यो कसरी मानिसहरूले भरियो?
◻ परमेश्वरको पुनस्थापित जनको “देश[मा]” अरू भेडाहरूलाई कसरी थप जिम्मेवारीहरू दिइएका छन्?
◻ ठूलो भीडका सदस्यहरू कसरी “यबूसी जस्तै” हुन्? र कसरी “यहूदाका कुलपति जस्तै” हुन्?
◻ अरू भेडाहरू कतिञ्जेल विश्वासी भएर “देश[मा]” बस्नेछन्?
[पृष्ठ २३-मा भएको चित्र]
आधुनिक पलिश्ती “यहूदाको कुलपति जस्तै” हुनेछ
[पृष्ठ २४-मा भएको चित्र]
अभिषिक्त जन तथा अरू भेडाहरू एकसाथ मिलेर आत्मिक देशमा सेवा गर्छन्