यसैया
४१ “ए टापुहरू हो! चुपचाप मेरो कुरा सुन।
जातिजातिले फेरि साहस देखाऊन्।
तिनीहरू मेरो अगाडि आऊन् र आफ्नो कुरा राखून्।+
आओ! हामी भेला होऔँ अनि म तिमीहरूको मुद्दाको फैसला गर्नेछु।
२ पूर्वमा उसलाई खडा गर्ने को हो?+
न्याय गर्न आफ्नो पाउनजिकै* उसलाई उभ्याउने को हो?
जातिजातिलाई उसको वशमा पार्न
अनि राजाहरूलाई उसको अधीनमा राख्न उसलाई खडा गर्ने को हो?+
उसको तरबारको अगाडि जातिजातिलाई धुलोपिठो पार्ने
र उसको धनुको सामने तिनीहरूलाई बतासले उडाएको ठोसोझैँ तुल्याउने को हो?
३ ऊ कहिल्यै नहिँडेको बाटोमा समेत
उसले तिनीहरूलाई सजिलै खेद्नेछ।
४ यी सब कुरा कसले गरेर देखाएको छ?
सुरुदेखिका पुस्ताहरूलाई कसले आज्ञा दिएको छ?
म यहोवा नै सबैभन्दा पहिलो हुँ+
अनि आखिरी पुस्ताका लागि पनि म त्यस्तै रहनेछु।”+
५ टापुहरू यी कुरा देखेर त्रसित भएका छन्;
पृथ्वीका टाढा-टाढाका देशहरूसमेत थरथर काँप्छन्
अनि तिनीहरू एकसाथ भेला हुन्छन्।
६ प्रत्येकले आफ्नो साथीलाई सघाउँछ
र आफ्नो भाइलाई यसो भन्छ: “हिम्मत नहार!”
७ कालिगडले सुनारको हिम्मत बढाउँछ+
अनि धातु पिट्न घन चलाउनेले
लिहिलीमा* धातु पिट्नेलाई हौसला दिन्छ।
धातुहरू जोड्ने काम सकिएपछि उसले यसो भन्छ: “राम्रो भयो!”
अनि त्यो नलडोस् भनेर उसले त्यसलाई किला ठोकेर अड्याउँछ।
८ “तर ए इस्राएल, तिमी त मेरो सेवक हौ।+
अनि ए याकुब, तिमीलाई मैले रोजेको हुँ।+
तिमी मेरो मित्र अब्राहामका सन्तान हौ।+
९ तिमीलाई मैले पृथ्वीको पल्लो छेउबाट ल्याएँ।+
पृथ्वीको सबैभन्दा टाढाका देशहरूबाट मैले तिमीलाई बोलाएँ।
मैले तिमीलाई यसो भनेँ: ‘तिमी मेरो सेवक हौ।+
मैले तिमीलाई रोजेको छु, मैले तिमीलाई त्यागेको छैनँ।+
फिक्री नगर किनकि म तिम्रा परमेश्वर हुँ।+
म तिमीलाई बलियो पार्नेछु र तिमीलाई मदत गर्नेछु।+
धार्मिकता कायम गर्ने मेरो दायाँ हातले म तिमीलाई पक्रिराख्नेछु।’
११ तिमीसित क्रोधित हुनेहरू सबै लाजमा पर्नेछन् र अपमानित हुनेछन्।+
तिमीलाई आक्रमण गर्नेहरूको नामोनिसान मेटिनेछ।+
१२ तिमीमाथि आइलाग्नेहरूलाई तिमीले खोज्नेछौ तर कतै फेला पार्नेछैनौ।
तिमीसित युद्ध गर्नेहरू सबै नामेट हुनेछन्, तिनीहरू बिलाएर जानेछन्।+
१३ किनकि म यहोवा तिम्रा परमेश्वरले तिम्रो दाहिने हात समातेको छु।
म तिमीलाई भन्छु, ‘नडराऊ, म तिमीलाई मदत गर्नेछु।’+
१४ ए याकुब, तिमी किराजस्तै कमजोर भए पनि नडराऊ।+
ए इस्राएलीहरू हो, म तिमीहरूलाई मदत गर्नेछु,”
तिमीहरूलाई मोल तिरेर छुटाउनुहुने+ इस्राएलका पवित्र परमेश्वर यहोवा भन्नुहुन्छ।
१५ “हेर, मैले तिमीलाई दाँदेजस्तै तुल्याएको छु,+
दुई लहर धारिलो दाँती भएको दाँदेजस्तै बनाएको छु।
तिमीले पहाडहरूलाई कुल्चेर धुलोपिठो पार्नेछौ
र डाँडाहरूलाई भुसजस्तै बनाउनेछौ।
१६ तिमीले तिनीहरूलाई निफन्नेछौ
र तिनीहरूलाई हावाले उडाएर लैजानेछ।
आँधीले तिनीहरूलाई छरपस्ट पार्नेछ।
यहोवाको कारण तिमी रमाउनेछौ।+
इस्राएलका पवित्र परमेश्वरमा तिमीले गर्व गर्नेछौ।”+
१७ “गरिब र दीनदुःखीहरू पानी खोज्छन् तर कतै फेला पार्दैनन्।
तिर्खाले तिनीहरूको मुख सुकिसकेको छ+
तर म यहोवा तिनीहरूको पुकारा सुन्नेछु।+
म इस्राएलका परमेश्वरले तिनीहरूलाई त्याग्नेछैनँ।+
१८ नाङ्गा डाँडाहरूबाट म नदी बगाउनेछु+
र बेँसीका मैदानहरूमा खोला बगाउनेछु।+
मरुभूमिलाई म नर्कटले भरिएको पोखरी बनाउनेछु।
अनि सुक्खा ठाउँमा पानीको मूल फुटाउनेछु।+
१९ म मरुभूमिमा देवदारको रूख,
बबुलको रूख, मेहदीको बोट र सल्लाको रूख रोप्नेछु।+
अनि सुक्खा ठाउँमा धुपीको रूख,
लाँकुरीको रूख र राइसल्लाको रूख रोप्नेछु।+
२० जब मानिसहरूले यी सब देख्नेछन्
तब यहोवाको हातले नै यी गरेका हुन्
र इस्राएलका पवित्र परमेश्वरले नै यी काम गर्नुभएको हो+
भनेर तिनीहरूले बुझ्नेछन्।”
२१ यहोवा भन्नुहुन्छ, “तिमीहरूको मुद्दा सुरु गर।”
याकुबका राजा भन्नुहुन्छ, “प्रमाण पेस गर।”
२२ “ए मूर्तिहरू हो! सक्छौ भने प्रमाण देखाओ र पछि हुने कुराहरू बताओ।
उहिले-उहिलेका कुराहरू पनि सुनाओ
अनि हामी त्यसमा मनन गरौँ र नतिजा विचार गरौँ।
अथवा अब के हुन लागेको छ, त्यो बताओ।+
२३ भविष्यवाणी गरेर देखाओ
अनि तिमीहरू ईश्वर हौ भनेर हामी मानौँला।+
असल होस् वा खराब, एउटा अचम्मको काम गर,
जुन देखेर हामी तीनछक परौँ।+
२४ हेर, तिमीहरूको त अस्तित्व नै छैन।
तिमीहरूका काम पनि व्यर्थका हुन्।+
अनि तिमीहरूको पछि लाग्नेहरू सबै घृणित हुन्।+
२५ मैले कसैलाई खडा गरेको छु र उसले उत्तरतिरबाट आक्रमण गर्नेछ।+
पूर्वतिरबाट* आउने जो हो, उसले+ मेरो नाम पुकार्नेछ।
उसले शासकहरूलाई माटोलाई झैँ कुल्चनेछ।+
कुमालेले गिलो माटोलाई कुल्चेझैँ उसले तिनीहरूलाई कुल्चीमिल्ची पार्नेछ।
२६ हामीलाई कसले सुरुदेखि नै यी कुरा बतायो र हामीले थाह पाउन सक्यौँ?
‘उसको कुरा ठीकै रहेछ’ भन्नलाई कसले यी कुरा पहिल्यै बतायो?+
कसैले बताएन!
कसैले पनि यी कुराहरूको घोषणा गरेन!
तिमीहरूको मुखबाट कसैले केही सुनेन!”+
२७ “हेर, यी कुराहरू हुनेछन्!” भनेर सियोनलाई सबैभन्दा पहिला बताउने मै हुँ।+
अनि यरुसलेमलाई शुभ समाचार दिन म एउटा दूत पठाउनेछु।+
२८ मैले यताउता हेरिरहेँ तर त्यहाँ कोही थिएन;
सल्लाह दिने एक जना पनि त्यहाँ थिएन।
मैले सोधिरहेँ तर कसैले जवाफ दिएन।