ठूलो चित्तको हुँदा
तपाईंले राजाको जुनाफमा उपहार टक्य्राउने सुअवसर पाउनुभयो भने के टक्य्रानुहुनेछ? अनि तिनी यस संसारको सबैभन्दा धनी र बुद्धिमान् शासक हुन् भने नि? के तपाईंले तिनलाई खुसी पार्ने केही उपहारबारे सोच्न सक्नुहुन्छ? झन्डै तीन हजार वर्षअघि शबाकी रानीले त्यस्तै एक जना शासक अर्थात् इस्राएलका राजा, सुलेमानलाई भेट्न जाँदा उक्त प्रश्नहरूमाथि विचार गर्नु परेको थिए।
बाइबलले बताएअनुसार तिनले चढाएको उपहारहरूमा १२० तोडा सुन, “प्रशस्त मात्रामा मसाला र बहुमूल्य रत्नहरू” पनि थियो। आजको बजारमा त्यस सुनको मूल्य मात्र झन्डै ४,००,००,००० अमेरिकी डलर पर्छ। सुगन्धित तथा औषधीको रूपमा चलाइने मसला तेल पनि सुन जत्तिकै मूल्यवान् ठानिन्थ्यो। रानीले सुलेमानलाई कति तेल दिइन् भनेर त बाइबलले बताएको छैन तर तिनले जति उपहार अरूले दिएको थिएन भनेरचाहिं बताइएको छ।—१ राजा १०:१०.
शबाकी रानी स्पष्टतः धनी तथा ठूलो चित्तकी आइमाई थिइन्। साथै, आफ्नो उदारताको तिनले प्रतिफल पाइन्। बाइबल भन्छ: “सुलेमान राजाले शबाकी रानीलाई राजाको आफ्नो उदारताले दिएको बाहेक र उनलाई ल्याएर दिएका सौगातहरूका सट्टामा आफ्नो दानबाहेक तिनले इच्छा गरेर मागेका सबै कुरा दिए।” (२ इतिहास ९:१२) हुनसक्छ, राजपरिवारहरूको उपहार आदानप्रदान गर्ने चलन थियो तर बाइबलले विशेष गरी सुलेमानको “उदारता[बारे]” बताउँछ। (१ राजा १०:१३) सुलेमान आफैले यस्तो लेखे: “उदार मानिसको उन्नति हुन्छ, अरूलाई सहायता गर्नेले सहायता पाउँछ।”—हितोपदेश ११:२५.
निस्सन्देह, शबाकी रानीले पनि सुलेमानलाई भेट्न निकै समय र प्रयास खर्च गरिन्। शबा अहिले वर्तमान समयमा गणतन्त्र यमनमा पर्छ। त्यसैले रानी तथा तिनको लावालस्करले यरूशलेम पुग्न १,६०० किलोमिटर भन्दा लामो यात्रा गरेको हुनुपर्छ। येशूले भन्नुभए जस्तै तिनी “पृथ्वीको अन्तदेखि . . . आएकी थिइन्।” शबाकी रानीले यत्रो दुःख गरेर यात्रा गर्नुको कारण के थियो? तिनी मुख्यतया “सुलेमानको ज्ञान सुन्नालाई” आइन्।—लूका ११:३१.
पहिलो राजा १०:१-३ अनुसार शबाकी रानीले “गाहारो गाहारो प्रश्नहरू लिएर [सुलेमानको] जाँच गर्नलाई आइन्। . . . तब तिनले आफ्नो मनमा भएका सबै कुरा सुलेमानलाई सुनाइन्।” सुलेमानले कस्तो प्रतिक्रिया देखाए? “सुलेमानले तिनका सबै प्रश्नहरूका जवाफ दिए। तीमध्ये एउटै पनि प्रश्नको जवाफ राजाबाट लुकेको थिएन।”—१ राजा १०:३.
आफूले सुनेको र देखेको कुरामा छक्क पर्दै रानीले नम्रतापूर्वक यसो भनिन्: “तपाईंका सामने उभिने र तपाईंको बुद्धि सुन्नपाउने यी तपाईंका भारादारहरू कति सुखी।” (१ राजा १०:४-८) सुलेमानका भारदारहरू सुखसयलमा बस्न पाएकोमा तिनीहरू सुखी भनेका होइनन्। बरु, सुलेमानका भारदारहरूले सधैं सुलेमानको ईश्वर प्रदत्त बुद्धिका कुराहरू सुन्न पाउने हुँदा धन्यको भनिएको हो। आज यहोवाका जनहरूको निम्ति शबाकी रानी एउटा असल उदाहरण हुन् किनभने तिनीहरू पनि सृष्टिकर्ता र उहाँको पुत्र येशू ख्रीष्टको बुद्धिमा रमाउँछन्!
रानीले सुलेमानलाई गरेको अर्को टिप्पणी पनि उल्लेखनीय छ: “परमप्रभु तपाईंका परमेश्वर धन्यका होऊन्।” (१ राजा १०:९) स्पष्टतः तिनले सुलेमानको बुद्धि र संवृद्धिमा यहोवाको आशिष् देखिन्। यो, यहोवाले पहिला इस्राएललाई गर्नुभएको प्रतिज्ञाअनुरूप थियो। “तिमीहरूले मान र पालन गर, किनकि अरू जातिको अगि तिमीहरूका ज्ञान र समझको प्रचार हुनेछ। औ यी सबै विधिहरू सुनेर तिनीहरूले भन्नेछन्, ‘अवश्य यस महान् जातिका मानिसहरू खूबै ज्ञानी र समझदार रहेछन्।’ ”—व्यवस्था ४:५-७.
बुद्धिको दातालाई पुकार्ने
आधुनिक समयमा पनि लाखौं मानिसहरू यहोवाको संगठनप्रति आकर्षित भएका छन् किनभने तिनीहरूले “परमेश्वरका इस्राएल” “ज्ञानी र समझदार” मानिसहरू आफसेआफ भएको होइन तर तिनीहरूलाई डोऱ्याउने परमेश्वरको सिद्ध व्यवस्था तथा सिद्धान्तहरू भएकोले हो भनी बुझेका छन्। (गलाती ६:१६) हालका वर्षहरूमा बप्तिस्मा लिनेहरूको संख्याबाट वर्षेनी हजारौं नयाँ चेलाहरूले आध्यात्मिक इस्राएललाई यसो भनिरहेको प्रमाणित हुन्छ: “हामी तपाईंसितै जानेछौं, किनभने हामीले सुनेका छौं कि परमेश्वर तपाईंसित हुनुहुन्छ।” (जकरिया ८:२३) यी नयाँ व्यक्तिहरू यहोवाले आफ्ना जनहरूसामु पस्कनुभएको आध्यात्मिक भोज देखेर साह्रै छक्क पर्छन्! तिनीहरूले आफ्नो पुरानो धर्ममा त्यस्तो कहिल्यै देखेका थिएनन्।—यशैया २५:६.
महान् उदारदातालाई दिने
मूल्यांकन गर्ने हृदय भएकाहरूले पक्कै पनि आफूले त्यति धेरै पाएपछि महान् राजा र दाता यहोवा परमेश्वरलाई आफूले पनि के दिन सकिन्छ भनी सोच्छन्। हामीले यहोवालाई दिनसक्ने सबैभन्दा उत्तम उपहार “स्तुतिको बलिदान” हो भनी बाइबलले बताउँछ। (हिब्रू १३:१५) किन? किनभने यो बलिदान अरूको जीवन बचाउने कार्यसित प्रत्यक्षतः सम्बन्धित छ र यो यस आखिरी दिनमा यहोवाको मुख्य चिन्ताको विषय हो। (इजकिएल १८:२३) यसबाहेक, आफ्नो बल अनि समय बिरामी, निराशित र खाँचोमा परेकाहरूलाई मदत गर्न प्रयोग गर्नु पनि स्वीकारयोग्य बलिदान हो।—१ थिस्सलोनिकी ५:१४; हिब्रू १३:१६; याकूब १:२७.
आर्थिक सहयोगले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। यसबाट बाइबल, बाइबलमा आधारित प्रकाशनहरू प्रकाशित गर्न तथा मसीहीहरू भेला हुने ठाउँहरू बनाउन सहयोग पुग्छ। (हिब्रू १०:२४, २५) चन्दाहरूद्वारा युद्ध तथा प्राकृतिक प्रकोपको चपेटामा परेकाहरूलाई मदत गर्न उद्धार कोषहरू स्थापना गर्न पनि मदत मिलेको छ।
अरूलाई दिने सन्दर्भमा यहोवाको वचनले केही असल उदाहरणहरू प्रस्तुत गरेको छ। उदाहरणका लागि, मसीहीहरूले कति दिनुपर्छ भनेर तोकेको छैन तर आफ्नो मनमा अडकले बमोजिम, स्वेच्छाले खुसीसाथ दिन सिकाउँछ। (२ कोरिन्थी ९:७) कसैको अलि धेरै दिने गच्छे हुन्छ भने कसैले येशूको समयको गरिब विधवाले जस्तै अलिकति मात्र दिनसक्छन्। (लूका २१:२-४) यस सम्पूर्ण ब्रह्माण्डका मालिक यहोवाले उहाँको नाउँमा असल मनसायले चढाएका भेटी तथा बलिदान सबै मूल्यवान् ठान्नु के उल्लेखनीय कुरा होइन र?—हिब्रू ६:१०.
तिनीहरूले खुसीसाथ देऊन् भनेर यहोवाका जनहरूलाई विभिन्न आवश्यकता तथा ती आवश्यकताहरूलाई प्रभावकारी ढंगमा पूरा गर्ने तरिकाहरूबारे जानकारी दिइन्छ। फलस्वरूप यहोवाको पवित्र आत्माले इच्छुक हृदय भएकाहरूलाई दिन उत्प्रेरित गर्छ। पुरातन इस्राएलमा बासस्थान अनि पछि मन्दिर निर्माण गर्न यसै गरिएको थियो। (प्रस्थान २५:२; ३५:५, २१, २९; ३६:५-७; ३९:३२; १ इतिहास २९:१-१९) सा.यु. प्रथम शताब्दीमा यही तरिका अपनाइएको हुँदा मसीहीहरूले परमेश्वरको राज्य सुसमाचार सबै राष्ट्रहरूमा फैलाउन र अनिकालको समयमा इस्राएलका भाइहरूलाई मदत गर्न सम्भव भयो।—१ कोरिन्थी १६:२-४; २ कोरिन्थी ८:४, १५; कलस्सी १:२३.
त्यस्तै गरी आज यहोवाले विश्वभरि सबैभन्दा महान् प्रचार तथा शिक्षण अभियान पूरा गर्न आवश्यक कुराहरू जुटाउनु भएर आफ्ना जनहरूलाई आशिष् दिनुभएको छ र भविष्यमा पनि दिइरहनुहुनेछ।—मत्ती २४:१४; २८:१९, २०.
वर्तमान आवश्यकताहरू के हुन्?
पहिला प्रतिबन्धित थुप्रै देशहरूमा अहिले आएर यहोवाका साक्षीहरूले कानुनी तवरमा मान्यता पाएका छन्। फलस्वरूप, यी राष्ट्रहरूमा प्रकाशकहरूको संख्यामा निकै वृद्धि भएको छ। अतः बाइबल तथा बाइबल आधारित साहित्यहरूको माग पनि बढ्नु स्वाभाविक हो।
त्यस्तै गरी राज्यभवनहरूको पनि खाँचो छ। अहिले संसारभरि ९,००० नयाँ राज्यभवनहरूको आवश्यकता छ। वर्तमान आवश्यकता पूरा गर्न हरेक दिन एउटा राज्यभवन निर्माण गर्ने हो भने पनि २४ वर्षभन्दा बढी लाग्छ! हाल प्रत्येक दिन झन्डै सात वटा मण्डलीहरू बन्दैछन् र यीमध्ये प्रायजसोको आर्थिक अवस्था कमजोर छ। अर्कोतिर, यी थुप्रै देशहरूमा महँगा भवनहरू पनि चाहिंदैन। कुनै कुनै जनसमुदायमा असल साक्षी दिने तथा आवश्यकता पूरा गर्ने राज्यभवनहरू ६,००० अमेरिकी डलरभन्दा कम रकममा पनि बनाउन सकिन्छ।
प्रथम शताब्दीमा कोही कोही मसीहीहरू अरूभन्दा आर्थिक तवरमा सम्पन्न थिए। त्यसैले प्रेरित पावलले यस्तो लेखे: “समानताको विचारले, यस वर्त्तमान समयमा तिमीहरूका बढ्ती तिनीहरूका अभावको निम्ति, र तिनीहरूका बढ़तीचाहिं तिमीहरूका अभावको निम्ति होस्, र सबैमा समानता होस्।” (२ कोरिन्थी ८:१४) आज पनि त्यस्तै “समानता” विश्वभरि बाइबल, बाइबल आधारित साहित्य, राज्यभवन, प्राकृतिक प्रकोप उद्धारकार्य र अरू कुराहरू उपलब्ध गर्न आवश्यक कोशहरूको प्रबन्ध गरिएको छ। यसप्रकार लिने र दिने दुवैलाई कस्तो आशिष्!—प्रेरित २०:३५.
सोसाइटीले प्राप्त गरेको पत्रहरूबाट थाह भएअनुसार उदार हृदय भएका यस पत्रिकाका थुप्रै पाठकहरू चन्दा दिन चाहन्छन् तर कसरी दिने थाह नभएको कुरा स्पष्ट हुन्छ। निश्चय पनि यस सन्दर्भमा विभिन्न प्रश्नहरूको उत्तर सँगैको पेटीबाट प्राप्त गर्न सकिन्छ।
सुलेमानको गरिमामय शासनको दौडान तिनको कुरा सुन्न “संसारका सबै राजाहरू” भेट्न आए। तैपनि बाइबलले एउटै मात्र शासक, शबाकी रानीको उल्लेख गरेको छ। (२ इतिहास ९:२३) तिनले ठूलो त्याग गरिन्! तर तिनले प्रचुर मात्रामा इनाम पनि पाइन्, यतिसम्म कि आफ्नो भ्रमणको अन्ततिर तिनी “अवाक्” भइन्।—२ इतिहास ९:४.
भविष्यमा सबैभन्दा महान् राजा तथा उदारदाता यहोवाले उहाँको निम्ति त्याग गर्नेहरूलाई सुलेमानले भन्दा कता हो कता बढी इनाम दिनुहुनेछ। अनि तिनीहरू “अवाक्” हुँदै उभिनेछन् किनभने यहोवाले तिनीहरूलाई उहाँको भयानक दिनको न्यायमा बचाउनुहुने मात्र होइन तर त्यसपछि “सबै जीवित प्राणीहरूको इच्छालाई सन्तुष्ट पार्नुहुन्छ।”—भजनसंग्रह १४५:१६.
[पृष्ठ २२-मा भएको पेटी]
केही व्यक्तिहरूले स्वेच्छासाथ विश्वव्यापी कामका लागि चन्दा दिने तरिकाहरू
“सोसाइटीको विश्वव्यापी कामका लागि चन्दा—मत्ती २४:१४” लेखिएको बाकसमा चन्दा दिन धेरैजसोले केही पैसा छुट्याउँछन् वा बजेट बनाउँछन्। त्यसपछि हरेक महिना मण्डलीहरूले स्थानीय शाखा कार्यालयमा यी धनराशी पठाउँछन्।
स्वेच्छापूर्वक चन्दा दिइएको रुपैयाँ-पैसा कोषाध्यक्षको कार्यालय, Praharidurg Prakashan Society, Plot A/35, Near Industrial Estate, Nangargaon, Lonavla, 410 401 मा सोझै पठाउन सकिन्छ। गरगहना तथा अन्य बहुमूल्य वस्तुहरू पनि चन्दा दिन सकिन्छ। यी चन्दाहरू पठाउँदा स्पष्टसित त्यो पैसा वा वस्तु पूर्णतया दान हो भनेर छोटो पत्र पनि पठाउनुपर्छ।
नियोजित दान
पूर्णतया दान र शर्तनामा चन्दाबाहेक विश्वव्यापी राज्य सेवाको लागि लाभप्रद साबित हुनसक्ने अन्य केही तरिकाहरू पनि छन्। ती हुन्:
बिमा: वाच टावर सोसाइटीलाई जीवन बिमा वा अवकाश/पेन्सन बिमाको हकदार बनाउन सकिन्छ।
बैंक खाता: बैंक खाता, निक्षेप खाता वा व्यक्तिगत अवकाश खातालाई स्थानीय बैंकको आवश्यकताअनुरूप वाच टावर सोसाइटीलाई सुम्पिन वा शेषपछि हस्तान्तरण गर्न सकिन्छ।
ऋणपत्र तथा बन्ड: ऋणपत्र तथा बन्डहरू पनि सोसाइटीलाई पूर्णतया दान वा चन्दादाताले आम्दानी पाउने प्रबन्ध मिलाएर चन्दा दिन सकिन्छ।
घडेरी: बिक्री गर्न मिल्ने घडेरी पनि वाचटावर सोसाइटीलाई चन्दास्वरूप दिन सकिन्छ। घडेरीलाई पूर्णतया दान वा चन्दादाता बाचुञ्जेल प्रयोग गर्न पाउने प्रबन्ध मिलाएर दिन सकिन्छ। सोसाइटीलाई कुनै घडेरी दिनुअघि सोसाइटीसित सम्पर्क राख्नुपर्छ।
वसियतनामा तथा कोश: जायजेथा वा पैसा कानुनी वसियतनामाद्वारा वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीलाई हस्तान्तरण गर्न सकिन्छ। अथवा सोसाइटीलाई कोशको हकदार बनाउन सकिन्छ।
“नियोजित दान” भन्ने वाक्यांशले यस प्रकारका दानहरू दिंदा दाताले योजना बनाउनुपर्छ भनेर बुझाउँछ।
[पृष्ठ २३-मा भएका चित्रहरू]
यहोवाका साक्षीहरूको गतिविधि स्वेच्छिक चन्दाबाट चल्छ