समस्या आइपर्दा कसरी व्यवहार गर्ने भन्ने विषयमा पाठ
अय्यूबले भोगेजति समस्याहरू त थोरै मानिसहरूले मात्र भोगेका होलान्। छोटो समयावधिभित्र तिनले आफ्नो सम्पत्ति र जीविकाको क्षति, छोराछोरीहरूको मरण अनि अन्तमा पीडादायी रोग सामना गर्नुपऱ्यो। साथीभाइ र नातेदारहरूद्वारा बहिष्कृत हुनु परेको अय्यूबलाई तिनकी पत्नीले यस्तो आग्रह गरिन्: “परमेश्वरलाई सरापेर मरे असल हुन्छ।”—अय्यूब २:९; १९:१३, १४.
तापनि त्यस्तै परीक्षाहरू भोगीरहेका व्यक्तिको लागि अय्यूब प्रोत्साहनको अद्भुत स्रोत हो। व्यक्तिगत स्वार्थको लागि नभई ईश्वरीय भक्तिद्वारा उत्प्रेरित भएर कठिनाइको समयमा धीरज धारण गऱ्यौं भने यहोवाको हृदय आनन्दित हुन्छ भनेर तिनको परीक्षाको सकारात्मक परिणामले देखाउँछ।—अय्यूब, अध्याय १, २; ४२:१०-१७; हितोपदेश २७:११.
समस्या आइपर्दा कसरी व्यवहार गर्ने भनेर पनि बाइबलको यो विवरणले मूल्यवान पाठ सिकाउँछ। परीक्षाहरू भोगिरहेका व्यक्तिहरूलाई कसरी सल्लाह दिनु हुन्छ र कसरी दिनु हुँदैन भनेर पनि यसले उल्लेखनीय उदाहरण प्रदान गर्छ। यसबाहेक, कठिन परीक्षाहरूले घेरिंदा सन्तुलित ढंगमा व्यवहार गर्न अय्यूबको उदाहरणले हामीलाई मदत गर्छ।
नकारात्मक सल्लाह दिने सम्बन्धमा पाठ
“अय्यूबका सान्त्वनादाता” भन्ने अभिव्यक्ति विपत्तिको समयमा सान्त्वना दिनुको सट्टा घाऊमा नून छर्कने व्यक्तिको पर्यायवाची भएको छ। अय्यूबका तीन सान्त्वनादाताहरूले कमाएको नाउँको बावजूद तिनीहरूको मनसाय पूर्णतया खराब थियो भनेर हामीले अनुमान लगाउनु हुँदैन। आफ्ना गलत दृष्टिकोणहरूको आधारमा तिनीहरूले केही हदसम्म अय्यूबलाई मदत गर्न खोजेका हुन सक्छन्। तर तिनीहरू किन असफल भए? तिनीहरू अय्यूबको निष्ठा भंग गर्न कटिबद्ध शैतानका साधनहरू कसरी बन्न पुगे?
वास्तवमा, तिनीहरूले आफ्ना सम्पूर्ण सल्लाहहरू गलत अनुमानहरूमा आधारित गरे। त्यो हो, पाप गर्नेहरूमाथि मात्र दुःखकष्ट आइपर्छ। आफ्नो प्रथम वक्तव्यमा एलीपजले यसो भने: “कुन निर्दोष मानिस कहिल्यै नाश भएको छ? यति मलाई थाहा छ, कि अधर्म जोत्ने र दुःख छर्नेहरूले आफैले छरेको कुराको कटनी गर्छन्।” (अय्यूब ४:७, ८) निर्दोषमाथि विपत्ति आइपर्दैन भन्ने गलत धारणा एलीपजको थियो। परमेश्वर विरुद्ध पाप गरेको हुँदा अय्यूबले यस्ता कठोर परीक्षाहरू सहिरहेको हुनुपर्छ भनी तिनले तर्क गरे।a त्यस्तैगरि आफ्ना पापहरूका लागि पश्चात्ताप गर्न बिल्दद र सोपरले अय्यूबलाई जिद्दी गरे।—अय्यूब ८:५, ६; ११:१३-१५.
अय्यूबका तीन मित्रहरूले ईश्वरीय बुद्धिको सट्टा व्यक्तिगत विचारधाराहरू व्यक्त गरेर तिनलाई झनै निरुत्साहित तुल्याए। ‘परमेश्वरले आफ्ना सेवकहरूमाथि विश्वास गर्नुहुन्न’ र अय्यूब धर्मी होस् या नहोस् यहोवाले कुनै मतलब राख्नुहुन्न समेत भन्न एलीपज पछि हटेनन्। (अय्यूब ४:१८; २२:२, ३) त्योभन्दा निरुत्साहजनक वा झूटो टिप्पणी कल्पना समेत गर्न सकिंदैन! त्यसैकारण यस्तो ईश्वरनिन्दाको लागि यहोवाले पछि एलीपजलाई गाली गर्नु कुनै आश्चर्यको कुरा होइन। उहाँले भन्नुभयो: “तिमीहरूले भन्नुपर्ने कुरा भनेनौ।” (अय्यूब ४२:७) तर सबैभन्दा खतरनाक निष्कर्ष त अझ आउन बाँकि नै थियो।
अन्तमा एलीपजले प्रत्यक्ष आरोप समेत लगाए। अय्यूबलाई दोष स्वीकार्न लगाउन असफल भएको हुँदा अय्यूबले त्यस्ता पापहरू गरेका होलान् भनी एलीपजले अनुमान लगाउन थाले। एलीपजले भने: “तपाईं साह्रै दुष्ट मानिस हुनुभएकोले त्यसो भएको हो, र तपाईंको दुष्टताले सीमा नाघिसकेको छ। केही कारणै बिना तपाईं एउटा भाइलाई बन्धकको रूपमा लिनुहुन्छ, मानिसहरूका लुगा खोसेर तपाईं तिनीहरूलाई नाङ्गो पार्नुहुन्छ। थाकेको मानिसलाई तपाईं पानी दिनुहुन्न, भोकाएको मानिसलाई तपाईं भोजन दिनलाई इन्कार गर्नुहुन्छ।” (अय्यूब २२:५-७) यी आरोपहरू पूर्णतया निराधार थिए। यहोवा स्वयंले अय्यूबलाई “निर्दोष र सोझो” मानिस ठहराउनुभएको थियो।—अय्यूब १:८.
व्यक्तिगत निष्ठामाथि चुनौती दिने यस्ता मौखिक प्रहारहरूप्रति अय्यूबले कस्तो प्रतिक्रिया व्यक्त गरे? यसले गर्दा अय्यूब कताकता दिक्क र निरुत्साहित भए तर यी आरोपहरू झूटा हुन् भनी प्रमाणित गर्न तिनी झन् बढी कटिबद्ध भए। वास्तवमा, आफूलाई दोषमुक्त गर्न तिनी यति अन्तर्ग्रस्त भए, आफ्नो दुर्गतिको लागि तिनले यहोवालाई दोष दिन थाले। (अय्यूब ६:४; ९:१६-१८; १६:११, १२) अय्यूबको विवादसँग मुछिएका वास्तविक विवादहरू वेवास्ता गरिए र अय्यूब धर्मी मानिस हुन् या होइनन् भन्ने निरर्थक विवाद हुन थाल्यो। यस हानिकारक सरसल्लाहबाट एक मसीहीले कस्ता पाठहरू सिक्न सक्छन्?
१. कुनै भाइका समस्याहरू उसको आफ्नै गल्तीले गर्दा हो भनी एक मायालु मसीहीले तुरुन्तै अनुमान लगाई हाल्दैन। अतितका वास्तविक वा कल्पित गल्तीहरूको कठोर आलोचनाले अघि बढ्न संघर्षरत व्यक्तिहरू पूर्णतया हतोत्साहित हुन सक्छन्। निरुत्साहित व्यक्तिलाई दोष लगाउनुको सट्टा ‘दिलाशा’ दिनु आवश्यक हुन्छ। (१ थिस्सलोनिकी ५:१४) निरीक्षकहरू एलीपज, बिल्दद र सोपरजस्ता “व्यर्थका सान्त्वना दिनेहरू” नभई “आँधी-बेह्रीबाट आड़ लिने ठाउँ” होस् भनी यहोवा चाहनुहुन्छ।—यशैया ३२:२; अय्यूब १६:२.
२. स्पष्ट प्रमाणबिना हामीले कहिल्यै आरोप लगाउनु हुँदैन। एलीपजले जस्तो सुनेका कुराहरू वा अनुमानहरूको भरमा ताडना दिनु दह्रो आधार होइन। उदाहरणको लागि, एक प्राचीनले गलत आरोप लगाउँदा उसले सम्भवतः आफ्नो विश्वसनीयता गुमाउन र अरूलाई भावनात्मक तनाव पुऱ्याउन सक्छ। त्यस्ता गलत सल्लाहहरू सुन्नु पर्दा अय्यूबले कस्तो महसुस गरे होलान्? यस व्यंग्यात्मक उद्गारद्वारा अय्यूबले आफ्नो आक्रोश व्यक्त गरे: “शक्तिहिनको निम्ति तपाईंले के उद्धार ल्याउनुभयो?” (अय्यूब २६:२) चिन्तित निरीक्षकले समस्यालाई अझ बिगार्नुको सट्टा “दुर्बल घुँड़ाहरू माथि” उठाउन खोज्नेछ।—हिब्रू १२:१२.
३. सल्लाहहरू व्यक्तिगत विचारधाराहरूमा नभई परमेश्वरको वचनमा आधारित हुनुपर्छ। अय्यूबका साथीहरूका तर्कहरू गलत र विनाशकारी थिए। अय्यूबलाई परमेश्वरको नजीक लग्नुको सट्टा स्वर्गमा हुनुहुने पिता र तिनीबीच एउटा अवरोध छ भनी सोच्न लगाए। (अय्यूब १९:२, ६, ८) तर अर्कोतिर निपुणतापूर्वक बाइबल प्रयोग गर्नाले कामकुराहरू सच्चाउन, अरूलाई बल दिन र साँचो सान्त्वना प्रदान गर्न मदत मिल्छ।—लूका २४:३२; रोमी १५:४; २ तिमोथी ३:१६; ४:२.
केही पासोहरू चिन्न अय्यूबको पुस्तकले हामीलाई मदत गर्नुको साथै प्रभावकारी सल्लाह कसरी दिने भनी लाभकारी पाठ पनि सिकाउँछ।
सल्लाह कसरी दिने
विषयवस्तु र अय्यूबसित गरेको व्यवहार दुवैमा एलीहूको सल्लाह अय्यूबका तीन मित्रहरूको भन्दा भिन्न थियो। उनले अय्यूबको नाउँ लिएर न्यायकर्ताजस्तो नभई साथीझैं कुरा गरे। “अब अय्यूब, मेरा वचन सुन्नुहोस्, र मैले भनेको हरेक कुरालाई ध्यान दिएर सुन्नुहोस्। परमेश्वरको दृष्टिमा म तपाईंजस्तै छु, म पनि एक मुठी माटो मात्र हुँ।” (अय्यूब ३३:१, ६) अय्यूबको धर्मी मार्गको लागि पनि एलीहूले तुरुन्तै सराहना व्यक्त गरे। उनले अय्यूबलाई यस्तो आश्वासन दिए: “म तपाईंको धार्मिकतामा रमाएको छु।” (अय्यूब ३३:३२, न्युव) सल्लाह दिने यो मायालु तरिकाबाहेक अन्य कारणहरूले गर्दा पनि एलीहू सफल भए।
अरूले बोल्न नसकुन्जेल धैर्यपूर्वक सुनेकोले सल्लाह दिनुअघि एलीहूले विवादलाई राम्ररी बुझ्न सके। अय्यूब धर्मी थिए भन्नुमा कुनै शंका छैन तर के परमेश्वरले तिनलाई सजाय दिनुहुनेथियो? आपत्ति जनाउँदै एलीहूले यसो भने: “परमेश्वरले कहिल्यै खराबी गर्नुहुन्न, र सर्वशक्तिमानले कहिल्यै छल गर्नुहुन्न। उहाँले दुःखमा परेकाहरूको उचित न्याय बिगार्नुहुन्न।”—अय्यूब ३४:१०; ३६:७.
अय्यूबको धार्मिकता के विवादको मुख्य विषय थियो? असन्तुलित दृष्टिकोणप्रति एलीहूले अय्यूबको ध्यानाकर्षण गरे। उनले यसरी वर्णन गरे: “अय्यूब, तपाईंलाई ता यसो भन्नु ठीक हुँदैन, कि तपाईं परमेश्वरको दृष्टिमा निर्दोष हुनुहुन्छ। माथि आकाशमा हेरेर विचार गर्नुहोस्, तपाईंको मास्तिर उठेका पानीको बादललाई नियालेर हेर्नुहोस्।” (अय्यूब ३५:२, ५) बादलहरू हामीभन्दा निकै माथि भएझैं यहोवाका तरिकाहरू हाम्रोभन्दा उच्च छन्। उहाँका तौरतरिकाहरू न्याय गर्ने अवस्थामा हामी छैनौं। एलीहूले अन्तमा यसो भने: “यसैकारण मरणशील मानिसले उहाँलाई आदर गर्छन्, औ बुद्धिमानीहरू सबैले उहाँतिरै हेर्छन्।”—अय्यूब ३७:२४; यशैया ५५:९.
यहोवा स्वयंले दिनुहुने आध्यात्मिक निर्देशन स्वीकार्न एलीहूको मजबूत सल्लाहले अय्यूबलाई इच्छुक बनायो। वास्तवमा, ३७ अध्यायमा एलीहूले पुनरावृत्ति गरेका परमेश्वरका “आश्चर्यका कामहरू” र ३८ देखि ४१ अध्यायसम्म लिपिबद्ध यहोवाले अय्यूबलाई भन्नुभएका शब्दहरूबीच उल्लेखनीय समानान्तर पाइन्छ। स्पष्टतया, एलीहूले यहोवाको दृष्टिकोणबाट कामकुराहरू हेरे। (अय्यूब ३७:१४) मसीहीहरूले एलीहूको असल उदाहरणलाई कसरी अनुकरण गर्न सक्छन्?
आफूहरू स्वयं पनि असिद्ध हौं भनी सम्झेर विशेषगरि निरीक्षकहरू एलीहूजस्तै समानुभूतिशील र दयालु हुन इच्छुक हुनुपर्छ। सल्लाह दिनुअघि विवादसित सम्बन्धित तथ्यहरू थाहा पाउन र त्यसलाई राम्ररी बुझ्न तिनीहरूले ध्यान दिएर सुन्नु बेस हुनेछ। (हितोपदेश १८:१३) यसबाहेक, तिनीहरूले बाइबल तथा शास्त्रीय प्रकाशनहरू प्रयोग गरेर यहोवाको दृष्टिकोण कायम भए नभएको यकिन गर्न सक्छन्।—रोमी ३:४.
अय्यूबको पुस्तकले प्राचीनहरूको लागि व्यावहारिक सल्लाह प्रदान गर्नुको साथै सन्तुलित ढंगमा समस्यासित व्यवहार गर्न सिकाउँछ।
प्रतिकूल परिस्थितिमा कस्तो व्यवहार नगर्नु
आफ्नो दुःखकष्टबाट विचलित र झूटा सान्त्वनादाताहरूद्वारा हतोत्साहित अय्यूब चिढिए अनि निरुत्साहित भए। तिनले यसरी बिलौना गरे: “धिक्कार होस्, म जन्मेको दिन, . . . मेरो जीवनदेखि म विरक्त भएँ।” (अय्यूब ३:३; १०:१) अपराधी शैतान हो भन्ने कुरा यादै नगरी परमेश्वरले यी विपत्तिहरू ल्याउनुभएको हो भनी तिनले ठाने। तिनीजस्तो धर्मी मानिसले समेत दुःख भोग्नु असाध्यै अन्यायपूर्ण देखिन्थ्यो। (अय्यूब २३:१०, ११; २७:२; ३०:२०, २१) यो मनोवृत्तिले गर्दा अय्यूबले अन्य कुराहरू सोच्न थाले र मानवजातिप्रति परमेश्वरले गर्नुहुने व्यवहार आलोचना गर्न पुगे। यहोवाले यो प्रश्न गर्नुभयो: “म धर्मी छु भन्ने कुरालाई के तँ अस्वीकार गर्न साहस गर्छस्? र तँ आफै चाहिं ठीक हुनलाई मलाई गलत सम्झन्छस्?”—अय्यूब ४०:८.
शायद अय्यूबले जस्तै विरोध आइपर्दा सर्वप्रथम आफू शिकार भएको महसुस गर्न हतपती प्रतिक्रिया देखाई हालौंला। सामान्य प्रत्युत्तर यो प्रश्न गर्नु हुनेछ: ‘किन ममाथि यस्तो हुनुपऱ्यो? मभन्दा दुष्ट मानिसहरूको समस्या किन मेरोभन्दा कम?’ परमेश्वरको वचन मनन गरेर यी नकारात्मक विचारहरू हामी प्रतिरोध गर्न सक्छौं।
अय्यूबजस्तो नभएर हामीहरू अझ ठूला विवादहरू बुझ्न सक्ने अवस्थामा छौं। शैतान “कसलाई भेट्टाऊँ र निलिहालूँ भनेर गर्जने सिंहझैं खोजेर हिंड़छ” भनेर हामीलाई थाहा छ। (१ पत्रुस ५:८) अय्यूबको पुस्तकले प्रकाश पारेझैं समस्याहरू खडा गरेर हाम्रो निष्ठा भंग गराउन पाउँदा दियाबल खुशी हुनेछ। परिस्थिति अनुकूल हुँदा मात्र हामी यहोवाको सेवा गर्छौं भनी प्रमाणित गर्न शैतान कटिबद्ध छ। (अय्यूब १:९-११; २:३-५) यहोवाको सार्वभौमिकता कायम गरेर दियाबललाई झूटो ठहराउन के हामी साहसी हुनेछौं?
यस रीतिरिवाज रहुन्जेल केही प्रकारका दुःखकष्टबाट कहिल्यै उम्कन सकिंदैन भनेर येशू र यहोवाका अनगिन्ती विश्वासी सेवकहरूको उदाहरणले देखाउँछ। येशूलाई पछ्याउने हो भने ‘आफ्नो क्रूस उठाएर पछि लाग्न’ इच्छुक हुनुपर्छ भनी उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो। (लूका ९:२३) हाम्रो व्यक्तिगत “क्रूस” अय्यूबले सहेका कुनै एक वा थुप्रै विपत्तिहरू हुन सक्छ। जस्तै, अस्वस्थता, प्रिय जनको मृत्यु, आर्थिक कठिनाइ वा विश्वासमा नभएकाहरूबाट विरोध। हामीले जस्तोसुकै प्रकारको समस्या सामना गरिरहेको भए तापनि त्यो परिस्थितिको सकारात्मक पक्ष पनि छ। हाम्रो धीरज र यहोवाप्रति वफादारी प्रदर्शन गर्ने अवसरको रूपमा हामी आफ्नो परिस्थितिलाई लिन सक्छौं।—याकूब १:२, ३.
येशूका प्रेरितहरूले त्यस्तै प्रतिक्रिया व्यक्त गरे। येशूबारे प्रचार गरेकोमा पेन्तिकोसको तुरुन्तैपश्चात् तिनीहरूलाई पिटेर लखारेका थिए। निरुत्साहित हुनुको सट्टा तिनीहरू “रमाउँदै” फर्के। दुःखकष्ट भोगेकोमा तिनीहरू रमाएका थिएनन् तर तिनीहरू रमाउनुको कारण “[ख्रीष्ट] उहाँका नाउँमा अपमान सहनु सौभाग्यको कुरो” हुनाले हो।—प्रेरित ५:४०, ४१.
निस्सन्देह, हाम्रा सबै कठिनाइहरू यहोवाको सेवा गर्नाले आइपरेका होइनन्। कुनै हदसम्म आफैले गर्दा ती परिस्थितिहरू आइपरेका हुन सक्छन्। अथवा हाम्रो कुनै गल्तीबिना नै समस्याले हाम्रो आध्यात्मिक सन्तुलनलाई असर पारेको हुन सक्छ। परिस्थिति जस्तोसुकै भए तापनि गल्तीहरू हुँदा त्यसलाई राम्ररी बुझ्न अय्यूबको जस्तो नम्र मनोवृत्तिले मदत गर्नेछ। यहोवा परमेश्वरसमक्ष अय्यूबले यो स्वीकारे: “मैले ता म आफैले नजानेका महान् कामहरूका विषयमा भनेको छु।” (अय्यूब ४२:३) यसप्रकार आफ्ना भूलहरू मानी लिने व्यक्ति भविष्यमा सम्भवतः यस्तै प्रकारका कठिनाइहरूबाट जोगिनेछ। हितोपदेशले भनेझैं “चतुर मानिस दुःख आएको देखेर जोगिन्छ।”—हितोपदेश २२:३.
सबैभन्दा महत्त्वपूर्ण कुरा, हाम्रा समस्याहरू सधैंभरि रहनेछैनन् भनी अय्यूबको पुस्तकले हामीलाई सम्झना गराउँछ। बाइबलले यसो भन्छ: “हामी ता धीरज धर्नेहरूलाई धन्यको भन्छौं। तिमीहरूले अय्यूबको स्थिरताको विषयमा सुनेका छौ, र प्रभुको अन्त्य पनि देखेकै छौ, कि प्रभु कस्तो टिठाइमा भरिपूर र कृपालु हुनुहुन्छ।” (याकूब ५:११) आज यहोवाका सेवकहरूको विश्वासीलोपनालाई यहोवाले त्यस्तैगरि आशिष् दिनुहुनेछ भनी हामी निश्चित हुन सक्छौं।
हर प्रकारका समस्याहरू “पहिलेका कुराहरू” भई बितिसकेको हुने समयको पनि हामी प्रतीक्षा गर्छौं। (प्रकाश २१:४) त्यो दिन नआउन्जेल बुद्धि र दृढताका साथ समस्याहरूसित व्यवहार गर्न अय्यूबको पुस्तक अनमोल निर्देशक साबित हुन्छ।
[फुटनोट]
a “मानिसले जे रोप्तछ, त्यसैको कटनी पनि गर्नेछ” भनी बाइबलले उल्लेख गरे तापनि यसको अर्थ ईश्वरीय दण्डस्वरूप मानिसले दुःखकष्ट भोग्छ भन्ने होइन। (गलाती ६:७) शैतानले अधिकार जमाएको यस संसारमा दुष्टहरूभन्दा धर्मीहरूले बढी दुःख भोग्छन्। (१ यूहन्ना ५:१९) येशूले आफ्ना चेलाहरूलाई यसो भन्नुभयो: “मेरो नाउँको खातिर सबैबाट तिमीहरू घृणित हुनेछौ।” (मत्ती १०:२२) परमेश्वरका विश्वासी सेवकहरूमध्ये कसैमाथि बिमारी वा अन्य प्रकारका विपत्तिहरू आइपर्न सक्छ।—भजनसंग्रह ४१:३; ७३:३-५; फिलिप्पी २:२५-२७.
[पृष्ठ २८-मा भएको चित्र]
“तपाईंको मास्तिर उठेका पानीको बादललाई नियालेर हेर्नुहोस्।” यसप्रकार परमेश्वरका तौरतरिकाहरू मानिसकाभन्दा उच्च छन् भनी बुझ्न एलीहूले अय्यूबलाई मदत दिए