यहोवा हाम्रो मदतगार हुनुहुन्छ
“मलाई गुहार यहोवाबाट नै आउँछ, जसले स्वर्ग र पृथ्वी सृजनुभयो।”—भजन १२१:२, Nw.
१, २. (क) बेलाबेलामा हामी सबैलाई मदत चाहिन्छ भनेर किन भन्न सकिन्छ? (ख) यहोवा कस्तो खालको मदतगार हुनुहुन्छ?
कहिल्यै पनि अरूको मदत नचाहिने व्यक्ति हामीमध्ये को पो होला र? वास्तविकता के हो भने बोझिलो समस्याको सामना गर्न, कसैलाई गुमाउनुपर्दाको पीडा सहन र कठिन परीक्षासामु धीरजी रहन हामी सबैलाई नै बेलाबेलामा अरूको मदत चाहिन्छ। मदतको खाँचो पर्दा मानिसहरू अक्सर आफ्नो चासो राख्ने साथीको मदत खोज्छन्। आफ्नो बोझ यस्ता साथीहरूसित बाँड्दा यो बोक्न सजिलो हुन सक्छ। तर सँगी मानवहरूले गर्न सक्ने मदत सीमित हुन्छ। यसको अलावा हामीलाई मदत चाहिएको बेला अरू व्यक्तिहरू सधैं हामीलाई मदत दिन सक्ने अवस्थामा नहुन पनि सक्छन्।
२ तथापि, एक जना यस्तो मदतगार पनि हुनुहुन्छ जोसित असीमित शक्ति र स्रोत-साधन छ। साथै, उहाँ हामीलाई कहिल्यै नत्याग्ने आश्वासन दिनुहुन्छ। पूर्ण विश्वस्त हुँदै ती व्यक्तिलाई भजनहारले यसरी चिनाए: “मलाई गुहार यहोवाबाट नै आउँछ।” (भजन १२१:२, NW ) यहोवाले तिनलाई मदत गर्नुहुनेछ भन्ने कुराबारे यी भजनहार किन विश्वस्त थिए? यो प्रश्नको जवाफ पाउन आउनुहोस् हामी भजन १२१ अध्याय जाँचौं। हाम्रो मदतगारको रूपमा हामी पनि किन विश्वस्त हुँदै यहोवामा भर पर्न सक्छौं भन्ने कुरा बुझ्न यसले हामीलाई मदत गर्नेछ।
मदतको अटुट स्रोत
३. भजनहारले आफ्नो आँखा कुन पर्वतहरूतिर उठाएका हुन सक्छन् र किन?
३ सबै चीज सृष्टि गर्ने यहोवा नै हुनुभएको हुँदा उहाँमा विश्वस्त हुन सकिने कुरा औंल्याउँदै भजनहारले यसरी सुरु गरे: “पर्वतहरूतिर म आफ्ना आँखा उठाउँछु। मलाई गुहार कहाँबाट आउँछ? मलाई गुहार यहोवाबाट नै आउँछ, जसले स्वर्ग र पृथ्वी सुजनुभयो।” (भजन १२१:१, २, NW ) भजनहारले जुन पायो त्यही पर्वततिर आँखा उठाएका थिएनन्। यी शब्दहरू लिपिबद्ध गरिंदा यहोवाको मन्दिर यरूशलेममा थियो। यहूदाका पर्वतहरूको उच्च स्थानमा रहेको त्यो सहर यहोवाको लाक्षणिक बासस्थान थियो। (भजन १३५:२१) गुहार वा मदतको लागि विश्वस्ततापूर्वक यहोवामा भर पर्दै भजनहारले आफ्नो आँखा यरूशलेमका पर्वतहरूतिर उठाएका हुन सक्छन्, जहाँ यहोवाको मन्दिर बसालिएको थियो। यहोवाले तिनलाई मदत गर्न सक्नुहुन्छ भन्ने कुराबारे भजनहार किन यत्तिको विश्वस्त थिए? किनभने उहाँले नै “स्वर्ग र पृथ्वी सृजनुभयो।” वास्तवमा भजनहारले यसो भनिरहेका थिए, ‘मलाई मदत गर्नदेखि सर्वशक्तिमान् सृष्टिकर्तालाई पक्कै पनि कुनै कुराले रोक्न सक्दैन!’—यशैया ४०:२६.
४. आफ्ना सेवकहरूको आवश्यकताप्रति यहोवा सधैं सजग हुनुहुन्छ भनी भजनहारले कसरी देखाए र यो किन सान्त्वनादायी विचार हो?
४ आफ्ना सेवकहरूको आवश्यकताप्रति यहोवा सधैं सजग हुनुहुन्छ भनी भजनहारले यसपछि बताए: “उहाँले तेरो खुट्टा चिप्लनदिनुहुन्न, तेरो रक्षा गर्ने कहिल्यै उँघ्नुहुनेछैन। हेर, इस्राएललाई रक्षा गर्नेचाहिं उँघ्नुहुनेछैन, र सुत्नुहुनेछैन।” (भजन १२१:३, ४) उहाँमाथि भरोसा गर्नेहरूलाई परमेश्वरले “चिप्लनदिनुहुन्न” वा कहिल्यै उठ्न नसक्ने गरी लोट्न दिनुहुन्न। (हितोपदेश २४:१६) किन? किनभने यहोवा आफ्नो भेडाको रक्षा गर्न सधैं चनाखो रहिरहने गोठालो जस्तै हुनुहुन्छ। के यो सान्त्वनादायी विचार होइन र? आफ्ना जनहरूका आवश्यकताहरूप्रति उहाँले एकछिन पनि आँखा चिम्लनुहुने छैन। उहाँले सावधानीपूर्वक दिनरात तिनीहरूको हेरविचार गर्नुहुन्छ।
५. यहोवा “दाहिने हाततिर” हुनुहुन्छ भनेर किन भनिएको हो?
५ यहोवा आफ्ना जनहरूको वफादार संरक्षक हुनुहुन्छ भन्ने कुरामा विश्वस्त हुँदै भजनहारले यसरी लेखे: “परमप्रभु तेरो रक्षक हुनुहुन्छ। परमप्रभुनै तेरो दाहिने हाततिरको छाया हुनुहुन्छ। दिउँसो घामले तँलाई पोल्नेछैन, औ राती जूनले हानि गर्नेछैन।” (भजन १२१:५, ६) मध्यपूर्वका पैदल यात्रीहरूलाई छाया भएको ठाउँले चर्को घामबाट जोगाउने थियो। आफ्ना जनहरूलाई विपत्तिको चर्को रापबाट जोगाएर यहोवा तिनीहरूका लागि छाया जस्तै हुनुहुन्छ। याद गर्नुहोस्, यहोवा “दाहिने हाततिर” हुनुहुन्छ भनिएको छ। पुरातन युद्धमा सिपाहीले ढाल देब्रे हातमा बोक्ने भएकोले दाहिने हात केही हदसम्म असुरक्षित हुन्थ्यो। वफादार साथी त्यस सिपाहीको दाहिने हाततिर उभिएर लडाइँ गरेर सुरक्षा दिन सक्थ्यो। यस्तो साथीजस्तै, यहोवा वफादारपूर्वक आफ्ना उपासकहरूको छेवैमा उभिनुहुन्छ र तिनीहरूलाई मदत गर्न सधैं तयार हुनुहुन्छ।
६, ७. (क) यहोवाले आफ्ना जनहरूलाई मदत गर्न कहिल्यै छोड्नुहुन्न भनी भजनहार हामीलाई कसरी आश्वासन दिन्छन्? (ख) हामी किन भजनहारजस्तै विश्वस्त हुन सक्छौं?
६ के यहोवाले आफ्ना जनहरूलाई मदत गर्न कहिल्यै छोड्नुहुनेछ? यो त सोच्न पनि नसकिने कुरा हो। अन्तमा भजनहारले यसो भने: “परमप्रभुले तँलाई सब खराबीबाट जोगाउनुहुनेछ। उहाँले तेरो प्राणलाई जोगाउनुहुनेछ। तँ बाहिर जाँदा र भित्र आऊँदा, अबोप्रान्त सधैंभरि परमप्रभुले तँलाई रक्षा गर्नुहुनेछ।” (भजन १२१:७, ८) याद गर्नुहोस्, यहाँ लेखकले वर्तमानबाट भविष्यतर्फ ध्यान खिचे। यसभन्दा अगाडि पद ५ मा भजनहारले यसो भने: “परमप्रभु तेरो रक्षक हुनुहुन्छ।” तर यी पदहरूमा भजनहारले यस्तो लेखे: “परमप्रभुले तँलाई रक्षा गर्नुहुनेछ।” यसरी यहोवाले भविष्यमा पनि मदत गरिरहनुहुनेछ भन्ने कुराबारे साँचो उपासकहरूलाई आश्वासन दिइएको छ। चाहे तिनीहरू जहाँसुकै जाऊन् वा तिनीहरूले जस्तोसुकै विपत्तिको सामना गरून्, तिनीहरू कहिल्यै पनि उहाँको मदतकारी हातबाट टाढा हुनेछैनन्।—हितोपदेश १२:२१.
७ वास्तवमा, मायालु गोठालोले जस्तै कोमलतासाथ र चनाखो पालेले जस्तै सावधानीपूर्वक सर्वशक्तिमान् सृष्टिकर्ताले आफ्ना सेवकहरूको हेरविचार गर्नुहुन्छ भन्ने कुरामा भजन १२१ का लेखक विश्वस्त थिए। भजनहारजस्तै हामी पनि विश्वस्त हुने हरकारण छ किनभने यहोवा परिवर्तन हुनुहुन्न। (मलाकी ३:६) के यसको अर्थ हामीले सधैंभरि शारीरिक सुरक्षा पाउनेछौं भनेको हो? यसो त होइन तर हाम्रो मदतगारको रूपमा हामी उहाँमा भर परुन्जेल हामीलाई आध्यात्मिक तवरमा हानि गर्न सक्ने सबै कुराबाट उहाँले हामीलाई जोगाउनुहुनेछ। यस्तो प्रश्न सोध्नु स्वाभाविकै हो, ‘यहोवाले हामीलाई कसरी मदत गर्नुहुन्छ?’ आउनुहोस्, यहोवाले मदत गर्नुहुने चारवटा तरिका हामी जाँचौं। बाइबल समयका आफ्ना सेवकहरूलाई उहाँले कसरी मदत गर्नुभयो भन्ने कुरा हामी यस लेखमा छलफल गर्नेछौं। अर्को लेखमा उहाँले आफ्ना सेवकहरूलाई आज कसरी मदत गर्नुहुन्छ भन्ने कुरा हामी विचार गर्नेछौं।
स्वर्गदूतहरूबाट मदत
८. स्वर्गदूतहरूले परमेश्वरका पार्थिव सेवकहरूको भलाइमा गहिरो चासो राख्नु किन कुनै अचम्मलाग्दो कुरा होइन?
८ यहोवाको अधीनमा लाखौं लाख स्वर्गदूत छन्। (दानियल ७:९, १०) यी आत्मिक पुत्रहरूले विश्वासीपूर्वक उहाँको इच्छा पूरा गर्छन्। (भजन १०३:२०) आफ्ना मानव उपासकहरूलाई यहोवा असाध्यै माया गर्नुहुन्छ र उहाँ तिनीहरूलाई मदत गर्न चाहनुहुन्छ भन्ने कुरा तिनीहरूलाई राम्ररी थाह छ। यी स्वर्गदूतहरूले परमेश्वरका पार्थिव सेवकहरूको भलाइमा गहिरो चासो राख्नु कुनै अचम्मलाग्दो कुरा होइन। (लूका १५:१०) त्यसैले मानिसहरूलाई मदत गर्न यहोवाले स्वर्गदूतहरूलाई चलाउनुहुँदा ती स्वर्गदूतहरू पक्कै पनि रमाउँछन्। पुरातन समयमा आफ्ना मानव सेवकहरूलाई मदत गर्न यहोवाले कुन-कुन तरिकामा स्वर्गदूतहरू चलाउनुभयो?
९. विश्वासी मानिसहरूलाई जोगाउन परमेश्वरले स्वर्गदूतहरूलाई कसरी अख्तियार दिनुभएको थियो भनेर देखाउने एउटा उदाहरण बताउनुहोस्।
९ विश्वासी मानिसहरूलाई जोगाउन र छुटकारा दिन परमेश्वरले स्वर्गदूतहरूलाई अख्तियार दिनुभएको थियो। लूत र तिनका छोरीहरूलाई सदोम र गमोराको विनाशबाट उम्कन दुई जना स्वर्गदूतले मदत गरे। (उत्पत्ति १९:१, १५-१७) एउटै स्वर्गदूतले यरूशलेमलाई धम्काउने १,८५,००० अश्शूरी सिपाहीहरूलाई मारे। (२ राजा १९:३५) दानियल सिंहको खोरमा फालिंदा “सिंहहरूका मुख थुनिदिनलाई” यहोवाले “आफ्ना दूत पठाउनुभयो।” (दानियल ६:२१, २२) एउटा स्वर्गदूतले प्रेरित पत्रुसलाई झ्यालखानाबाट छुटाए। (प्रेरित १२:६-११) स्वर्गदूतीय सुरक्षाका अन्य थुप्रै उदाहरणहरू पनि बाइबलले उल्लेख गर्छ, जसले भजन ३४:७ का निम्न शब्दहरूको सत्यता पुष्टि गर्छ: “उहाँसित डराउनेको चारैतिर परमप्रभुका दूतले छाउनी बनाउँछन्, र तिनीहरूलाई छुटकारा दिन्छन्।”
१०. अगमवक्ता दानियललाई प्रोत्साहन दिन परमेश्वरले कसरी एउटा स्वर्गदूत चलाउनुभयो?
१० कहिलेकाहीं विश्वासी मानिसहरूलाई प्रोत्साहन दिन र बलियो बनाउन यहोवाले स्वर्गदूतहरू चलाउनुभयो। दानियलको अध्याय १० मा एउटा हृदयस्पर्शी उदाहरण पाइन्छ। सायद त्यसबेला दानियल लगभग १०० वर्षका थिए। स्पष्टतः यरूशलेमको दयनीय अवस्था र मन्दिर बनाउनमा भएको ढिलाइको कारण यी अगमवक्ता एकदमै निराश थिए। एउटा डरलाग्दो दर्शन देखेपछि तिनी विचलित भए। (दानियल १०:२, ३, ८) तिनलाई प्रोत्साहन दिन परमेश्वरले मायालुपूर्वक एउटा स्वर्गदूत पठाउनुभयो। परमेश्वरको नजरमा दानियल “अति प्रिय मानिस” थिए भनी ती स्वर्गदूतले तिनलाई एक पटकभन्दा बढी सम्झाए। यसको परिणाम कस्तो भयो? ती वृद्ध अगमवक्ताले स्वर्गदूतलाई यसो भने: “तपाईंलेनै मलाई बल दिनुभयो।”—दानियल १०:११, १९.
११. सुसमाचारको प्रचारकार्यमा निर्देशन दिन स्वर्गदूतहरू चलाइएको एउटा उदाहरण कुन हो?
११ सुसमाचार प्रचारकार्यमा निर्देशन दिन पनि यहोवाले स्वर्गदूतहरू चलाउनुभयो। एक जना इथियोपियाली नपुंसकलाई ख्रीष्टबारे प्रचार गर्न एउटा स्वर्गदूतले फिलिपलाई निर्देशन दिए र ती नपुंसकले पछि बप्तिस्मा लिए। (प्रेरित ८:२६, २७, ३६, ३८) केही समयपछि, खतना नगरिएका अन्यजातिहरूलाई पनि सुसमाचार प्रचार गर्ने परमेश्वरको इच्छा भयो। दर्शनमा एउटा स्वर्गदूत एक जना ईश्वरभीरु अन्यजाति कर्नीलियसकहाँ देखापरे र तिनले प्रेरित पत्रुसलाई बोलाउन लगाउने निर्देशन दिए। कर्नीलियसले पठाएका सन्देशवाहकहरूले पत्रुसलाई भेट्टाएपछि तिनीहरूले यसो भने: “कर्नीलियस भन्ने . . . मानिसले, तपाईंलाई आफ्नो घरमा बोलाएर तपाईंको कुरा सुन्न भनी, एउटा पवित्र दूतद्वारा ईश्वरीय आदेश पाएका छन्।” पत्रुसले यो आग्रह स्वीकारे अनि यसरी खतना नगरिएको पहिलो अन्यजाति मसीही मण्डलीको भाग बने। (प्रेरित १०:२२, ४४-४८) सही मनोवृत्ति भएको व्यक्तिको सम्पर्कमा आउन स्वर्गदूतले तपाईंलाई मदत गरेको थाह पाउँदा त्यतिबेला तपाईं कस्तो महसुस गर्नुहुन्थ्यो होला कल्पना गर्नुहोस् त!
पवित्र आत्मामार्फत मदत
१२, १३. (क) पवित्र आत्माले तिनीहरूलाई मदत गर्न सक्नेछ भनी विश्वास गर्ने उपयुक्त कारण येशूका प्रेरितहरूसित किन थियो? (ख) पवित्र आत्माले प्रथम शताब्दीका मसीहीहरूलाई कुन तरिकामा शक्ति दियो?
१२ आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि येशूले उहाँका प्रेरितहरूलाई तिनीहरू अलपत्र छोडिनेछैनन् भन्ने आश्वासन दिनुभयो। पिताले तिनीहरूलाई “शान्तिदाता [“मदतगार,” NW ] अर्थात् पवित्र आत्मा” दिनुहुने थियो। (यूहन्ना १४:२६) पवित्र आत्माले तिनीहरूलाई मदत गर्न सक्नेछ भनी विश्वास गर्ने उपयुक्त कारण ती प्रेरितहरूसित थियो। वास्तवमा भन्ने हो भने, आफ्ना जनहरूलाई मदत गर्नको लागि उपलब्ध शक्तिहरूमध्ये सबैभन्दा बलियो शक्ति अर्थात् पवित्र आत्मा यहोवाले कसरी चलाउनुभयो भन्ने उदाहरणहरू प्रेरित धर्मशास्त्रमा प्रशस्त छन्।
१३ थुप्रै अवसरहरूमा यहोवाको इच्छा पूरा गर्नको लागि मानिसहरूलाई शक्ति दिन पवित्र आत्मा चलाइएको थियो। पवित्र आत्माले न्यायकर्ताहरूलाई इस्राएललाई छुटाउने शक्ति दियो। (न्यायकर्त्ता ३:९, १०; ६:३४) यही पवित्र आत्माले प्रथम शताब्दीका मसीहीहरूलाई सबै प्रकारका विरोधहरूको बावजुद साहसी भई प्रचार गरिरहने शक्ति दियो। (प्रेरित १:८; ४:३१) तिनीहरू आफ्नो सेवकाई पूरा गर्न सफल भएको कुराले पवित्र आत्मा परिचालन भएको जोडदार प्रमाण दियो। नत्रभने “अपठित र अजान” मानिसहरूले त्यति बेलाको सारा संसारभरि कसरी राज्यसन्देश फैलाउन सक्थे होलान् र?—प्रेरित ४:१३; कलस्सी १:२३.
१४. आफ्ना जनहरूलाई थप समझ दिन यहोवाले उहाँको पवित्र आत्मा कसरी चलाउनुभएको छ?
१४ आफ्ना जनहरूलाई थप समझ दिन पनि यहोवाले आफ्नो पवित्र आत्मा चलाउनुभयो। परमेश्वरको आत्माको मदतद्वारा यूसुफले फिरऊनका भविष्यसूचक सपनाहरूको अर्थ खोलिदिन सके। (उत्पत्ति ४१:१६, ३८, ३९) आफ्नो आत्माद्वारा यहोवाले नम्रहरूलाई उहाँको उद्देश्य प्रकट गराउनुभयो तर घमन्डीहरूबाट यो छिपाउनुभयो। (मत्ती ११:२५) त्यसैले “उहाँलाई प्रेम गर्नेहरूका निम्ति” यहोवाले प्रबन्ध गर्नुहुने कुराहरूबारे प्रेरित पावलले यसो भने: “परमेश्वरले हाम्रा निम्ति आत्माद्वारा ती प्रकट गर्नुभएको छ।” (१ कोरिन्थी २:७-१०) पवित्र आत्माको मदतद्वारा मात्र कुनै व्यक्तिले परमेश्वरको इच्छा साँच्चै बुझ्न सक्थ्यो।
परमेश्वरको वचनबाट मदत
१५, १६. बुद्धिमानीपूर्वक काम गर्नको लागि यहोशूलाई के गर्न भनिएको थियो?
१५ यहोवाको प्रेरित वचन “सिकाउनलाई . . . उपयोगी” छ र यसले परमेश्वरका सेवकहरूलाई “हरेक सुकर्ममा पूर्ण रूपले सुसज्जित भई सिद्ध” हुन मदत गर्छ। (२ तिमोथी ३:१६, १७) पहिल्यै लिपिबद्ध भइसकेको उहाँको वचनका अंशहरूले पुरातन समयका परमेश्वरका जनहरूलाई कसरी मदत गऱ्यो भन्ने थुप्रै उदाहरणहरू बाइबलमा छन्।
१६ धर्मशास्त्रले परमेश्वरका उपासकहरूलाई भरपर्दो डोऱ्याइ प्रदान गर्न मदत गऱ्यो। यहोशूलाई इस्राएलको नेतृत्व गर्ने जिम्मेवारी सुम्पँदा तिनलाई यसो भनिएको थियो: “व्यवस्थाको यो पुस्तक [जुन मोशाद्वारा लिपिबद्ध गरिएको थियो] तेरो ओंठबाट नहटोस्, तर त्यसमाथि तैंले दिन-रात ध्यान गर्नू अनि त्यसमा लेखिएका सबै कुरो होशियारीसाथ पालन गर्नू, र मात्र तेरा सबै मार्गहरूमा उन्नती गर्नेछस् र सफलता पाउनेछस्।” याद गर्नुहोस् यहोशूलाई कुनै चमत्कारपूर्ण ढङ्गमा बुद्धि दिनेछु भन्ने प्रतिज्ञा परमेश्वरले गर्नुभएन। बरु, यहोशूले ‘व्यवस्थाको पुस्तक’ पढेको र त्यसमा मनन गरेको खण्डमा तिनले बुद्धिमानीपूर्वक काम गर्न सक्ने थिए।—यहोशू १:८; भजन १:१-३.
१७. दानियल र राजा योशियाहसित उपलब्ध धर्मशास्त्रका अंशहरूले तिनीहरू दुवैलाई कसरी मदत गऱ्यो?
१७ परमेश्वरको लिखित वचनले उहाँको इच्छा तथा उद्देश्य प्रकट गर्न पनि मदत गऱ्यो। उदाहरणका लागि, यर्मियाका लेखोटहरूबाट दानियलले यरूशलेम कति समयसम्म उजाड रहनेछ भन्ने कुरा बुझे। (यर्मिया २५:११; दानियल ९:२) यहूदाका राजा योशियाहको शासनकालमा के भयो त्यो पनि विचार गर्नुहोस्। यतिबेलासम्ममा त्यो राष्ट्र यहोवाबाट तर्किसकेको थियो र राजाहरूले व्यवस्थाको व्यक्तिगत प्रति बनाउन र त्यो पालन गर्न चुकिसकेका थिए भन्ने कुरा स्पष्ट थियो। (व्यवस्था १७:१८-२०) तर मन्दिरको मर्मत हुँदै गर्दा सम्भवतः मोशा स्वयम्ले लेखेको “व्यवस्थाको पुस्तक” भेट्टियो। सायद यो लगभग ८०० वर्षअघि लेखिसिद्धिएको मौलिक भाग थियो। यसको विवरण पढेर सुनेपछि त्यो राष्ट्र यहोवाको इच्छाबाट कति टाढा तर्किसकेको थियो भनी योशियाहले महसुस गरे अनि त्यस पुस्तकमा लेखिएबमोजिम गर्न यी राजाले दृढ कदम चाले। (२ राजा २२:८; २३:१-७) पुरातन समयका परमेश्वरका जनहरूलाई त्यतिबेला उपलब्ध पवित्र धर्मशास्त्रका अंशहरूले मदत गऱ्यो भन्ने कुरा के स्पष्ट छैन र?
सँगी विश्वासीहरू मार्फत मदत
१८. कुनै एउटा साँचो उपासकले अर्कोलाई मदत गर्दा यसको मूल स्रोत यहोवा नै हुनुहुन्छ भनेर हामी किन भन्न सक्छौं?
१८ यहोवाले दिनुहुने मदत अक्सर सँगी विश्वासीहरू मार्फत आउँछ। एउटा साँचो उपासकले अर्को साँचो उपासकलाई मदत गर्दा वास्तवमा यस्तो मदतको मूल स्रोत परमेश्वर नै हुनुहुन्छ। हामी किन यसो भन्न सक्छौं? दुइटा कारणले गर्दा। पहिलो हो, यसमा परमेश्वरको पवित्र आत्मा मुछिएको हुन्छ। यस आत्माद्वारा प्रभावित हुन चाहनेहरूमा यसले प्रेम र भलाइजस्ता फलहरू उत्पन्न गराउँछ। (गलाती ५:२२, २३) त्यसैले परमेश्वरको कुनै एउटा सेवक अर्को सेवकलाई मदत गर्न उत्प्रेरित हुनु भनेको यहोवाको आत्माले काम गरिरहेको प्रमाण हो। दोस्रो, हामी परमेश्वरको स्वरूपमा बनेका छौं। (उत्पत्ति १:२६) यसको मतलब हामीसित उहाँको दया र अनुकम्पालगायत उहाँका अन्य गुणहरू झल्काउने क्षमता छ। त्यसैले यहोवाको कुनै एउटा सेवकले अर्कोलाई मदत गर्दा तिनीहरूले जसको प्रतिरूप झल्काइरहेका छन् उहाँ नै यस्तो मदतको वास्तविक स्रोत हुनुहुन्छ।
१९. बाइबलको रेकर्डअनुसार यहोवाले सँगी विश्वासीहरू मार्फत कसरी मदतको प्रबन्ध गर्नुभयो?
१९ बाइबलकालमा यहोवाले सँगी विश्वासीहरू मार्फत कसरी मदत दिनुभयो? यर्मियाले बारूकलाई जीवनदायी सल्लाह दिएजस्तै यहोवाले अक्सर आफ्नो कुनै एक जना सेवकले अर्को सेवकलाई सल्लाह दिन लगाउनुभयो। (यर्मिया ४५:१-५) खाँचोमा परेका यरूशलेमका भाइहरूलाई मदत गर्न म्यासिडोनिया र अखैयाका मसीहीहरू इच्छुक भएजस्तै बेलाबेलामा सँगी विश्वासीहरूलाई भौतिक मदतको प्रबन्ध गर्न साँचो उपासकहरू उत्प्रेरित भए। यस्तो उदारताले “परमेश्वरलाई धन्यवाद चढाउने” उचित कारण दियो भनी प्रेरित पावलले उल्लेख गरे।—२ कोरिन्थी ९:११.
२०, २१. प्रेरित पावलले कस्तो अवस्थामा रोमका भाइहरूबाट बल पाए?
२० एक अर्कालाई बलियो पार्न र प्रोत्साहन दिन यहोवाका सेवकहरू कसरी अघि सरे भन्ने विवरणहरू विशेष गरी हृदयस्पर्शी छन्। प्रेरित पावलसित सम्बन्धित एउटा उदाहरण विचार गर्नुहोस्। कैदीको रूपमा यरूशलेमतर्फ जाँदा पावलले अप्पियन मार्ग भनेर चिनिने रोमी राजमार्ग भएर यात्रा गरे। विशेष गरी यो यात्राको अन्तिम भाग कष्टप्रद थियो किनभने यात्रीहरूले दलदले खालको होचो भू-भाग भएर यात्रा गर्नुपर्थ्यो।a पावल आउँदैछन् भन्ने कुरा रोमको मण्डलीका भाइहरूलाई थाह थियो। तिनीहरूले के गर्ने थिए? पावल नआइपुगुन्जेल के तिनीहरू सहरमा भएको आफ्नो आरामदायी घरमा पर्खिबस्ने र त्यसपछि तिनलाई स्वागत गर्न आउने थिए?
२१ यस यात्रामा पावलसँगै गएका बाइबल लेखक लूका त्यतिबेला के भयो भनी हामीलाई बताउँछन्: “त्यहाँबाट [रोमबाट] हाम्रो विषयको खबर सुनेर भाइहरू हामीलाई भेट्नालाई अप्पियसको बजार र तीन-पाटी भन्ने ठाउँसम्म आएका थिए।” के तपाईं यो दृश्य कल्पना गर्न सक्नुहुन्छ? पावल आउँदै छन् भन्ने थाह पाएर भाइहरूको एउटा प्रतिनिधि मण्डल तिनलाई भेट्न रोमबाट गयो। त्यस प्रतिनिधि मण्डलका केही भाइहरू अप्पियसको बजारमा पर्खिरहेका थिए, जो रोमबाट लगभग ७४ किलोमिटर टाढा पर्ने प्रख्यात विश्रामस्थल थियो। बाँकी भाइहरू भने रोमबाट लगभग ५८ किलोमिटर टाढा पर्ने विश्रामस्थल, तीन-पाटी भन्ने ठाउँमा पर्खिरहेका थिए। पावलले कस्तो प्रतिक्रिया देखाए? लूका यसो भन्छन्: “यिनीहरूलाई देखेर पावलले परमेश्वरमा धन्यवाद चढाए, र हौसला लिए।” (प्रेरित २८:१५) कल्पना गर्नुहोस् त—मरिमेटेर यति लामो यात्रा गर्ने ती भाइहरूलाई देख्न पाउनु मात्र पनि पावलको लागि बल र सान्त्वनाको स्रोत थियो! अनि यो मदतकारी समर्थनको लागि पावलले कसलाई धन्यवाद दिए? तिनले यसको स्रोत अर्थात् यहोवा परमेश्वरलाई धन्यवाद दिए।
२२. सन् २००५ को लागि हाम्रो वार्षिक पद के हो र अर्को लेखमा कुन कुराबारे विचार गरिनेछ?
२२ कुरा स्पष्ट छ, परमेश्वरले गर्नुभएको व्यवहारको प्रेरित रेकर्ड स्वयम्ले नै यहोवा एक जना मदतगार हुनुहुन्छ भनेर देखाउँछ। मदत गर्ने सन्दर्भमा उहाँको बराबरीमा कोही पनि आउन सक्दैन। त्यसैले सन् २००५ को लागि यहोवाका साक्षीहरूको वार्षिक पद भजन १२१:२, NW का निम्न शब्दहरू हुनु उपयुक्त छ: “मलाई गुहार यहोवाबाट नै आउँछ।” तर आज यहोवाले हामीलाई कसरी मदत गर्नुहुन्छ? यसबारे अर्को लेखमा विचार गरिनेछ।
[फुटनोट]
a यो यात्रा गरेका रोमी कवि होरेसले (सा.यु.पू. ६५-६८) यस यात्राको यो भागमा सामना गर्नुपरेको कठिनाइबारे टिप्पणी गरे। होरेसले अप्पियसको बजारलाई “नाविकहरू र कन्जुस भट्टीवालहरूले कोचाकोच” ठाउँ भनी वर्णन गरे। तिनले “असाध्यै दुःख दिने भुसुना तथा भ्यागुताहरू” अनि “नमिठो” पानीबारे गुनासो गरे।
के तपाईंलाई याद छ?
• स्वर्गदूतहरूद्वारा
• उहाँको पवित्र आत्मामार्फत
• उहाँको प्रेरित वचनद्वारा
• सँगी विश्वासीहरू मार्फत
यहोवाले कसरी मदत दिनुभयो?
[पृष्ठ १६-मा भएको ठूलो अक्षरको क्याप्सन]
सन् २००५ को लागि वार्षिक पद हुनेछ: “मलाई गुहार यहोवाबाट नै आउँछ।”—भजन १२१:२, NW.
[पृष्ठ १६-मा भएको चित्र]
रोमका भाइहरूबाट पाएको मदतका लागि पावलले परमेश्वरलाई धन्यवाद दिए