प्रेषितहरूका कार्य
८ तिनको हत्यामा सावलको समर्थन थियो।+
त्यस दिनदेखि यरुसलेममा भएको मण्डलीलाई अत्यन्तै खेदो गर्न थालियो। तब प्रेषितहरूबाहेक सबै जना यहुदिया र सामरियाका इलाकाभरि तितरबितर भए।+ २ तर भक्तजनहरूले स्तिफनसको लास लगेर गाडे अनि उनीहरूले तिनको लागि असाध्यै शोक गरे। ३ तब सावलले मण्डलीसित निर्मम व्यवहार गर्न थाले। तिनी घरघर पसेर पुरुष र स्त्रीहरूलाई घिस्याउँदै बाहिर ल्याउँथे अनि तिनीहरूलाई झ्यालखानामा हालिदिन्थे।+
४ तर ती तितरबितर भएकाहरू जहाँ-जहाँ गए, त्यहाँ-त्यहाँ तिनीहरूले परमेश्वरको वचनको सुसमाचार घोषणा गरे।+ ५ तिनीहरूमध्ये एक जना फिलिप थिए, जो सामरिया+ सहरमा* गए र त्यहाँ ख्रिष्टको विषयमा प्रचार गर्न थाले। ६ भीडले एकै मनको भएर फिलिपलाई ध्यान दिँदै तिनले गरिरहेका चमत्कारहरू हेऱ्यो अनि तिनको कुरा सुन्यो। ७ किनकि त्यहाँ यस्ता मानिसहरू धेरै थिए, जसमा प्रेतहरू* बास गरेका थिए र ती ठूलो स्वरले कराउँदै बाहिर निस्कन्थे।+ यसबाहेक थुप्रै पक्षाघाती र लङ्गडा पनि सद्दे भए। ८ यसले गर्दा त्यस सहरमा ठूलो रमाहट भयो।
९ त्यस सहरमा सिमोन नाम गरेका एक जना मानिस पनि थिए, जो पहिले जादुगरी गरेर सामरियाका मानिसहरूलाई चकित पार्ने गर्थे अनि आफूलाई को-को न हुँ भन्थे। १० अनि सानादेखि ठूला सबैले तिनको कुरा ध्यान दिएर सुन्थे र यसो भन्थे: “यस मानिससित परमेश्वरको शक्ति छ; महाशक्ति छ!” ११ त्यसैले उनीहरू तिनको कुरा ध्यान दिएर सुन्थे किनकि तिनले आफ्नो जादुगरीद्वारा निकै समयदेखि उनीहरूलाई चकित पारिराखेका थिए। १२ तर जब फिलिपले परमेश्वरको राज्य र येसु ख्रिष्टको नाममा सुसमाचार+ सुनाए, तब तिनीहरूले विश्वास गरे अनि पुरुष तथा स्त्री दुवैले बप्तिस्मा गर्न थाले।+ १३ सिमोन आफैले पनि विश्वास गरे अनि बप्तिस्मा गरेपछि तिनी फिलिपसँगै+ हिँड्न थाले। चमत्कार अनि ठूलठूला शक्तिशाली कामहरू भइरहेको देखेर तिनी छक्क पर्थे।
१४ सामरियाका मानिसहरूले परमेश्वरको वचन स्विकारे भनी जब यरुसलेममा भएका प्रेषितहरूले सुने,+ तब उनीहरूले पत्रुस र युहन्नालाई ती मानिसहरूकहाँ पठाए; १५ अनि पत्रुस र युहन्ना त्यहाँ गए र त्यहाँका मानिसहरूले पनि पवित्र शक्ति पाऊन् भनेर प्रार्थना गरे।+ १६ किनकि त्यतिबेलासम्म तिनीहरूमध्ये कसैले पनि पवित्र शक्ति पाएको थिएन; तिनीहरूले प्रभु येसुको नाममा मात्र बप्तिस्मा गरेका थिए।+ १७ तब पत्रुस र युहन्नाले तिनीहरूमाथि आफ्नो हात राखे+ अनि तिनीहरूले पनि पवित्र शक्ति पाउन थाले।
१८ अब प्रेषितहरूले हात राख्दा पवित्र शक्ति पाउन सकिने रहेछ भन्ने देखेपछि सिमोनले तिनीहरूलाई पैसा दिन खोजे १९ र यसो भने: “मलाई यो अख्तियार पनि दिनुहोस् ताकि जसमाथि म आफ्नो हात राख्छु, उसले पवित्र शक्ति पाओस्।” २० तर पत्रुसले तिनलाई भने: “तिम्रो चाँदी तिमीसँगै नाश होस् किनकि तिमीले परमेश्वरले सित्तैँमा दिनुहुने वरदान+ पैसा तिरेर किन्न सकिन्छ भन्ठान्यौ। २१ यसमा तिम्रो न कुनै भाग छ न हिस्सा किनकि परमेश्वरको नजरमा तिम्रो हृदय सोझो छैन। २२ त्यसैले तिम्रो यस पापको लागि पश्चात्ताप गर अनि आफ्नो यस्तो कुविचारको लागि सम्भव भए क्षमा पाऊँ भनी यहोवा* परमेश्वरलाई व्यग्र प्रार्थना गर; २३ किनकि म देख्दै छु, तिमी तीतो विष* हौ र कुकर्मको दास हौ।” २४ यो सुनेपछि सिमोनले भने: “तपाईँहरूले भन्नुभएको कुनै कुरा ममाथि आइनपरोस् भनेर मेरो लागि यहोवा* परमेश्वरसित उत्कट बिन्ती गरिदिनुहोस्।”
२५ पूरै इलाकामा राम्ररी साक्षी दिएपछि अनि यहोवा* परमेश्वरको वचन सुनाएपछि तिनीहरू यरुसलेम फर्के अनि बाटोमा सामरियालीहरूका थुप्रै गाउँमा सुसमाचार सुनाउँदै हिँडे।+
२६ तथापि यहोवा* परमेश्वरको स्वर्गदूतले+ फिलिपलाई भने: “उठ र दक्षिणतिर त्यस बाटोमा जाऊ, जुन यरुसलेमबाट गाजातर्फ जान्छ।” (यो मरुभूमिको बाटो हो।) २७ तब फिलिप उठेर गए अनि हेर, तिनले एक जना इथियोपियाली नपुंसकलाई* भेटे, जो इथियोपिया देशकी महारानी कन्दाकीका उच्च अख्तियारवाला थिए र महारानीको सारा सम्पत्तिको हेरविचार गर्ने जिम्मा उनलाई सुम्पिइएको थियो। उनी यरुसलेममा उपासना गर्न गएका थिए+ २८ र त्यहाँबाट फर्किरहेका थिए। उनी आफ्नो रथमा बसेर भविष्यवक्ता यसैयाको पुस्तक आवाज निकालेर पढिरहेका थिए। २९ तब पवित्र शक्तिले फिलिपलाई भन्यो: “त्यस रथको नजिकै जाऊ।” ३० फिलिप रथसँगसँगै दौडे अनि त्यस नपुंसकले भविष्यवक्ता यसैयाको पुस्तक पढिरहेको सुने। तब तिनले सोधे: “के तपाईँले आफूले पढिरहेको कुरा साँच्चै बुझिरहनुभएको छ?” ३१ उनले जवाफ दिए: “कसैले नबुझाईकन म कसरी बुझ्न सक्छु र?” तब उनले फिलिपलाई रथमा चढेर आफूसँगै बस्न आग्रह गरे। ३२ उनले आवाज निकालेर पढिरहेको धर्मशास्त्रको अंश यो थियो: “काट्न लगिएको भेडाझैँ उसलाई लगियो। ऊन कत्रने मानिसको अगाडि पाठो चुपचाप बसेझैँ उसले आफ्नो मुख खोलेन।+ ३३ उसको अपमान हुँदा उसको न्याय खोसियो।+ ऊ को हो, कहाँबाट आयो, कसले सुनाउने? किनकि उसको जीवन पृथ्वीबाट खोसेर लगिएको छ।”+
३४ तब नपुंसकले फिलिपलाई सोधे: “भविष्यवक्ताले यो कसको विषयमा भनेका हुन्, कृपया मलाई बताइदिनुहोस्। आफ्नै कि अरू कसैको विषयमा?” ३५ तब फिलिप बोल्न थाले र धर्मशास्त्रको यो अंशबाट सुरु गरेर येसुको सुसमाचार उनलाई सुनाए। ३६ अब बाटोमा जाँदै गर्दा तिनीहरू पानी भएको ठाउँनेर आइपुगे। अनि ती नपुंसकले भने: “हेर्नुहोस्, यहाँ पानी रहेछ; बप्तिस्मा गर्नदेखि मलाई केले रोक्छ र?” ३७ *— ३८ तब उनले रथ रोक्ने आदेश दिए अनि फिलिप र नपुंसक दुवै ओर्लेर पानीमा गए; अनि फिलिपले उनलाई बप्तिस्मा गराए। ३९ जब तिनीहरू पानीबाट निस्के, तब यहोवा* परमेश्वरको पवित्र शक्तिले फिलिपलाई डोऱ्याएर तुरुन्तै त्यहाँबाट लगिहाल्यो। त्यसपछि ती नपुंसकले तिनलाई देखेनन्। अनि उनी रमाउँदै आफ्नो बाटो लागे। ४० तर फिलिपले चाहिँ आफूलाई अस्दोदमा पाए र सिजरिया+ नपुगुन्जेल तिनी त्यस इलाकामा अनि सबै सहरमा सुसमाचार सुनाउँदै हिँडे।