के तपाईंका प्रार्थनाहरू “धूपजस्तै” छन्?
“मेरो प्रार्थना तपाईंको सामने धूपजस्तै . . . ठहरिओस्।”—भजन १४१:२.
१, २. बलिरहेको धूपले केलाई चित्रण गऱ्यो?
यहोवा परमेश्वरले आफ्नो अगमवक्ता मोशालाई इस्राएलको पवित्रस्थानमा उपासनाको लागि पवित्र धूप तयार पार्ने आज्ञा दिनुभयो। यस ईश्वरीय आदेशअनुरूप धूप तयार पार्न चार प्रकारका सुगन्धित मसला मिसाउनुपर्थ्यो। (प्रस्थान ३०:३४-३८) यसरी तयार पारिएको धूपको बास्ना साँच्चै मीठो हुन्थ्यो।
२ इस्राएल राष्ट्रसँग बाँधिएको व्यवस्थाको करारअनुसार बलिहरू चढाउँदा यो धूप दिनहुँ बाल्नुपर्थ्यो। (प्रस्थान ३०:७, ८) के यो धूपको कुनै विशेष महत्त्व थियो? थियो, किनभने भजनरचयिताले यसप्रकार गाए: “मेरो प्रार्थना तपाईं [यहोवा परमेश्वरको] सामने धूपजस्तै र मैले हात उठाउँदा बेलुकीको बलिजस्तै ठहरिओस्।” (भजन १४१:२) प्रकाशको पुस्तकमा प्रेरित यूहन्नाले परमेश्वरको स्वर्गीय सिंहासन वरपर उभिएकाहरूलाई धूपले भरिएका सुनका पात्रहरू भनी वर्णन गरेका छन्। अनि प्रेरित विवरण यसो भन्छ, “धूपले भरिएका सुनका पात्रहरू थिए, जो भक्त जनहरूका प्रार्थना हुन्।” (प्रकाश ५:८) अतः सुगन्धित धूपहरू, यहोवाका सेवकहरूले दिनरात चढाउने उहाँको लागि ग्रहणयोग्य प्रार्थनाहरूका प्रतीक हुन्।—१ थिस्सलोनिकी ३:१०; हिब्रू ५:७.
३. ‘हाम्रो प्रार्थना परमेश्वरको सामने धूपजस्तै’ हुन हामीलाई कुन कुराले मदत गर्नुपर्छ?
३ हाम्रा प्रार्थनाहरू परमेश्वरको लागि स्वीकार्य हुने हो भने हामीले उहाँलाई येशू ख्रीष्टको नाउँमा प्रार्थना गर्नुपर्छ। (यूहन्ना १६:२३, २४) तर हामीले प्रार्थनाको गुणस्तर कसरी बढाउनसक्छौं? केही धर्मशास्त्रीय उदाहरणहरूलाई विचार गरेर हामीले आफ्ना प्रार्थनाहरू पनि यहोवासामु धूपजस्तै बनाउने मदत पाउनसक्छौं।—हितोपदेश १५:८.
विश्वासी भई प्रार्थना गर्नुहोस्
४. ग्रहणयोग्य प्रार्थनासित विश्वास कसरी सम्बन्धित छ?
४ हाम्रा प्रार्थनाहरू परमेश्वरको लागि सुगन्धित धूपजस्तै हुन हामीले विश्वासी भई प्रार्थना गर्नुपर्छ। (हिब्रू ११:६) आध्यात्मिक तवरमा बिरामी भएको व्यक्तिले मसीही प्राचीनहरूको धर्मशास्त्रीय सल्लाह स्वीकार्दा तिनीहरूको “विश्वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ।” (याकूब ५:१५) विश्वासका प्रार्थनाहरू र प्रार्थनापूर्वक परमेश्वरको वचन अध्ययन गरेको हाम्रो स्वर्गमा हुनुहुने पितालाई मन पर्छ। भजनरचयिताले असल मनोवृत्ति झल्काउँदै यसप्रकार गाए: “मैले प्रेम गरेको तपाईंका आज्ञातिर मेरा हातहरू पनि उचाल्नेछु, र तपाईंका नियममा ध्यान दिनेछु। मलाई असल विवेकशक्ति र ज्ञान सिकाउनुहोस्। किनकि मैले तपाईंका आज्ञाहरूमा विश्वास गरेको छु।” (भजन ११९:४८, ६६) हामीले परमेश्वरका आज्ञाहरू पालन गरेर विनम्र प्रार्थना तथा विश्वास देखाउँदै ‘हाम्रो हात फैलाऔं।’
५. हामीमा बुद्धिको कमी छ भने के गर्नुपर्छ?
५ मानौं, कुनै परीक्षा सामना गर्न हामीसित बुद्धिको कमी छ। सायद कुनै बाइबल भविष्यवाणी अहिले पूरा भइरहेको हो या होइन भन्ने कुरा पक्का नभइरहेको होला। यसले गर्दा आफ्नो आध्यात्मिकता ढलपल हुन दिनुको साटो बुद्धिको लागि प्रार्थना गरौं। (गलाती ५:७, ८; याकूब १:५-८) निस्सन्देह, हामी परमेश्वरले कुनै आश्चर्यमय ढंगमा जवाफ दिनुहोला भन्ने आशा गर्न सक्दैनौं। उहाँले आफ्ना सारा जनहरूबाट आशा गर्नुहुने कार्यहरू गरेर हाम्रो प्रार्थनाको निष्कपटता देखाउनुपर्छ। “विश्वासी र बुद्धिमान दास” मार्फत प्रबन्ध गरिएका प्रकाशनहरूद्वारा धर्मशास्त्रको गहन अध्ययन गरेर आफ्नो विश्वास बढाउनु आवश्यक छ। (मत्ती २४:४५-४७; यहोशू १:७, ८) परमेश्वरका जनहरूको सभाहरूमा नियमित तवरमा भाग लिएर पनि हाम्रो ज्ञान बढाउनुपर्छ।—हिब्रू १०:२४, २५.
६. (क) हामी सबैले वर्तमान समय र बाइबल भविष्यवाणीहरूको पूर्तिबारे के बिर्सनु हुँदैन? (ख) यहोवाको नाउँको पवित्रताबारे प्रार्थना गर्नुबाहेक हामीले अर्को कुन कुरा गर्नुपर्छ?
६ आज, कोही कोही मसीहीहरूलाई हामी अन्तको पनि “अन्तको समय[मा]” बाँचिरहेका छौं जस्तो लाग्न छोडेकोले व्यक्तिगत इच्छा तथा पेसाहरूको पछि लागेका छन्। (दानियल १२:४) यहोवाले येशूलाई सन् १९१४ मा स्वर्गमा राजाको रूपमा स्थापना गर्नुहुँदा उहाँको उपस्थिति सुरु भयो र उहाँले शत्रुहरूको माझमा शासन गरिरहनुभएको छ भन्ने कुरामा त्यस्ता व्यक्तिहरूको विश्वास जगाउन वा अझ बलियो बनाउन सँगी विश्वासीहरूले प्रार्थना गर्नसक्छन्। (भजन ११०:१, २; मत्ती २४:३) झूटो धर्म अर्थात् “महान् बेबिलोनको” विनाश, यहोवाका जनहरूमाथि मागोगको गोगको शैतानी आक्रमण र आरमागेडोनको युद्धमा सर्वशक्तिमान् परमेश्वरद्वारा तिनीहरूको बचाउ अनि यो युद्ध अचानक हुनुका साथै छोटो समयभित्र हुनसक्छ भन्नेजस्ता भविष्यवाणी हामी सबैले बिर्सनु हुँदैन। (प्रकाश १६:१४, १६; १८:१-५; इजकिएल ३८:१८-२३) त्यसकारण हामी आध्यात्मिक तवरमा जागा रहन परमेश्वरको मदतको लागि प्रार्थना गरौं। यहोवाको नाउँ पवित्र होस्, उहाँको राज्य आओस्, स्वर्गमा जस्तै पृथ्वीमा उहाँको इच्छा पूरा होस् भनेर हामी उत्कट प्रार्थना गरौं। हो, हामी त्यस्तो विश्वास देखाइरहौं र हाम्रा प्रार्थनाहरू निष्कपट छन् भनेर प्रमाणित गरौं। (मत्ती ६:९, १०) निस्सन्देह, यहोवालाई प्रेम गर्ने सबैले सर्वप्रथम उहाँको राज्य र धार्मिकता खोजून् अनि अन्त आउनुअघि सुसमाचार प्रचार गर्ने कार्यमा सकेसम्म बढी भाग लिन सकून्।—मत्ती ६:३३; २४:१४.
यहोवाको प्रशंसा गर्नुहोस् र उहाँलाई धन्यवाद दिनुहोस्
७. पहिलो इतिहास २९:१०-१३ मा लिपिबद्ध दाऊदको प्रार्थनाको कुन कुराले तपाईंलाई प्रभाव पाऱ्यो?
७ ‘हाम्रा प्रार्थनाहरू धूपजस्तै तयार गर्ने’ एउटा महत्त्वपूर्ण तरिका, परमेश्वरलाई हृदयस्पर्शी प्रशंसा तथा कृतज्ञता व्यक्त गरेर हो। राजा दाऊद तथा इस्राएलीहरूले यहोवाको मन्दिर निर्माण गर्न सहयोग पुऱ्याउँदा दाऊदले त्यस्तै प्रार्थना चढाएका थिए। दाऊदले यस्तो प्रार्थना गरे: “हे हाम्रा पुर्खाहरूका परमप्रभु परमेश्वर, तपाईं सनातनदेखि सनातनसम्म धन्यका होऊन्। हे परमप्रभु, महानता, शक्ति, महिमा, गौरव र वैभव तपाईंकै हुन्। किनभने स्वर्ग र पृथ्वीमा भएका सबै कुरा तपाईंकै हुन्। हे परमप्रभु, राज्याधिकार तपाईंकै हो, औ सबैका माथि तपाईं सर्वोच्च हुनुहुन्छ। धन र मान तपाईंबाटनै आउँछन्। तपाईंनै सबैमाथि शासन गर्नुहुन्छ। पराक्रम र शक्ति तपाईंकै हातमा छन्। सबैलाई बल र शक्ति दिनु तपाईंकै हातमा छ। औ अब, हे हाम्रा परमेश्वर, हामी तपाईंलाई धन्यवाद दिंदैछौं औ तपाईंको महिमित नाउँको प्रशंसा गर्दैछौं।”—१ इतिहास २९:१०-१३.
८. (क) भजन १४८ देखि १५० मा लिपिबद्ध प्रशंसाका शब्दहरूमा विशेषगरि कुन कुराले तपाईंको हृदय छोयो? (ख) हाम्रो भावना पनि भजन २७:४ मा अभिव्यक्त गरिएका जस्तै छन् भने हामी के गर्नेछौं?
८ प्रशंसा तथा धन्यवादबारे कस्तो सुन्दर अभिव्यक्ति! हाम्रा प्रार्थनाहरू त्यत्तिको सरर्र नहोलान् तर ती जत्तिकै हृदयस्पर्शी हुनसक्छन्। भजनको पुस्तक धन्यवाद तथा प्रशंसाका प्रार्थनाहरूले भरिएका छन्। प्रशंसाका उत्तम शब्दहरू भजन १४८ देखि १५० मा पाइन्छन्। थुप्रै भजनहरूमा परमेश्वरप्रति कृतज्ञता व्यक्त गरिएका छन्। दाऊदले भजन गाए, “एउटै कुरा मैले परमप्रभुसित मागेको छु, म त्यसैको खोजी गर्नेछु, कि परमप्रभुको शोभा हेर्न, र उहाँको मन्दिरमा ध्यान दिन जीवनभर म परमप्रभुको भवनमा रहन पाऊँ।” (भजन २७:४) यहोवाका जनहरूको समुदायका सबै गतिविधिहरूमा जोसका साथ भाग लिएर प्रार्थनाहरूअनुरूप चलौं। (भजन २६:१२) यसो गर्नुका साथै परमेश्वरको वचनमा दिनहुँ मनन गर्दा हृदयस्पर्शी प्रार्थना तथा कृतज्ञताले यहोवालाई पुकार्ने यथेष्ट कारण पाउनेछौं।
नम्रतापूर्वक यहोवाको मदत खोज्नुहोस्
९. राजा आसाले कसरी प्रार्थना गरे र नतिजा कस्तो भयो?
९ यहोवाका साक्षीहरूको हैसियतमा हामीले पूर्ण हृदयले उहाँको सेवा गरिरहेका छौं भने हामीले प्रार्थनामा मदत माग्दा उहाँले सुन्नुहुनेछ भनी ढुक्क हुनसक्छौं। (यशैया ४३:१०-१२) यहूदाका राजा आसालाई विचार गर्नुहोस्। तिनको ४१ वर्ष (सा.यु.पू. ९७७-९३७) लामो शासनको सुरुका १० वर्षहरू शान्तिमय थिए। त्यसपछि कूशी जेराको नेतृत्वमा आएको १० लाख मानिसहरूको सेनाले यहूदामाथि आक्रमण गऱ्यो। यो सेनाको संख्या निकै धेरै भए तापनि आसा र तिनको फौज आक्रमणकारीहरूको सामना गर्न तम्से। तथापि, युद्धमा जानुअघि आसाले व्यग्र प्रार्थना गरे। यहोवाले छुटकारा दिन सक्नुहुन्छ भनी तिनलाई पूरा विश्वास थियो। मदतको लागि पुकार्दै राजाले यसो भने: “हे परमप्रभु हाम्रा परमेश्वर, हाम्रो सहायता गर्नुहोस्, किनभने हामी तपाईंमाथि भर परेका छौं। हामी तपाईंकै नाउँमा यस ठूलो सेनाको विरुद्धमा सामना गर्न आएका छौं। हे परमप्रभु, तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ, यसर्थ मानिस कसरी तपाईंको विरुद्धमा खड़ा हुनसक्छ र?” आफ्नो नाउँको खातिर यहोवाले यहूदालाई बचाउनुभयो। (२ इतिहास १४:१-१५) परमेश्वरले हामीलाई चाहे परीक्षाबाट छुटकारा या त्यो सामना गर्ने बल देऊन्, मदतको लागि गरेको पुकारा उहाँले अवश्य सुन्नुहुनेछ।
१०. कुनै समस्या आइपर्दा के गर्ने भनी थाह नहुँदा राजा यहोशापातको प्रार्थना कसरी मदतकारी साबित हुनसक्छ?
१० कुनै संकट आइपर्दा के गर्ने, कसो गर्ने थाह नहुँदा यहोवाले मदतको लागि हाम्रो बिन्ती सुन्नुहुनेछ भनी ढुक्क हुनसक्छौं। यो यहूदी राजा यहोशापातको समयमा प्रस्ट भयो। तिनको २५ वर्षे शासन सा.यु.पू. ९३६ मा सुरु भयो। यहूदाले मोआब, अम्मोन र सेईरको पहाडी देशका मानिसहरूको संयुक्त सेनाले आक्रमण गर्ने खतरा देख्दा यहोशापातले यसरी बिन्ती गरे: “हे परमेश्वर, हाम्रा परमेश्वर, तिनीहरूको न्याय गर्नुहोस्। किनभने हाम्रो देशलाई आक्रमण गर्न आइरहेको यो ठूलो सैन्यदलको सामना गर्न हाम्रो केही शक्ति छैन। हामीले के गर्नुपर्ने हो सो हामी जान्दैनौं। हामी आफ्ना आँखा तपाईंतिर उठाउँछौं।” यहोवाले त्यो विनम्र प्रार्थनाको जवाफ दिनुभयो। उहाँ यहूदाको पक्षमा खडा हुनुभयो र शत्रुहरूबीच गोलमाल उत्पन्न गर्नुभयो अनि तिनीहरूले एकअर्कालाई काटमार गर्न थाले। फलतः वरपरका राष्ट्रहरू भयभीत भए र यहूदामा शान्ति छायो। (२ इतिहास २०:१-३०) समस्याको सामना गर्न बुद्धिको कमी हुँदा हामी यहोशापातले जस्तै यसरी प्रार्थना गर्नसक्छौं: “हामीले के गर्नुपर्ने हो सो हामी जान्दैनौं। हामी आफ्ना आँखा तपाईंतिर उठाउँछौं।” पवित्र आत्माले हामीलाई उक्त समस्या समाधान गर्न चाहिने धर्मशास्त्रीय बुँदाहरू स्मरण गर्न मदत गर्नसक्छ वा कुनै मानव तर्कभन्दा उत्तम ढंगमा परमेश्वरले मदत गर्न सक्नुहुन्छ।—रोमी ८:२६, २७.
११. यरूशलेमको पर्खालको सन्दर्भमा नहेम्याहको प्रार्थनाबाट के सिक्नसक्छौं?
११ परमेश्वरको मदतको निम्ति हामी प्रार्थनामा लागिरहनुपर्ने हुनसक्छ। यरूशलेमको भत्केको पर्खाल तथा यहूदावासीहरूको दुर्दशाबारे नहेम्याहले धेरै दिनसम्म विलाप गरे, रोए, उपबास बसे तथा प्रार्थना गरे। (नहेम्याह १:१-११) स्पष्टतः तिनको प्रार्थना सुगन्धित धूपजस्तै परमेश्वरकहाँ पुग्यो। फारसी राजा आर्टजारसेजले एक दिन उदास नहेम्याहलाई सोधे: “मबाट तिमी के चाहन्छौ?” नहेम्याह भन्छन्, “मैले स्वर्गका परमेश्वरलाई प्रार्थना गरें।” त्यो छोटो मनमनै गरिएको प्रार्थनाको जवाफ मिल्यो। नहेम्याहले यरूशलेम गएर भत्किएको पर्खाल पुनर्निर्माण गर्ने आफ्नो इच्छा पूरा गर्न अनुमति पाए।—नहेम्याह २:१-८.
येशूले तपाईंलाई प्रार्थना गर्न सिकाऊन्
१२. येशूको नमुना प्रार्थनाका मुख्य बुँदाहरू तपाईं आफ्नै शब्दमा कसरी भन्नुहुन्छ?
१२ धर्मशास्त्रमा लिपिबद्ध सबै प्रार्थनाहरूमध्ये येशू ख्रीष्टले सुगन्धित धूपको रूपमा प्रस्तुत गर्नुभएको नमुना प्रार्थना विशेषगरि निर्देशनमूलक छ। लूकाको सुसमाचारको पुस्तक यसो भन्छ: “उहाँ [येशूका] चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, ‘हे प्रभु, यूहन्नाले आफ्ना चेलाहरूलाई सिकाएझैं हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहोस्।’ उहाँले तिनीहरूलाई भन्नुभयो, ‘तिमीहरूले प्रार्थना गर्दा यसो भन, ‘हे पिता, तपाईंको नाउँ पवित्र गरिओस्, तपाईंको राज्य आओस्, हामीलाई दिनदिनै हाम्रा दिनहुँको भोजन दिनुहोस्। औ हाम्रा पाप हामीलाई क्षमा गर्नुहोस्, किनकि हामी आफै पनि हाम्रा हरेक ऋणीलाई क्षमा गर्दछौं। औ हामीलाई परीक्षामा नल्याउनुहोस्।’ ” (लूका ११:१-४; मत्ती ६:९-१३) आउनुहोस्, यस प्रार्थनालाई केलाऔं। यसलाई कण्ठ पार्ने त होइन तर निर्देशनको रूपमा चलाउनसक्छौं।
१३. “हे पिता, तपाईंको नाउँ पवित्र गरिओस्” शब्दहरूको महत्त्व तपाईं कसरी वर्णन गर्नुहुन्छ?
१३ “हे पिता, तपाईंको नाउँ पवित्र गरिओस्।” यहोवालाई पिता भनी सम्बोधन गर्न पाउनु उहाँका समर्पित सेवकहरूको निम्ति विशेष अवसर हो। मनमा कुनै पीर हुँदा स-साना बच्चाहरू आफ्नो मायालु बुबा कहाँ पुगेको जस्तैगरि हामीले पनि नियमित तथा मर्यादित ढंगमा परमेश्वरलाई श्रद्धेय प्रार्थना गर्नुपर्छ। (भजन १०३:१३, १४) हाम्रो प्रार्थनामा यहोवाको नाउँ पवित्र बनाउने हाम्रो चासो झल्कनुपर्छ किनभने हामी उहाँको नाउँमाथि थुपारिएका सबै दोष हटेको हेर्न चाहन्छौं। हो, हामी उहाँको नाउँ उच्च तथा पवित्र तुल्याइएको हेर्न चाहन्छौं।—भजन ५:११; ६३:३, ४; १४८:१२, १३; इजकिएल ३८:२३.
१४. “तपाईंको राज्य आओस्” भनी प्रार्थना गर्नुको अर्थ के हो?
१४ “तपाईंको राज्य आओस्।” यो राज्य यहोवाले चाहनुहुने शासन हो। यो उहाँको पुत्र तथा येशूको “पवित्र” जनलाई सुम्पेको स्वर्गीय मसीह राज्य हो। (दानियल ७:१३, १४, १८, २७; प्रकाश २०:६) अब चाँडै पृथ्वीमा भएका परमेश्वरको सार्वभौमिकताका विरोधीहरूको नामोनिशान नै नहुनेगरि अन्त “गरिनेछ।” (दानियल २:४४) अनि स्वर्गमा झैं यस पृथ्वीमा पनि यहोवाको इच्छा पूरा हुनेछ। (मत्ती ६:१०) यस ब्रह्माण्डको सार्वभौमलाई वफादार भई सेवा गरिरहेका सबै प्राणी कत्ति हर्षित हुनेछन्!
१५. “हाम्रा दिनहुँको भोजन” यहोवासित माग्नुको अर्थ के हो?
१५ “हामीलाई दिनदिनै हाम्रा दिनहुँको भोजन दिनुहोस्।” यहोवासँग “दिनहुँको” भोजनको निम्ति प्रार्थना गर्दा हामीले एक रास भोजन मागिरहेका हुनेछैनौं तर हाम्रो दैनिक आवश्यकताको लागि मात्र बिन्ती गरिरहेका हुनेछौं। परमेश्वरले प्रबन्ध गर्नुहुनेछ भनी विश्वास गरे तापनि हामी आफै पनि काम गर्छौं र उपलब्ध उचित साधनहरू चलाएर भोजन तथा अन्य आवश्यकताहरू पूरा गर्छौं। (२ थिस्सलोनिकी ३:७-१०) निस्सन्देह, हामीले आफ्नो स्वर्गमा हुनुहुने पितालाई धन्यवाद दिनुपर्छ किनभने यी सबै प्रबन्धहरूमा उहाँको प्रेम, बुद्धि तथा शक्ति मुछिएको छ।—प्रेरित १४:१५-१७.
१६. हामी कसरी परमेश्वरको क्षमा प्राप्त गर्छौं?
१६ “हाम्रा पाप हामीलाई क्षमा गर्नुहोस्, किनकि हामी आफै पनि हाम्रा हरेक ऋणीलाई क्षमा गर्दछौं।” असिद्ध तथा पापी भएकाले हामी पक्कै पनि यहोवाको सिद्ध स्तरहरूअनुसार पूर्णतया चल्न सक्दैनौं। तसर्थ, येशूको छुडौतीको बलिदानको आधारमा उहाँसित क्षमा माग्नु आवश्यक छ। “प्रार्थना सुन्नुहुने[ले]” ख्रीष्टको छुटकाराको बलिदानको आधारमा क्षमा दिनुभएको चाहन्छौं भने हामी पश्चात्तापी हुनुका साथै उहाँले दिनुहुने अनुशासन स्वीकार्न पनि तयार हुनुपर्छ। (भजन ६५:२; रोमी ५:८; ६:२३; हिब्रू १२:४-११) यसबाहेक, “आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं” भने मात्र परमेश्वरले हामीलाई क्षमा गर्नुहुनेछ।—मत्ती ६:१२, १४, १५.
१७. “हामीलाई परीक्षामा नल्याउनुहोस्” भन्नुको अर्थ के हो?
१७ “हामीलाई परीक्षामा नल्याउनुहोस्।” कहिलेकाहीं यहोवाले यसो गर्नुहुन्छ भनी बाइबलले बताउँछ तर उहाँले त्यो हुन दिनुभएको मात्र हो। (रूथ १:२०, २१) परमेश्वरले हामीलाई पाप गर्ने प्रलोभनमा पार्नु हुन्न। (याकूब १:१३) दियाबल, हाम्रो पापी शरीर तथा यस संसारबाट दुष्ट काम गर्ने प्रलोभन आउँछ। परमेश्वर विरुद्ध हामीलाई पाप गर्न उक्साउने प्रलोभक शैतान हो। (मत्ती ४:३; १ थिस्सलोनिकी ३:५) “हामीलाई परीक्षामा नल्याउनुहोस्” भनी आग्रह गर्दा उहाँप्रति अनाज्ञाकारी हुने प्रलोभनमा पर्दा नचुक्न परमेश्वरलाई मदत मागिरहेका हुनेछौं। शैतान अर्थात् “दुष्टबाट” अलग रहन उहाँले हामीलाई डोऱ्याउन सक्नुहुन्छ।—मत्ती ६:१३; १ कोरिन्थी १०:१३.
प्रार्थनाअनुरूप काम गर्नुहोस्
१८. सुखी वैवाहिक तथा पारिवारिक जीवनको निम्ति हामीले आफ्नो प्रार्थनाअनुरूप कसरी कार्य गर्नसक्छौं?
१८ येशूको नमुना प्रार्थनाले मुख्य बुँदाहरू समावेश गऱ्यो तर हामी अरू जुनसुकै विषयबारे प्रार्थना गर्नसक्छौं। उदाहरणका लागि, सुखी वैवाहिक जीवन बिताउने आफ्नो इच्छाबारे प्रार्थना गर्नसक्छौं। वैवाहिक बन्धनमा बाँधिनु अघिसम्म कुमारीत्व कायम राख्न आत्मसंयमको निम्ति प्रार्थना गर्नसक्छौं। तर अनैतिक पत्रपत्रिका तथा मनोरञ्जनबाट अलग बसेर हामी आफ्नो प्रार्थनाअनुरूप काम गरौं। साथै “प्रभुमा मात्र” विवाह गर्न हामी कटिबद्ध होऔं। (१ कोरिन्थी ७:३९; व्यवस्था ७:३, ४) विवाह भएपछि सुखी वैवाहिक जीवनको निम्ति परमेश्वरको सल्लाह व्यवहारमा उतारेर हाम्रो प्रार्थनाअनुरूप कार्य गर्नुपर्छ। अनि छोराछोरी छन् भने तिनीहरू यहोवाको विश्वासी सेवक होऊन् भनी प्रार्थना गरेर मात्र पुग्दैन। बाइबल अध्ययन गरेर तथा तिनीहरूसँगै नियमित तवरमा मसीही सभाहरू धाएर तिनीहरूको मनमा परमेश्वरको सत्य ठप्प बसालि दिन हामीले सक्दो गर्नुपर्छ।—व्यवस्था ६:५-९; ३१:१२; हितोपदेश २२:६.
१९. हाम्रो सेवकाईबारे प्रार्थना गरिरहेका छौं भने के गर्नुपर्छ?
१९ के हामी सेवकाईमा आशिष्को निम्ति प्रार्थना गरिरहेका छौं? त्यसोभए राज्य प्रचारकार्यमा अर्थपूर्ण ढंगले भाग लिएर प्रार्थनाअनुरूप काम गरौं। अरूलाई अनन्त जीवनको मार्गबारे सिकाउने अवसरको निम्ति प्रार्थना गर्छौं भने जिज्ञासुहरूको राम्रो रेकर्ड राख्नुका साथै आफ्नो तालिकामा तिनीहरूसित गृह बाइबल अध्ययन सञ्चालन गर्ने समय पनि समावेश गर्न इच्छुक हुनुपर्छ। अग्रगामीको रूपमा पूर्ण-समय प्रचारक हुने इच्छा गर्छौं भने नि? प्रचारमा बढी समय बिताएर अनि अग्रगामीहरूसित प्रचारमा गएर आफ्नो प्रार्थनाअनुरूप कदम चालौं। त्यस्तो कदम चाल्दा हामी आफ्नो प्रार्थनाअनुरूप कामकुरा गरिरहेका हुनेछौं।
२०. अर्को लेखले कुन कुराबारे छलफल गर्नेछ?
२० हामीले विश्वासी भई यहोवालाई सेवा गरिरहेका छौं भने उहाँले हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्छ भनी निर्धक्क हुनसक्छौं। (१ यूहन्ना ५:१४, १५) बाइबलमा लिपिबद्ध केही प्रार्थनाहरू जाँचेर निश्चय पनि केही लाभकारी बुँदाहरू छलफल गरियो। अर्को लेखमा ‘प्रार्थना यहोवासामु धूपजस्तै ठहर्न’ प्रयास गरिरहेकाहरूको निम्ति धर्मशास्त्रीय निर्देशनहरू छलफल गरिनेछ।
तपाईं कसरी जवाफ दिनुहुन्छ?
◻ हामीले किन विश्वासमा प्रार्थना गर्नुपर्छ?
◻ हाम्रो प्रार्थनामा प्रशंसा र धन्यवादले कस्तो भूमिका निर्वाह गर्नुपर्छ?
◻ हामीले यहोवासित निर्धक्क भई किन प्रार्थनामा मदत माग्नसक्छौं?
◻ नमुना प्रार्थनाका केही मुख्य बुँदाहरू के हुन्?
◻ आफ्नो प्रार्थनाअनुरूप हामी कसरी काम गर्नसक्छौं?
[पृष्ठ १२-मा भएको चित्र]
राजा यहोशापातले जस्तै कहिलेकाहीं हामीले पनि यसरी प्रार्थना गर्नुपर्ने हुनसक्छ: ‘हामीले के गर्नुपर्ने हो सो हामी जान्दैनौं। हामी आफ्ना आँखा तपाईंतिर उठाउँछौं’
[पृष्ठ १३-मा भएको चित्र]
के तपाईं येशूको नमुना प्रार्थनाअनुरूप प्रार्थना गर्नुहुन्छ?