“सोझो मानिसको घरको फलिफाप हुनेछ”
आरमागेडोनको आँधीमा शैतानको दुष्ट रीतिरिवाज नाश हुँदा “दुष्टको घर भत्काइनेछ।” अनि “सोझो मानिसको घर” नि? हुन पनि, परमेश्वरले ल्याउनुहुने नयाँ संसारमा त्यसको “फलिफाप हुनेछ।”—हितोपदेश १४:११.
तथापि, ‘दुष्टहरू पृथ्वीबाट जरैसमेत नउखेलिएसम्म र विश्वासघातीहरू झारझैं नफ्याँकिएसम्म’ निर्दोषहरू तिनीहरू सँगसँगै जिउनुपर्छ। (हितोपदेश २:२१, २२) के यस्तो परिस्थितिमा सोझाहरूको फलिफाप हुन सक्छ? हाम्रो बोली र कार्यलाई बुद्धिले डोऱ्यायौं भने हामी केही हदसम्म अहिले पनि संवृद्धि र स्थायित्वको आनन्द उठाउन सक्छौं भनी हितोपदेशको पुस्तक, अध्याय १४ को पद १ देखि ११ ले देखाउँछ।
जब बुद्धिले घरपरिवार निर्माण गरिन्छ
परिवारको हितमा पत्नीले पार्ने प्रभावबारे टिप्पणी गर्दै पुरातन इस्राएलका राजा सुलेमानले यसो भने: “बुद्धिमान स्त्रीले आफ्नो घर निर्माण गर्छे, तर निर्बुद्धि स्त्रीले आफ्नै हातले त्यो भत्काउँछे।” (हितोपदेश १४:१) बुद्धिमान् स्त्रीले आफ्नो घर कसरी निर्माण गर्छिन्? बुद्धिमान् स्त्रीले शिरत्वसम्बन्धी परमेश्वरको प्रबन्धको आदर गर्छिन्। (१ कोरिन्थी ११:३) शैतानको संसारमा व्याप्त स्वाधीनताको आत्माबाट उनी प्रभावित हुँदिनन्। (एफिसी २:२) उनी आफ्नो पतिको अधीनमा बस्छिन् र अरूले आफ्नो पतिको अझ बढी आदर गर्ने गरी तिनीबारे राम्रो कुरा गर्छिन्। बुद्धिमान् स्त्री आफ्ना छोराछोरीको आध्यात्मिक र व्यावहारिक शिक्षामा सक्रियतासाथ भाग लिन्छिन्। आफ्नो परिवारको भलाइको लागि उनी लगनशील भई लाग्छिन् अनि आफ्नो परिवारको लागि घरलाई रमाइलो र आरामदायी बनाउँछिन्। उनी होसियारीपूर्वक घर चलाउँछिन् र पैसाको पनि हिसाब गर्छिन्। साँच्चै बुद्धिमान् स्त्रीले आफ्नो घरपरिवारको संवृद्धि र स्थायित्वमा योगदान पुऱ्याउँछिन्।
मूर्ख स्त्रीले शिरत्वसम्बन्धी परमेश्वरको प्रबन्धको आदर गर्दिन। ऊ आफ्नो पतिको नराम्रो कुरा गर्न हिचकिचाउँदिन। पैसा बचाउँदिन र मेहनत गरेर कमाएको पैसा पनि जथाभावी खर्च गर्छे। ऊ समय पनि खेर फाल्छे। फलस्वरूप, उसको घर लथालिङ्ग अवस्थामा हुन्छ र बच्चाहरू पनि शारीरिक र आध्यात्मिक तवरमा तन्दुरुस्त हुँदैनन्। हो, मूर्ख स्त्रीले आफ्नो घर भत्काउँछे।
तर कुनै व्यक्ति बुद्धिमान् हो वा मूर्ख भन्ने कुरा कसरी निर्धारण गर्न सकिन्छ? हितोपदेश १४:२ यस्तो उल्लेख गर्छ: “इमान्दार मानिसले परमप्रभुको भय मान्छ, तर छलीले उहाँको तिरस्कार गर्छ।” इमानदार मानिसले साँचो परमेश्वरको भय मान्छ र “परमप्रभुको भयनै ज्ञानको शुरू हो।” (भजन १११:१०) ‘परमेश्वरको भय राख्नु, र उहाँका आज्ञा पालन गर्नु’ आफ्नो दायित्व हो भनेर साँच्चै बुद्धिमान् मानिसले बुझेको हुन्छ। (उपदेशक १२:१३) अर्कोतर्फ, मूर्ख मानिसले धार्मिकतासम्बन्धी परमेश्वरको स्तर विपरीत मार्गलाई पछ्याउँछ। उसको मार्ग टेढो हुन्छ। त्यस्तो व्यक्तिले परमेश्वरलाई घृणा गर्छ र मनमनै यसो भन्छ: “ईश्वर [“यहोवा,” NW] छैन।”—भजन १४:१.
बुद्धिले बोलीलाई डोऱ्याउँदा
यहोवाको भय मान्ने व्यक्तिको बोली र उहाँलाई घृणा गर्ने व्यक्तिको बोलीबारे के भन्न सकिन्छ? “मूर्खको बोली आफ्नै पीठमाथि ल्याउने लाठो हो, बुद्धिमान मानिसको वचन त्यसको रक्षा हो।” (हितोपदेश १४:३) माथिबाट आउने बुद्धिको कमी भएको मूर्ख व्यक्ति नता शान्तिप्रिय हुन्छ न व्यावहारिक। त्यसलाई डोऱ्याउने बुद्धि सांसारिक, पाशविक र शैतानी हुन्छ। त्यसबाट निस्कने बोली इवी र विरोधले भरिएको हुन्छ। त्यसको घमन्डी बोलीले आफू स्वयम् र अरूलाई पनि समस्या ल्याउँछ।—याकूब ३:१३-१८.
बुद्धिमान् मानिसको बोलीले उसलाई जोगाउँछ वा सुरक्षा प्रदान गर्छ जसले उसको हितमा योगदान पुऱ्याउँछ। कसरी? धर्मशास्त्र यसो भन्छ: “व्यर्थको गफ तरवारझैं तीखो हुन्छ, तर बुद्धिमानको बोलीले मानिसलाई निको पार्छ।” (हितोपदेश १२:१८) बुद्धिमान् मानिसको बोली विचार नगरी बोलेको वा धारिलो हुँदैन। उसले सोचविचार गरेर मात्र जवाफ दिन्छ। (हितोपदेश १५:२८) उसले राम्ररी सोचविचार गरेको बोलीले निको पार्छ र यसले निराश भएको तथा बोझले दबिएका मानिसलाई प्रोत्साहन र स्फूर्ति प्रदान गर्छ। अरूलाई रिस उठाउनुको सट्टा उसको बोलीले शान्त र सौम्य अवस्थालाई बढाउँछ।
मानव प्रयासहरूलाई बुद्धिले डोऱ्याउँदा
त्यसपछि सुलेमान कुनै काम सुरु गर्नुअघि त्यसको फाइदा र बेफाइदा तौलनुपर्ने कुराबारे छलफल गरिएको चाखलाग्दो हितोपदेश प्रस्तुत गर्छन्। तिनी भन्छन्: “जहाँ गोरुहरू छैन त्यहाँ भकारी खाली रहन्छ, तर बलियो गोरुको बलले प्रशस्त अन्न दिन्छ।”—हितोपदेश १४:४.
यस हितोपदेशको अर्थबारे टिप्पणी गर्दै एउटा सन्दर्भपुस्तक यसो भन्छ: “खाली गोठले खुवाउनुपर्ने एउटै पनि गोरु छैन भनी सङ्केत गर्छ र त्यसैले सफा गर्नुपर्ने र पशुको हेरविचार गर्नुपर्ने झन्झट हुँदैन र खर्च पनि कम हुन्छ। तर पद ४ख मा यो ‘फाइदाको’ बेफाइदाबारे बताइएको छ: गोरु भएन भने प्रशस्त अन्न भित्रिंदैन।” किसानले बुद्धिमानीपूर्वक छान्नुपर्छ।
के यस हितोपदेशको सिद्धान्त हामीले जागिर फेर्ने विचार गर्दा, कुनै खास प्रकारको घर किन्ने छनौट गर्दा, गाडी किन्दा, घरपालुवा जनावर ल्याउँदा र त्यस्तै अरू कुरामा लागू हुँदैन र? बुद्धिमान् व्यक्तिले फाइदा र बेफाइदाबारे विचार गर्नेछ अनि आफूले गर्न लागेको काममा लगाउनुपर्ने प्रयास र पैसाको हिसाबमा साँच्चै योग्यको छ कि छैन भनेर तौलनेछ।
गवाही बुद्धिमान् हुँदा
सुलेमान अझै यसो भन्छन्, “साँचो गवाहीले झूट बोल्दैन, झूटा गवाहीले अनेक झूट बोल्छ।” (हितोपदेश १४:५) झूटा गवाहीको झूटले पक्कै पनि निकै हानि पुऱ्याउन सक्छ। यिज्रेली नाबोतलाई ढुङ्गाले हानेर मारियो किनभने दुई जना नीच मानिसले तिनी विरुद्ध झूटा गवाही दिए। (१ राजा २१:७-१३) अनि के येशूलाई मार्नको लागि उहाँ विरुद्ध झूटा गवाही दिनेहरू देखापरेनन् र? (मत्ती २६:५९-६१) आफ्नो विश्वासको कारण मारिने येशूको पहिलो चेला स्तिफनस विरुद्ध पनि झूटा गवाही दिइयो।—प्रेरित ६:१०, ११.
झूट बोल्ने मानिसको झूट केही समयको लागि त उदाङ्ग नहोला तर त्यसको भविष्यलाई विचार गर्नुहोस्। “धेरै असत्य बोल्ने झूटा गवाही[लाई]” यहोवा घृणा गर्नुहुन्छ। (हितोपदेश ६:१६-१९) त्यस्तो मानिसको भाग ज्यानमारा, व्यभिचारी र मूर्तिपूजकहरू सँगसँगै आगो र गन्धक बलेको कुण्डमा हुनेछ अर्थात् त्यसले दोस्रो मृत्यु भोग्नेछ।—प्रकाश २१:८.
साँचो गवाहीले बयान दिंदा झूट बोल्दैन। उसको बयान झूटले भरिएको हुँदैन। तथापि, यसको अर्थ कुनै न कुनै तरिकामा यहोवाका जनहरूमाथि हानि पुऱ्याउन चाहेकाहरूलाई उसले सबै जानकारी दिनै पर्छ भन्ने पनि होइन। कुलपिता अब्राहाम र इसहाकले यहोवाको उपासना नगर्ने कोही-कोहीलाई सबै तथ्यहरू बताएनन्। (उत्पत्ति १२:१०-१९; २०:१-१८; २६:१-१०) यरीहोकी राहाबले राजाका मानिसहरूलाई अर्कै बाटो देखाइदिई। (यहोशू २:१-७) येशू ख्रीष्ट स्वयंले पनि अनावश्यक हानि पुग्न सक्ने अवस्थामा सबै जानकारी दिनुभएन। (यूहन्ना ७:१-१०) उहाँले यसो भन्नुभयो: “पवित्र चीज कुकुरहरूलाई नदेऊ।” किन? नत्रता “तिनले आफ्ना खुट्टाले तिनलाई कुल्चेर फर्की तिमीलाई हमला गर्लान्।”—मत्ती ७:६.
जब “ज्ञान सजिलैसित आउँछ”
के सबै मानिसले बुद्धि प्राप्त गर्न सक्छन्? हितोपदेश १४:६ यस्तो उल्लेख गर्छ: “अहंकारी मानिसले बुद्धि खोज्छ, तर पाउँदैन, तर समझ-शक्ति भएकोलाई ज्ञान सजिलैसित आउँछ।” निन्दक वा अहङ्कारीले बुद्धि खोज्ला तर त्यसले साँचो बुद्धि पाउन सक्दैन। निन्दकले हठपूर्वक परमेश्वरतर्फका कुराहरूलाई लत्याउने भएकोले त्यसले बुद्धिको लागि आधारभूत आवश्यकता अर्थात् साँचो परमेश्वरको सही ज्ञान प्राप्त गर्न सक्दैन। त्यसको घमन्ड र अहङ्कारले त्यसलाई परमेश्वरबारे सिक्न र ज्ञान प्राप्त गर्नदेखि रोक्छ। (हितोपदेश ११:२) त्यसले बुद्धि खोज्ने कष्ट पनि किन गर्छ र? हितोपदेशले यस प्रश्नको उत्तर दिंदैन तर सायद अरूले त्यसलाई बुद्धिमान् भन्ठानोस् भनेर त्यो निन्दकले त्यसो गर्छ।
समझशक्ति भएको मानिसलाई “ज्ञान सजिलै आउँछ।” समझशक्तिलाई “मानसिक बुझाइ: समझ,” “कुनै पनि विषयलाई समष्टिगत रूपमा बुझ्ने योग्यता” भनी परिभाषित गरिएको छ। समझशक्ति भनेको कुनै विषयको विभिन्न पक्षलाई अलग-अलग होइन तर ती कसरी एकअर्कासित सम्बन्धित छन् भनी पूर्णतामा बुझ्न सक्ने योग्यता हो। यस्तो योग्यता भएको मानिसलाई मात्र ज्ञान सजिलै आउँछ भनेर यो हितोपदेश बताउँछ।
यस सन्दर्भमा धर्मशास्त्रीय सत्यको ज्ञान प्राप्त गर्ने तपाईंको आफ्नै अनुभवबारे विचार गर्नुहोस्। तपाईंले बाइबल अध्ययन गर्न थाल्नुहुँदा सम्भवतः सबैभन्दा पहिले परमेश्वर, उहाँको प्रतिज्ञा र उहाँको पुत्रबारे आधारभूत शिक्षा सिक्नुभयो होला। सुरुमा तपाईंले यी छुट्टाछुट्टै विवरणको रूपमा बुझ्नुभयो। तर अध्ययन गर्दै जानुभएपछि तपाईंले छुट्टाछुट्टै विवरणबीच सम्बन्ध बुझ्न थाल्नुभयो र विभिन्न विवरणहरू मानव तथा पृथ्वीको लागि यहोवाको उद्देश्यसित कसरी सम्बन्धित छ भनेर तपाईंले स्पष्टसित बुझ्न थाल्नुभयो। बाइबलको सत्य तार्किक र आपसमा सम्बन्धित हुन थाल्यो। त्यसपछि नयाँ विवरणहरू सिक्नु र सम्झनु सजिलो भयो किनभने तपाईंले एउटा ठूलो चित्रमा त्यसको ठाउँ बुझ्न सक्नुभयो।
ज्ञान कहाँ पाउन सकिंदैन भनेर बुद्धिमान् राजा सजग गराउँछन्। “मूर्ख मानिसको सङ्गत नगर, किनभने त्यसबाट ज्ञानको एउटै कुरा सुन्न पाइँदैन” तिनी भन्छन्। (हितोपदेश १४:७) मूर्ख मानिससित साँचो ज्ञानको कमी हुन्छ। तिनको मुखबाट ज्ञानको कुरा निस्कँदैन। त्यस्तो व्यक्तिबाट टाढा रहने सल्लाह दिइएको छ र त्यस्तो व्यक्तिबाट टाढा रहनु नै बुद्धिमानी हुनेछ। “मूर्खहरूसित लागे बरालिन्छ।”—हितोपदेश १३:२०.
“चतुर मानिससित ठीक बाटो पहिल्याउने बुद्धि हुन्छ, तर मूर्ख मानिसहरूको मूर्खताले मानिसहरू बहकाउँछ” भनी सुलेमान अझ बताउँछन्। (हितोपदेश १४:८) बुद्धिमान् मानिसले आफ्नो कदमलाई ध्यान दिन्छ। उसले आफूसामु भएका विभिन्न विकल्पहरूबारे विचार गर्छ र प्रत्येकको नतिजा कस्तो हुन सक्छ भनी गौर गर्छ। उसले आफ्नो मार्ग बुद्धिमानीपूर्वक छान्छ। मूर्ख व्यक्तिले नि? त्यसले मूर्ख बाटो छान्छ र आफूले जे गरिरहेको छ त्यो आफूलाई थाह छ र यही नै सबैभन्दा उत्तम छनौट हो भन्ठान्छ। त्यसको मूर्खताले त्यसलाई बहकाउँछ।
सम्बन्धहरूलाई बुद्धिले डोऱ्याउँदा
बुद्धिले डोऱ्याएको व्यक्तिको अरूसँग सुमधुर सम्बन्ध हुन्छ। “मूर्ख आफ्नो भुल सुधार्न अति अभिमानी हुन्छ, मिलाप गर्नु के हो सो इमान्दार मानिसहरूले जान्दछन्” भनी इस्राएलका राजाले टिप्पणी गर्छन्। (हितोपदेश १४:९) मूर्खको लागि दोषी वा पश्चात्तापको भावना हाँसोको विषय हो। त्यसको घर र अरू ठाउँमा पनि सम्बन्ध राम्रो हुँदैन किनभने त्यो ‘मिलाप गर्न अति अभिमानी हुन्छ।’ इमानदार व्यक्ति अरूका गल्तीहरू सहन तयार हुन्छ। ऊ आफूले गल्ती गर्दा माफी माग्न र मिलाप गर्न तयार हुन्छ। उसले शान्ति खोज्ने भएकोले अरूसित उसको आनन्दमय र स्थायी सम्बन्ध हुन्छ।—हिब्रू १२:१४.
त्यसपछि मानव सम्बन्धलाई सीमित तुल्याउने एउटा पक्षतर्फ सुलेमान ध्यान खिच्छन्। तिनी भन्छन्: “मनको दुःख मनलेनै जान्दछ, औ त्यसको आनन्दमा अरूको भाग हुँदैन।” (हितोपदेश १४:१०) के हामी आफ्ना भित्री भावनाहरू, चाहे ती आनन्दका होऊन् वा दुःखका, सधैं अरूलाई बताएर आफूले वास्तवमा कस्तो महसुस गरिरहेको छु भनेर बताउन सक्छौं र? अनि अर्को व्यक्तिले कस्तो अनुभव गरिरहेको छ भनेर के सधैं भन्न सकिन्छ र? यी दुवै प्रश्नको जवाफ हो—सकिंदैन।
उदाहरणका लागि आत्महत्या गर्ने भावनालाई लिनुहोस्। यस्ता भावनाहरू हुने व्यक्तिले अक्सर यस्ता भावनाहरू आफ्नो परिवारका सदस्य वा साथीलाई खुलेर बताउन सक्दैनन्। अनि अरूले पनि आफ्नो सँगीमा यस्ता चिह्नहरू सजिलै चिन्न सक्दैनन्। ती चिह्नहरू ठम्याउन नसकेर तिनीहरूलाई मदत गर्न असमर्थ हुँदा हामीले आफूलाई दोषी ठहऱ्याउनु पर्दैन। भावनात्मक समर्थनको लागि समानुभूतिशील साथीलाई गुहार्न सक्नु सान्त्वनादायी भए तापनि मानिसहरूले प्रदान गर्न सक्ने सान्त्वनामा तिनीहरू सीमित छन् भनेर यस हितोपदेशले सिकाउँछ। केही कठिनाइहरू सामना गर्नुपर्दा हामीले यहोवामा नै पूर्णतया भर पर्नुपर्ने हुन सक्छ।
“त्यसको घरमा धन-सम्पत्ति . . . धार्मिकता . . .रहिरहन्छ”
“दुष्टको घर भत्काइनेछ, तर सोझो मानिसको घरको फलिफाप हुनेछ” भनी इस्राएलका राजा उल्लेख गर्छन्। (हितोपदेश १४:११) यस दुष्ट रीतिरिवाजमा दुष्ट व्यक्तिको फलिफाप हुन सक्छ र त्यो भव्य घरमा बस्न सक्छ तर त्यो आफै रहेन भने के फाइदा हुनेछ र? (भजन ३७:१०) अर्कोतर्फ, सोझो व्यक्तिको घर एकदमै साधारण हुन सक्छ। तर उसको “घरमा धन-सम्पत्ति . . . धार्मिकता . . . रहिरहन्छ” भनी भजन ११२:३ बताउँछ। यी के-के हुन्?
हाम्रो वचन र कार्य बुद्धिले डोऱ्याइँदा बुद्धि सँगसँगै हामीसित “धन-सम्पत्ति र आदर” हुन्छ। (हितोपदेश ८:१८) यसमा परमेश्वर र हाम्रा सँगी मानवहरूसँगको शान्तिमय सम्बन्ध, सुस्वास्थ्य र आनन्दको अनूभुति र केही हदसम्म स्थायित्व समावेश छ। हो, “सोझो मानिसको घरको फलिफाप” अहिले पनि हुन सक्छ।
[पृष्ठ २७-मा भएको चित्र]
बुद्धिमान् स्त्रीले आफ्नो घरको निर्माण गर्छिन्
[पृष्ठ २८-मा भएको चित्र]
“बुद्धिमानको बोलीले मानिसलाई निको पार्छ”