हितोपदेश
१४ बुद्धिमती स्त्रीले आफ्नो घर सम्हाल्छिन्+
तर मूर्ख स्त्रीले आफ्नै हातले त्यो बिगार्छे।
२ सोझो बाटोमा हिँड्ने मानिसले यहोवाको डर मान्छ
तर टेढो बाटोमा हिँड्ने मानिसले उहाँलाई घृणा गर्छ।
३ मूर्खको अहङ्कारी बोली सजाय दिने छडीजस्तै हुन्छ
तर बुद्धिमान्को बोलीले मानिसहरूलाई जोगाउँछ।
४ गाईवस्तु छैनन् भने डुँड सफा हुन्छ
तर गोरुहरूको बलले प्रशस्त उब्जनी हुन्छ।
५ साँचो साक्षीले झूट बोल्दैन
तर झूटो साक्षीले कुरैपिच्छे* झूट बोल्छ।+
६ अहङ्कारी* मानिसले बुद्धि खोज्छ तैपनि भेट्टाउँदैन
तर समझदार मानिसले सजिलै ज्ञान प्राप्त गर्छ।+
७ मूर्ख मानिसबाट टाढै बस
किनकि उसको बोलीमा ज्ञानको कुरा पाइँदैन।+
८ चतुर मानिससित ठीक बाटोमा हिँड्ने बुद्धि हुन्छ
तर मूर्ख मानिसलाई उसकै मूर्खताले झुक्क्याउँछ।*+
९ मूर्ख मानिसले आफ्नो गल्ती स्विकार्नुको* सट्टा त्यसलाई हाँसोमा उडाउँछ+
तर सोझो मानिस मिलाप गर्न अग्रसर हुन्छ।
१० आफ्नो मनको पीडा आफैलाई मात्र थाह हुन्छ
अनि मनको आनन्द पनि अरू कसैले बुझ्दैन।
११ दुष्ट मानिसको घर नष्ट हुन्छ+
तर सोझो मानिसको घरको फलिफाप हुन्छ।
१२ कुनै बाटो मानिसलाई सही नै लाग्ला+
तर त्यसले अन्तमा मृत्युमा पुऱ्याउँछ।+
१३ मुखमा हाँसो भए पनि हृदयमा पीडा हुन सक्छ
अनि खुसीयाली पनि दुःखमा परिणत हुन सक्छ।
१४ परमेश्वरबाट टाढिएको मानिसले आफ्नो कामको नतिजा भोग्छ+
तर असल मानिसले आफ्नो कामको इनाम पाउँछ।+
१५ सुधो* मानिसले सुनेको सबै कुरा पत्याउँछ
तर चतुर मानिसले सोचविचार गरेर कदम चाल्छ।+
१६ बुद्धिमान् मानिस होसियार हुन्छ र खराबीदेखि परै बस्छ
तर मूर्ख मानिसले सोचविचार नगरी कदम चाल्छ* र आफूमा बढ्तै भरोसा राख्छ।
१७ झट्टै रिसाउने मानिसले मूर्ख काम गर्छ+
तर सोच्ने क्षमता चलाउने मानिस घृणाको पात्र हुन्छ।
१८ सुधो* मानिसले मूर्खता मात्र देखाउँछ
तर चतुर मानिसले ज्ञानको मुकुट* पाउँछ।+
१९ खराब मानिसले असल मानिससामु शिर झुकाउनुपर्नेछ
अनि दुष्ट मानिसले धर्मी मानिसको ढोकासामु शिर निहुराउनेछ।
२० गरिब मानिसलाई उसको छिमेकीले पनि हेप्छ+
तर धनी मानिसका थुप्रै साथी हुन्छन्।+
२१ आफ्नो छिमेकीलाई घृणा गर्ने मानिसले पाप गर्छ
तर जसले दीनदुःखीलाई दया गर्छ, ऊ सुखी हुन्छ।+
२२ जसले षड्यन्त्र रच्छ, के उसको पतन हुँदैन र?
तर जसले अरूको भलाइ गर्छ, उसले माया* पाउँछ र भरोसा जित्छ।+
२३ मेहनतको फल मीठो हुन्छ
तर कुरा मात्र गर्ने मानिस कङ्गाल हुन्छ।+
२४ बुद्धिमान् मानिसको मुकुट उसको सम्पत्ति हो
तर मूर्ख मानिसले मूर्ख कामबाहेक केही गर्दैन।+
२५ साँचो साक्षीले जीवन बचाउँछ
तर छली मानिसले कुरैपिच्छे* झूट बोल्छ।
२६ यहोवाको डर राख्ने मानिसले उहाँमाथि भरोसा राख्छ+
अनि त्यस्तो मानिसका छोराछोरीको लागि पनि यो शरण हुनेछ।+
२७ यहोवाको डर जीवनको मूल हो;
यसले मानिसलाई मृत्युको पासोबाट बचाउँछ।
२८ प्रजा धेरै हुनु राजाको गौरव हो+
तर प्रजा छैन भने राजा हुनुको कुनै अर्थ हुँदैन।
२९ समझदार मानिस हतपती रिसाउँदैन+
तर मूर्खले आफ्नो रिस देखाइहाल्छ।+
३० शान्त हृदयले शरीर स्वस्थ बनाउँछ
तर डाहले हड्डी गलाउँछ।+
३१ दीनदुःखीलाई थिचोमिचो गर्ने मानिसले सृष्टिकर्ताको अपमान गर्छ+
तर गरिबलाई दया गर्नेले उहाँको महिमा गर्छ।+
३२ दुष्ट मानिसको आफ्नै खराब कामले गर्दा उसको पतन हुन्छ
तर धर्मी मानिसको निर्दोष चालले* गर्दा उसले शरण पाउँछ।+
३३ समझदार मानिसको हृदय बुद्धिले भरिएको हुन्छ तैपनि ऊ चुपचाप रहन्छ+
तर मूर्ख मानिस आफूसित बुद्धि नभए पनि बुद्धिमान् भई टोपल्छ।
३४ धार्मिकताले देशको गौरव बढाउँछ+
तर पापले मानिसहरूको बदनाम गर्छ।
३५ समझदार* सेवकसित राजा खुसी हुन्छन्+
तर लाजमर्दो काम गर्ने सेवकसित राजा क्रोधित हुन्छन्।+