“बुद्धि दिने परमप्रभुनै हुनुहुन्छ”
तपाईंको समय र शक्ति कुन कुरामा खर्च हुन्छ? के तपाईंलाई नाउँ कमाउने धोको छ? धनसम्पत्ति थुपार्नमा कत्तिको भागदौड गर्नुहुन्छ? कुनै विशेष क्षेत्र छानेर त्यस्तै पेसा अंगाल्ने वा एक वा धेरै अध्ययन क्षेत्रहरूमा निपुणता हासिल गर्ने विचार छ कि? वा अरूसँग राम्रो सम्बन्ध गाँस्नु पो तपाईंलाई सबैभन्दा महत्त्वपूर्ण लाग्छ कि? अथवा स्वस्थ रहनु तपाईंको मुख्य चासोको विषय हो?
यी सबै कुराहरूको केही न केही महत्त्व छ। तर सबैभन्दा महत्त्वपूर्ण कुराचाहिं के हो? बाइबल जवाफ दिन्छ: “बुद्धि अति श्रेष्ठ हो, त्यसैले बुद्धि प्राप्त गर्।” (हितोपदेश ४:७, नयाँ संशोधित संस्करण) त्यसोभए, हामी कसरी बुद्धि प्राप्त गर्नसक्छौं अनि यसका फाइदाहरू के के हुन्? बाइबल पुस्तक हितोपदेशको दोस्रो अध्यायले यसको जवाफ दिन्छ।
“बुद्धिका कुराहरू सुन्ने”
प्राचीन इस्राएलका बुद्धिमान् राजा सुलेमानले मायालु बुबाले जस्तै यसो भने: “हे मेरो छोरो, यदि तैंले मेरा वचनहरू ग्रहण गरिस् र मेरा आज्ञाहरू तेरो मनभित्र राखिस् भने, बुद्धिका कुराहरू सुन्ने गरिस् र तेरो हृदयलाई समझशक्तितिर लगाइस् भने, अन्तर्दृष्टिको लागि पुकार गरिस् र समझशक्ति पाउनलाई चर्को सोर पुकारिस् भने, यदि तैंले चाँदीझैं त्यसलाई खोजिस् र गाड़धनझैं त्यो खनिस् भने, तैंले परमप्रभुको भय बुझ्नेछस् र परमेश्वरको ज्ञान प्राप्त गर्नेछस्।”—हितोपदेश २:१-५, नयाँ संशोधित संस्करण।
बुद्धि प्राप्त गर्न के गर्नुपर्ने रहेछ, तपाईंले थाह पाउनुभयो? उक्त पदहरूमा “यदि तैंले” भन्ने अभिव्यक्ति दुइपल्ट प्रयोग गरिएको छ। स्पष्टतः बुद्धि अनि यसका सहयोगीहरू अर्थात् समझशक्ति र अन्तरदृष्टि खोज्नु हामीमै निर्भर रहेछ। तथापि, पहिला हामीले धर्मशास्त्रका बुद्धिका कुराहरू “ग्रहण” गरेर ‘मनभित्र राख्नुपर्छ।’ यसो गर्न बाइबल अध्ययन गर्नु आवश्यक छ।
बुद्धि भनेको ईश्वरप्रदत्त ज्ञानको सदुपयोग गर्नु हो। अनि बाइबलले एकदमै अद्भुत बुद्धि प्रदान गर्छ! हो, हितोपदेश र उपदेशकको पुस्तकमा लिपिबद्ध गरिएका जस्ता बुद्धिका कुराहरू बाइबलमा छन्। त्यसलाई हामीले ध्यान दिनुपर्छ। हामी बाइबलका पृष्ठहरूमा थुप्रै उदाहरणहरू पनि पाउँछौं जसले ईश्वरीय सिद्धान्तहरू व्यवहारमा उतार्दा के फाइदा हुन्छ अनि बेवास्ता गर्दा के हानि हुन्छ भनेर देखाउँछ। (रोमी १५:४; १ कोरिन्थी १०:११) उदाहरणका लागि, लोभी गेहजी अर्थात् एलीशाको चाकरबारे दिइएको विवरणलाई विचार गर्नुहोस्। (२ राजा ५:२०-२७) के यस विवरणले लोभ गर्नुहुँदैन भन्ने बुद्धिमानी कुरा सिकाउँदैन र? अनि याकूबकी छोरी दीनाले कनानी “स्त्रीहरूसँग” गरेको खतरामुक्त जस्तो देखिने भेटघाटको दुःखद् परिणाम नि? (उत्पत्ति ३४:१-३१) के यो विवरणबाट खराब संगत गर्नु कत्ति मूर्खता रहेछ भनेर देख्दैनौं र?—हितोपदेश १३:२०; १ कोरिन्थी १५:३३.
बुद्धिका कुराहरू सुन्यौं भने समझशक्ति र अन्तरदृष्टि प्राप्त गर्छौं। वेब्सटर्स रिभाइज्ड अनअब्रिज्ड डिक्शनरी-अनुसार समझशक्ति भनेको “वस्तु तथा विचारहरूबीचको भिन्नता बुझ्नसक्ने मानसिक शक्ति” हो। ईश्वरीय समझशक्ति भनेको सही र गलत छुट्ट्याएर सही मार्गमा चल्ने योग्यता हो। समझशक्तितिर ‘हाम्रो हृदय लगाएनौं’ वा त्यसलाई प्राप्त गर्न उत्सुक भएनौं भने, हामी ‘जीवनमा पुऱ्याउने बाटोमा’ कसरी हिंड्नसक्छौं र? (मत्ती ७:१४; तुलना गर्नुहोस् व्यवस्था ३०:१९, २०) परमेश्वरको वचन अध्ययन गर्नुका साथै व्यवहारमा उतार्नाले समझशक्ति पाइन्छ।
हामी “अन्तर्दृष्टिको लागि” अर्थात् एउटा विषयका विभिन्न पक्षहरू एकअर्कोसित अनि समष्टिगत रूपमा कसरी सम्बन्धित छन् भनेर बुझ्ने योग्यताको लागि कसरी ‘पुकारा गर्नसक्छौं’? निस्सन्देह, अनुभव र उमेरले समझशक्ति बढाउन मदत गर्नसक्छ तर बढाउँछ नै भन्नेचाहिं छैन। (अय्यूब १२:१२; ३२:६-१२) भजनरचयिताले यसो भने: “बूढ़ापाकाहरूले भन्दा म ज्यादै बुझ्दछु, किनभने मैले तपाईंका [यहोवाका] आदेशहरू पालन गरेको छु।” तिनले गाउँदै यसो पनि भने: “तपाईंको वचनको अर्थले ज्योति चम्काउँछ, त्यसले निर्बोध मानिसहरूलाई समझ दिन्छ।” (भजनसंग्रह ११९:१००, १३०) यहोवा “अति प्राचीन” हुनुहुन्छ अनि मानिसहरूको भन्दा उहाँको समझशक्ति सर्वोत्कृष्ट छ। (दानियल ७:१३) परमेश्वरले समझशक्ति दिएर अनुभवहीन व्यक्तिलाई वृद्धहरूभन्दा समझदार बनाउन सक्नुहुन्छ। त्यसकारण, परमेश्वरको वचन बाइबल अध्ययन गर्न र व्यवहारमा उतार्न हामीले कडा परिश्रम गर्नुपर्छ।
हितोपदेश दोस्रो अध्यायको सुरुका पदहरूमा “यदि तैंले” भन्ने वाक्यांश दोहऱ्याएपछि “ग्रहण गरिस्,” “मनभित्र राखिस्,” “पुकार गरिस्,” “चर्को सोरले पुकारिस्,” “खोजिस्” जस्ता अभिव्यक्तिहरू प्रयोग गरिएका छन्। लेखकले यस्ता गहकिला अभिव्यक्तिहरू किन प्रयोग गरे? एउटा पुस्तक यसो भन्छ: “ज्ञानीले यस पदमा बुद्धि खोज्न उत्सुक हुनुपर्छ भनेर जोड दिंदैछ।” हो, हामीले उत्सुकतासाथ बुद्धि र यससित सम्बन्धित गुणहरू अर्थात् समझशक्ति र अन्तरदृष्टि खोज्नैपर्छ।
के तपाईं प्रयास गर्नुहुनेछ?
बुद्धि प्राप्त गर्न मुख्यतः लगनशील भई बाइबल अध्ययन गर्नुपर्छ। तथापि, जानकारी हासिल गर्ने हेतुले मात्र बाइबल अध्ययन गरेर पुग्दैन। धर्मशास्त्र अध्ययन गर्दा आफूले पढेका कुरालाई उद्देश्यसहित मनन गर्नु अत्यावश्यक छ। बुद्धि र समझशक्ति प्राप्त गर्नुमा आफूले सिकेका कुरा समस्याहरू समाधान गर्दा अनि निर्णयहरू गर्दा कसरी सदुपयोग गर्न सकिन्छ भनेर विचार गर्नु पनि समावेश छ। अन्तरदृष्टि प्राप्त गर्नको लागि चाहिं हामीले पहिल्यै बुझिसकेका कुरासित नयाँ कुरा कसरी सम्बन्धित छ भनेर विचार गर्नुपर्छ। यसरी बाइबलको गहन अध्ययन गर्न समय र प्रयास चाहिन्छ भनेर कसले नकार्न सक्छ र? अध्ययनको लागि यसरी समय र शक्ति खर्च गर्नु भनेको ‘चाँदी खोज्न र गाड़धन खन्न’ समय खर्च गरेजस्तै हो। के तपाईं आवश्यक प्रयास गर्नुहुनेछ? के तपाईं यसो गर्ने ‘समय निकाल्नुहुनेछ’?—एफिसी ५:१५, १६, NW.
इमानदार हृदयले बाइबलका कुराहरू खोतल्यौं भने कत्ति धेरै धन पाउनेछौं, विचार गर्नुहोस्। हामीले “परमेश्वरको ज्ञान” अर्थात् हाम्रा सृष्टिकर्ताको असल, पक्का अनि जीवनदायी ज्ञान पाउनेछौं! (यूहन्ना १७:३) “परमप्रभुको भय” पनि हामीले प्राप्त गर्नुपर्ने धन हो। उहाँप्रतिको श्रदेय भय अति मूल्यवान् छ! उहाँलाई रुष्ट नपार्ने स्वास्थ्यकर भयले हाम्रो जीवनको हरेक पक्षलाई डोऱ्याउनुका साथै हाम्रो हर कामकुरामा आध्यात्मिकता झल्काएको हुनुपर्छ।—उपदेशक १२:१३.
हामीसँग आध्यात्मिक धन खोज्ने र खोतल्ने उत्कट चाहना हुनुपर्छ। यो धन खोज्न सजिलो होस् भन्नाखातिर यहोवाले खन्ने उत्तम साधनहरू उपलब्ध गराइदिनुभएको छ। ती हुन्, सत्यका समयसापेक्ष पत्रिकाहरू प्रहरीधरहरा र ब्यूँझनुहोस्! अनि अन्य बाइबल आधारित साहित्यहरू। (मत्ती २४:४५-४७) उहाँको वचन र तौरतरिकाबारे शिक्षा दिन यहोवाले मसीही सभाहरूको पनि प्रबन्ध गर्नुभएको छ। हामी यी सभाहरूमा नियमित तवरमा उपस्थित हुनुपर्छ, त्यहाँ भनिएका कुरा ध्यान दिएर सुन्नुपर्छ, मुख्य मुख्य कुरामा ध्यान केन्द्रित गर्ने अनि स्मरण गर्ने प्रयत्न गर्नुपर्छ अनि यहोवासँगको हाम्रो सम्बन्धलाई गम्भीरतासाथ विचार गर्नुपर्छ।—हिब्रू १०:२४, २५.
तपाईं सफल हुनुहुनेछ
जमिनमुनि रहेको रत्न, सुन वा चाँदी खोज्न गरिएको परिश्रम अक्सर व्यर्थ हुनपुग्छ। तर आध्यात्मिक धन खोज्न गरिएको परिश्रम व्यर्थ हुँदैन। किन? सुलेमान हामीलाई आश्वासन दिन्छन्: “बुद्धि दिने परमप्रभुनै हुनुहुन्छ, र ज्ञान र समझ-शक्ति उहाँबाटनै आउँछन्।”—हितोपदेश २:६.
राजा सुलेमान बुद्धिका लागि प्रख्यात थिए। (१ राजा ४:३०-३२) बोटबिरुवा, जनावर, मानव स्वभाव र परमेश्वरको वचनलगायत अन्य विविध विषयहरूबारे तिनीसँग ज्ञान थियो भनी धर्मशास्त्र बताउँछ। एउटै बच्चालाई आफ्नो हो भनी दाबी गर्ने दुई आइमाईहरूको विवाद समाधान गर्न जवान छँदा तिनले देखाएको समझशक्तिले गर्दा तिनले अन्तरराष्ट्रिय ख्याति पाए। (१ राजा ३:१६-२८) तिनको विद्याको स्रोत के थियो? सुलेमानले प्रार्थनाद्वारा यहोवालाई “बुद्धि र ज्ञान” अनि “असल खराबको भेद छुट्ट्याउन” सक्ने क्षमता मागे। यहोवाले तिनको प्रार्थनाको जवाफ दिनुभयो।—२ इतिहास १:१०-१२; १ राजा ३:९.
लगनशील भई यहोवाको वचन अध्ययन गर्दा हामीले पनि प्रार्थनाद्वारा उहाँको मदत माग्नुपर्छ। भजनरचयिताले यस्तो प्रार्थना गरे: “हे परमप्रभु, मलाई तपाईंको मार्ग सिकाउनुहोस्, म तपाईंको सत्यतामा हिंड्नेछु। तपाईंको नाउँको डर राख्न मेरो मन एक चित्तको पार्नुहोस्।” (भजनसंग्रह ८६:११) यहोवाले तिनको प्रार्थना सुन्नुभयो। त्यसैकारण त उहाँले उक्त प्रार्थना बाइबलमा लिपिबद्ध गर्न लगाउनुभयो। बाइबलमा आध्यात्मिक धन खोज्ने मदतको लागि उहाँलाई गरेको निष्कपट तथा खुरन्धार प्रार्थनाको जवाफ अवश्य पाउनेछौं भनेर हामी विश्वस्त हुनसक्छौं।—लूका १८:१-८.
सुलेमान यसो भन्छन्: “आफ्नो भण्डारबाट उहाँले सोझालाई योग्यता प्रदान गर्नुहुन्छ। निर्दोष जीवन व्यतीत गर्नेहरूको निम्ति उहाँ ढाल हुनुहुन्छ। किनभने उहाँले न्यायको मार्गको रक्षा गर्नुहुन्छ, र आफ्ना भक्त सेवकहरूको बाटोको हेरचाह गर्नुहुन्छ। तब जे ठीक र न्यायसंगत छ सो तैंले बुझ्नेछस्, र असल मानिसको बाटोमा मात्र तँ हिंड़नेछस्।” (हितोपदेश २:७-९) कस्तो आश्वासनदायी कुरा! निष्कपटतासाथ खोज्नेहरूलाई बुद्धि दिनुका साथै यहोवाले सोझाहरूको सुरक्षा पनि गर्नुहुन्छ किनकि तिनीहरूले साँचो बुद्धि प्रदर्शित गर्छन् अनि इमानदारीसाथ उहाँका स्तरहरू पालन गर्छन्। हामी पनि “असल” कुरा बुझ्न यहोवाले मदत गर्नुहुनेहरूमध्येका होऔं।
जब ‘ज्ञान हृदयको आनन्द हुनेछ’
बुद्धि खोज्न व्यक्तिगत बाइबल अध्ययन गर्नु अत्यावश्यक छ। तर थुप्रैलाई बाइबल अध्ययन गर्न रमाइलो लाग्दैन। उदाहरणका लागि, ५८ वर्षीय लरेन्स भन्छन्: “सधैं लेखपढभन्दा पनि पाखुरा सुर्काएर काम गर्नुपर्ने हुँदा अध्ययन गर्नु गाह्रो लाग्छ।” स्कूल जान नरमाइलो मान्ने २४ वर्षीय माइकल यसो भन्छन्: “अध्ययन गर्न जबरजस्ती बस्थें।” तथापि, अध्ययन गर्ने इच्छा खेती गर्न सकिन्छ।
माइकलले के गरे, विचार गर्नुहोस्। तिनी भन्छन्: “हरेक दिन आधा घण्टा अध्ययन गर्न आफूलाई अनुशासनमा राखें। केही समयभित्रै आफ्नो मनोवृत्ति, मसीही सभाहरूमा गर्ने टिप्पणीहरू अनि अरूसँगको कुराकानीमा अध्ययनको प्रभाव अनुभव गर्नथालें। अहिले त अध्ययन गर्ने समय कहिले आउँछ जस्तो लाग्छ अनि कुनै कुराले पनि अध्ययनमा बाधा पुऱ्याएको मन पर्दैन।” हो, आफ्नो उन्नति देखेपछि हामी व्यक्तिगत अध्ययनबाट आनन्द उठाउन थाल्छौं। लरेन्सले पनि बाइबल अध्ययन गरे अनि पछि यहोवाका साक्षीहरूको मण्डलीमा प्राचीनको हैसियतमा सेवा गर्नसके।
व्यक्तिगत अध्ययनलाई आनन्ददायी बनाउन प्रयास गरिरहनुपर्छ। तथापि, यसो गर्नाले ठूलो फाइदा हुन्छ। “बुद्धि तेरो मनभित्र गाड़िनेछ, र ज्ञान तेरो हृदयको आनन्द हुनेछ। विवेकले तँमाथि हेरचाहा गर्नेछ, समझ-शक्तिले तेरो रक्षा गर्नेछ।”—हितोपदेश २:१०, ११.
‘खराब चालबाट जोगाउनेछ’
बुद्धि, ज्ञान, सोच्ने क्षमता र समझशक्तिले कसरी रक्षा गर्छ? सुलेमानले यसो भने: “त्यसले तँलाई खराब चालबाट र छली कुरा गर्ने मानिसहरूबाट जोगाउनेछ। अन्धकारको बाटोमा हिंड्न जसले इमान्दारी चाललाई त्याग्दछन्, जो खराब काम गर्नमा प्रसन्न हुन्छन्, र दुष्ट र छली कामहरूमा हर्षित हुन्छन्, जसका आफ्नै चालहरू टेढ़ा र जसका मार्गहरू अनिश्चित छन्।”—हितोपदेश २:१२-१५.
हो, बुद्धिको कदर गर्नेहरूले “छली कुरा गर्ने मानिसहरू” अर्थात् सत्य र सही कुरा नगर्नेहरूसित संगत गर्दैनन्। सोच्ने योग्यता तथा समझशक्तिले अन्धकारको बाटोमा हिंड्न सत्य त्याग्ने अनि खराब कामकुरामा रमाउने कपटीहरूदेखि जोगाउँछ।—हितोपदेश ३:३२.
बुद्धि र यसका सहयोगी गुणहरूले हामीलाई अनैतिक पुरुष तथा स्त्रीहरूको खराब चालबाट पनि जोगाउँदो रहेछ भन्ने जानेर हामी कति कृतज्ञ हुनसक्छौं! सुलेमानले यी गुणहरूबारे यसो भने, “तँलाई [“अपरिचित,” NW] स्त्रीबाट लोभ्याउने कुराहरू भएकी [ “परदेशीबाट,” NW] जोगाउनेछ। त्यसले आफ्नो [ “जवानीको घनिष्ठ साथीलाई,” NW] त्यागेकी छ, र आफ्ना परमेश्वरको करारलाई भुलेकी छ। त्यसको मार्ग मुत्युतिर ओह्रालो लागेको हुन्छ, र त्यसको बाटोले मृत्युको देशतिर ताकेको हुन्छ। त्यस स्त्रीतिर जानेहरू कोही पनि फर्केर आउनसक्तैन, अथवा जीवनको मार्ग त्यसले फेरि पहिल्याउनसक्तैन।”—हितोपदेश २:१६-१९.
“अपरिचित स्त्री” अर्थात् वेश्यालाई “आफ्नो जवानीको घनिष्ठ साथी,” हुनसक्छ पतिलाई त्याग्ने भनेर चित्रित गरिएको छ।a (मलाकी २:१४ तुलना गर्नुहोस्।) त्यसले व्यवस्थाको करारमा व्यभिचार निषेध गरिएको छ भनेर भुलेकी छे। (प्रस्थान २०:१४) त्यसको मार्गले मृत्युमा पुऱ्याउँछ। त्यसको पछि लाग्नेहरूले सायद ‘जीवनको मार्ग फेरि कहिल्यै पहिल्याउनसक्दैनन्’ किनकि ढिलो होस् वा चाँडो, तिनीहरू फर्कनै नसक्ने अवस्था अर्थात् मृत्युमा पुग्न सक्छन्। समझशक्ति र सोच्ने योग्यता भएको व्यक्ति अनैतिकताको प्रलोभनदेखि सचेत रहन्छन् अनि बुद्धिमानीसाथ त्यसबाट टाढा रहन्छन्।
“सोझाहरू पृथ्वीमा बास गर्नेछन्”
बुद्धिबारे सल्लाह दिनुको उद्देश्यको निचोडमा सुलेमान यसो भन्छन्: “यसैकारण तैंले भला मानिसहरूको अनुसरण गर्, र धर्मी मानिसको चालमा लागिबस्।” (हितोपदेश २:२०) बुद्धिले कस्तो अद्भुत उद्देश्य निर्वाह गर्दो रहेछ! यसले हामीलाई परमेश्वरको अनुमोदन प्राप्त हुने खुसी अनि सन्तुष्टिले भरिएको जीवनयापन गर्न मदत गर्छ।
“भला मानिसहरूको अनुसरण ग[र्नेहरूका]” लागि कति महान् आशिष्हरू साँचेर राखिएका छन्, त्यो पनि विचार गर्नुहोस्। सुलेमान अझ यसो भन्छन्: “सोझाहरू पृथ्वीमा बास गर्नेछन्। र निर्दोष मानिसहरू त्यहाँ रहनेछन्। तर दुष्टहरू त्यहाँबाट जरैसमेत उखेलिनेछन्, र विश्वासघातीहरू झारझैं फ्याँकिनेछन्।” (हितोपदेश २:२१, २२) तपाईं पनि परमेश्वरको नयाँ धार्मिक संसारमा सदासर्वदा बास गर्ने निर्दोषहरूमध्येका होऊन्।—२ पत्रुस ३:१३.
[फुटनोट]
a “अपरिचित” शब्दले व्यवस्थाको करारअनुसार नचलेर यहोवादेखि तर्किनेहरूलाई बुझाउँछ। तसर्थ, विदेशीलाई होइन कि वेश्यालाई “अपरिचित स्त्री” भनिएको छ।
[पृष्ठ २६-मा भएको चित्र]
सुलेमानले बुद्धिको लागि प्रार्थना गरे। हामीले पनि गर्नुपर्छ