नागरिक हुनुहोस् वा विदेशी, परमेश्वरले तपाईंलाई स्वागत गर्नु हुन्छ
“पृथ्वीको सतहमाथि बास गर्नालाई उहाँले एउटै मानिसबाट हरेक जातिलाई बनाउनुभयो।”—प्रेरित १७:२६.
१. आज धेरै ठाउँहरूमा विदेशी संस्कृतिबाट आएका मानिसहरूलाई स्वीकार गर्ने सम्बन्धमा के समस्या छ?
अखबारको समाचार अनुसार धेरै देशहरूमा विदेशीहरू, स्थायी-प्रवासीहरू, र शरणार्थीहरूबारे चिन्ता बढ्न थालेकोछ। एसिया, अफ्रिका, युरोप, र अमेरिकाबाट [उत्तर, मध्य र दक्षिण अमेरिकाका राष्ट्रहरू साथै वेस्ट इन्डीसबाट] लाखौं मानिसहरू बसाइँ सर्न बेहाल छन्। सम्भवतः यिनीहरू गरिबीको चाप, गृह-युद्ध, वा सतावटबाट छुटकारा खोज्दछन्। तर के तिनीहरूलाई अरू ठाउँहरूमा स्वागत गरिन्छ? टाइम भन्ने पत्रिकामा यस प्रकार लेखिएको थियो: “युरोपमा विभिन्न जातिहरूबाट आएका मानिसहरू बसो-बास गर्न थाले देखिन् त्यहाँका केही देशहरूले महसुस गर्न शुरु गर्दै छन् कि विदेशी संस्कृतिहरू प्रति उनीहरूले आफूलाई जतिको मित्रैलो ठानेका थिए, त्यतिको मित्रैलो उनीहरू वास्तवमा रहेनछन्।” उनीहरूले नचाहँदा-चाहँदै पनि त्यहाँ आएका १८,०००,००० शरणार्थीहरूबारे टाइमले भन्यो: “स्थायी राष्ट्रहरूका निम्ति ती [शरणार्थीहरू] एउटा चुनौति हुन् र यो चुनौती हटेर जाने छैन।”
२, ३. (क) स्वीकार गर्ने सम्बन्धमा बाइबलले के स्फूर्तिदायक आश्वासन दिन्छ? (ख) मानिसहरूसँग परमेश्वरले गर्नु भएको व्यवहारबारे धर्मशास्त्रमा भनिएका कुराहरूलाई अध्ययन गर्नाले हामी किन लाभान्वित हुन सक्तछौं?
२ यस सम्बन्धमा जे हुन गएता पनि, बाइबलले देखाउँछ कि हरेक राष्ट्रका मानिसहरूलाई परमेश्वर स्वागत गर्नुहुन्छ—चाहे त्यो मानिस जन्म-जात नागरीक होस्, स्थायी-प्रवासी होस्, वा शरणार्थी होस्। (प्रेरित १०:३४, ३५) ‘तर,’ कसैले सोध्न सक्छ, ‘त्यो तपाईं कसरी भन्न सक्नुहुन्छ? के परमेश्वरले सबै जातिहरूलाई छाडनु भएर पुरातन इस्राएललाई मात्र आफ्ना जन हुन छान्नु भएन र?’
३ त्यसैकारण अब हामी हेरौं परमेश्वरले पुरातनका मानिसहरूसँग कसरी व्यवहार गर्नु हुन्थ्यो। साथै, हामी त्यस्ता केही भविष्यवाणीहरूलाई पनि जाँच गरौं जो साँचो उपासकहरूका निम्ति आज उपलब्ध सुअवसरहरूसँग सम्बन्धित छन्। ती भविष्यवाणीहरू सम्बन्धी सामग्रीलाई पुनरावलोकन गर्नु भयो भने तपाईंले कुरा अझ सम्पूर्ण ढङ्गमा बुझ्नु हुनेछ र यो तपाईंका लागि अति नै प्रोत्साहनयुक्त हुन सक्छ। साथै महा-सङ्कष्ट पश्चात, परमेश्वरले कसरी “हरेक जाति, कुल र मानिस र भाषाहरूबाटका” मानिसहरूसँग व्यवहार गर्नु हुनेछ भन्ने कुराको पनि हामीले सङ्केत पाउनेछौं।—प्रकाश ७:९, १४-१७.
‘सबै जातिहरू आर्शिवादी हुनेछन्’
४. जातियताको समस्याको विकाश कसरी भयो, तर परमेश्वरले कुन कदमहरू उठाउनु भयो?
४ जल-प्रलय पछि सारा मानवजाति नै नूहका नजिकका परिवार थिए र उनीहरू सबै सच्चा उपासकहरू थिए। तर त्यो एकता चाँड़ै नै भङ्ग भयो। केही समय पछि, परमेश्वरको इच्छाको अवहेलना गर्दै केही मानिसहरूले एउटा धरहरा बनाउन थाले। यसले गर्दा मानवजाति विभिन्न भाषा बोल्ने समूहहरूमा विभाजित भए र ती तितर-बितर भएर अनेक जाति र राष्ट्रहरू हुन गए। (उत्पत्ति ११:१-९) तरैपनि, साँचो उपासना अब्राहामको पुर्खौलीमा कायम नै रह्यो। विश्वासी अब्राहामलाई परमेश्वरले आशिष दिनुभयो र उनको सन्तान एउटा महान राष्ट्र हुनेछ भनेर प्रतिज्ञा पनि गर्नु भयो। (उत्पत्ति १२:१-३) त्यो राष्ट्र पुरातन इस्राएल थियो।
५. अब्राहामसित परमेश्वरको व्यवहारहरूबाट हामी सबै किन ढाडस लिन सक्तछौं?
५ तथापि, यहोवाको उद्देश्य सारा मानवजातिका निम्ति भएको हुनाले इस्राएल बाहेकका अरू मानिसहरूको उहाँले उपेक्षा गरिरहनु भएको थिएन। परमेश्वरले अब्राहामलाई गर्नु भएको प्रतिज्ञामा हामी यो कुरा स्पष्टसँग देख्छौं: “तेरै सन्तानद्वारा पृथ्वीका सबै जातिहरू आशीर्वादी हुनेछन् किनकि तैंले मेरो वचन पालन गरिस्।” (उत्पत्ति २२:१८) हालाँकि, शदियौंसम्म इस्राएललाई एउटा राष्ट्रिय कानुनी व्यवस्था, आफ्नो मन्दिरमा बलिदान चढाउनका निम्ति पूजाहारीहरूको प्रबन्ध र तिनीहरूलाई बस्नकालागि प्रतिज्ञा गरिएको देश उपलब्ध गराइ दिनु भएर परमेश्वरले एउटा विशेष तवरमा उनीहरूसँग व्यवहार गर्नुभयो।
६. इस्राएलसँग परमेश्वरले मिलाउनु भएको प्रबन्ध सबैका लागि कसरी उपयोगी हुने थियो?
६ परमेश्वरले इस्राएललाई दिनु भएको व्यवस्था सबै जातिका मानिसहरूका निम्ति उपयोगी थियो किनभने मानव पापलाई सदाकालागि खत्म गर्नका निम्ति एउटा सिद्ध बलिदानको आवश्यकता छ भन्ने कुरा त्यसबाट स्पष्टसँग देखिन्थ्यो। (गलाती ३:१९; हिब्रू ७:२६-२८; ९:९; १०:१-१२) तापनि, सबै जातिहरूका लागि आशिषको माध्यम अथवा सारा आवश्यकताहरू पूरा गर्न सक्नु हुने अब्राहामका सन्तान आउनु हुनेछ भनी निश्चिन्त हुने के आधार थियो? यो बुझ्नका निम्ति इस्राएलको व्यवस्थाले मदत पुर्यायो। आफ्ना छोरा-छोरीहरूलाई जिउँदै जलाउने जस्ता चलनहरू र अनैतिक व्यवहारका निम्ति कुख्यात कनानीहरूसँग बिहेवारी गर्न व्यवस्थाले मनाही गर्द थियो। (लेवी १८:६-२४; २०:२, ३; व्यवस्था १२:२९-३१; १८:९-१२) ती कनानी मानिसहरूका साथसाथै तिनीहरूका रीतिथितिहरूलाई नाउँ निशानै न रहने गरी नष्ट गर्नु भन्ने परमेश्वरले आज्ञा गर्नु भयो। यो कार्य इस्राएलीहरू सँगसँगै बसोबास गर्ने प्रवासीहरू लगायत सबैका निम्ति पछिसम्म लाभकारी हुने थियो किनभने यस प्रकार प्रतिज्ञा गरिएको सन्तानको वंशानुक्रम भ्रष्ट हुन पाउने थिएन।—लेवी १८:२४-२८; व्यवस्था ७:१-५; ९:५; २०:१५-१८.
७. परमेश्वरले परदेशीहरूलाई स्वागत गर्नु भएको कुराको शुरुमै के सङ्केत पाउँदछौं?
७ व्यवस्था कायमै रहेको र इस्राएलले परमेश्वरबाट विशेष मान्यता पाइनै रहेको बेलामा पनि गैर-इस्राएलीहरूमाथि परमेश्वरले दया देखाउनु भयो। यसो गर्न उहाँ इच्छुक हुनु भएको कुरा इस्राएल मिस्रको बन्धनबाट मुक्त भएर आफ्नो देश तर्फ गइरहेको बेलामा देखियो। “तिनीहरूका साथमा एक मिश्रित-दल पनि लागे।” (प्रस्थान १२:३८) प्रोफेसर सी. एफ. किलले तिनीहरूलाई “विदेशीहरूको एउटा झूण्ड . . . विभिन्न जातिहरूका मानिसहरूको भीड अथवा एउटा मिश्रित दल” भन्दछन्। (लेवी २४:१०; गन्ती ११:४) सम्भवतः साँचो परमेश्वरलाई स्वीकार गर्ने धेरै मिस्रीहरू त्यस भीडमा थिए होलान्।
बिदेशीहरूलाई स्वागत
८. गिबोनीहरूले परमेश्वरका जनहरू सित बसोबास गर्न कसरी पाए?
८ प्रतिज्ञा गरिएको देशलाई पतित जातिहरूबाट मुक्त पार्नु भन्ने परमेश्वरको आज्ञालाई इस्राएलीहरूले पालन गर्दा उहाँले यरूशलेमको उत्तर तर्फ बस्ने बिदेशीहरूको एउटा समूह अथवा गिबोनीहरूको संरक्षण गर्नुभयो। तिनीहरूले शान्ति कायम गर्न बिन्ती-भावका साथ यहोशूकहाँ छद्म-वेशमा राजदूतहरू पठाए। तिनीहरूले गरेको छल पत्ता लागे पछि, “परमप्रभुको [यहोवाको न्यु. व.] वेदीको निम्ति दाउरे र पनेरे” भएर तिनीहरू काम गर्नेछन् भनी यहोशूले आदेश दिए। (यहोशू ९:३-२७) आज पनि एउटा नयाँ जातिमा सम्मिलित हुनका निम्ति धेरै आगन्तुकहरूले तुच्छ प्रकारका सेवाहरू गर्न मञ्जुर गर्छन्।
९. इस्राएलमा भएका विदेशीहरूका सम्बन्धमा, राहाब र तिनका परिवारको उदाहरण कसरी उत्साहवर्धक छ?
९ परमेश्वरले त्यस बेला विदेशीहरूलाई सामूहिक रूपमा मात्र स्वागत गर्नु हुँदैन थियो; एकलो व्यक्तिहरूले पनि स्वागत पाउँद थिए। यो कुरा थाह पाएर तपाईं कति खुशी हुनु होला। किनभने आज कुनै कुनै देशहरूले सामाजिक प्रतिष्ठा, लगानी गर्ने सम्पत्ति वा उच्च शिक्षा भएका आगन्तुकहरूलाई मात्र स्वागत गर्दछन्। तर यहोवाले यसो गर्नुहुन्न। गिबोनीहरूसँग घटेको घटना भन्दा केही समय अघि मात्र भएको एउटा अर्को घटनाबाट हामी यो देख्तछौं। कुनै उच्च सामाजिक मर्यादा नभएको एक जना कनानीसँग यो घटना सम्बन्धित छ। बाइबलले तिनलाई “राहाब बेश्या” भन्दछ। साँचो परमेश्वरमाथि तिनले विश्वास गरेकी हुनाकारण, यरीहो नाश हुँदा, तिनी र तिनको परिवार बाँचे। राहाब एउटी विदेशी भएता पनि इस्राएलीहरूले तिनलाई स्वीकार गरे। तिनी विश्वासको एउटा आदर्श थिइन् जसलाई हामीले पनि अनुकरण गर्नु उचित हुनेछ। (हिब्रू ११:३०, ३१, ३९, ४०; यहोशू २:१-२१; ६:१-२५) तिनी पछि गएर मसीहका पुर्खौलीमा पनि समावेश भइन्।—मत्ती १:५, १६.
१०. इस्राएलमा विदेशीहरूले पाउने स्वागत कुन कुरामा आधारित थियो?
१० साँचो परमेश्वरलाई खुशी तुल्याउने तिनीहरूको प्रया- सको आधारमा गैर-इस्राएलीहरू पनि प्रतिज्ञा गरिएको देशमा स्वीकार्य थिए। यहोवाको सेवा नगर्नेहरूसँग, विशेषगरी धार्मिक तवरमा, कुनै सङ्गत नगर्नु भनी इस्राएलीहरूलाई भनिएको थियो। (यहोशू २३:६, ७, १२, १३; १ राजा ११:१-८; हितोपदेश ६:२३-२८) तथापि धेरै गैर-इस्राएली बासिन्दाहरूले आधारभूत नियमहरूको पालन गर्दथिए। अरूहरूले ता खतना समेत गरेर धर्म परिवर्तन पनि गरे र यहोवाले यस्ताहरूलाई उहाँको मण्डलीका सदस्यहरूको रूपमा पूर्णतया स्वागत गर्नुभयो।—लेवी २०:२; २४:२२; गन्ती १५:१४-१६; प्रेरित ८:२७.a
११, १२. (क) विदेशी उपासकहरू सित इस्राएलीहरूले कसरी व्यवहार गर्नु पर्दथियो? (ख) यहोवाको उदाहरण अनुसरण गर्नमा हामीले आफूमा अझ सुधार किन ल्याउनु आवश्यक पर्ला?
११ विदेशी उपासकहरू तर्फ परमेश्वरले राख्नु हुने मनोवृत्तिलाई अनुकरण गर्नु भनी उहाँले इस्राएलीहरूलाई निर्देशन दिनुभयो: “तिमीहरूसित बास गर्ने परदेशी तिमीहरूको लागि त्यो स्वदेशी जस्तै होस्, र तिमीहरूले त्यसलाई आफूलाई झैं प्रेम गर्नू, किनभने तिमीहरू पनि मिस्रमा परदेशी थियौ।” (लेवी १९:३३, ३४; व्यवस्था १:१६; १०:१२-१९) हामीहरू व्यवस्थाको अधीनमा नभएता पनि, यसबाट हामी शिक्षा पाउँदछौं। अर्कै जाति, राष्ट्र, वा संस्कृतिका मानिसहरू प्रति राखिने पूर्वाग्रह र वैरभावको शिकार हुन सजिलो छ। अतः हामीले आफूलाई यो सोध्नु बेस होला: ‘यस प्रकारको पूर्वाग्रहका भावनाहरूलाई के म, यहोवाको उदाहरणको अनुसरण गर्दै, आफूबाट हटाउने कोशिश गर्दै छु?’
१२ परमेश्वरले गर्नु हुने स्वागतको दृश्य प्रमाण इस्राएलीहरूको सामुन्ने थियो। राजा सुलेमानले प्रार्थना गरे: “तपाईंको प्रजा इस्राएली कुलदेखि बाहिरको कुनै विदेशी तपाईंको ख्याति सुनेर टाढाबाट आए र . . . यस भवनतिर फर्केर प्रार्थना गऱ्यो भने, तपाईंको बासस्थान स्वर्गमा त्यो प्रार्थना सुन्नुहोस् . . . ताकि पृथ्वीका सबै मानिसहरूले तपाईंको ख्यातिलाई जानेर तपाईंको भय मानून्।”—१ राजा ८:४१-४३; २ इतिहास ६:३२, ३३.
१३. इस्राएलसँगको आफ्नो व्यवहारमा परिवर्तन ल्याउन परमेश्वरले किन व्यवस्था मिलाउनु भयो?
१३ यहोवाले आफ्ना जनहरूका रूपमा इस्राएली राष्ट्रलाई प्रयोग गर्नु भएर मसीह आउनु हुने पुर्खौलीको संरक्षण गरिरहनु हुँदा पनि महत्त्वपूर्ण परिवर्तनहरूबारे भविष्यवाणी गर्नुभयो। शुरुमा इस्राएलीहरूले व्यवस्थाको वाचामा रहन मञ्जूर गर्दा तिनीहरू “पूजाहारीहरूको एक राज्य, एक पवित्र जातिको” स्रोत हुनसक्नेछन् भनी परमेश्वरले भन्नु भएको थियो। (प्रस्थान १९:५, ६) तर शदियौंसम्म इस्राएलीहरू अविश्वासी भइ दिए। अतः यहोवाले अग्रिमवाणी गर्नु भयो कि उहाँले एउटा नयाँ करार बाँध्नु हुनेछ र यसमा समावेश हुने “इस्राएलको घरानाको” अपराध क्षमा गरिनेछ। (यर्मिया ३१:३३, ३४) यस नयाँ करारका लागि मसीहको प्रतिक्षा गर्न आवश्यक थियो किनभने उहाँकै बलिदानले वास्तवमा धेरै जनालाई पापबाट स्वच्छ पार्नेछ।—यशैया ५३:५-७, १०-१२.
स्वर्गमा हुने इस्राएलीहरू
१४. कुन नयाँ “इस्राएललाई” यहोवाले स्वीकार गर्नु भयो, र कसरी?
१४ यी जम्मै कुराहरू कसरी सम्पन्न भए भनी बुझ्न हामीलाई मसीही युनानी धर्मशास्त्रले मदत दिन्छ। मसीह, येशू हुनुहुन्थ्यो, जसको मृत्युद्वारा व्यवस्था पूरा भयो र पापको पूर्ण प्रायश्चितकालागि एउटा आधार स्थापित गरियो। यसबाट लाभ उठाउनका लागि कसैलाई पनि शरीरमा खतना गरेको यहूदी हुनु आवश्यक थिएन। प्रेरित पावलले लेखे कि नयाँ करारमा “भित्र मनका यहूदी हुने नै यहूदी हो, औ लेखिएको व्यवस्थामा होइन, तर आत्मामा हृदयको खतना हुने चाहिं खतनाको हो।” (रोमी २:२८, २९; ७:६) येशूको बलिदानमा विश्वास राख्नेहरूले क्षमादान पाए, र “परमेश्वरका इस्राएल” अथवा एउटा आत्मिक जातिमा सम्मिलित हुने तिनीहरू ‘आत्मा [मा] यहूदीहरू’ हुन् भनी परमेश्वरले स्वीकृति व्यक्त गर्नु भयो।—गलाती ६:१६.
१५. आत्मिक इस्राएलमा समावेश हुनका लागि, शारीरिक जातियताले किन कुनै फरक पार्ने छैन?
१५ हो, आत्मिक इस्राएलमा प्रवेश पाउनका निम्ति कुनै एउटा खास जाति वा कुलबाट आएको हुनु पर्दैन। येशूका प्रेरितहरू जस्ता, केही प्राकृतिक यहूदीहरू थिए। र रोमी फौजी अफसर, कर्निलियस जस्ता अरूहरू चाहिं, खतना नभएका अन्य जातिहरूबाट आएका थिए। (प्रेरित १०:३४, ३५, ४४-४८) आत्मिक इस्राएलबारे पावलले यो सही कुरा भने: “जहाँ ग्रीक र यहूदी, खतना र बेखतना, अरू भाषा बोल्ने, सिथियावासी, कमारा र फुक्काको भेद रहनेछैन।” (कलस्सी ३:११) परमेश्वरको आत्माद्वारा अभिषिक्त भएकाहरू “चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्वरका निजी प्रजा” हुन गए।—१ पत्रुस २:९; प्रस्थान १९:५, ६ सङ्ग तुलना गर्नुहोस्।
१६, १७. (क) परमेश्वरको उद्देश्यमा आत्मिक इस्राएलीहरूले के भूमिका निभाउँदछन्? (ख) परमेश्वरको इस्राएलमा सामेल नहुनेहरूबारे विचार गर्नु किन उपयुक्त हो?
१६ आत्मिक इस्राएलीहरूलाई भविष्यमा परमेश्वरको उद्देश्य अनुसार के हुने हो? येशूले जवाफ दिनुभयो: “ए सानो बगाल, नडराओ, किनभने तिमीहरूलाई राज्य दिने तिमीहरूका पिताको शुभेच्छा छ।” (लूका १२:३२) “स्वर्गमा नागरिकता” हुने अभिषिक्त जनहरू थुमासँग उहाँको राज्य शासनकालमा साझे-हकवालाहरू हुनेछन्। (फिलिप्पी ३:२०; यूहन्ना १४:२, ३; प्रकाश ५:९, १०) बाइबलले सङ्केत गर्दछ कि तिनीहरू ‘इस्राएलीहरूका कुल’ बाट छानिएका हुन् र “परमेश्वरमा र थुमामा पहिला फलहरू हुनलाई मानिसहरूमध्यबाट किनिएका थिए।” तिनीहरूको संख्या १४४,००० हो। तथापि, यो संख्यालाई छाप लगाइएको विषयमा वर्णन गरी सके पछि, यूहन्नाले एउटा भिन्नै समूहको परिचय दिन्छन्—“कसैले गन्न नसक्ने, हरेक जातिबाटको र सबै कुलको र मानिसको र भाषा भाषाहरूको एउटा ठूलो भीड।”—प्रकाश ७:४, ९; १४:१-४.
१७ कसै कसैले आश्यर्च प्रकट गर्दै यो सोध्न सक्तछन्: ‘महा सङ्कष्ट पार गर्ने त्यो ठूलो भीडका लाखौं व्यक्तिहरू जो आत्मिक इस्राएलमा सम्मिलित छैनन्, तिनीहरूको के हुने हो? आज बाँचिरहेका थोरै शेष अभिषिक्त जनहरूसँगको सम्बन्धमा तिनीहरूले के भूमिका निभाउँदछन्?’b
भविष्यवाणीमा विदेशीहरू
१८. इस्राएलीहरू बेबिलोनको निर्वासनबाट कुन कुन कारणहरूले गर्दा फर्किन सके?
१८ इस्राएलीहरू व्यवस्थाको वाचाको अधीनमा भएर पनि त्यस प्रति अविश्वासी भएको बेलालाई फर्केर हेर्दा, इस्राएललाई बेबिलोनीहरूद्वारा उजाड पार्नमा परमेश्वर कटिबद्ध रहनु भएको कुरा हामी पाउँछौं। सा. यु. पू. ६०७ मा इस्राएललाई ७० वर्ष सम्मका लागि कैदमा लगियो। अनि परमेश्वरले फेरि त्यस जातिलाई छुटकारा दिलाइ दिनु भयो। बडा हाकिम यरूबाबेलको नेतृत्त्वमा प्राकृतिक इस्राएलका केही शेष जनहरू आफ्नो देशमा फर्किए। बेबिलोनीहरूलाई परास्त गर्ने मादी र फारसका शासकहरूले निर्वासनबाट ती फर्कनेहरूलाई आवश्यक सामग्रीहरू समेत दिएर सहायता गरे। यशैयाको पुस्तकले यी कुराहरूको भविष्यवाणी गरेको थियो। (यशैया १:१-९; ३:१-२६; १४:१-५; ४४:२१-२८; ४७:१-४) र एज्राले हामीलाई त्यस पुनरागमनबारे विस्तृत एतिहासिक विवरण दिन्छन्।—एज्रा १:१-११; २:१, २.
१९. इस्राएलीहरूको पुनरागमनका सम्बन्धमा विदेशीहरू पनि बिथोलित हुनेछन् भनी कुन भविष्यवाणीमा सङ्केत गरिएको थियो?
१९ तरै पनि, परमेश्वरका जनहरूको छुटकारा र पुनरागमनबारे अग्रिमवाणी गर्दा यशैयाले यो अचम्मको भविष्यवाणी गरे: “जाति जातिहरू तेरो ज्योतिमा र राजाहरू तेरो उदयको प्रकाशमा आउनेछन्।” (यशैया ५९:२०; ६०:३) यसको अर्थ, सुलेमानको प्रार्थना अनुरूप विदेशी व्यक्तिहरूको स्वागत मात्र गरिने छैन। बरु तिनीहरूको स्थानमै एउटा असामान्य परिवर्तन हुने कुराको यहाँ यशैयाले सङ्केत गरे। “जाति जातिहरू” इस्राएलका पुत्रहरूसँग मिलेर सेवा गर्नेछन्: “परदेशीहरूले तेरा पर्खाल बनाउनेछन्, र तिनका राजाहरूले तेरो सेवा गर्नेछन्। किनकि मेरो क्रोधमा मैले तँलाई हिर्काएँ, र मेरो निगाहमा तँलाई मैले कृपा गरेको छु।”—यशैया ६०:१०.
२०, २१. (क) कैदबाट इस्राएलीहरूको पुनरागमन भए जस्तै हामी कुन आधुनिक समानान्तर पाउँछौं? (ख) आत्मिक इस्राएलमा, पछि-पछि कसरी ‘छोराहरू र छोरीहरू’ थपिंदै गए?
२० इस्राएलीहरू निर्वासनमा गएका र त्यहाँबाट फर्केका कुराको सामानन्तर आधुनिक समयका आत्मिक इस्राएलमा पाउन सकिन्छ। प्रथम विश्व-युद्ध भन्दा पहिले अभिषिक्त मसीहीहरूमध्यका शेषजनहरू परमेश्वरको इच्छा अनुसार पूर्णरुपले हिंडिरहेका थिएनन्; तिनीहरूले मसीही जगतका गिर्जाहरूमा भएका केही विचारहरू र व्यवहारहरूलाई नै मानिरहेका थिए। अनि, युद्धको समयको उच्छृङ्खल साथै केही हदसम्म पादरीहरूले पनि कुरा लाएको हुनाकारण, आत्मिक इस्राएलका शेष जनहरूमध्यका अगुवाहरू अन्यायपूर्वक कैदमा थुनिए। सा. यु. १९१९ मा, युद्ध पछि, साँच्चैका झ्यालखानबाट ती अभिषिक्त जनहरूले छुटकारा पाए र दोषमुक्त पनि भए। यसबाट प्रमाणित भयो कि परमेश्वरका जनहरू झूटो धर्मको विश्व-व्यापी साम्राज्य, महान् बेबिलोनको कैदबाट मुक्त भएका थिए। परमेश्वरका जनहरू एउटा आत्मिक प्रमोदवनको निर्माण गर्न र त्यसमा बसोबास गर्न अग्रसर भए।—यशैया ३५:१-७; ६५:१३, १४.
२१ यस कुराको सङ्केत यशैयाको वर्णनमा गरिएको थियो: “तिनीहरू सबै जम्मा भएर तँकहाँ आउँदैछन्। तेरा छोराहरू टाढाबाट आउनेछन्, र तेरा छोरीहरू हात हातमा बोकेर ल्याइनेछन्। तब यो देखेर तँ आनन्दित हुनेछस्, र तेरो हृदय हर्षले गद्गद् हुनेछ किनकि समुद्रका सम्पूर्ण धन तँतर्फ फर्कनेछ। जाति जातिको सम्पत्ति तँकहाँ आउनेछ।” (यशैया ६०:४, ५) त्यस पछिका दशकहरूमा, ‘छोरा र छोरीहरू’ आइ नै रहे र अभिषिक्त हुँदै आत्मिक इस्राएलमा रहेको बाँकी ठाउँहरू भर्न थाले।
२२. आत्मिक इस्राएलीहरूसँग मिलेर “विदेशीहरू” काम गर्न कसरी आएकाछन्?
२२ ‘पर्खालहरू बनाउने विदेशीहरू’ बारे के नि? यो हाम्रो समयमा भएको छ। १४४,००० लाई बोलाउने काम जसै समाप्त हुन लाग्यो, आत्मिक इस्राएलसँग मिलेर उपासना गर्न सबै जातिबाट एउटा ठूलो भीड जम्मा हुन थाल्यो। एउटा पार्थिव प्रमोदवनमा अनन्त जीवन पाउने बाइबलमा आधारित आशा यी भर्खरै आउनेहरूले राखेकाछन्। विश्वासिलो भएर सेवा गर्न पाउने ठाउँ अन्तमा बेग्लै भएतापनि, यिनीहरू राज्यको सुसमाचार प्रचार गर्ने काममा शेष अभिषिक्त जनहरूलाई सघाउन पाएकोमा हर्षित हुनेछन्।—मत्ती २४:१४.
२३. “विदेशीहरूले” अभिषिक्त जनहरूलाई कुन हदसम्म सहयोग गरेकाछन्?
२३ ‘नागरिकता स्वर्गमा हुने’ शेष जनहरूसँग मिलेर आज चालीस लाख भन्दा बढी “विदेशीहरूले” यहोवा प्रति आफ्नो भक्तिको प्रमाण दिइरहेकाछन्। तिनीहरूमध्य धेरै जना, लोग्ने मानिस र आइमाई, जवान र वृद्ध, अग्रगामी भएर आफ्नो पूर्णसमय सेवामा बिताइ रहेकाछन्। ६६,००० भन्दा बढी मण्डलीहरूमा, यी विदेशीहरूले प्राचीनहरू र सहायक सेवकहरूको जिम्मावारी निभाइ रहेकाछन्। यशैयाका यी शब्दहरू पूरा भएको देखेर शेष जनहरू रमाइ रहेकाछन्: “परदेशीहरू खडा हुनेछन्, र उभी उभी तेरा भेडा-बाख्राहरूलाई चराउनेछन्, र बिदेशीहरू तेरा हलो जोत्ने र दाखबारीका माली हुनेछन्।”—यशैया ६१:५.
२४. बितेका समयहरूमा इस्राएल र अरूहरूसँग परमेश्वरले गर्नु भएको व्यवहारबाट हामी किन प्रोत्साहित हुन सक्तछौं?
२४ यसकारण, तपाईं पृथ्वीमा जुन सुकै देशका नागरिक, स्थायी-प्रवासी अथवा शरणार्थी हुनु भएता पनि सर्वशक्तिमानबाट हार्दिक स्वागत पाउने एक जना आत्मिक विदेशी हुने सुअवसर तपाईंको सामुन्ने छ। अहिले र अनन्त भविष्य दुवैमा उहाँको सेवा गर्ने सौभाग्यको आनन्द उठाउन पाउने सम्भावना उहाँको त्यस स्वागतमा सम्मिलित छ। (w 4/15/92)
[फुटनोट]
a “प्रवासी,” “बासिन्दा,” “अपरीचित मानिस,” र “विदेशी” शब्दहरूको भिन्नताबारे द वाचटावर बाइबल एण्ड ट्रयाक्ट सोसाइटी आफ न्युयोर्क, इनकोरपोरेटेड द्वारा प्रकाशित, इनसाइट ओन द स्क्रिप्चर्स, खण्ड १, पानाहरू ७२-५, ८४९-५१ मा हेर्नुहोस्।
b १९९१ मा यहोवाका साक्षीहरूद्वारा आयोजित प्रभुको साँझको भोजको वार्षिक स्मरणार्थमा १०,६००,००० भन्दा बढी मानिसहरू उपस्थित थिए तर त्यहाँ शेष अभिषिक्त जन कहलाइनेहरूको संख्या ८,८५० मात्र थियो।
के तपाईंले यी कुराहरूमा ध्यान दिनुभयो?
◻ सारा जातिका मानिसहरू परमेश्वरलाई स्वीकार्य हुनेछन् भनी उहाँले कसरी आशा प्रदान गर्नु भयो?
◻ परमेश्वरका विशेष जनहरू अर्थात् इस्राएल बाहेक अरूहरूले पनि उहाँसँग सम्पर्क राख्न सक्तछन् भनी केबाट देखिन्छ?
◻ विदेशीहरू इस्राएलसँग सम्मिलित हुनेछन् भनी भविष्यवाणी द्वारा परमेश्वरले कसरी सङ्केत गर्नुभयो?
◻ बेबिलोनमा निर्वासनबाट इस्राएलको पुनरागमन भए जस्तै समानान्तर कहाँ पाउन सकिन्छ र “विदेशीहरू” त्यसमा कसरी बिथोलित भएका छन्?
[पृष्ठ २३-मा भएको चित्र]
यहोवालाई उपासना गर्न आउने विदेशीहरूका निम्ति सुलेमान राजाले प्रार्थना गरे