अध्याय १०६
अङ्गुर बगानसम्बन्धी दुई वटा उदाहरण
मत्ति २१:२८-४६ मर्कुस १२:१-१२ लुका २०:९-१९
दुई छोराको उदाहरण
अङ्गुर बगानका मोहीहरूको उदाहरण
कुन अख्तियारले सबै कुरा गर्दै हुनुहुन्छ भनेर येसुलाई प्रश्न गर्ने मुख्य पुजारीहरू र धर्मगुरुहरूलाई उहाँले भर्खरै मन्दिरमा अकमक्क पारिदिनुभएको छ। येसुको कुरा सुनेर तिनीहरू नाजवाफ भएका छन्। त्यसपछि उहाँ तिनीहरू वास्तवमा कस्ता मानिसहरू हुन् भनेर उदाङ्ग पार्ने एउटा उदाहरण बताउनुहुन्छ।
येसु भन्नुहुन्छ: “एक जना मानिसका दुई छोरा थिए। जेठोकहाँ गएर तिनले यसो भने, ‘बाबु, जाऊ गएर आज अङ्गुर बगानमा काम गर।’ उसले ‘नाइँ, म जान्नँ’ भन्यो तर पछि ऊ पछुतायो र अङ्गुर बगानमा गयो। अनि कान्छोकहाँ गएर तिनले त्यसै भन्दा उसले ‘हवस् बुबा’ भन्यो तर ऊ गएन। यी दुईमध्ये कसले आफ्नो बुबाको इच्छा पूरा गऱ्यो?” (मत्ति २१:२८-३१) जवाफ प्रस्ट छ: सुरुमा नाइँ भने पनि पछि बुबाको इच्छाअनुसार गर्ने जेठो छोराले।
त्यसपछि येसु आफ्ना विरोधीहरूलाई भन्नुहुन्छ: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, कर उठाउनेहरू र वेश्याहरू तिमीहरूभन्दा पहिला परमेश्वरको राज्यमा पस्नेछन्।” कर उठाउनेहरू र वेश्याहरूले सुरुमा त परमेश्वरको सेवा गर्दैनथे। तर जेठो छोराले जस्तै तिनीहरूले पछि पश्चात्ताप गरे र अहिले परमेश्वरको सेवा गरिरहेका छन्। अर्कोतर्फ धर्मगुरुहरू भने कान्छो छोराजस्ता छन् किनकि तिनीहरू परमेश्वरको सेवा गरेको दाबी त गर्छन् तर वास्तवमा त्यसो गर्दैनन्। येसु भन्नुहुन्छ: “[बप्तिस्मा गराउने] युहन्ना आए र तिमीहरूलाई सत्यको बाटो देखाए तैपनि तिमीहरूले ऊमाथि विश्वास गरेनौ। तर कर उठाउनेहरू र वेश्याहरूले ऊमाथि विश्वास गरे र यो देख्दादेख्दै पनि तिमीहरू पछुताएनौ र ऊमाथि विश्वास गरेनौ।”—मत्ति २१:३१, ३२.
यसपछि येसु अर्को उदाहरण बताउनुहुन्छ। यस पटक उहाँ ती धर्मगुरुहरूले परमेश्वरको सेवालाई हेलचेक्र्याइँ मात्र गरेका छैनन्, तिनीहरू दुष्ट पनि छन् भनेर प्रस्ट पार्नुहुन्छ। येसु भन्नुहुन्छ: “एक जना मानिसले अङ्गुर बगान लगाएर त्यसको वरिपरि बार हाल्यो। त्यसपछि उसले अङ्गुर पेल्ने कोल खन्यो र एउटा मचान खडा गऱ्यो। अनि मोहीहरूलाई त्यसको ठेक्का दिएर आफूचाहिँ विदेशतिर लाग्यो। फल टिप्ने बेला भएपछि उसले अङ्गुर बगानको कुत उठाउन आफ्नो एक जना दासलाई मोहीहरूकहाँ पठायो। तर तिनीहरूले त्यसलाई समातेर कुटे अनि रित्तो हात फर्काइदिए। उसले तिनीहरूकहाँ अर्को एक जना दासलाई पठायो तर तिनीहरूले त्यसलाई टाउकोमा हिर्काए र त्यसको बेइज्जत गरे। उसले फेरि अर्को एक जनालाई पठायो तर तिनीहरूले त्यसलाई मारे। यसैगरि उसले अरू थुप्रै दासलाई पनि पठायो तर तिनीहरूले कसैलाई कुटे अनि कसैलाई चाहिँ मारे।”—मर्कुस १२:१-५.
येसुको कुरा सुनिरहेकाहरूले के यो उदाहरण बुझ्छन्? सायद तिनीहरू परमेश्वरले यसैयामार्फत भन्नुभएको यो कुरा सम्झन्छन्: “म सेनाहरूका यहोवा हुँ र इस्राएलको घराना मेरो अङ्गुर बगान हो। मलाई मन परेको बोट यहुदाका मानिसहरू हुन्। मैले न्यायको आशा गरेको थिएँ तर हेर, चारैतिर अन्याय भयो।” (यसैया ५:७) येसुको उदाहरण पनि यस्तै छ। जग्गाधनी यहोवा हुनुहुन्छ अनि अङ्गुर बगानचाहिँ इस्राएल राष्ट्र हो, जुन राष्ट्र परमेश्वरको व्यवस्थाद्वारा चारैतिर बार हालिएको र सुरक्षित थियो। आफ्ना मानिसहरूलाई निर्देशनहरू दिन र असल फल फलाउन मदत गर्न यहोवाले भविष्यवक्ताहरू पठाउनुभएको थियो।
तर “मोहीहरू”-ले उनीहरूकहाँ पठाइएका “दास”-हरूलाई दुर्व्यवहार गरे र मारे। येसु अझै भन्नुहुन्छ: “[अङ्गुर बगानको मालिकसँग] अब एकै जना बाँकी थियो, उसको आफ्नो प्यारो छोरा। ‘तिनीहरूले मेरो छोरालाई त आदर गर्नेछन्’ भन्ने सोच्दै अन्त्यमा उसले आफ्नो छोरालाई तिनीहरूकहाँ पठायो। तर ती मोहीहरूले आपसमा यसो भने, ‘यो त हकवाला हो। आओ, यसलाई मारौँ अनि यसको सम्पत्ति हाम्रो हुनेछ।’ त्यसैले तिनीहरूले उसलाई समातेर मारे।”—मर्कुस १२:६-८.
यसपछि येसु यस्तो प्रश्न गर्नुहुन्छ: “अङ्गुर बगानको मालिकले अब के गर्नेछ?” (मर्कुस १२:९) धर्मगुरुहरू यस्तो जवाफ दिन्छन्: “तिनीहरू दुष्ट भएकोले उसले रतीभर दया नदेखाई तिनीहरूलाई नाश गर्नेछ र आफ्नो अङ्गुर बगान त्यस्ता मोहीहरूलाई दिनेछ, जसले समयमै कुत बुझाउँछन्।”—मत्ति २१:४१.
यसरी तिनीहरू अनजानमै आफूमाथि न्यायको घोषणा गर्छन् किनकि तिनीहरू पनि यहोवाको “अङ्गुर बगान” अर्थात् इस्राएल राष्ट्रका “मोहीहरू” हुन्। यहोवाले ती मोहीहरूबाट चाहनुभएको फल भनेको तिनीहरूले उहाँको छोरा अर्थात् मसीहमाथि विश्वास गरून् भन्ने हो। अब येसु सीधै ती धर्मगुरुहरूलाई हेरेर यसो भन्नुहुन्छ: “के तिमीहरूले धर्मशास्त्रमा यो अंश कहिल्यै पढेका छैनौ, ‘जुन ढुङ्गोलाई डकर्मीहरूले काम नलाग्ने ठाने, त्यही ढुङ्गो नै कुनाको शिरढुङ्गो बनेको छ। यहोवाले त्यसो गर्नुभएको हो र यो हाम्रो नजरमा साह्रै अचम्मको छ’?” (मर्कुस १२:१०, ११) त्यसपछि येसु आफ्नो कुरा यसरी स्पष्ट पार्नुहुन्छ: “त्यसैले म तिमीहरूलाई भन्छु, परमेश्वरको राज्यमा पस्ने मौका तिमीहरूको हातबाट खोसिनेछ र एउटा यस्तो जातिलाई दिइनेछ, जसले त्यस राज्यको लागि सुहाउँदो फल फलाउँछ।”—मत्ति २१:४३.
शास्त्रीहरू र मुख्य पुजारीहरूले येसुले ‘यो उदाहरण तिनीहरूकै विषयमा भन्नुभएको हो भनेर बुझ्छन्।’ (लुका २०:१९) त्यसैले तिनीहरू असली “हकवाला” येसुलाई मार्न झनै हौसिन्छन्। तर येसुलाई भविष्यवक्ता मान्ने भीडको डरले गर्दा तिनीहरूले उहाँलाई त्यति नै बेला मार्ने प्रयास गर्दैनन्।