गलत काम गर्दिनँ भन्न दृढ
तिमोथी भन्छन्, “किशोर छँदा म एउटा किराना पसलमा काम गर्थें। त्यहीं काम गर्ने एक जना साथीले मलाई एक दिन तिनको घरमा आउने निम्तो दिए। तिनको मुमाबुबा घरमा हुनेछैनन्, केटीहरू पनि आउनेछन् र तिनीहरूसित यौन सम्बन्ध राख्ने मौका पाइन्छ” भनेर तिनले बताए। आज थुप्रै जवानहरूले यस्तो निम्तो स्वीकारीहाल्छन्, कुनै नाइँनास्ति गर्दैनन्। तर तिमोथीले कस्तो जवाफ दिए? “मैले त्यतिबेला नै आउँदिन भन्नुका साथै मेरो मसीही अन्तस्करणले गर्दा आफूले विवाह नगरेको केटीसित यौन सम्बन्ध राख्न चाहन्नँ भनें।”
तिमोथीले आफ्नो अस्वीकृतिको कारण बताउँदा त्यहीं काम गर्ने एउटी जवान केटीले तिनको कुरा सुनिरहेकी थिइन् भनेर तिनलाई थाहै भएन। तिनको नैतिक शुद्धताले गर्दा उक्त कर्मचारी तिनीप्रति आकर्षित भइन्। अनि केही समय नबित्दै तिनले उसलाई पनि थुप्रैपल्ट नाइँ भन्नुपऱ्यो। यसबारे हामी पछि थाह पाउनेछौं।
निस्सन्देह, हामीमाथि प्रलोभनहरू आइपर्नु कुनै अनौठो कुरा होइन। लगभग ३,००० वर्षअघि राजा सुलेमानले यसो लेखे: ‘हे मेरो छोरो, यदि दुष्ट मानिसहरूले तँलाई फकायो भने तिनीहरूसँग नजा, तिनीहरूका चालमा हिंड़दै नहिंड्।’ (हितोपदेश १:१०, १५) यहोवा आफैले इस्राएल राष्ट्रलाई यस्तो आज्ञा दिनुभयो: “खराबी गर्न भीड़सँग नलाग्।” (प्रस्थान २३:२) हो, गलत काम गर्दिनँ भन्न सजिलो नभए तापनि प्रलोभनको विरोध गर्दै नाइँ, म गर्दिनँ भन्नैपर्छ।
नाइँ भन्नु अहिले झनै महत्त्वपूर्ण भएको छ
गलत काम गर्दिनँ नाइँ भन्नु सजिलो कुरा होइन। अहिले त झनै गाह्रो हुनसक्छ किनभने बाइबलले बताएअनुसार अहिले हामी यस रीतिरिवाजको “आखिरी दिनमा” बाँचिरहेका छौं। बाइबलले भविष्यवाणी गरेजस्तै मानिसहरू ऐसआराम र हिंसा रुचाउने अनि आध्यात्मिकता र नैतिकतारहित भएका छन्। (२ तिमोथी ३:१-५) जेसुएट विश्वविद्यालयका अध्यक्षले यसो भने: “हाम्रा थुप्रै परम्परागत स्तरहरूले चुनौती सामना गर्नुका साथै त्यो बेकार वा पुरानो जमानाको हुन थालेका छन्। ती स्तरहरूले अब नैतिक मार्गदर्शकको काम गर्ला जस्तो दैखिंदैन।” सर्वोच्च अदालतका एक न्यायाधीश पनि यस्तै विचार राख्छन्: “असल र खराब स्पष्टसित छुट्याउनै सकिंदैन। सबै थोक अस्पष्ट भएका छन्। . . . कसै कसैले मात्र असल र खराबबीचको भिन्नता छुट्याउन सक्छन्। अहिले काम बिगार्दा होइन तर काम बिगारेर पक्राउमा पऱ्यो भने त्यसलाई नै पाप भनिन्छ।”
यस्तो मनोवृत्ति भएका मानिसहरूबारे प्रेरित पावलले यस्तो लेखे: “तिनीहरूका हृदय कठोर भएका र तिनीहरूमा भएको अज्ञानताको समझ अँध्यारो भएको हुनाले परमेश्वरको जीवनबाट बिराना भए, जसले निर्दयी भएर लालचसाथ सारा अशुद्ध काम गर्नाको निम्ति आफैलाई कामोद्दीपनामा सुम्पिदिए।” (एफिसी ४:१८, १९) तर तिनीहरूले दुःख भोग्नेछन्। यशैयाले यस्तो घोषणा गरे: “धिक्कार तिनीहरूलाई, जसले खराबलाई असल र असललाई खराब भन्दछन्, जसले अँध्यारोलाई उज्यालो र उज्यालोलाई अँध्यारो मान्दछन्।” (यशैया ५:२०; नयाँ संशोधित संस्करण) तिनीहरूले अहिले जे रोप्दछ त्यसैअनुसार कटनी गर्ने मात्र होइन तर चाँडै “धिक्कार” हुनेछन् अर्थात् यहोवाको प्रतिकूल न्याय पनि भोग्नेछन्।—गलाती ६:७.
भजन ९२:७ यसो भन्छ, “जब दुष्टहरू घाँसझैं बढ्छन्, र सबै अधर्म गर्नेहरूको फलिफाप हुन्छ, यही कारणले हो, कि तिनीहरू सधैंको निम्ति नष्ट हुनेछन्।” अर्को शब्दमा भन्ने हो भने, सबैको जीवन कष्टकर बनाउने अहिलेको भरमार दुष्टता सधैंभरि रहनेछैन। भनौं भने, परमेश्वरले “महा संकष्ट[मा]” नाश गर्नुहुने “पुस्ता” यही हो, जसले दुष्टतालाई बढावा दिइरहेको छ भनेर येशूले बताउनुभयो। (मत्ती २४:३, २१, ३४) यसकारण, हामी त्यस महा संकष्टमा बच्न चाहन्छौं भने परमेश्वरका स्तरहरूअनुसार सही र गलत छुट्याउनुपर्छ। साथै हर प्रकारका गलत काम इन्कार गर्ने नैतिक बल पनि हामीलाई चाहिन्छ। यसो गर्नु सजिलो त छैन तर यहोवाले हाम्रो निम्ति बाइबलकालीन तथा वर्तमान समयका प्रोत्साहनदायी उदाहरणहरू उपलब्ध गराउनुभएको छ।
नाइँ, गर्दिनँ भन्ने युवकबाट पाठ सिक्ने
विशेष गरी व्यभिचार र करणी गर्न इन्कार गर्नु मसीही मण्डलीका कोही कोहीलाई समेत गाह्रो हुन्छ जस्तो देखिन्छ। सुरुको अनुच्छेदमा उल्लिखित तिमोथीले धर्मशास्त्रको उत्पत्ति ३९:१-१२ मा लिपिबद्ध जवान यूसुफको उदाहरणलाई हृदयंगम गरे। मिश्री अफिसर पोतीफरकी पत्नीले यौन सम्बन्ध राख्न बारम्बार आग्रह गर्दा यूसुफले नैतिक बल देखाए। विवरण यसो भन्छ, यूसुफले “अस्वीकार गरेर . . . भने, . . . ‘कसरी यस्तो घोर दुष्ट काम गरेर परमेश्वरको विरुद्धमा मैले पाप गर्नु?’ ”
यूसुफले पोतीफरकी पत्नीको कुरा दिनहुँ नाइँ भन्ने नैतिक शक्ति कसरी पाए? प्रथमत, तिनले क्षणिक आनन्द भन्दा यहोवासितको आफ्नो सम्बन्धलाई निकै अनमोल ठान्थे। यसबाहेक, तिनी ईश्वरीय व्यवस्थाको अधीनमा नभए तापनि (मोशाको व्यवस्था आउन बाँकी नै थियो) यूसुफले नैतिक सिद्धान्तहरू राम्ररी बुझेका थिए। आफूप्रति मोहित भएकी पोतीफरकी पत्नीसित व्यभिचार गर्नु भनेको तिनको पतिविरुद्ध मात्र नभई परमेश्वरविरुद्ध पनि पाप हुनेछ भनेर तिनलाई थाह थियो।—उत्पत्ति ३९:८, ९.
स्पष्टतः अनियन्त्रित कामवासना जगाउने इच्छासमेत पलाउन दिनु हुँदैन भन्ने महत्त्वपूर्ण कुरा यूसुफले बुझेका थिए। सबै मसीहीहरूले यूसुफको उदाहरण अनुकरण गर्नु बेस हुन्छ। जुलाई १, १९५७ को प्रहरीधरहरा-ले यसो भन्यो: “मसीहीले आफ्नो पापी शरीरबाट हुने कमजोरीहरू बुझ्नुपर्छ अनि धर्मशास्त्रले तोकेको सीमा उल्लंघन हुनै लाग्दा यौनइच्छा रोक्न सकिन्छ नि भन्ने सोचाइ राख्नु हुँदैन। तिनले केही समयसम्म त्यसो गर्न सके तापनि अन्ततः सीमा नाघेर पाप गर्नेछ। निस्सन्देह, यस्तो हुन्छ किनभने यौनइच्छा राखिरह्यो भने तीव्र भएर मानिसलाई आशक्त बनाउँछ। त्यसपछि कामवासनालाई आफ्नो मनबाट निकाल्न निकै मुस्किल पर्छ। त्यसबाट बच्ने उत्तम तरिका सुरुमै त्यसको विरोध गर्नु हो।”
असल कुरालाई प्रेम र खराब कुरालाई घृणा गर्न सिक्यौं भने सुरुमै गलत कामको विरोध गर्न सजिलो हुन्छ। (भजनसंग्रह ३७:२७) तर लगनशील भएर असल कुरालाई प्रेम र खराब कुरालाई घृणा गरिरहनुपर्छ। यसो गऱ्यौं भने, यहोवाको मदतद्वारा असल कुरालाई झन् बढी प्रेम र खराबीलाई झन् बढी घृणा गर्न सक्नेछौं। निस्सन्देह, त्यतिञ्जेल येशूले सिकाउनु भएजस्तै प्रलोभनमा नपर्न र दुष्टबाट छुटकारा पाउन निरन्तर प्रार्थना गर्दै सतर्क रहनुपर्छ।—मत्ती ६:१३; १ थिस्सलोनिकी ५:१७.
साथीहरूको दबाउलाई इन्कार गर्ने
गलत काम गर्न उक्साउने अर्को कुरा, साथीहरूको दबाउ पनि हो। एउटी किशोरी यसो भन्छिन्: “मैले दोहोरो जीवन बिताइरहेकी छु—एउटा स्कूलमा अर्को घरमा। स्कूलमा त्यस्ता साथीहरूसित समय बिताउँछु जसले फोहोरी कुरा मात्र गर्छन्। म पनि तिनीहरू जस्तै भइसकें। अब के गर्ने होला?” मुख्य कुरा, अरूभन्दा बेग्लै हुने साहस चाहन्छ। त्यस्तो साहस प्राप्त गर्ने एउटा तरिका हो, यहोवाका यूसुफजस्ता वफादार सेवकहरूबारे बाइबल विवरणहरू पढ्नुका साथै मनन गर्नु। अरू राम्रा उदाहरणहरू दानियल, शद्रक, मेशक र अबेद्नगो हुन्। यी चार युवकहरूसँग आफ्ना साथीहरूभन्दा भिन्नै हुने साहस थियो।
बेबिलोनको दरबारमा अरू युवकहरूसित शिक्षा लिंदा यी चार जवान इस्राएलीहरूलाई “राजा आफैले खाने गरेका मीठा मीठा भोजन” खान दिइयो। भोजनसम्बन्धी मोशाको व्यवस्था उल्लंघन नगर्न तिनीहरूले उक्त भोजन खान इन्कार गरे। यसो गर्न बलबर्कतको खाँचो पऱ्यो किनकि त्यो “राजा आफैले खाने गरेका मीठा मीठा भोजन” भएकोले मनै लोभ्याउने थियो। यी युवकहरूले मद्यपान वा लागूपदार्थ अनि सुर्ती सेवन गर्ने प्रलोभन अथवा दबाउको सामना गर्ने आजका मसीहीहरूका लागि कस्तो उत्तम उदाहरण बसाले!—दानियल १:३-१७.
येशूले पछि भन्नुभएका कुरालाई शद्रक, मेशक र अबेद्नगोले पनि साँचो साबित गरे। उहाँले यसो भन्नुभयो: “जो थोरै कुरामा विश्वासी हुन्छ, त्यो धेरैमा पनि विश्वासी हुन्छ।” (लूका १६:१०) तुलनात्मक हिसाबमा सानो लाग्ने भोजनको मामिलामा साहसी भई अडान लिंदा यहोवाले तिनीहरूलाई असल इनाम दिनुभयो। फलतः तिनीहरू पछि आउने झन् गम्भीर परीक्षाको सामना गर्न बलियो भए। (दानियल १:१८-२०) मूर्तिपूजामा भाग नलिएको खण्डमा आगोमा हालेर मारिने सजाय सुनाउँदा तिनीहरूको त्यो गम्भीर परीक्षा भयो। परिणाम जस्तो सुकै किन नहोस्, यी तीन युवकहरू यहोवामाथि पूर्ण भरोसा राख्दै उहाँको मात्रै उपासना गर्न दृढ रहे। यसपल्ट पनि यहोवाले तिनीहरूको विश्वास र साहसलाई आशिष् दिनुभयो अनि तिनीहरूलाई दन्केको आगोको भट्टीबाट चमत्कारी ढंगमा बचाउनुभयो।—दानियल ३:१-३०.
गतल कामलाई इन्कार गर्ने अन्य थुप्रै व्यक्तिहरूको उदाहरण परमेश्वरको वचनमा पाइन्छ। मोशाले मिश्रमा “केही समयसम्म पापको सुख भोग्न” प्रशस्त मौका पाउने भए तापनि “फिरऊनकी छोरीको छोरा कहलिनालाई” इन्कार गरे। (हिब्रू ११:२४-२६) अगमवक्ता शमूएलले घूस लिएर आफ्नो पदको दुरुपयोग गर्न इन्कार गरे। (१ शमूएल १२:३, ४) येशू ख्रीष्टका प्रेरितहरूले प्रचारकार्य बन्द गर्ने आदेशलाई साहसी भई इन्कार गरे। (प्रेरित ५:२७-२९) येशू स्वयम्ले पनि सबै गलत कामलाई दृढ भएर इन्कार गर्नुभयो यहाँसम्म कि उहाँको जीवनको अन्तिम घडीमा सेनाहरूले “मूर्र मिसाएको दाखमद्य” पिउन दिंदासमेत उहाँले इन्कार गर्नुभयो। उहाँले इन्कार नगर्नुभएको भए त्यस महत्त्वपूर्ण घडीमा उहाँको संकल्प कमजोर हुनसक्थ्यो।—मर्कूस १५:२३; मत्ती ४:१-१०.
इन्कार गर्नु—जीवन र मृत्युको सवाल
येशूले यस्तो भन्नुभयो: “साँघुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुऱ्याउने ढोका फराकिलो र बाटो चौड़ा हुन्छ, र यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्। किनभने त्यो ढोका साँघुरो हुन्छ, औ त्यो बाटो असजिलो हुन्छ, जसले चाहिं जीवनमा पुऱ्याउँछ, र त्यो भेट्टाउने थोरै हुन्छन्।”—मत्ती ७:१३, १४.
हिंड्न सजिलो भएकोले फराकिलो बाटो लोकप्रिय छ। यसमा हिंड्नेहरू आत्मविलासी हुन्छन्, असिद्ध सोचाइ र तौरतरिकाहरू पछ्याउँछन् अनि तिनीहरू अरूभन्दा भिन्नै हुनु त होइन तर शैतानको संसारअनुसार चल्न चाहन्छन्। तिनीहरू परमेश्वरका व्यवस्था र सिद्धान्तहरूले नैतिक बन्देजमा पारेको महसुस गर्छन्। (एफिसी ४:१७-१९) यद्यपि, फराकिलो बाटोले “विनाशमा” पुऱ्याउँछ भनेर येशूले स्पष्टसित भन्नुभयो।
तर थोरैले मात्र साँघुरो बाटो रोज्नेछन् भनेर येशूले किन भन्नुभयो? मुख्यतः, थोरै व्यक्तिहरूले मात्र परमेश्वरका व्यवस्था र सिद्धान्तहरूले आफ्नो जीवन डोऱ्याएको साथै गलत काम गर्ने प्रलोभन र मौकाहरूको विरोध गर्न मदत गरेको चाहन्छन्। यसबाहेक, तुलनात्मक ढंगमा केही व्यक्तिहरू मात्र अवैध इच्छा, साथीहरूको दबाउ अनि आफूले रोजेको बाटोको कारण आउनसक्ने उपहास विरुद्ध लड्न तयार छन्।—१ पत्रुस ३:१६; ४:४.
पावलले पापलाई इन्कार गर्न लडाइँ गर्नुपर्दा कस्तो लाग्यो होला, तिनीहरूले मात्र राम्ररी बुझेका छन्। वर्तमान समयका मानिसहरूले जस्तै पावलको समयका रोमी र युनानीहरूले गलत काममा चुर्लुम्म डुब्ने फराकिलो बाटो प्रदान गऱ्यो। पावलले आफ्नो इन्द्रियलाई असल कुरा थाह थियो र त्यसले गलत कामतर्फ डोऱ्याउने आफ्नो शरीरसित निरन्तर ‘लडाइँ’ गरिरहन्छन् भनी बताए। (रोमी ७:२१-२४) हो, आफ्नो शरीर एउटा असल सेवक तर दुष्ट मालिक हो भनेर पावललाई थाह थियो। तसर्थ, तिनले आफ्नो शरीरलाई इन्कार गर्न सिके। तिनले यसरी लेखे, “म आफ्नो शरीरलाई कुट्तछु, र वशमा ल्याउँछु।” (१ कोरिन्थी ९:२७) तिनले कसरी आफ्नो शरीरलाई वशमा राख्नसके? तिनले आफ्नै शक्तिले मात्र गर्नु त असम्भव थियो तर परमेश्वरको आत्माको मदतले त्यसो गर्नसके।—रोमी ८:९-११.
फलस्वरुप, असिद्ध भए तापनि पावलले अन्तसम्मै यहोवाप्रति निष्ठा कायम राख्नसके। मर्नुभन्दा केही समयअघि तिनले यस्तो लेख्न सके: “मैले उत्तम लड़न्त लड़ेको छु, मैले दौड़ सिध्याएको छु, विश्वासलाई बचाइराखेको छु। अब उप्रान्त मेरो निम्ति धार्मिकताको मुकुट राखिएको छ।”—२ तिमोथी ४:७, ८.
हामीले असिद्धताविरुद्ध लडाइँ गर्दा हामीसँग पावलको प्रोत्साहनदायी उदाहरण छ। साथै तिनले अनुकरणीय उदाहरण ठानेका यूसुफ, मोशा, दानियल, शद्रक, मेशक, अबेद्नगोका प्रोत्साहनदायी उदाहरणहरू पनि छन्। असिद्ध भए तापनि ती सबै विश्वासी पुरुषहरूले गलत कामलाई इन्कार गरे। तिनीहरूले हठी वा अट्टेरीपनले गर्दा नभई यहोवाको आत्माले प्रदान गर्ने नैतिक शक्तिद्वारा त्यसो गर्नसके। (गलाती ५:२२, २३) तिनीहरू आध्यात्मिक पुरुषहरू थिए। तिनीहरू यहोवाको मुखबाट निस्कने हरेक वचनको निम्ति भोका थिए। (व्यवस्था ८:३) तिनीहरूका लागि उहाँको वचन जीवनसरह थियो। (व्यवस्था ३२:४७) तर सबैभन्दा मुख्य कुरा, तिनीहरूले यहोवालाई प्रेम गर्थे र उहाँको भय राख्थे अनि उहाँको मदतद्वारा तिनीहरूले गलत कामप्रति घृणा खेती गरे।—भजन ९७:१०; हितोपदेश १:७.
हामी पनि तिनीहरूजस्तै हुनसकौं। निस्सन्देह, तिनीहरूलाई जस्तै हामीलाई पनि हरेक प्रकारका गलत कामलाई इन्कार गर्न यहोवाको आत्माको मदत चाहिन्छ। हामीले निष्कपटसाथ यहोवाको आत्मा माग्यौं, उहाँको वचन अध्ययन गऱ्यौं अनि मसीही सभाहरूमा नियमित तवरमा उपस्थित भयौं भने उहाँले उदारचित्तसाथ हामीलाई आफ्नो आत्मा दिनुहुन्छ।—भजन ११९:१०५; लूका ११:१३; हिब्रू १०:२४, २५.
सुरुमा उल्लिखित तिमोथीले आफ्ना आध्यात्मिक आवश्यकताहरू बेवास्ता नगरेकोमा तिनी खुसी भए। तिमोथीले सँगै काम गर्ने साथीसित कुरा गरेको सुनेपछि तिनको सोझोपन देखेर त्यहीं काम गर्ने जवान केटी तिनीप्रति मोहित भइन्। उसले पछि आफ्नो पति घरमा नभएको बेला तिमोथीलाई सुटुक्क बोलाइन्। तिमोथीले इन्कार गरे। तिनले पोतीफरकी पत्नीले जस्तै हार नमानिकन थुप्रै पटक बोलाइन्। तिमोथीले हरेक पटक दृढ भएर तर विनम्र साथ इन्कार गरे। तिनले त्यस आइमाईलाई परमेश्वरको वचनबाट राम्रो साक्षी पनि दिए। गलत कामलाई इन्कार गर्ने नैतिक बल दिनुभएकोमा तिनी यहोवाप्रति असाध्यै कृतज्ञ छन्। अहिले तिनले असल सँगी मसीहीसित विवाह गरेका छन्। निस्सन्देह, गलत कामलाई इन्कार गरेर आफ्नो मसीही निष्ठा कायम राख्न चाहने हरेकलाई यहोवाले आशिष् दिनुका साथै सुदृढ बनाउनुहुनेछ।—भजन १:१-३.